
गत वर्षको चौथो त्रैमासिकमा मलेसियाको कुल जनसंख्या ३४.२ मिलियन पुगेको छ ।

जसमा १.३ प्रतिशतले सुस्त वृद्धि भएको छ । तथ्याङ्क विभाग मलेसियाले जीवित जन्म संख्यामा आएको कमीसँगै जनसंख्या वृद्धि दरमा पनि गिरावट आएको छ । कुल जनसंख्यामा ३०.८ मिलियन (९०.१ प्रतिशत) नागरिक र ३४ मिलियन (९.९ प्रतिशत) गैर–नागरिकहरू छन् ।
पुरुष जनसंख्या २०२३ को चौथो त्रैमासिकमा १७.७ मिलियनबाट बढेर १८ मिलियन पुगेको छ । जबकि महिलाहरूको जनसंख्या १६ मिलियनबाट बढेर १६.२ मिलियन पुगेको छ ।
चौथो त्रैमासिकमा जातीय मलेसियालीहरू जनसंख्याको ५८.१ प्रतिशत थिए । जुन एक वर्ष अघिको ५८ प्रतिशतबाट थोरै बढेको थियो । सोही अवधिमा भारतीयहरूको संख्या ६.६ प्रतिशतबाट घटेर ६.५ प्रतिशतमा झरेको छ भने चिनियाँहरूको संख्या २२.४ प्रतिशतमा अपरिवर्तित रहेको छ ।
श्रोत : deshsanchar.com
काठामाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले उकालो लागि रहेको हो।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
श्रोत : www.dcnepal.com

काठमाडौं । सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु पुष्टि भएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लु रोग पुष्टि कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको हो ।
बर्डफ्लु पुष्टि भएसँगै कृषि मन्त्रालयले कृषि फार्मलाई केन्द्र बिन्दु मानी चार किल्ला तोकेर नियन्त्रण गर्न सुनसरी प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको छ । मन्त्रालयले सप्तकोशी फार्मबाट पूर्वतर्फ ५० मिटरको दूरीमा रहेको कच्ची बाटोसम्म, पश्चिममा खुल्ला मैदान २०० मिटरको दूरीसम्म, खुल्ला मैदान १५० मिटरको दूरीसम्म, खुल्ला मैदान ३०० मिटरको दूरीसम्म चार किल्ला तोकेको हो ।
‘चार किल्ला भित्रको क्षेत्रमा बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ को नियम ५ र ६ बमोजिम रोग नियन्त्रण कार्य सञ्चालन गराउन तथा यस क्रममा सुनसरी जिल्लाको अन्य स्थानमा रोग प्रमाणित भएमा पनि सोहि बमोजिम रोग नियन्त्रण कार्य सञ्चालन गर्न आवश्यक समन्वय, सहजिकरण तथा सहकार्यको लागि अनुरोध छ,’ मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई लेखेको पत्रमा भनेको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार
श्रोत : www.janaboli.com
काठमाडौं। नेपाल निजामती कर्मचारी संगठनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग भेट गरेको छ।
संगठनको माघ ३० देखि फागुन १ गतेसम्म भएको १२औँ महाधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमितिले मंगलबार मन्त्री गुप्तासँग मन्त्रालयमै भेट गरेको हो। विभागीय मन्त्री गुप्तालाई भेट्न संगठनकी नवनिर्वाचित अध्यक्ष भवानी दाहालसहित पदाधिकारी र उपलब्ध सदस्यहरु मन्त्रालय पुगेका थिए।
भेटमा मन्त्री गुप्ताले नेपाल निजामती कर्मचारी संगठनले महिला नेतृत्व चयन गरेर इतिहास रचेकामा खुसी व्यक्त गर्दै नवनिर्वाचित अध्यक्षसहितको कार्यसमितिलाई बधाई ज्ञापन र कार्यकाल सफलताको शुभकामना व्यक्त गरे। उनले नवनिर्वाचित नेतृत्वसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे।
भेटमा निजामती कर्मचारी संगठनकी नवनिर्वाचित अध्यक्ष भवानी दाहालले रिक्त रहेको नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत पद सङ्ख्या उच्च अदालत पाटनले गरेको फैसलाबमोजिम ४२६ कायम गरी पुनः विज्ञापनका लागि पहल गरिदिन मन्त्री गुप्तासँग आग्रह गरिन्।
नेपाल निजामती कर्मचारी संगठन नेकपा एमालेसम्बद्ध कर्मचारीहरुको संगठन हो। काठमाडौंमा हालै सम्पन्न १२औँ महाधिवेशनले दाहालको नेतृत्वमा कार्यसमिति निर्वाचित गरेको थियो।
श्रोत : www.dcnepal.com
काठमाडौँ- आठौँ ‘इण्डियन ओसन कन्फ्रेन्स’ तथा द्विपक्षीय बैठकहरूमा सहभागी हुन ओमान भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको उपस्थितिमा मङ्गलबार ओमानलगायत खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग छलफल गरेकी छन् ।

ओमानस्थित नेपाली राजदूतावासले परिषद्स्थित नेपाली नियोगका राजदूत, कार्यवाहक महावाणिज्यदूत, नियोग उपप्रमुख, श्रम काउन्सेलर तथा श्रम सहचारीलगायत नियोगमा कार्यरत पदाधिकारी तथा कर्मचारीको सहभागितामा ‘भर्चुअल’ बैठक गरेको हो ।
उक्त बैठकमा महिला घरेलु कामदारलगायत नेपाली श्रमिकको उद्धार, सहायता, स्वदेश फिर्ती, बिमा तथा क्षतिपूर्ति, आश्रयस्थल व्यवस्थापन, शव व्यवस्थापनलगायत श्रमिकसँग सम्बन्धित समस्या एवं समाधानका उपाय, प्रभावकारी सेवा प्रवाहमा देखिएका चुनौती र समाधानका उपायबारे छलफल भएको थियो ।
उक्त दूतावासका अनुसार बैठकमा आर्थिक, सांस्कृतिक तथा सार्वजनिक कूटनीतिका विविध आयाम, व्यापार, लगानी, पर्यटन, संस्कृति, भाषा, वेशभूषा, तथा रोजगार प्रवर्द्धन, जनस्तरको सम्बन्ध विस्तार, नेपाली समुदाय तथा सामाजिक सङ्घसंस्थासँगको सहकार्य तथा नेपाली नियोगमा उपलब्ध स्रोतसाधनको प्रभावकारी व्यवस्थापन तथा उपयोगलगायत विषयमा विस्तृत रूपमा छलफल भएको थियो ।
छलफलका क्रममा प्राप्त सुझावलाई समावेश गरी उठान भएका विषयउपर परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायबाट उपयुक्त निर्णयका लागि सिफारिस गर्ने निर्णय भएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
परराष्ट्रमन्त्री देउवाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित, भरपर्दो बनाउने सरकारको नीति बताउँदै यो महत्त्वपूर्ण उद्देश्य हासिल गर्न विदेशस्थित नेपाली नियोगहरूको प्रमुख भूमिका हुने भएकाले लागि सबैले तदारूकताका साथ कार्यसम्पादन गर्न निर्देशन दिइन् ।
विदेशमा कार्यरत नेपाली श्रमिकका समस्या पहिचान गरी समाधानका उपाय अवलम्बन गर्न सरोकार भएका सबै निकाय सक्रिय हुनुपर्ने र दीर्घकालीन रूपमा समस्या समाधान गरी यस क्षेत्रलाई आकर्षक बनाउनुपर्नेमा उनले जोड दिइन्।
दूतावासका अनुसार परराष्ट्रमन्त्रीले ‘डिजिटल’ सुशासन कायम गर्ने सरकारको नीतिबमोजिम मागपत्र प्रमाणीकरणलगायत नियोगको सेवा प्रवाहलाई मितव्ययी, सरल, पारदर्शी, प्रभावकारी तथा सूचना प्रविधिमैत्री बनाउन उनले निर्देशन दिइन् ।
श्रोत : deshsanchar.com
काठमाडौं। नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ । केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार शुरु भएको बैठकले आज पनि निरन्तरता पाएको हो।
हिजो बसेको स्थायी कमिटी बैठकले ७ वटा प्रस्ताव पारित गरेका तथा आजको बैठकका लागि अजेन्डा तय गरेको थियो । जसअनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ भने बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको विवरणात्मक समिक्षा, तात्कालिक कार्ययोजना, अध्यादेश सम्बन्धमा र प्रकृति लम्साल मृत्यु प्रकरणसहित समसमायिक प्रस्ताव पारित गरेको थियो ।
सरकारले हालै ल्याएको ६ वटा अध्यादेशको बिपक्षमा उभिने निर्णय गरेको नेकपा एसले पोलिटब्युरो समितिको बैठकमा नेताहरूको धारणा माग्ने जनाइएको छ ।
केन्द्रीय कमिटी बैठकले पार्टीको संगठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग बनाइने मोर्चाबारे निर्णय गर्नेछ ।
श्रोत : www.dcnepal.com
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु वर्तमानको कार्यभार भएको बताए ।
साथै उनले लोकतन्त्रको रक्षा गर्नु हामी सबैको साझा दायित्व भएको स्मरण गराएका छन् । अध्यक्ष नेपालद्वारा ७५औँ प्रजातन्त्र दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “मुलुकमा रहेको निरङ्कुश, जहानियाँ र तानाशाही व्यवस्थाबाट देशलाई मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो ज्यानको बलिदानी दिने सम्पूर्ण सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।”
“मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ र राज्यशक्तिको स्रोत जनता मात्र हुन् भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा वीर वीराङ्गना सहिदको बलिदानबाट स्थापित गरेको हुनाले नेपालको इतिहासमा आजको दिन गौरवपूर्ण र अविस्मरणीय रहेको छ । जनताको सङ्घर्षबाट प्रजातन्त्रकै जगमा हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गरेका छौँ”, सन्देशमा भनिएको छ ।
देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु अहिलेको हाम्रो कार्यभार होभने लोकतन्त्रको रक्षा गर्नु हामी सबैको साझा दायित्व हो । निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गरेका हामीले अब गरिबी, बेरोजगारी, पछौटेपन, विभेद र कुरीतिका विरुद्ध ध्यान केन्द्रित गर्नुपर्दछ ।”
नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान व्यक्त गर्दै प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प गर्न सबैमा प्रेरणा मिल्ने विश्वास अध्यक्ष नेपालले व्यक्त गरेका छन्।
श्रोत : www.dcnepal.com

७ फागुन, काठमाण्डौँ । गाजा युद्धविरामपछि इजरायलको ‘हेरचाह तथा स्याहार क्षेत्र’ मा सहायक कामदार (केयरगिभर) को लागि पहिलो चरणका नेपालीहरू इजरायल प्रस्थान गरेका छन् । वैदेशिक रोजगार विभागले प्रकाशित गरेको दोस्रो पटकको सूचनापछि छनोट भएका मध्येबाट पहिलो चरणका १३ नेपाली इजरायल उडेका हुन् ।
गत अगस्ट महिनामा इजरायलको जेरुसेलमस्थित जनसंख्या तथा आप्रवासन प्राधिकरण कार्यालयमा आयोजित एक लाइभ लटरी प्रक्रियामार्फत एक हजार १५६ महिला र ९५६ पुरुषसहित कुल २ हजार ११२ जना चयन गरिएका थिए । बाँकी एक हजार ११२ जना कामदारको भिसा प्रक्रिया अगाडि बढाइएको हो ।
उनीहरूमध्ये ९ सय १९ जनाको स्वास्थ्य परीक्षण भइसकेको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए । उनका अनुसार हाल सम्म दुई सयभन्दा धेरै कनट्याक्ट आइसकेको छ । उनीहरूलाई पनि भिसा आएपछि क्रमशः पठाइनेछ । हालसम्म केयरगिभरका लागि एक हजार तीन सय श्रमिकहरू इजराइल पुगिसकेको विभागको तथ्याकं छ । पहिलो चरणका सबै नेपालीलाई इजरायल पठाएपछि दोस्रो चरणमा रहेकालाई लगिने उनले नागरिकसँग बताए ।
‘आज १३ जना नेपाली इजरायलका लागि उडेका छन्,’ उनले नागरिकसँग भने, ‘इजरायलले नेपालीको भिसा पठाउने बित्तिकै उनीहरू पालैपालो जानेछन् । त्यहाँ नेपालीले इजरायली सरह नेपालीले पनि सेवा सुविधा पाउने छन् ।’ उनका अनुसार दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नेहरू सुरक्षित छन् । इजरायलमा नेपाली श्रमिकलाई धेरै राम्रो छ ।उनीहरू सबै इजरायल जी टू जी मार्फत नै जाने गरेका छन् । त्यहाँ विभिन्न किसिमका लडाइँ भए पनि हाम्रो श्रमिकहरू घरभित्र तथा स्याहार केन्द्रभित्र रहेर काम गर्ने हुँदा धेरै सुरक्षित भएको उनी स्वीकार छन् ।
प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार
श्रोत : www.janaboli.com
काठमाडौं। धेरै अनुसन्धानबाट यो प्रमाणित भइसकेको छ कि हिँड्नु भनेको पूरै शरीरमा गतिशीलता ल्याउने सबैभन्दा ठूलो माध्यम हो। हिँड्दा शरीरको हरेक अंगलाई फाइदा हुन्छ। सबैभन्दा पहिले त यसले क्यालोरीहरू घटाउँछ, जसका कारण तपाईंको मेटाबोलिजम बढ्न जान्छ।
फटाफट वा गति बढाएर हिँड्दा सम्पूर्ण शरीरलाई उचित ऊर्जा प्राप्त हुन्छ। यदि तपाइँ नियमित रूपमा हिँड्नुहुन्छ भने, यसले तपाइँको मांसपेशिहरु कसिलो बनाउँछ र तौल कम गर्दछ। हिड्दा मूड राम्रो रहन्छ किनभने यसले तनाव कम गर्दछ।
हिँड्दा मुटु र कलेजोको रोगबाट पनि बचाउँछ। यसरी हेर्दा तिब्र गतिमा हिड्नुका धेरै फाइदाहरु छन्। तर प्रायः मानिसहरूको दिमागमा अन्योल हुन्छ कि केही खाएपछि हिँड्ने कि खाली पेटमा हिँड्ने? यसको बारेमा हामी केही जानकारी दिनेछौं।
खाली पेटमा हिडनुको फाइदा
यदि तपाईं तौल घटाउन चाहनुहुन्छ भने खाली पेटमा हिँड्नु तपाईंको लागि निकै फाइदाजनक साबित हुन सक्छ। यो एक प्रकारको फास्टिङ कार्डियो हो। यदि मानिस स्वस्थ छ भने उसले हरेक बिहान खाली पेटमा तीव्र गतिमा हिँड्नु पर्छ। जब कोही खाली पेटमा हिँड्छ, उसको पेटमा केही रहँदैन। मतलब, शरीरले तपाईंको शरीरमा रहेको बोसोको ऊर्जा प्रयोग गर्न थाल्छ। त्यसैले खाली पेटमा हिँड्दा तौल घट्छ।
शरीरले बिहान कम ग्लुकोज भण्डारण गर्छ। जब तपाईं हिँड्नुहुन्छ, तपाईंको शरीरको मांसपेशीहरूमा संकुचन हुन्छन्। यस्तो अवस्थामा शरीरमा पहिले नै जम्मा भएको ऊर्जा मात्र खर्च हुन्छ किनभने संकुचनका लागि ऊर्जा चाहिन्छ।
मांसपेशीहरूले यो ऊर्जा रगतमा रहेको चिनीबाट लिन्छन्। जब रगतमा चिनीको मात्रा कम हुन थाल्छ, कलेजोले ग्लाइकोजन तोड्न थाल्छ। यो ग्लुकोजमा परिणत हुन्छ र मांसपेशिद्वारा प्रयोग गरिन्छ। यसरी शरीरमा अतिरिक्त क्यालोरी खर्च हुँदा पहिल्यै जम्मा भएको बोसो टुट्दै जान्छ। तर मधुमेह, उच्च रक्तचापजस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूले खाली पेटमा हिँड्नु हुँदैन।
खाजा खाएर हिड्नुका फाइदाः
बिहानको खाजा पछि पनि हिड्दा मानिसहरूले फाइदा लिन सक्छन्। बिहानको खाजा खाइ सके पछि पनि हिँड्न थाल्नुभयो भने पनि फाइदा हुनेछ। खासमा यसले शरीरको स्ट्यामिना बढाउँछ। तपाईंको कार्य सम्पादनमा सुधार हुन्छ, यसले पनि शरीरले संचित ऊर्जा खर्च गर्छ।
यसले रगतमा चिनीको मात्रा बढाउँदैन। यस्तो अवस्थामा मधुमेहका बिरामीले खाना खाइ सकेपछि हिँड्नु बढी फाइदाजनक हुन्छ। साथै, उच्च रक्तचाप भएका व्यक्तिले खाना खाइ सके पछि हिँड्दा पनि बढी फाइदा हुन्छ। यदि तपाईं बिहानको खाजा पछि हिँड्नुभयो भने यसले तपाईंको पाचनलाई पनि स्वस्थ राख्छ।
श्रोत : www.dcnepal.com
ताप्लेजुङ- ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जाने बाटोमा केबलकार निर्माणको माग गर्दै जिल्ला सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ ।

आफूहरु केबुलकार निर्माणको पक्षमा रहेको सन्देश दिने उद्देश्यले स्थानीयहरुले केबुलकार निर्माण गर्न पाथीभरा देवी केबुलकार कम्पनीलाई आग्रह गरेका छन् ।
स्थानीयले लगानीमैत्री वातावरण सृजना गर्न सरकारलाई आग्रह गर्दै विभिन्न प्लेकार्ड र ब्यानरसहित प्रदर्शनमा सहभागी भएका हुन् । ताप्लेजुङको विकास र सम्मृद्धि रोक्न गरी कार्य नगर्न समेत उनीहरुले आग्रह गरेका छन् ।
ताप्लेजुङ विकास प्रेमी युवा समाजको आयोजनामा गरिएको प्रदर्शनमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघसंस्थाको उपस्थिति थियो । पाथीभरा क्षेत्रमा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिक महत्व र पहिचान गुम्ने दाबी गर्दै केही व्यक्तिहरुले विरोध गरिरहेका छन् ।
पाथिभरामा केबलकार निर्माणको प्रसंग चार दशकअघि उठे पनि २०७२ सालमा मात्रै पाथीभरा देवी दर्शन केवलकार प्रालिको स्थापना भएको हो । यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमति लिएको थियो ।
केबलकारको अलाइनमेन्ट क्षेत्रमा पर्ने रुख कटान गर्ने र विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) स्वीकृत गर्ने काम समेत सम्पन्न भइसकेको छ । केबलकार निर्माणको औपचारिक शिलान्यास गरी यही महिनादेखि भौतिक निर्माण सुरु भएको थियो ।
श्रोत : deshsanchar.com