काठमाडौँ । सन् १९९५ मा एउटा पुरानो ३८६ कम्प्युटर र डायल-अप कनेक्सनबाट सुरु भएको नेपालको इन्टरनेट यात्रा आज घर-घरमा द्रुत गतिको फाइबर इन्टरनेटसम्म आइपुगेको छ । यो ३० वर्षे लामो र रोमाञ्चक यात्रालाई जीवन्त रूपमा प्रस्तुत गर्न नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले ललितपुरको कुसुन्तीमा नेपालकै पहिलो इन्टरनेट म्युजियम स्थापना गरेको छ ।

यो म्युजियमलाई पुराना उपकरणहरूको सङ्ग्रह मात्र नभई नेपालको डिजिटल क्रान्तिको एउटा जीवन्त दस्तावेज मान्न सकिन्छ । ‘मेक बेस्ट आउट अफ वेस्ट’ नारासहित स्थापना गरिएको यस सङ्ग्रहालयमा प्रवेश गर्दा तपाईंले नेपालको इन्टरनेट इतिहासलाई नजिकबाट नियाल्ने अवसर पाउनुहुनेछ ।
डायल-अपको धिमा गतिदेखि वायरलेसको फड्कोसम्म
म्युजियमको यात्रा वर्ल्डलिंकका संस्थापक तथा अध्यक्ष दिलीप अग्रवालले अमेरिकामा अध्ययन गर्दा प्रयोग गरेको एउटा पुरानो ३८६ कम्प्युटरबाट सुरु हुन्छ । यही कम्प्युटर र डायल-अप मोडेम प्रयोग गरी सन् १९९५ मा वर्ल्डलिंकले इमेल सेवामार्फत आफ्नो यात्रा आरम्भ गरेको थियो ।

“सुरुवाती दिनमा इन्टरनेट चलाउन टेलिफोन लाइन अनिवार्य थियो, जुन निकै महँगो र सीमित पहुँचमा थियो,” वर्ल्डलिंकका महाप्रबन्धक किरण गौतमले भिडिओमा जानकारी दिँदै भने, “प्रयोगकर्ताले टेलिफोनको बिल र इन्टरनेटको शुल्क छुट्टाछुट्टै तिर्नुपर्थ्यो, जसले गर्दा इन्टरनेट सेवा आम मानिसको पहुँचभन्दा बाहिर थियो ।”
यो चुनौतीलाई पार गर्न वर्ल्डलिंकले वायरलेस प्रविधि भित्र्यायो । म्युजियममा त्यतिबेला प्रयोग भएका विभिन्न आकारका रेडियो वेभ रिसिभर (डिस एन्टेना) र वायरलेस मोडमहरू आकर्षक ढंगले प्रदर्शनमा राखिएका छन् ।
“वायरलेस प्रविधिले टेलिफोन लाइन नभएका ठाउँहरूमा पनि इन्टरनेट पुर्याउन सम्भव बनायो, तर यसको उपकरण पनि महँगो थियो,” गौतमले थपे ।
केबल र फाइबर इन्टरनेटको युग
वायरलेस प्रविधिपछि वर्ल्डलिंकले केबल इन्टरनेटको सुरुवात गर्यो । म्युजियममा केबल इन्टरनेटमा प्रयोग हुने विभिन्न उपकरण, जस्तै; पोलमा राखिने पावर बक्स र स्विचहरू देख्न सकिन्छ । तर, समयसँगै बढ्दो इन्टरनेटको माग र गुणस्तरीय सेवाको आवश्यकताले वर्ल्डलिंकलाई फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा स्तरोन्नति गर्न प्रेरित गर्यो । म्युजियमको एउटा ठुलो भाग एफटीटीएच प्रविधिलाई समर्पित छ, जहाँ सर्भर र्याक, राउटर, स्विच, ओएलटी (Optical Line Terminal) र विभिन्न प्रकारका फाइबर केबलहरू विस्तृत रूपमा देख्न सकिन्छ ।
“इन्टरनेट कसरी चल्छ? यो कसरी प्रयोगकर्तासम्म पुग्छ? भन्ने कुरा यहाँ प्रत्यक्ष रूपमा देख्न र बुझ्न सकिन्छ,” गौतमले भने ।
प्रविधिको विकास र पुराना उपकरणको कथा
म्युजियममा राखिएका पुराना उपकरणहरूले प्रविधिको विकासलाई रोचक तरिकाले प्रस्तुत गर्छन् । सुरुवाती दिनमा प्रयोग हुने ८ इन्चको सानो ल्यापटप, विभिन्न मोडेलका राउटर र प्रोसेसर चिपहरूले आगन्तुकलाई प्रविधिको ऐतिहासिक यात्रामा लैजान्छन् । एउटा रोचक प्रदर्शनीमा फाइबर परीक्षण गर्ने ठुलो र गह्रौं ‘ओटीडीआर’ मसिन र त्यसको छेउमा हाल प्रयोगमा रहेको सानो र हलुका मसिन राखिएको छ, जसले प्रविधिले कति छिटो फड्को मारेको छ भन्ने कुरा स्पष्ट पार्छ । त्यस्तै, वर्ल्डलिंकले सुरुमा फाइबर जोड्न प्रयोग गरेको जापानबाट आयातित ‘स्प्लाइस मसिन’ पनि प्रदर्शनमा छ ।
“त्यतिबेला यो मसिन निकै दुर्लभ थियो । यसलाई चलाउने प्राविधिकलाई सुपरस्टार मानिन्थ्यो,” गौतमले पुराना दिन सम्झँदै भने ।
भविष्यको परिकल्पना: सफा सहर, भूमिगत तार
यो म्युजियमले केवल विगतको कथा मात्र भन्दैन । यसले भविष्यको परिकल्पना पनि प्रस्तुत गर्छ । एउटा आकर्षक मिनिएचर मोडेलमार्फत सन् २०२५ सम्मको नेपालको सडक, पोल र घरहरू देखाइएको छ, जहाँ वर्ल्डलिंकले भविष्यमा अन्डरग्राउन्ड (भूमिगत) फाइबर नेटवर्क विस्तार गर्ने महत्त्वाकांक्षी योजना देखाएको छ ।
“अबको हाम्रो लक्ष्य भनेको पोलमा अव्यवस्थित रूपमा रहेका तारहरूलाई हटाएर भूमिगत केबलमार्फत गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्नु हो,” गौतमले भने, “यसले सहरलाई सफा र सुन्दर बनाउनुका साथै इन्टरनेट अवरुद्ध हुने समस्यालाई ४० प्रतिशतसम्म कम गर्नेछ ।”
अध्ययन र प्रेरणाको केन्द्र यो म्युजियम विद्यार्थी, अनुसन्धानकर्ता, पत्रकार र प्रविधिमा रुचि राख्ने सबैका लागि एक महत्वपूर्ण अध्ययन र प्रेरणाको केन्द्र बन्न सक्छ । यसले नेपालको डिजिटल यात्रा र इन्टरनेट विकासका विभिन्न चरणहरूलाई नजिकबाट बुझ्न मद्दत गर्छ ।
“हामीले यो म्युजियममार्फत नेपालको इन्टरनेट इतिहासलाई जीवन्त राख्ने प्रयास गरेका छौं । यहाँ आएर जो कोहीले पनि प्रविधिको विकास र यसले हाम्रो जीवनमा पारेको प्रभावबारे जानकारी लिन सक्नुहुन्छ,” गौतमले भने ।
पछिल्लो अध्यावधिक: असार २८, २०८२ १३:१३
सामाग्री श्रोत :
टेक पाना