२०८२ असार २४ मंगलवार
२०८२ असार २४ मंगलवार

बयालपाटा अस्पतालको स्वामित्व ग्रहणमा प्रदेश सरकारले देखाएको परिपक्वता र अभिभावकिय भूमिका

स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने उक्तितार्थले निरोगी र स्वस्थ्य जीवनशैलीको महत्व दर्शाउँछ।स्वस्थ र कष्टरहित जीवनमा नै खुशी र सम्पन्नता प्रतिबिम्बित हुन्छ। हाम्रा यीनै खुशीलाई जीवन्त राख्ने दायित्व हाम्रो अभिभावकीय भूमिकामा रहेको सरकारको हुन्छ । संघीयताको जगमा स्थापित सुदूपश्चिम प्रदेश सरकारले बयालपाटा अस्पातालको सन्दर्भमा आफ्नो परिपक्वता र अभिभावकीय भूमिका देखाएको छ । प्रदेश सरकारको आवश्यकता र औचित्य पुष्टि गर्ने यो सुनौलो अवसर मात्रै होइन् । यो त प्रदेश सरकारको क्षमता र कौशल परीक्षणको बहुप्रतिक्षित कडि पनि हो।      

बयालपाटा अस्पताललाई सरकारी-गैह्रसरकारी साझेदारीको अवधारणा अन्तर्गत विगत लामो समयदेखि न्याय हेल्थ नेपालले सञ्चालन गर्दै आइरहेकोमा विकसित पछिल्लो परिस्थितिका कारण बन्द हुने अवस्थामा रहेको बयालपाटा अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले जीवन्तता दिने महत्वपूर्ण सम्झौता गरेको छ । यो सम्झौताले सुदूरश्चिम प्रदेशका विकट पहाडी जिल्ला र कर्णाली प्रदेशका नागरिकलाई समेत खुशी दिलाएको छ। 

संवैधानिक तथा कानूनी आधार
नेपालको संविधानको धारा-३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ । प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई बञ्चित नगरिने भनी राज्यले संविधानमै नागरिकको स्वास्थ्यको सुनिश्चितता गरेको छ । स्वास्थ्य सेवा तीनै तहका सरकारको साझा अधिकार र दायित्वको रुपमा पनि रहेको छ । जनस्वास्थ्य सेवा नियमावली, २०७७ को अनुसूची-९ ले २५ देखि २०० शैयासम्मका जनरल तथा विशेषज्ञ अस्पतालको नियमन सम्बन्धी अधिकार प्रदेश सरकारलाई प्रदान गरेको छ। सुदूरपश्चिम प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८१ ले स्वास्थ्य सेवाको सञ्चालन, व्यवस्थापन र नियमन सम्बन्धी अधिकार सामाजिक विकास मन्त्रालयलाई प्रदान गरेको छ।यीनै संवैधानिक र कानूनी व्यवस्थाले बयालपाटा अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकार मातहत सञ्चालन गर्ने आधार तय गरेको हो।

प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्य

सुदूरपश्चिम प्रदेश सरकारको आ.वं. २०८२/८३ को नीति तथा कार्यक्रमको बुँदा नं. ६७ मा बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन प्रदेश सरकार मातहत ल्याउन कानूनी प्रबन्ध गरी प्रदेशस्तरको अस्पतालको रुपमा सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाइनेछ भनी उल्लेख भएको छ । प्रदेश सरकारको आ.वं. २०८२/८३ को बजेट बक्तव्यको बुँदा नं १४५ मा पनि बयालपाटा अस्पताल प्रदेश सरकार मातहत ल्याई सञ्चालन गर्नका आवश्यक बजेटको व्यवस्था गरिएको भनी उल्लेख गरिएको छ । बयालपाटा अस्पतालमा रहने उल्लेख्य जनशक्ति, उकपरण औषधिजन्य सामग्रीमा खर्च हुने करौडौ रकमको व्यवस्थापन उल्लेखित बार्षिक नीति तथा कार्यक्रम, बजेट वक्तव्य र प्रदेश सरकारको बार्षिक बजेटबाट सुनिश्चित हुने देखिन्छ । यसका साथै संघीय सरकार र स्थानीय तहको पनि केही सकारात्म सहयोग रहने अपेक्षा गरिएको छ।

सम्झौताको मूलभूत विषय र कार्यान्वयन चरण

प्रदेश सरकारले बयालपाटा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा सञ्चालन गर्नका लागि अधिकांश तयारी पूरा गरिसकेको छ । अब मन्त्रालयले श्रावण महिनाभित्र गठन आदेश निर्माण, ओ एन्ड एम स्वीकृत र जनशक्ति व्यवस्थापन लगायतका आधारभूत कार्यहरु सम्पन्न गरी भाद्र १ गतेदेखि औपचारीक रुपमा प्रादेशिक अस्पतालको रुपमा सञ्चालनमा ल्याउने छ ।  अस्पतालले चर्चेको जग्गा र सो जग्गामा बनेका सम्पूर्ण भवन तथा भौतिक संरचनाहरुको स्वामित्व हस्तान्तरण सम्बन्धी विषय सम्झौतामा उल्लेख गरिएको छ ।त्यसैगरी अस्पतालमा हाल प्रयोगमा रहेका सम्पूर्ण स्वास्थ्य औजार तथा उपकरणहरु, औषधि तथा औषधिजन्य सामग्रीहरु र उपभोग्य वस्तुहरु, सेवा व्यवस्थापनका लागि हाल अस्पतालले प्रयोग गर्दै आएका विद्युतीय प्रणालीहरु लगायतका सामग्रीहरु हस्तान्तरणका विषय पनि सम्झौतामा उल्लेख गरिएका छन् । पचास शैयाको अस्पतालको रुपमा सञ्चालन गर्दा आवश्यक पर्ने करिब डेढ सय जति जनशक्ति व्यवस्थापनको कार्य पनि श्रावण मसान्तभित्र टुंग्याई भाद्र १ गतेदेखि प्रदेश सरकारले निरन्तर सेवा प्रदान गर्नेछ । यो सम्झौता सुदूपश्चिमवासी र कर्णालीबासीका नागरिकका लागि पनि महत्वपूर्ण कोशेढुंगा हो ।

न्याय हेल्थ नेपालको योगदान र भूमिका

बयालपाटा अस्पताल सञ्चालनका सन्दर्भमा न्याय हेल्थ नेपालको करिब १७ बर्षको लामो यात्रा अतुलनीय र प्रसंशनीय छ । ५४ रोपनी जग्गा र सो जग्गामा सरकारद्वारा बयालपाटा अस्पतालको लागि भनी निर्माण गरिएका आठ ओटा भवन तथा पूर्वाधारहरूमा सरकारको प्रचलित कानून बमोजिम गरीब, विपन्न, असहाय र जेष्ठनागरिकहरूको आधारभूत स्वास्थ्य उपचार सेवामा पहुँच सुनिश्चित गर्न न्याय हेल्थ नेपालले सेवाको थालनी गरेको हो । नेपाल सरकार, प्रदेश सरकार र विभिन्न दातृ निकायको सहयोगमा उच्चतम प्रविधिबाट स्थानीय साधनस्रोतको प्रयोग सहित वातावरण मैत्री तथा भूकम्प प्रतिरोधात्मक ६ वटा सुविधा सम्पन्न अस्पताल भवन तथा १० वटा कर्मचारी आवास गृह सहित ५० शैंया अस्पतालका रुपमा हाल बयालपाटा अस्पतालसञ्चालनमा रहेको छ । यसका साथै  एकिकृत स्वास्थ्य सेवा प्रणालीको अबधारणामा बिरामीलाई घरदेखि अस्पतालसम्म जोड्नथप ६ वटा स्थानीय तहहरुमा सामुदायिक स्वास्थ्य कार्यक्रमलाई सञ्चालन गरिरहेको छ । एकिकृत विद्युतीय स्वास्थ्य प्रणाली (Intigreted Electronic Health Registration System) द्वारा बिरामीहरुको अभिलेखिकरण अद्यावधिक गरी उपचार सेवालाई प्रभाबकारी बनाएकोछ । वार्षिक रुपमा करीब ८० हजार बिरामीहरुको उपचार लगायत स्वास्थ्य सेवा प्रवाह गरेको तथ्यांकबाट देखिन्छ । यो महत्वपूर्ण योगदान र भूमिका सदैव अवस्मरणीय छ । सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय सरकार र यस क्षेत्रका नागरिकहरु न्याय हेल्थ नेपालको योगदानको लागि सदैव कृतज्ञ रहने छन् ।

अन्त्यमाः 
बयालपाटा अस्पताललाई प्रदेश सरकार मातहतको प्रादेशिक अस्पतालको रुपमा सञ्चालनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सरकारका प्रतिनिधि, कर्मचारी, न्याय हेल्थ नेपाल र बयालपाटा अस्पतालका प्रमुख तथा प्रतिनिधि लगायतका सम्पूर्ण सरोकारवाला व्यक्ति तथा निकायहरु धन्यवादका पात्र हुन् । स्वास्थ्यमा सर्वव्यापी पहुँच हाँसिल गर्नका लागि आधारभूत स्वास्थ्य सेवा, विशेषज्ञ सेवा र यसका विविध आयामहरुलाई सुदृढ बनाउने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेश सरकारले चालेको यो कदम सराहनीय र न्यायमूखी छ। प्राप्त जिम्मेवारीलाई कूशलतापूर्वक सम्पादन गरी जनताको सेवामा समर्पित हुने विश्वासका साथ बयालपाटा अस्पतालको अगामी यात्रा सफल, सुखद र सेवामूखी रहोस्। धन्यवाद !! 

(कानून अधिकृत सुनार  सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयमा कार्यरत छन्)

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट