काठमाडौँ । शनिबारको घमाइलो दिउँसो । दर्जनौं मानिसहरू घरपछाडिको बगैँचाको घाँसमा बसेका थिए । त्यहाँ बनाइएको एउटा मञ्चमा प्रविधि स्टार्टअपका संस्थापक बन्न चाहनेहरू आफ्ना आइडियाबारे कुरा गरिरहेका थिए । भिडमा रहेका मानिसहरू ल्यापटप चलाइरहेका थिए, कोही भेप तानिरहेका थिए भने कोही स्ट्रबेरी फ्रापुचिनो पिइरहेका थिए । माथि आकाशमा एउटा ड्रोन घुमिरहेको थियो । घरभित्र, भान्सामा लगानीकर्ताहरूले उद्यमीहरूका योजना (आइडिया पिच) सुनिरहेका थिए ।

यो हेर्दा सिलिकन भ्याली जस्तो देखिन्थ्यो । तर यो चीनको दक्षिणी सहर हाङ्जाउको एक शान्त उपनगर लियाङ्जु थियो । यो ठाउँ सस्तो भाडा र अलिबाबा, डिपसिक जस्ता प्रविधि कम्पनीहरूको निकटताले गर्दा उद्यमी र प्राविधिक प्रतिभाहरूका लागि आकर्षणको केन्द्र बनेको छ ।
“मानिसहरू यहाँ आफ्नो सम्भावना खोज्न आउँछन्,” यो कार्यक्रम आयोजना गरेका फेसबुक र अलिबाबाका पूर्व कर्मचारी ३६ वर्षीय फेलिक्स ताओले भने ।
लगभग ती सबै सम्भावनाहरू आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सँग सम्बन्धित छन् । प्रविधिमा श्रेष्ठताका लागि चीन र अमेरिकाबिच प्रतिस्पर्धा चलिरहँदा हाङ्जाउ चीनको एआई उन्मादको केन्द्र बनेको छ ।

एक दशकअघि प्रान्तीय र स्थानीय सरकारहरूले हाङ्जाउमा नयाँ कम्पनीहरूलाई अनुदान र कर छुट दिन थाले । जसले सयौं स्टार्टअपहरूलाई जन्माउन मद्दत गर्यो । अहिले विकेन्ड (सप्ताहन्त)मा बेइजिङ, सांघाई र सेन्जेनबाट मानिसहरू प्रोग्रामरहरू खोज्न यहाँ आउँछन् ।
तीमध्ये धेरै ताओको घरपछाडिको बगैँचामा भेटिन्छन् । उनले २०२२ मा आफ्नै कम्पनी ‘माइन्डभर्स’ सुरु गर्नुअघि अलिबाबामा एउटा एआई अनुसन्धान प्रयोगशाला स्थापना गर्न मद्दत गरेका थिए । अहिले ताओको घर लियाङ्जुमा बस्ने कोडरहरूको केन्द्र बनेको छ । जसमध्ये धेरै २० देखि ३० वर्ष उमेरका छन् । उनीहरू आफूलाई ‘गाउँले’ भन्छन्, दिनमा कफी पसलहरूमा कोड लेख्छन् र राति सँगै गेम खेल्छन् । र, एआईको प्रयोग गरेर आफ्नै कम्पनीहरू बनाउने आशा राख्छन् ।
हाङ्जाउले अलिबाबा र डिपसिक मात्र नभई नेटइज र हिकभिजन जस्ता शक्तिशाली प्रविधि कम्पनीहरूलाई पनि जन्म दिइसकेको छ ।
गत जनवरीमा डिपसिकले एउटा एआई प्रणाली सार्वजनिक गरेर प्रविधि जगतमा हलचल मच्चायो । कम्पनीले उक्त प्रणाली सिलिकन भ्यालीका कम्पनीहरूले खर्च गरेको भन्दा निकै कम लागतमा बनाएको बताएको थियो । त्यसबेलादेखि डिपसिक र अलिबाबाले बनाएका प्रणालीहरू विश्वका शीर्ष प्रदर्शन गर्ने ओपन सोर्स एआई मोडेलहरूमध्येमा परेका छन् । अर्थात् जो कोहीले पनि यसमा आधारित भएर नयाँ कुरा बनाउन सक्छन् । डिपसिकका संस्थापकले पढेको हाङ्जाउको झेजियाङ विश्वविद्यालयका स्नातकहरू चिनियाँ प्रविधि कम्पनीहरूमा खोजिने कर्मचारी बनेका छन् ।
चिनियाँ मिडियाले डिपसिकको टोलीका एक मुख्य सदस्यलाई इलेक्ट्रोनिक्स कम्पनी साओमीले आफ्नो कम्पनीमा लगेको खबरलाई नजिकबाट पछ्याएको थियो । लियाङ्जुमा, धेरै इन्जिनियरहरूले भने कि उनीहरू बाइटडान्स जस्ता ठुला कम्पनीहरूसँग गरेको ‘प्रतिस्पर्धा नगर्ने सम्झौता’ को अवधि सकिने प्रतीक्षामा समय बिताइरहेका छन्, ताकि उनीहरू आफ्नै स्टार्टअप सुरु गर्न सकून् ।
डिपसिक सहरका ती छ एआई र रोबोटिक्स स्टार्टअपहरूमध्ये एक हो, जसलाई चिनियाँ मिडियाले ‘हाङ्जाउका छ बाघहरू’ भन्ने गर्छन् ।
गत वर्ष ती छ मध्येको एक- गेम साइन्सले चीनको पहिलो ठुलो बजेटको भिडिओ गेम ब्ल्याक मिथ: वुकोङ (Black Myth: Wukong) सार्वजनिक गर्यो, जुन विश्वव्यापी रूपमा हिट भयो । अर्को फर्म, युनिट्रीले जनवरीमा चिनियाँ सरकारी टेलिभिजनको वार्षिक कार्यक्रममा आफ्ना रोबोटहरूलाई मञ्चमा नचाएर सबैको ध्यान खिच्यो ।
हालसालै एआई-युक्त चस्मा बनाउने हाङ्जाउको स्टार्टअप रोकिडका संस्थापक मिङमिङ झुले ती छ जना संस्थापकहरूलाई आफ्नो घरमा रात्रीभोजका लागि बोलाए ।
“यो पहिलो पटक थियो जब हामी सबैजना प्रत्यक्ष भेटेका थियौं,” झुले भने । उनी जस्तै, ती छ जनामध्ये धेरैले झेजियाङ विश्वविद्यालयमा पढेका थिए वा अलिबाबामा काम गरेका थिए ।
“जब हामीले सुरु गर्यौं, हामी साना माछा थियौं,” झुले भने, “तर त्यतिबेला पनि सरकारले मद्दत गर्यो ।” उनले भने कि सरकारी अधिकारीहरूले उनलाई रोकिडका सुरुवाती लगानीकर्ताहरूसँग जोड्न मद्दत गरेका थिए, जसमा अलिबाबाका संस्थापक ज्याक मा पनि थिए ।
हाङ्जाउको प्रविधि क्षेत्रलाई सरकारको समर्थनले केही लगानीकर्ताहरूलाई तर्साएको छ । नाम नबताउने शर्तमा धेरै कम्पनीका संस्थापकहरूले आफूहरूलाई विदेशी लगानी कम्पनीहरूबाट कोष आकर्षित गर्न गाह्रो भएको र यसले गर्दा चीन बाहिर विस्तार गर्ने योजनामा बाधा पुर्याएको धारणा राखेका छन् ।
सबैभन्दा खराब अवस्था टिकटकको चिनियाँ अभिभावक कम्पनी बाइटडान्सले भोगेको उनीहरूको बुझाई छ । बाइटडान्सका कार्यकारीहरूलाई चिनियाँ सरकारसँगको सम्बन्धबारे अमेरिकी संसदमा सोधपुछ गरिएको थियो ।
संस्थापकहरूले आफ्ना कम्पनीहरूको वृद्धिका लागि दुई ओटा बाटो रोज्नुपर्ने बताए: सरकारी कोष लिने र आफ्नो उत्पादनलाई चिनियाँ बजारअनुसार बनाउने वा विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न सिंगापुर जस्ता देशमा कार्यालय स्थापना गर्न आफैं पर्याप्त पैसा जुटाउने । धेरैका लागि, पहिलो बाटो मात्र सम्भव विकल्प थियो ।
अर्को अनिश्चितता एआई प्रणाली सञ्चालन गर्ने एडभान्स्ड कम्प्युटर चिपहरूको पहुँच हो । वासिङ्टनले चिनियाँ कम्पनीहरूलाई यी चिपहरू किन्नबाट रोक्न वर्षौंदेखि प्रयास गरिरहेको छ । अर्कोतर्फ ह्वावे र सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्प जस्ता चिनियाँ कम्पनीहरू आफ्नै चिप उत्पादन गर्ने दौडमा छन् ।
अहिलेसम्म, चीनमा बनेका चिपहरूले बाइटडान्स जस्ता कम्पनीहरूलाई चीनमा केही एआई सेवाहरू प्रदान गर्न मद्दत गर्न पर्याप्त काम गरेका छन् । वासिङ्टनको नियन्त्रणका बावजुद धेरै चिनियाँ कम्पनीहरूले एनभिडिया चिपहरूको भण्डार बनाएका छन् । तर यो आपूर्ति कति लामो समयसम्म रहनेछ वा चीनका चिप निर्माताहरूले आफ्ना अमेरिकी प्रतिस्पर्धीहरूलाई कति चाँडो भेट्टाउन सक्छन् भन्ने स्पष्ट छैन ।
हाङ्जाउमा एउटा अवधारणा विकास भइरहेको छ । त्यो हो- ‘एजेन्टिक एआई’ अर्थात् यस्तो आर्टिफिसियल इन्टेलिजेन्स प्रणाली जसलाई आफैं काम गर्न निर्देशन दिन सकिन्छ ।
हाङ्जाउका अर्का उद्यमी कियान रोयले युवाहरूका लागि एआई-इनेबल्ड डिजिटल साथी विकास गरेका छन् । जसले चीनका युवाहरूमाझ लोकप्रिय मायर्स-ब्रिग्स व्यक्तित्व परीक्षणको जानकारीको आधारमा उनीहरूको मुडअनुसार प्रतिक्रिया दिन्छ । उनको टोलीले आफ्नो एप ‘अल टाइम’ सार्वजनिक रूपमा उपलब्ध एआई प्रणालीहरू प्रयोग गरेर प्रोग्राम गरेको हो, जसमा डिपसिक, अलिबाबा र अमेरिकी स्टार्टअप एन्थ्रोपिकद्वारा बनाइएका प्रणालीहरू समावेश छन् ।
बगैँचाको कार्यक्रम आयोजना गर्ने ताओको सह-स्थापनामा बनेको कम्पनी ‘माइन्डभर्स’ ले एउटा यस्तो उत्पादनमा काम गरिरहेको छ, जसले मानिसहरूलाई आफ्नो जीवन व्यवस्थापन गर्न एआई प्रयोग गर्न मद्दत गर्नेछ । उदाहरणका लागि, यसले सहकर्मीहरूलाई दैनिक सहयोगी ईमेलहरू पठाउन सक्छ, वा आमाबाबुलाई पारिवारिक बिदाको सम्झना दिलाउँदै नियमित टेक्स्ट मेसेजहरू पठाउन सक्छ ।
“म एआईले केवल काम मात्र गरोस् भन्ने चाहन्न, बरु यसले तपाईंलाई मानसिक रूपमा थप ठाउँ दियोस् । ताकि तपाईं तनावमुक्त हुन सक्नुहोस्,” ताओले भने ।
ताओको बगैँचामा उपस्थित धेरैले हाङ्जाउको वातावरणले आफ्नो रचनात्मकतालाई बढावा दिएको बताएका छन् । जुन एक तालको किनारमा अवस्थित छ र पुस्ताैंदेखि चिनियाँ कवि र चित्रकारहरूको प्रेरणाको स्रोत बनिरहेको छ ।
लिन युआनलीनले झेजियाङ विश्वविद्यालयमा पढ्दा आफ्नो कम्पनी, ‘जेबर’ सुरु गरे । उनको कम्पनीले ‘भाइबकोडिङ’ (vibecoding) अर्थात् गहिरो सफ्टवेयर ज्ञान बिना नै एआई टुलहरू प्रयोग गरेर एप र वेबसाइट बनाउने मानिसहरूलाई ब्याक-इन्ड प्रणालीहरू प्रदान गर्दछ ।
“लियाङ्जु मेरो उत्पादनको परीक्षणको लागि उत्तम ठाउँ हो,” लिनले भने । उनी कफी पसलमा कसैको छेउमा गएर वा छिमेकीको बैठक कोठामा पुगेर उनीहरूलाई आफ्नो स्टार्टअपका लागि कस्तो सहयोग चाहिन्छ भनेर सोध्न सक्छन् । लिन यति धेरै लियाङ्जु जान थाले कि उनी त्यहीँ बसाइँ सरे ।
लियाङ्जुका गाउँलेहरूले फिल्म प्रदर्शन कार्यक्रमहरू आयोजना गर्दै आएका छन् । उनीहरू हालसालै ‘द म्याट्रिक्स’ हेर्न भेला भएका थिए । त्यसपछि, उनीहरूले यो फिल्म अनिवार्य रूपमा हेर्नै पर्ने निर्णय गरे ।
“लियाङ्जुमा रहेका संस्थापक बन्न चाहनेहरू, शीर्ष विश्वविद्यालयहरूमा नगएकाहरू पनि विश्वास गर्छन् कि उनीहरूले अर्को विश्व परिवर्तनकारी प्रविधि कम्पनी सुरु गर्न सक्छन्,” ताओले भने ।
उनले थपे, “उनीहरूमध्ये धेरै जना आफ्नो बाटो आफैं खोज्ने निर्णय गर्न निकै साहसी छन्, किनकि चीनमा त्यो जीवन बिताउने सामान्य तरिका होइन ।”
द न्युयोर्क टाइम्सको सहयोगमा
पछिल्लो अध्यावधिक: असार २३, २०८२ १०:२४
सामाग्री श्रोत :
टेक पाना