काठमाडौँ । गुगलले अमेरिकाको क्यालिफोर्निया अदालतमा दायर भएको एक महत्त्वपूर्ण मुद्दा हारेको छ । एन्ड्रोइड फोनहरू निस्क्रिय रहेको अवस्थामा पनि प्रयोगकर्ताको जानकारी बिना डेटा संकलन गरी आफ्नो सर्भरमा पठाएको आरोपमा अदालतले गुगललाई दोषी ठहर गरेको हो ।

अदालतको जुरी (न्यायाधीशहरूको समूह) ले वादीको पक्षमा फैसला सुनाउँदै गुगललाई ३१ करोड ४६ लाख अमेरिकी डलर (अन्दाजी ४३ अर्ब रुपैयाँ) जरिवाना तिर्न आदेश दिएको छ ।
सन् २०१९ मा करिब एक करोड ४० लाख क्यालिफोर्नियावासीको तर्फबाट यो सामूहिक मुद्दा दायर गरिएको थियो । मुद्दामा एन्ड्रोइड फोनहरूले प्रयोगकर्ताको खर्चमा सेलुलर डेटा प्रयोग गरी गुगललाई डेटा पठाउने गरेको र यसबाट प्रयोगकर्तालाई ८० करोड डलर बराबरको क्षति भएको दाबी गरिएको थियो । उक्त डेटा लक्षित विज्ञापन देखाउने प्रयोजनका लागि प्रयोग हुने गरेको आरोप लगाइएको थियो ।
यता, गुगलले भने अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएको छ । कम्पनीका अनुसार, प्रयोगकर्ताहरूले गुगलको सेवा सर्त र गोपनीयता नीतिमा सहमति जनाइसकेकाले यो डेटा स्थानान्तरण उनीहरूको मञ्जुरीमै भएको हो । कम्पनीका एक प्रवक्ताले भने, “यो फैसलाले एन्ड्रोइड उपकरणहरूको सुरक्षा, प्रदर्शन र विश्वसनीयताका लागि महत्त्वपूर्ण मानिने सेवाहरूलाई गलत रूपमा बुझेको छ ।”

यसैबिच, अर्को एक समूहले अमेरिकाका अन्य ४९ राज्यका एन्ड्रोइड प्रयोगकर्ताहरूको तर्फबाट पनि छुट्टै मुद्दा दायर गरेको छ । उक्त मुद्दाको सुनुवाइ आगामी अप्रिल महिनाबाट सुरु हुने बताइएको छ ।
पछिल्लो अध्यावधिक: असार २०, २०८२ ९:५०
सामाग्री श्रोत :
टेक पाना