काठमाडौँ । दुई वर्ष अगाडि नै एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध भएको युट्युबको भिडिओ एडिटिङ एप ‘युट्युब क्रियट’ अब आईओएसमा पनि उपलब्ध हुने भएको छ । कम्पनीले आईओएस प्रोजेक्टमा काम गर्नका लागि भारतबाट उल्लेख्य रूपमा इन्जिनियरहरू नियुक्त गरिरहेको जानकारी बाहिर आएको हो ।

टेक क्रन्चमा प्रकाशित एक समाचारका अनुसार कम्पनीले आईओएस भर्सन विकास गर्न कै लागि भारतबाट सफ्टवेयर इन्जिनियरहरू नियुक्त गरिरहेको छ । कम्पनीले सन् २०२३ मा यो एपको एन्ड्रोइड भर्सन सार्वजनिक गरेको थियो ।
यस एप मार्फत प्रयोगकर्ताले नि:शुल्क रुपमा मोबाइलबाट नै भिडिओ इडिट गर्न सक्छन् जसमा स्टिकर, गिफ, अन्य विभिन्न इफेक्ट लगायत थुप्रै फिचरहरू छन् । कम्पनीले यो एप विशेष गरी कन्टेन्ट क्रियटरहरूलाई लक्षित गरी सार्वजनिक गरेको हो ।
यसमा युट्युब भिडिओ सँगै लामो भिडिओहरू इडिट गर्न सकिन्छ । कम्पनीले करिब तीन हजार कन्टेन्ट क्रियटरहरूसँग गरेको परीक्षणपछि मात्र यो एप सार्वजनिक गरेको बताइन्छ । यो एप ठ्याक्कै टिकटकको मातृ कम्पनी बाइटडान्सको क्यापकट जस्तै छ । तर फिचरहरूको तुलनामा भने युट्युब क्रियट भन्दा क्यापकट नै उत्कृष्ट मानिन्छ ।

यस विषयमा गुगलले भने कुनै आधिकारिक धारणा दिइसकेको छैन । तर बाहिरिएको खबर अनुसार चाँडै नै आईओएस प्रयोगकर्ताका लागि पनि यो एप उपलब्ध हुनेछ ।
पछिल्लो अध्यावधिक: असार १५, २०८२ १०:३२
सामाग्री श्रोत :
टेक पाना