२०८२ असार १४ शनिबार
LATEST NEWS
२०८२ असार १४ शनिबार

कान्तिपुरपछि एभिन्युज, न्युज २४ र प्राइम टिभी पनि बेटिङ कम्पनीको खुलेआम प्रचारमा

काठमाडौँ । नेपालमा कानुनले पूर्णतः प्रतिबन्ध लगाएको अनलाइन सट्टेबाजी (बेटिङ)को प्रचारमा टेलिभिजन च्यानलहरू नै संलग्न भएको पाइएको छ । हालै कान्तिपुर टेलिभिजनले अवैध बेटिङ प्लेटफर्म ‘मेलबेट’ को छद्म (सरोगेट) विज्ञापन प्रसारण गरेर आलोचित बनेको घटना सेलाउन नपाउँदै एभिन्युज, न्युज २४, प्राइम टिभीजस्ता अन्य च्यानलले पनि सोही प्लेटफर्मको प्रचारलाई निरन्तरता दिएका छन् ।

यी टिभी च्यानलले आफ्नो समाचार प्रसारणको क्रममा समाचारवाचिका बस्ने डेस्कमा रहेको ल्यापटपमा ‘MELBAT LIVE’ लेखिएको लोगोलाई प्रष्ट रूपमा देखाएका छन् । ‘मेलबेट’ (Melbet) को ‘e’ अक्षरलाई ‘a’ बनाएर ‘मेलब्याट’ (Melbat) को नाममा गरिएको यो प्रचार प्रतिबन्धित प्लेटफर्मलाई घुमाउरो पाराले दर्शकमाझ पुर्‍याउने स्पष्ट प्रयास हो ।

के हो सरोगेट विज्ञापन, अनि कसरी भइरहेको छ प्रचार ?

कानुनले प्रत्यक्ष विज्ञापन गर्न रोक लगाएका वस्तु वा सेवा (जस्तै; मदिरा, सुर्तीजन्य पदार्थ, जुवा) लाई उस्तै नाम, लोगो र ब्रान्डिङ प्रयोग गरी अन्य सामान्य उत्पादनको नाममा गरिने विज्ञापनलाई ‘सरोगेट विज्ञापन’ भनिन्छ । यसै सन्दर्भमा पछिल्लो समय हजारौं नेपालीलाई लक्षित गर्दै अनलाइन जुवा धन्दा चलाइरहेको ‘मेलबेट’ नामक सट्टेबाजी प्लेटफर्मले ‘मेलब्याट लाइभ’ नामको समाचार पोर्टलको ‘मुखुण्डो’ लगाएर आफ्नो प्रचार गरिरहेको छ ।

टेलिभिजन स्क्रिनमा समाचार प्रस्तुत गर्दा देखिने ‘MELBAT LIVE’ को लोगो र ‘मेलबेट’ को लोगो दुरुस्तै मिल्दोजुल्दो छ ।

यसअघि कान्तिपुर टेलिभिजनले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्रि-म्याच एनालिसिस कार्यक्रममार्फत यसको खुलेआम प्रचार गरेको थियो, जसको चौतर्फी आलोचना भएको थियो । तर, जिम्मेवार सञ्चारमाध्यमहरूले आलोचनाबाट पाठ सिक्नुको सट्टा आर्थिक लाभका लागि अवैध गतिविधिलाई नै प्रश्रय दिइरहेको पछिल्ला घटनाक्रमले देखाएका छन् ।

त्यसो त क्रिकेटका स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा बेटिङ प्लेटफर्मको प्रत्यक्ष-अप्रत्यक्ष प्रचार हुँदै आएको छ । जसमा नेपाल क्रिकेट संघ आफैंले पैसा लिएर प्रचारप्रसार गरेको देखिन्छ ।

कानुनी व्यवस्था के छ ?

नेपालको कानुनले कुनै पनि प्रकारको जुवा तथा सट्टेबाजीलाई पूर्ण रूपमा अवैध मानेको छ । जुवा ऐन, २०२० को दफा ३ ले जुवा खेल्न, खेलाउन वा त्यसका लागि कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न समेत प्रतिबन्ध लगाएको छ । यस्तो कार्यमा संलग्न हुनेलाई दण्ड सजायको व्यवस्था छ ।

त्यस्तै, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ (१) को (ख) मा ‘जुवा खेल्न वा खेलाउन प्रोत्साहन गर्ने’ विषयमा विज्ञापन गर्न नहुने स्पष्ट व्यवस्था छ । यसरी कानुनले स्पष्ट रूपमा बर्जित गरेको क्रियाकलापलाई प्रवर्द्धन गरेर प्रमुख टेलिभिजन च्यानलहरूले कानुनको ठाडो उल्लंघन गरिरहेका छन् ।

‘मेलबेट’ को नेपाली बजार लक्षित रणनीति

‘मेलबेट’ ले नेपाली प्रयोगकर्तालाई आकर्षित गर्न सुरुदेखि नै आक्रामक रणनीति अपनाएको छ । यसले आफ्नो लोगोमा नेपालको राष्ट्रिय झण्डा प्रयोग गर्नेदेखि वेबसाइटमा आफूलाई ‘मेलबेट नेपाल अफिसियल’ भनेर चिनाएको छ । प्रयोगकर्तालाई कारोबारमा सहजताको भ्रम दिन इसेवा, खल्ती, आईएमई पे जस्ता नेपाली डिजिटल वालेटहरूको लोगो आफ्नो वेबसाइटमा राखेको छ ।

सिमिलर वेबको तथ्याङ्कअनुसार ‘मेलबेट’ को वेबसाइटका ९९ प्रतिशतभन्दा बढी प्रयोगकर्ता नेपाली नै छन् । यो तथ्यले पनि नेपालमा अनलाइन सट्टेबाजीको जालो कति फैलिएको छ र यसले कसरी युवाहरूलाई कुलतमा फसाइरहेको छ भन्ने देखाउँछ ।

नियामक निकायको मौनता र मिडियाको गैरजिम्मेवारीपना

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले यस्ता सयौँ बेटिङ साइटहरूमाथि प्रतिबन्ध लगाएको दाबी गरे पनि ‘मेलबेट’ र ‘वानएक्सबेट’ जस्ता प्लेटफर्महरू नयाँ डोमेन नेममार्फत निर्वाध चलिरहेका छन् । नियामकको फितलो अनुगमनको फाइदा उठाउँदै यस्ता प्लेटफर्मले नेपाली बजारमा आफ्नो अवैध कारोबार विस्तार गरिरहेका छन् ।

यस्तो अवस्थामा समाजलाई सचेत गराउनुपर्ने र अवैध गतिविधिविरुद्ध आवाज उठाउनुपर्ने सञ्चारमाध्यम आफैँ आर्थिक प्रलोभनमा परेर त्यसको हिस्सा बन्नु बिडम्बनाको विषय बनेको छ । उपभोक्ता अधिकारकर्मी तथा कानुनविद्हरूले यसलाई ‘आपराधिक कार्य’ को संज्ञा दिने गरेका छन् । उनीहरूका अनुसार सर्वोच्च अदालतले समेत कुनै पनि सञ्चारमाध्यममा यस्ता सरोगेट विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न अन्तरिम आदेश जारी गरिसकेको अवस्थामा ठुला मिडिया हाउसले गरेको यो कार्य अदालतको अवहेलना समेत हो ।

विज्ञापन बोर्डले यस्ता विज्ञापनको अनुगमन गरी तत्काल कारबाही अघि बढाउनुपर्ने माग उठिरहेको छ । व्यावसायिक लाभका लागि समाज र कानुनप्रतिको आफ्नो दायित्व बिर्सेर अवैध प्लेटफर्मको प्रचारमा उत्रिएका सञ्चारमाध्यममाथि हालसम्म कुनै कारबाही भएको छैन, भोलि के हुन्छ हेर्न बाँकी छ ।

सम्बन्धित समाचार:

नेपालमा धमाधम अवैध अनलाइन जुवाको प्रचार गर्दै सिक्किमेली कमेडियन पदम तामाङ

नेपालमा खुलेआम अनलाइन जुवा ‘मेलबेट’ सञ्चालनमा, सरोगेट विज्ञापन गर्दै कान्तिपुर टिभी

नेपालीलाई अनलाइन जुवामा फसाउन मेटाबेटका आधा दर्जन बढी वेबसाइट सक्रिय

राज्यलाई उल्लु बनाउँदै क्रिकेट मैदानमै खुलेआम अनलाइन बेटिङको प्रचार !

पछिल्लो अध्यावधिक: असार १३, २०८२ १७:५०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट