२०८२ जेष्ठ ३ शुक्रबार
२०८२ जेष्ठ ३ शुक्रबार

सीटीईभीटीमा प्रवेश परीक्षा नहुने, जीपीएको आधारमा नै विद्यार्थी छनोट

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका कुनै पनि कार्यक्रम अध्ययन गर्न अबदेखि विद्यार्थीले इन्ट्रान्स परीक्षा (प्रवेश परीक्षा) दिनुपर्ने छैन। परिषद्ले हालै जारी गरेको ‘प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२’ लागू भएसँगै यो व्यवस्था हटाइएको हो।

निर्देशिका अनुसार अबदेखि एसईई वा एसएलसीमा प्राप्त अङ्कका आधारमा विद्यार्थी छनोट गरिनेछ। एसईईमा प्राप्त अङ्कलाई जीपीए ४ पूर्णाङ्क मानिनेछ। सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई अतिरिक्त १ अङ्क र संस्थागत (निजी) विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ०.८५ अङ्कका दरले योग्यता क्रम तय गरिनेछ।

वैशाख २६ गते बसेको सीटीईभीटीको २०७ औं बैठकले परीक्षा नियन्त्रण कार्यालयलाई सो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो। सोही निर्णयअनुसार इन्ट्रान्स परीक्षा यही शैक्षिक सत्रदेखि हटाइएको हो।

यसअघि इन्ट्रान्स परीक्षा तयारीका लागि कक्षा सञ्चालन गरिने गरिन्थ्यो, जसमा विद्यार्थीबाट मोटो शुल्क लिइने गरिएको थियो। अब भने विद्यार्थीहरू एसईईको जीपीएको आधारमा सिधै भर्ना हुन पाउनेछन्।

देशभर रहेका ६३ वटा आङ्गिक र ४०० भन्दा बढी प्रतिष्ठान तथा निजी कलेजहरूमा हरेक वर्ष २५ हजारभन्दा बढी विद्यार्थी भर्ना हुने गर्छन्। अब ती विद्यार्थीले आफूले रोजेको शिक्षालय तथा विषयमा अनलाइनमार्फत भर्ना फारम भर्न सक्नेछन्। सम्बन्धित क्याम्पसहरूले फारम भर्न सहजता मिलाउने व्यवस्था मिलाउने छन्।

स्वास्थ्यका लागि न्युनतम २ जीपीए

स्वास्थ्यका पीसीएल नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी, ल्याब टेक्निसियन लगायतका तीन वर्षे डिप्लोमा कोर्स विद्यार्थीको आकर्षण देखिन्छ। त्यसका लागि उच्च प्रतिष्पर्धा हुने गरेको छ।

स्वास्थ्य कार्यक्रमहरूको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसईई परीक्षामा अनिवार्य अंग्रेजी गणित र विज्ञान विषय लिई समग्रमा स्तरीकृत अंक ४.० मा न्यूनतम २.० जी. पी. ए. अथवा सो सरह वा परिषद्बाट सम्बन्धित प्राविधिक एस.एल.सी./प्रि-डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ।

एस. एल. सी. / एस. ई. ई. को नतिजा पनि बराबर भएमा एस.एल.सी. / एस.ई.ई. परीक्षाको क्रमशः अनिवार्य गणित, विज्ञान र अंग्रेजीको फाइनल ग्रेडको आधारमा योग्यताक्रम प्रकाशित गरिने बताइएको छ। त्यसमा पनि अंक  बराबर भएमा पिछडिएको दुर्गम एस.एल.सी. वा एस. ई. ई. उत्तीर्ण भएका उम्मेद्वारलाई प्राथमिकता दिइने उल्लेख छ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट