२०८२ बैशाख ३ बुधबार
२०८२ बैशाख ३ बुधबार

तपाईँको बैंक खाता कसैले चलाइरहेको छ कि ? थाहा पाइराख्नुहोस्, आपतमा काम लाग्ने सम्पर्क नम्बर

काठमाडौँ । नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूलाई आफ्नो खातामा कुनै पनि अनधिकृत कारोबार भएमा तुरुन्तै खबर गर्न आग्रह गरेको छ ।

मङ्गलबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले ग्राहकहरूलाई आफूले कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाको आपतकालीन सहयोगको लागि सम्पर्क नम्बरहरू थाहा पाइराख्न समेत अनुरोध गरेको छ ।

“तपाईंको खाताबाट अनधिकृत कारोबार भएको थाहा पाउनासाथ कहाँ र कसलाई खबर गर्ने थाहा पाउनु भएको छ ? बैंक तथा वित्तीय संस्थाले ग्राहकको समस्या सुन्न र आवश्यक समाधानका लागि टोल फ्री नम्बर तथा ग्राहकको सहयोगको लागि कर्मचारीहरू (Customer Support Team) को व्यवस्था गरेका हुन्छन् । कुनै अनधिकृत कारोबार भएको थाहा पाउनासाथ तत्काल त्यस्तो नम्बर र इकाईमा खबर गर्नु पर्दछ,” राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

डिजिटल युगमा वित्तीय कारोबारका लागि सजिलो माध्यम विकास भइरहँदा अनधिकृत कारोबार तथा ठगीको जोखिम पनि बढेको छ । अज्ञात व्यक्तिहरूले ग्राहकहरूको बैंक खाता तथा वालेट अकाउन्ट, पिन कोड, ओटीपी जस्ता व्यक्तिगत विवरणहरू प्राप्त गरेर खाताबाट रकम निकाल्न सक्छन् । 

पछिल्लो समय मोबाइलमा नक्कली शर्टकोडमार्फत स्पाम मेसेज तथा स्क्याम लिङ्क पठाएर ठगी गर्ने प्रवृत्ति बढेको छ । यस्तो अवस्थामा ग्राहकहरू नै सतर्क रहनुपर्ने र आफ्नो वित्तीय कारोबारहरू नियमित रूपमा जाँच गर्न नियामक तथा सेवाप्रदायकले सुझाव दिएका छन् । 

नेपाल राष्ट्र बैंकले गुनासो दर्ताका लागि अनलाइन पोर्टलको व्यवस्था गरेको छ । यदि तपाईंको खातामा कुनै अनधिकृत कारोबार भएको छ वा कुनै वित्तीय संस्थाबाट सन्तुष्ट नभएको खण्डमा राष्ट्र बैंकको वेबसाइट www.gunaso.nrb.org.np मा गएर आफ्नो गुनासो दर्ता गर्न सक्नुहुन्छ । थप जानकारीको लागि राष्ट्र बैंककै वित्तीय ग्राहक संरक्षण इकाइको सम्पर्क नं. ०१-५७१९६०५ मा सम्पर्क गर्नुहोस् ।

त्यस्तै आफूले कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाको आपतकालीन सहयोगको लागि सम्पर्क नम्बरहरू थाहा पाइराख्न विभिन्न उपाय अपनाउन सकिन्छ । सम्बन्धित बैंक वा वित्तीय संस्थाको आधिकारिक वेबसाइटमा गएर ‘कन्ट्याक्ट अस’ वा ‘सम्पर्क’ सेक्सनमा टोल फ्री नम्बर तथा गुनासो दर्ता गर्ने ईमेल आईडी लगायतका विवरण पाउन सकिन्छ । यसका साथै, धेरै बैंकहरूले आफ्नो मोबाइल बैंकिङ एपमा ग्राहक सेवा वा सहयोग सेक्सनमा सम्पर्क नम्बरहरू उपलब्ध गराएका हुन्छन् । सामाजिक सञ्जालका अफिसियल पेजमा नम्बर पाउन सकिन्छ ।

त्यस्तै ग्राहक सेवामा फोन गरेर वा नजिकैको बैंकको शाखामा गएर पनि आपतकालीन सम्पर्क नम्बरहरू सोध्न सकिन्छ । यसबाहेक, बैंकले प्रदान गर्ने स्टेटमेन्ट र पासबुकमा पनि बैंकको आपतकालीन सम्पर्क नम्बरहरू उल्लेख गरिएको हुन्छ । यी उपायहरू अपनाएर आफूले कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाको आपतकालीन सहयोगको लागि सम्पर्क नम्बरहरू थाहा पाउन तथा सेभ गरेर राख्न सकिन्छ ।

बैंक खाता तथा डिजिटल वालेटको सुरक्षा कसरी गर्ने ? 

  • आफ्नो खाताको विवरणहरू गोप्य राख्नुहोस् ।

  • आफ्नो पिन कोड र पासवर्डहरू नियमित रूपमा परिवर्तन गर्नुहोस् ।

  • अपरिचित व्यक्तिहरूलाई आफ्नो खाताको विवरणहरू नदिनुहोस् ।

  • आफ्नो कारोबारहरू नियमित रूपमा जाँच गर्नुहोस् ।

  • कुनै पनि शंकास्पद गतिविधि देखेमा तुरुन्तै आफ्नो बैंक वा वित्तीय संस्थालाई खबर गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८२ २१:२५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट