काठमाडौँ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपाललाई डिजिटल घुमन्ते (डिजिटल नोम्याड्स) र रिमोट वर्करका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्न सकिने उल्लेख गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेललाई बुझाइएको आयोगको अन्तिम प्रतिवेदनमा नेपाल डिजिटल घुमन्तेहरूका लागि आकर्षक गन्तव्य बन्ने पाँच कारण औँल्याइएको छ ।
आयोगका अनुसार नेपालमा रमणीय स्थल, अनुकूल मौसम र तुलनात्मक रूपमा सस्तो जीवनयापन खर्चले डिजिटल घुमन्तेहरूलाई आकर्षित गर्न सक्छ । साथै यहाँका युवाहरूमा सूचना प्रविधिमा दखल र अंग्रेजी भाषामा राम्रो पकड रहेको कारण पनि नेपाल उपयुक्त गन्तव्य बन्न सक्ने आयोगको निष्कर्ष छ ।
सूचना प्रविधिमा आवश्यक पूर्वाधार विस्तार भइरहेको उल्लेख गर्दै प्रतिवेदनले विद्युतीय आपूर्तिको सुधारले पनि रिमोट वर्क गर्न चाहनेहरूलाई सहज हुने उल्लेख गरेको छ ।

प्रतिवेदन अनुसार विश्वव्यापी रूपमा झन्डै १८ प्रतिशत कामदार रिमोट वर्कको क्षेत्रमा संलग्न छन् । तीमध्ये नियमित कम्पनीका लागि घरबाटै काम गर्ने र पर्यटन गन्तव्यमा बसेर काम गर्ने गरी दुई वर्ग छन् ।
३०-३९ वर्ष उमेर समूहका व्यक्तिहरू डिजिटल घुमन्तेमा पर्ने उल्लेख गर्दै प्रतिवेदनले उनीहरू खर्चिलो हुने भएकाले पर्यटन र प्रविधि क्षेत्रमा समेत सकारात्मक आर्थिक प्रभाव पार्ने जनाएको छ ।
यद्यपि आयोगले हालको श्रम ऐनमा रिमोट वर्कको व्यवस्था नभएकोले नीति सुधार नगरेसम्म डिजिटल घुमन्तेहरू भित्र्याउन चुनौती रहने औंल्याएको छ । श्रम ऐन संशोधन गरी रिमोट वर्कलाई कानुनी मान्यता दिने र डिजिटल घुमन्ते सम्बन्धी छुट्टै नीतिगत व्यवस्था गर्न आयोगले सरकारलाई सुझाव दिएको छ ।
पछिल्लो अध्यावधिक: चैत २९, २०८१ १९:३३
सामाग्री श्रोत :
टेक पाना