२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

गुगल ड्राइभ मात्रै होइन, मेसेजिङ एपमा पनि बालयौन सम्बन्धी सामग्री राखे प्रहरीलाई थाहा हुन्छ

काठमाडौं । हालै टेकपानासहित विभिन्न सञ्चारमाध्यममा एउटा समाचार आयो । समाचार अनुसार आफ्नी सौतेनी नाबालिक छोरीलाई करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका हुन् । ती व्यक्तिले करणी गरेको भिडिओ गुगल ड्राइभमा अपलोड भएपछि अमेरिकास्थित नेसनल सेन्टर फर मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रेन (नेकमेक)ले उक्त भिडिओ पहिचान गर्‍यो । र, नेपाल प्रहरीको साइबर ब्युरोलाई खबर गर्‍यो । त्यसपछि ब्युरोको टोली वीरगञ्ज पुगी ती पुरुषलाई पक्राउ गर्‍यो । 

भिडिओ गुगल ड्राइभमा अपलोड भएपछि उनको पहिचान खुलेको बताइएको छ । समाचार र उक्त घटनाको चासो एक ठाउँमा छ । त्यससँगै यो घटना सार्वजनिक भएपछि गुगल ड्राइभको गोपनीयतामाथि सर्वसाधारणले प्रश्न उठाएका छन् । गुगल ड्राइभमा राखिएका संवेदनशील कागजात वा फोटो सुरक्षित छन् कि छैनन् भन्ने विषयमा उनीहरूले आशंका व्यक्त गरेका छन् ।

यसैबिच आज हामी, नेकमेक के हो ? बाल यौनदुर्व्यवाहारसँग सम्बन्धित भिडिओ आदान प्रदान गर्दा उक्त संस्थालाई कसरी थाहा हुन्छ ? गुगल ड्राइभमा त्यस्ता सामग्री राख्दा मात्र थाहा हुने हो कि अन्य प्लेटफर्ममा राख्दा पनि थाहा हुन्छ भन्ने विषयमा चर्चा गर्दैछौं:

नेकमेक के हो ?

सन् १९८४ मा स्थापना भएको नेसनल सेन्टर फर मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रेन (नेकमेक) हराएका तथा जोखिममा परेका बालबालिकाको हकहितका लागि काम गर्ने अमेरिकी संस्था हो । यो गैरनाफामूखी संस्थाले हराएका बालबालिका खोज्ने, बालबालिकामाथि भएको यौन दुर्व्यवहारका घटना न्यूनीकरण गर्ने र उनीहरूलाई विभिन्न किसिमका शोषणबाट जोगाउने काम गर्दै आएको छ ।

सन् १९८१ मा आफ्ना छोरा एडम वाल्शको अपहरणपछि हत्या भएको दर्दनाक घटनापछि उनका आमाबुबा रेभे र जोन वाल्शले नेकमेकको स्थापनामा विशेष भूमिका खेलेका थिए । त्यतिबेला अहिलेको जस्तो सामाजिक सञ्जाल र प्रविधिको विकास भइसकेको थिएन । यद्यपि बालबालिकामाथि हुने शोषण, अपहरण, हिंसा, हत्या, यौन शोषणका घटना तमाम थिए । 

बालबालिकाको हकहितका लागि काम गर्ने विभिन्न संघसंस्थासँग मिलेर यस संस्थाले त्यस्ता घटना न्यूनीकरण गर्ने अभियानमा लागेको थियो । 

समयसँगै प्रविधिको विकासले बालबालिकामाथि हुने यौन दुर्व्यवहार र शोषणका घटनाहरू फरक स्वरूपमा देखा पर्न थाले । भौतिक रूपमा मात्र नभएर अनलाइन माध्यमबाट पनि बालबालिका विभिन्न किसिमका शोषणमा परेका घटना बढ्न थाले ।

त्यसैलाई न्यूनीकरण गर्न नेकमेकले विभिन्न कानुन कार्यान्वयन गर्ने निकाय, सामाजिक सञ्जाल तथा मेसेजिङ प्लेटफर्महरूसँगै इन्टरनेटमा भएका अन्य विभिन्न प्लेटफर्महरूसँग सहकार्य गर्न थाल्यो । बालयौन दुर्व्यवहारसँग सम्बन्धित सामग्रीलाई अङ्ग्रेजीमा ‘चाइल्ड सेक्सुअल एब्युज म्याटरियल’ (सीएसएएम) भनिन्छ । 

नेकमेकले बालबालिका दुर्व्यवहार तथा शोषणमा परेको अर्थात् सीएसएएमको सिकार भए‍को कसरी थाहा पाउँछ भन्ने विषयमा चर्चा गरौं:

नेकमेकले अनलाइनमा बालबालिका यौन दुर्व्यवहारमा परेको जानकारी विभिन्न तरिकाले पाउँछ । त्यसमध्येको एक हो हो, यसको प्रणाली ‘साइबर टिपलाइन’ ।

यो यस्तो प्रणाली हो, जहाँ जोकोहीले पनि बालबालिकासँग सम्बन्धित यौन दुर्व्यवहार सम्बन्धित सामग्री (सीएसएएम) रिपोर्ट गर्न सक्छन् । एकातिर सामाजिक सञ्जाल तथा अन्य प्लेटफर्म जस्तै मेटा, गुगल, एक्स, टिकटक आदिले आफै रिपोर्ट गर्छन् भने अर्कोपट्टि तपाईं हामी जोकोहीले रिपोर्ट गर्न सक्छौं । 

बालबालिकाको यौन दुर्व्यवहारको तस्बिर वा भिडिओ, अनलाइन ग्रुमिङ, यौनिक च्याट वा अन्य कुनै शङ्कास्पद गतिविधि छन् भने त्यस्ता सामग्री रिपोर्ट गर्न सकिन्छ । वेबसाइटमा रिपोर्ट गर्दा सम्भव भएसम्म यूआरएल, स्क्रिनशट र घटनाको जानकारीसँगै उपलब्ध भएका विवरण दिन सकिन्छ । यदि तपाईंले पनि इन्टरनेटमा कुनै बालबालिकाको त्यस्तो सामग्री फेला पार्नु भएको छ भने यहाँ क्लिक गरेर रिपोर्ट गर्न सक्नुहुन्छ ।

यसरी साइबर टिपलाइनमा आएका सबै रिपोर्टहरूलाई नेकमेकका विश्लेषकले समीक्षा गर्छन् । उनीहरूले रिपोर्टमा दिइएको जानकारीको आधारमा सामग्री बालबालिकाको यौन दुर्व्यवहारसँग सम्बन्धित छ कि छैन भनेर निर्धारण गर्छन् । यस्ता सामग्री विश्लेषण गर्न नेकमेकका विज्ञहरूले सामाजिक सञ्जालका प्लेटफर्महरूसँग सहकार्य गरेका हुन्छन् । ती कम्पनीबाट नेकमेकका विज्ञहरूले सम्भावित पीडकको आवश्यक विवरण पनि पाउँछन् ।

यदि विज्ञले रिपोर्टमा बालबालिकाको यौन दुर्व्यवहार भएको सङ्केत पाए भने त्यससँग सम्बन्धित आवश्यक विवरण सङ्कलन गरेर उनीहरूले सम्बन्धित देशको ल इन्फोर्समेन्ट एजेन्सी (कानुन कार्यान्वयन गर्ने निकाय)लाई जानकारी दिन्छन् । घटनाको गाम्भीर्यता र स्थानका आधारमा कुन कानुन कार्यान्वयन गर्ने निकायलाई जानकारी दिने भन्ने विषय फरक पर्न सक्छ । नेपालको सन्दर्भमा नेकमेकले साइबर ब्युरोलाई यस्ता जानकारी उपलब्ध गराउँछ । 

कानुन कार्यान्वयन गर्ने निकायले नेकमेकबाट प्राप्त जानकारीको आधारमा घटनाको अनुसन्धान गर्छन् । यसमा सामग्री अपलोड गर्ने व्यक्ति पत्ता लगाउने, पीडितको पहिचान गर्ने र आवश्यक कानुनी कारबाही गर्ने जस्ता कामहरू समावेश हुन सक्छन् ।

यसमा नेकमेकलाई विभिन्न देशका इन्टरनेट सेवाप्रदायक र सामाजिक सञ्जाल प्लेटफर्मले सहकार्य गरेका हुन्छन् । यसले गर्दा ती प्लेटफर्ममा हुने बालबालिकाको यौन दुर्व्यवहारसँग सम्बन्धित सामग्री अनलाइनबाट हटाउन सकिन्छ ।

अब प्लेटफर्मको कुरा गरौं । गुगल, मेटा, एक्स, टिकटक, टेलिग्राम जस्ता प्लेटफर्मले इन्क्रिप्सनको सुविधा दिने दाबी गर्छन् । सामान्य अर्थमा भन्दा इन्क्रिप्सन भनेको जानकारी वा डेटालाई गोप्य कोडमा बदल्ने प्रक्रिया हो जसले गर्दा अनुमति नभएका व्यक्ति वा सम्बन्धित कम्पनीले यसलाई पढ्न वा बुझ्न सक्दैनन् ।

यसले डेटालाई सुरक्षित राख्न मद्दत गर्नुका साथै यसले जानकारीलाई एक प्रकारको ताला लगाउँछ जसलाई सही साँचो (key) बिना खोल्न सकिँदैन । सञ्चारमा इन्ड-टु-इन्ड इन्क्रिप्सन भन्ने शब्दावली हुन्छ । यो भनेको पठाउने र पाउने व्यक्तिबाहेक अर्को पक्ष (व्यक्ति वा कम्पनी)ले उक्त च्याट हेर्न वा पढ्न सक्दैन । यसबारे थप जान्न यहाँ क्लिक गर्नुहोस् ।

त्यसो भए बालयौन दुर्व्यवहारसँग सम्बन्धित सामग्रीको जानकारी यी कम्पनीहरूले कसरी थाहा पाउँछन् ? यसका लागि सामाजिक सञ्जाल तथा मेसेजिङ प्लेटफर्मले प्रयोगकर्ताले गर्ने रिपोर्ट, प्रयोगकर्ताको गतिविधि, प्रोफाइल फोटो आदि विश्लेषण गरी सीएसएएम पहिचान गर्छन् । त्यसबाहेक यसमा प्रयोग गर्ने अर्को विधि ह्याश म्याचिङ र एआई तथा मसिन लर्निङ हो । 

ह्याश म्याचिङमा सीएसएएम भएका फोटो र भिडिओको ‘फिङ्गरप्रिन्ट’ जस्तो ह्याश कोडको डेटाबेस प्रयोग गरिन्छ । ती प्लेटफर्ममा नयाँ सामग्री अपलोड हुँदा त्यसको ह्याश गणना गरी डेटाबेसमा भएका ह्याशसँग तुलना गरिन्छ । र, ह्याश मिलेमा उक्त सामग्रीलाई सीएसएएमको रूपमा पहिचान गरिन्छ ।

यो विधि छिटो र सटीक भए पनि थोरै परिवर्तन गरिएका सामग्री पत्ता लगाउन सक्दैन । त्यस्तोमा एआईको प्रयोग हुन्छ । आर्टिफिसियल इन्टेलिजेन्स विशेषगरी डिप लर्निङ सीएसएएम पत्ता लगाउन धेरै प्रभावकारी छ ।

सबैभन्दा पहिले एआई मोडेललाई सीएसएएम र गैर-सीएसएएम सामग्रीको ठूलो डेटासेटमा तालिम दिइन्छ । यसले गर्दा एआईले सीएसएएम सामग्रीको विशेषता पहिचान गर्न सक्छ । तालिम दिइएको मोडेलले नयाँ सामग्रीको विश्लेषण गरी सीएसएएम हुने सम्भावना मूल्याङ्कन गर्छ र उच्च सम्भावना देखिएमा त्यसलाई सीएसएएमको फ्ल्याग लगाउँछ ।

एआईले नयाँ र परिवर्तन गरिएका सामग्रीहरू पत्ता लगाउन सक्ने भए तापनि यसलाई तालिम दिन धेरै डेटा र कम्प्युटिङ शक्ति चाहिन्छ र कहिलेकाहीँ यसले गल्ती पनि गर्न सक्छ । त्यसैले धेरै प्लेटफर्महरूले ह्याश म्याचिङ र एआई दुवैलाई संयोजन गर्छन् । यसमा ह्याश म्याचिङले पत्ता लागेका सीएसएएमलाई छिटो हटाउँछ भने एआईले नयाँ र परिवर्तन गरिएका सामग्रीहरू पत्ता लगाउन मद्दत गर्छ । 

यसरी इन्क्रिप्टेड सेवा दिएपनि इन्टरेनटका विभिन्न माध्यमले सीएसएम सामग्री पहिचान गर्छन् ।

उदाहरणका लागि, तपाईंले सीएसएएम सामग्री खिच्नुभयो वा अर्को कुनै व्यक्तिबाट पाउनु भयो वा इन्टरनेटबाट डाउनलोड गरी आफ्नो डिभाइसमा राख्नु भयो । तर, कतै शेयर गर्नु भएको छैन । यस्तोमा सम्बन्धित मोबाइल फोन निर्माता कम्पनीले माथि उल्लेख गरिएकै विधि अपनाएर सीएसएएम सामग्री पहिचान गरी त्यस क्षेत्रमा काम गर्ने नेकमेक जस्तै विभिन्न संस्थालाई त्यससँग सम्बन्धित जानकारी उपलब्ध गराउँछन् । 

“अरू कुरामा इन्क्रिप्सन लागु भएपनि बाल यौन दुर्व्यवहारका विषयमा कसैले पनि त्यसलाई समर्थन गर्दैनन्,” साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले भने, “नेपालमा त्यस्ता सामग्री शेयर भइरहेका छन् वा कसैले आफ्नो डिभाइसमा भण्डारण गरेको छ भने नेकमेक जस्ता संस्थामा जानकारी पुग्छ । नेकमेकले साइबर ब्युरोलाई रिपोर्ट गर्छ ।”

यस्ता घटना थुप्रै हुने भएपनि केही मात्र बाहिर आउने गरेका छन् । जेठ २०८० तिर सीएसएएम कन्टेन्ट शेयर गरेको आरोपमा एक युवती पक्राउ परेको समाचार टेकपानामा प्रकाशित भएको थियो । युवतीले आफ्नो प्रेमीलाई खुशी बनाउने नाममा नाबालिक बहिनीको यौन भिडिओ बनाई पठाएको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

पछिल्लो अध्यावधिक: चैत २७, २०८१ १५:१०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट