नुवाकोटकी अनिता तामाङको जीवन कहिल्यै सजिलो थिएन। गरिबीको छायाँमा हुर्किएकी अनिताले जीवनलाई सधैं संघर्षकै रूपमा स्वीकार गरिन्। जब उनले पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिइन्, तब उनी सोचेकी थिइन् अब जीवनले नयाँ मोड लिन्छ। तर नियतिले उनलाई फेरि अर्को कठोर परीक्षा दिएर स्वागत गर्यो।
जन्मिँदै छोरीका दुवै किड्नी फेल भएको खबरले अनिताको संसार एकैछिनमा अन्धकार भयो। डेढ महिनासम्म ICU मा राखेर उपचार गराइयो। ऋण काढेर, आफन्तसँग हात फैलाएर उनले छोरीको जीवन जोगाइन्। त्यो बेला अनिताले आफूलाई होइन, केवल छोरीलाई बचाउने सपना देखिरहेकी थिइन्। १८ महिनासम्म बिरामी छोरीलाई जसो तसो हुर्काउँदै, उपचार खर्च तिर्दै, ऋणको भार बोक्दै गर्दा उनले एउटा निर्णय गरिन् परदेश जाने।
सन् २०२२ को जुलाईमा उनी साइप्रस आइपुगिन्। घरेलु कामदारको रूपमा काम सुरु गरिन्। परदेशी भूमिमा पसिना बगाउँदै उनले छोरीका लागि भविष्य बुन्न थालिन्। काम राम्रो चलिरहेको थियो। जीवन बिस्तारै सम्हालिँदै थियो। तर करिब १४ महिनापछि उनको शरीरले साथ दिन छाड्यो। लगातार दुई हप्ता दिसा रोकियो। त्यसपछि रगतको बान्ता हुन थाल्यो। अवस्था गम्भीर बन्दै गएपछि डाक्टर घरमै आएर जाँच गरे। एक मिनेट पनि ढिला नगरी उनलाई लिमासोल जनरल अस्पतालको आपतकालीन कक्षमा भर्ना गरियो।
त्यही दिन उनलाई थाहा भयो कि उनको ठूला आन्द्रामा क्यान्सर भएको रहेछ। यो खबरले अनिताको जीवन एकाएक थामिएजस्तो भयो। भोलिपल्टै अपरेशन गरियो। आन्द्रा काटेर हटाइयो। जीवन र मृत्युको सीमारेखामा उभिएकी अनिताले त्यो दिन आफूभन्दा बढी छोरीको अनुहार सम्झिइन्।

अपरेशनपछि उनले एक वर्ष घरमै बसेर उपचार गरिन्। छ पटक किमोथेरापी सहिन्। शरीर कमजोर हुँदै गयो, तर मन बलियो बनाइराखिन्।

एक वर्षको लगातार औषधि उपचारपछि परीक्षण गर्दा क्यान्सर छैन भन्ने रिपोर्ट आयो। डाक्टरले अब सामान्य काम गर्न सक्ने बताए। नेपाल फर्किन चाहेमा उडानका लागि समस्या नहुने जानकारी पनि दिए।
दिदीले नेपाल फर्कन सुझाइन्। तर अनिताले छोरीको उपचार खर्च जुटाउन अझै काम गर्नैपर्छ भन्दै नेपाल नफर्कने कठोर निर्णय गरिन्। उनले आफ्नै स्वास्थ्यलाई दोस्रो स्थानमा राखिन्।
नयाँ आशा बोकेर उनी पारालिम्नी सिलाफागु पुगिन्। नयाँ काम सुरु गरिन्। चार महिना पनि बित्न नपाउँदै फेरि पेट दुख्न थाल्यो। अवस्था दिनप्रतिदिन बिग्रँदै गयो। उनलाई अस्पताल पुर्याइयो। त्यहाँबाट फेरि लिमासोल जनरल अस्पताल रिफर गरियो। परीक्षणपछि रिपोर्ट आयो कि क्यान्सर चौथो चरणमा पुगेको छ। अब रोगले शरीरका सीमाना तोडिसकेको थियो। पचाउने आन्द्रा बाँकी थिएन। क्यान्सर पाठेघरमा समेत फैलिसकेको थियो। उनलाई निजी अस्पतालमा पठाइयो।
आज अनिता एउटा कोठामा सीमित जीवन बिताइरहेकी छिन्। दिसा–पिसाब शरीरबाट सिधै पाइपमार्फत प्लास्टिकको थैलीमा जम्मा हुन्छ। दिनमा तीन चार पटक त्यो थैली फेर्नुपर्छ। आफैं उठ्न, हिँड्न, हेरचाह गर्न सक्दिनन्। सधैं कसैको सहारा चाहिन्छ। शरीर पहेँलो भएको छ। जे खान्छिन्, त्यो टिक्दैन जस्ताको तस्तै बाहिर निस्किन्छ । दुखाइ उनको दैनिकी बनेको छ।
अहिले उनी दिदीकी साथीको घरमा बसिरहेकी छन्। तर त्यो घरका मालिकले पनि अब उनलाई त्यहाँ नराख्ने निर्णय गरिसकेका छन्। अनितालाई तत्काल बस्न कोठा चाहिएको छ। हेरचाह गर्ने मानिस चाहिएको छ। तर कहाँ जाने, कसरी बाँच्ने भन्ने प्रश्नले सबैलाई तनावमा पारेको छ।
नेपालमा रहेका उनका श्रीमान् स्वयं बिरामी छन्। टाउकोमा एलर्जी, घाउ पाकिरहन्छ। महिनामा १५ देखि १६ हजार कमाइले जीवन चलाउनै मुस्किल छ। छोरी अझै पनि बिरामी छिन्। बुबा–छोरी दुवै आमाको प्रतीक्षामा छन्।
यस कठिन अवस्थामा नेपाली समुदायका विभिन्न संस्था तथा सामाजिक अभियन्ताहरूले अनिताका लागि सहयोग संकलन गर्ने अभियान सुरु गरिसकेका छन्। Helping Hand Cyprus लगायतका प्रतिनिधिहरूले उनको उपचार, बसोबास, औषधि र हेरचाहका लागि सहयोग जुटाइरहेका छन्। अहिलेसम्म धेरै नेपालीहरूले आफ्ना साना ठूला योगदानमार्फत उनलाई जीवनको आशा दिएका छन्।
डाक्टरले अझै चार पटक किमोथेरापी गर्नुपर्ने बताएका छन्। अनिता त्यो पीडा सहन तयार छिन्। कारण एउटै छ आखाँ अगाडी आइरहने उनकी सानी छोरी।
भेट्न गएकाहरूलाई उनी भन्छिन्, “म बाँच्न चाहन्छु। मेरी छोरीका लागि। म बाँच्न सकिन भने, मेरो नाममा उठेको पैसा उसैलाई दिनु।”
यी शब्दहरू कुनै समाचारका साधारण वाक्य होइनन्। यी एक आमाको अन्तिम प्रार्थना हुन्।
आज अनिता तामाङको जीवन तपाईं हामी सबैको सहयोगमा टिकेको छ। तपाईंले दिनुभएको सानो सहयोगले उनको उपचार, बसोबास र हेरचाहलाई निरन्तरता दिन सक्छ। तपाईंको एउटा सानो कदमले एक नानीको भविष्य सुरक्षित हुन सक्छ।
अनिताको परिवारले साइप्रसबासि नेपाली संग सहयोग को लागि अपिल गरेको छ।
अनितालाई सहयोग गर्न चाहने महानुभावहरूले Revolut नम्बर 97819683 मा Subash Waiba को नाममा रकम पठाउन सक्नुहुन्छ। त्यसैगरी Bank of Cyprus को खाता नम्बर 95119138 मा Dinesh Mahara को नाममा पनि सहयोग उपलब्ध गराउन सकिन्छ। थप जानकारीका लागि 94432136, 97 523883 वा 95119138 नम्बरमा सम्पर्क गर्न सकिन्छ।
आज तपाईं पनि आफ्नो सामर्थ्यअनुसार सानो सहयोग गर्न सक्नुहुन्छ। किनकि मानवता सानो सहयोगबाटै सुरु हुन्छ।
अनिता बाँचुन्।
एउटी छोरी अनाथ नहोस्।













