२०८१ चैत्र २७ बुधबार
२०८१ चैत्र २७ बुधबार

फोन-ल्यापटपमा गरिएको इन्टरनेट सर्चलाई आधार बनाएर समेत विदेशीलाई डिपोर्ट गर्दै अमेरिका

काठमाडौं । पछिल्ला केही सातामा विमानस्थल भन्सार तथा सीमा सुरक्षा (सीबीपी) एजेन्टहरूले यात्रुहरूको फोनमा गरेको सर्चका आधारमा उनीहरूलाई अमेरिका प्रवेश गर्न नदिएका घटना सार्वजनिक भएका छन् । एच-वनबी भिसामा रहेका एक जना डाक्टरलाई हिजबुल्लाह नेताहरूको ‘सहानुभूतिपूर्ण फोटो र भिडिओहरू’ (Sympathetic photos and videos) सर्च गरेको फेला परेपछि लेबनान डिपोर्ट (निर्वासन) गरिएको द भर्जले उल्लेख गरेको छ ।

त्यस्तै एक फ्रान्सेली वैज्ञानिकलाई ट्रम्प प्रशासनले अनुसन्धान कार्यक्रमहरूमा गरेको कटौतीको आलोचना गर्ने मेसेजहरू फेला परेपछि फिर्ता पठाइयो, जसलाई अमेरिकी अधिकारीहरूले ‘ट्रम्पप्रति घृणा’ व्यक्त गरेको तथा ‘आतङ्कवादमा संलग्न हुन सक्ने’ बताए । 

तपाईँले गरेको सर्चको आधारमा अस्वीकृत हुनसक्ने कुरा तपाईँको अध्यागमन स्थितिका साथै, तपाईँ अमेरिकामा कहाँ र कसरी प्रवेश गर्दै हुनुहुन्छ भन्ने कुरामा निर्भर गर्छ । अमेरिका प्रवेश गर्ने नाकाहरूमा डिभाइसमा गरिने खोजतलासका सम्बन्धमा त्यहाँका विभिन्न अदालतहरूले फरक फरक फैसलाहरू जारी गरेका छन् । तर तपाईँको अवस्था जे भएपनि, यदि अमेरिका जाँदै हुनुहुन्छ भने तपाईँले आफ्नो डिजिटल गोपनीयताको सुरक्षाका लागि सावधानी अपनाउनु पर्ने हुनसक्छ ।

सीबीपीले डिभाइसभित्र खानतलासी गर्ने विषय विगतमा एकदमै विरलै हुने गरेको थियो । सन् २०२२ मा अमेरिका आगमन गर्ने अन्तर्राष्ट्रिय यात्रुहरू मध्ये ०.०१ प्रतिशतभन्दा थोरैको फोन, कम्प्युटर वा अन्य विद्युतीय उपकरणहरू सीबीपीले खानतलासी लिएको थियो ।

त्यस वर्ष, सीबीपी अधिकारीहरूले ४७,०४७ ओटा डिभाइसभित्र चेकजाँच गरेका थिए । अझै अघिका वर्षहरूको तुलनामा भने त्यो बढेको आँकडा हो । किनभने सन् २०१६ मा सीबीपीले १९ हजार ५१ डिभाइसमा मात्र चेकजाँच गरेको थियो । 

सन् २०१४ मा अमेरिकाको सर्वोच्च अदालतले सुनाएको फैसलामा वारेन्ट बिना मानिसहरूको मोबाइल फोन खानतलासी गर्नु कानुन विपरीत हुने बताएको थियो । तर उक्त नियमको एउटा अपवाद छ: सीमा नाकाहरूमा हुने खानतलासी । अमेरिकी अदालतहरूले सीमा नाकाहरूमा हुने खानतलासी ‘सीमा क्षेत्रमा भएका कारणले मात्र उचित हुने’ ठहर्‍याएको छ, अर्थात् धेरैजसो अवस्थामा, सीबीपी र सीमा गस्तीलाई यात्रुहरूको फोन लगायतका सामानहरू हेर्न वारेन्ट आवश्यक पर्दैन । त्यो अपवाद अमेरिकाको भौगोलिक सीमानाभन्दा धेरै भित्रसम्म लागु हुन्छ, किनकि विमानस्थलहरूलाई पनि सीमा क्षेत्र मानिन्छ ।

इलेक्ट्रोनिक फ्रन्टियर फाउन्डेसनकी वरिष्ठ कर्मचारी अधिवक्ता साइरा हुसेनले द भर्जसँगको कुराकानीमा भनेकी छिन्, ‘परम्परागत रूपमा सीमा जाँचपासको अपवादले भन्सार अधिकारीहरूलाई सामान जस्ता चीजहरू चेकजाँच गर्ने अनुमति दिन्थ्यो । यसको उद्देश्य तपाईँले आफूसँग लैजाँदै गरेको चिज तपाईँको यात्रासँग सम्बन्धित छ भन्ने यकिन गर्नु थियो  । साथै देशमा प्रवेश गर्न अयोग्य व्यक्ति वा चीजहरू माथि नजर लगाउनु थियो ।”

आजकल, सबैजसो यात्रुहरूले आफ्नो खल्तीमा धेरै कुरा बोकेका हुन्छन्-फोनको हार्डवेयरमा स्टोर गरिएको जानकारी मात्र होइन, डेटा कनेक्सनमार्फत एक्सेस गर्न सकिने कुनै पनि कुरा । हुसेनले भनेकी छिन्, “जब तपाईँ डिभाइसहरू हेर्नुहुन्छ, त्यसमा तपाईँको यात्रासँग सम्बन्धित विवरण मात्र हुँदैनन् । क्लाउडमा स्टोर भएको जानकारी हेर्ने हो भने तपाईँको यात्रा बाहेक एक दशकभन्दा पुराना चिजहरू भेटिन सक्छन् । यसले तपाईँको जीवनका हरेक पक्ष खुलाउन सक्छ । यसले तपाईँको वित्तीय इतिहास, तपाईँको चिकित्सा सम्बन्धी रेकर्ड, तपाईँको डाक्टर वा वकिलसँगको कुराकानी खुलाउन सक्छ । यसले धेरै जानकारी खुलासा गर्न सक्छ, जुन भन्सार अधिकारीले तपाईँको सामान हेर्ने विषयसँग पटक्कै मिल्दैन ।” 

गोपनीयताका पक्षधरहरूले वर्षौँदेखि यो मुद्‍दामा चेतावनी दिइरहेका छन् । तर अहिले अमेरिकी प्रशासन कसैलाई फर्काउने कुनै पनि बहाना खोजिरहेको छ, त्यस्तोमा यो अझ ठुलो समस्या बनेको छ ।

हुसेनले भनेकी छिन्, “यदि तपाईँ अमेरिकी नागरिक हुनुहुन्छ भने तपाईँसँग यस्तो चेकजाँच अस्वीकार गर्ने अधिकार छ र उनीहरूसँग तपाईँलाई देशमा निषेध गर्ने अनुमति छैन । तर यदि तपाईँले अस्वीकार गर्नुभयो भने, सीबीपीले अझै पनि तपाईँको फोन, ल्यापटप वा अन्य उपकरणहरू लिएर राख्न सक्छ ।”

‘पीआर’ वाहकहरूले पनि यस्तो चेकजाँच अस्वीकार गर्न सक्छन्, तर विशेष अवस्थामा मात्र । यदि ग्रिन कार्ड भएका व्यक्ति १८० दिनभन्दा बढी अमेरिका बाहिर बसे भने, फर्कने क्रममा उनीहरूलाई ‘अस्वीकार’ गर्न सकिने  कारणहरूका लागि चेकजाँच गरिन्छ । यस्तोमा उनीहरूमाथि पनि अमेरिका प्रवेश निषेध हुन सक्छ । 

भिसा लगाएर अमेरिका प्रवेश गर्न चाहने विदेशी नागरिकहरूसँग त झन् नाकाहरूमा निकै कम अधिकार हुन्छ । यस्तो चेकजाँच अस्वीकार गर्दा उनीहरूलाई अमेरिकाले प्रवेश अनुमति नै नदिन सक्छ ।

कत्तिको कडा हुन्छ चेकजाँच ?

सीबीपी अधिकारीहरूले दुई प्रकारले उपकरण चेकजाँच गर्न सक्छन्: आधारभूत र फरेन्सिक तथा एड्भान्स । हुसेनले भनेकी छिन्, “तपाईँको फोन चेकजाँच गर्ने तथा त्यसमा भएका कुराहरू हेर्ने र तपाईँको फोनलाई कुनै बाह्य उपकरणमा कनेक्ट गरेर एड्भान्स एल्गोरिदमको सहायताले चेकजाँच गर्ने तथा तपाईँको फोनमा रहेका सामग्री कपी गर्ने सवालमा भिन्नता छ ।”

अमेरिकी सरकारले व्यक्तिको फोनको सामग्रीको ‘आधारभूत’ चेकजाँच गर्न वारेन्ट आवश्यक पर्दैन भन्ने मान्यता राख्छ । हुसेनले व्याख्या गर्दै भनेकी छिन्, “यस्तो चेकजाँचका क्रममा एजेन्टहरूले तपाईँको फोनलाई एयरप्लेन मोडमा राख्नुपर्ने हुन्छ र उनीहरू अफलाइन पहुँच गर्न सकिने कुराहरू मात्र हेर्न सक्छन् । तर त्यसमा सिंक भएको कुनै पनि क्लाउड डेटासहितका थुप्रै जानकारी रहेको हुन सक्छन् ।”

अमेरिकाका विभिन्न सङ्घीय सर्किट अदालतहरूको फैसलाअनुसार कतिपय ठाउँमा वारेन्ट बिना फरेन्सिक चेकजाँच गर्न अनुमति दिइएको छ भने कतिपय ठाउँमा निषेध गरिएको छ । सन् २०२१ मा, अध्यागमन वकिल एडम मलिकले डल्लास फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थलमा एजेन्टहरूले वारेन्ट बिना आफ्नो फोन जफत गरेर त्यसभित्रका सामग्री चेकजाँच गरेपछि सीबीपी विरुद्ध मुद्दा दायर गरेका थिए । 

मलिक ग्लोबल इन्ट्री, सीबीपीको विश्वसनीय यात्री कार्यक्रममा दर्ता भएको भए पनि उनको फोन लगिएको थियो। एजेन्टहरूले मलिकको पासवर्ड बाइपास गर्न नसकेपछि, फोनलाई फरेन्सिक प्रयोगशालामा पठाएर फोनको सबै डेटा निकालेका थिए ।

कानुनलाई बेवास्ता गर्ने ट्रम्प प्रशासनको रवैया र न्यायिक आदेशहरूको अवज्ञा गर्ने प्रवृत्तिलाई हेर्दा, गैरकानुनी खानतलासी भएमा पनि सरकारलाई मुद्दा हाल्नुभन्दा आफ्नो फोनमा भेटिने कुराहरूलाई सीमित गर्नुलाई सुरक्षित विकल्पको रूपमा हेर्न थालिएको छ ।

आफ्नो डेटा सुरक्षित राख्नुहोस्

यदि तपाईँ अमेरिका प्रवेश गर्दै हुनुहुन्छ भने सीबीपीबाट आफ्ना डिभाइसहरू सुरक्षित राख्ने सबैभन्दा राम्रो तरिका भनेको त्यसमा भएका कुराहरूलाई सीमित गर्नु हो । सीमा पार गर्दा सकेसम्म कम डेटा लिएर यात्रा गर्न सल्लाह दिने गरिएको छ । 

यात्रा गर्नु अघि आफ्ना उपकरणहरू इन्क्रिप्टसँगै बलियो पासवर्ड प्रयोग गरिएको कुरा सुनिश्चित गर्नुपर्छ । यात्रुहरूले फेस आईडी जस्ता बायोमेट्रिक लगइनहरू डिसेबल गर्नुपर्छ । किनकि केही अदालतहरूले फैसला सुनाएका छन् कि पुलिसले तपाईँलाई आफ्नो पासवर्ड बताउन बाध्य पार्न सक्दैन, तर तिनीहरूले तपाईँको फोन अनलक गर्न बायोमेट्रिक्स भने प्रयोग गर्न सक्छन् ।

ईएफएफले यात्रुहरूलाई आफ्नो डेटा क्लाउडमा अपलोड गर्न र आफ्नो डिभाइसबाट डिलिट गरेर फोन वा ल्यापटपको सामान्य चेकजाँचमा फेला पार्न सकिने कुराहरूलाई सीमित गर्न सुझाव दिएको छ । किनकि एजेन्टहरूले आधारभूत चेकजाँचका क्रममा तपाईँको फोनको ‘रिसेन्ट्ली डिलिटेड’ फाइलहरू पनि हेर्न सक्छन् । भन्सार एजेन्टहरूले आधारभूत चेकजाँच गर्दा तपाईँको फोनलाई एयरप्लेन मोडमा राख्नुपर्ने हुन्छ । तर त्यसो गर्दा पनि उनीहरूलाई कुनै पनि क्याश गरिएका ईमेल, टेक्स्ट मेसेज र अन्य सञ्चार हेर्न सक्छन् । यस्तो जानकारी सुरक्षित राख्ने उत्तम तरिका भनेकै क्लाउडमा ब्याकअप गर्ने र आफ्नो फोन वा ल्यापटप पूर्ण रूपमा वाइप गर्नु हो ।

संवेदनशील वा व्यक्तिगत डेटा ब्याकअप गर्नाले अरूलाई तपाईंको उपकरणमा पहुँच गर्नबाट मात्र रोक्दैन; सीबीपीले तपाईँको फोन वा कम्प्युटर जफत गरेमा तपाईँले त्यो डेटा नगुमाउने कुरा पनि सुनिश्चित गर्छ । मानिसहरूलाई सीमा पार गर्दा वा विमानस्थलमा आफ्नो फोन बन्द गर्न सल्लाह दिने गरिएको छ । फोन बन्द गर्नुको अर्थ जब तपाईँले त्यसलाई फेरि खोल्दा पासकोड नै चाहिन्छ, फेस आईडी वा अन्य बायोमेट्रिक विधिले काम गर्दैन ।

पछिल्लो अध्यावधिक: चैत ११, २०८१ १८:४२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट