२०८२ जेष्ठ १० शुक्रबार
२०८२ जेष्ठ १० शुक्रबार

संसद्‌–सडकको एउटै स्वर: जस्टिस फर प्रकृति लम्साल

काठमाडौँ– भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा मृत भेटिएकी बुटवलकी प्रकृति लम्सालका लागि संसद्‌देखि सडकसम्म एउटै स्वरमा भनिएको छ– ‘जस्टिस फर प्रकृति लम्साल/ प्रकृति लम्सलाई न्याय दे’।

केआइआइटीमा बी–टेकमा तेस्रो वर्षमा अध्ययनरत लम्साल आइतबार (फागुन ४) राति मृत भेटिएकी थिइन्। उनको मृत्युको खबरले नेपालको संसद् र सडक बेसरी तातिएको छ।

लम्सालले आत्महत्या गरेको कलेज प्रशासनले भनेको भए पनि कारण भने उनको पूर्व प्रेमीले मानसिक टर्चर गरेपछि उनी आत्महत्या गर्ने अवस्थामा पुगेको समाचारहरुमा जनाइएको छ।

यद्यपि यस घटनाको छानबिन भइरहेको छ।

किन संसद्‌देखि सडकसम्म उठ्यो– ‘जस्टिस फर प्रकृति लम्साल’को आवाज

आतइबार राति लम्साल मृत भेटिएकी थिइन्। सोमबार बिहानसम्म मृत्युको खबर बाहिरिसकेको थियो। दिउँसोसम्म पनि नेपालमा उनको मृत्युको विषयमा सडक र संसद् तातिएको थिएन।

केआइआइटी कलेजमा भने लम्सालको मृत्यु नभएर हत्या भएको भन्दै नेपाली विद्यार्थीहरूले आन्दोलन सुरु गरिसकेका थिए। कलेजसँग वार र पारको अवस्था आइसकेको थियो।

लम्सालको न्यायको माग गर्दै त्यहाँ अध्ययनरत अन्य विद्यार्थीहरूले आन्दोलन गर्दा उनीहरूमाथि कलेज प्रशासनले दमन गर्‍यो। आन्दोलनरत विद्यार्थीमाथि प्रहरी लगाएर कुटपिट भयो। विद्यार्थीलाई कलेजबाट निष्कासन गरियो। होस्टेलबाट निकालियो।

कलेजको उक्त कदमका विषयमा नेपालको संसद्‌मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले आकस्मिक समयमा आवाज उठाउन समय मागिन्। सभामुख देवराज घिमिरेले समय दिएनन्। त्यसपछि श्रेष्ठ संसद्‌बाट बाहिरिँदै सञ्चारकर्मीसँग र सामाजिक सञ्जालबाट सभामुखले समय नदिएको र विद्यार्थीको अवस्थाकोबारेमा बोलिदिइन्।

सुमनाले संसद् छाड्नु र बाहिर निस्किएर प्रकृतिको विषयमा थाहा दिएपछि यस विषय खोजीको विषय बन्यो। थप समाचारहरू बाहिरन थाले। कलेज प्रशासनले नेपाली विद्यार्थीमाथि गरेको अमानवीय व्यवहारको भिडियोहरू बाहिरयो। सँगै नेपाली र नेपाली विध्यार्थीमाथि बोलिएको अपशब्दसमेत।

एक पछि अर्को दमनको भिडियो, कलेज प्रशासनले निष्कासन गरेपछि रेल स्टेसनमा अलपत्र परेको विषयहरू आउन थालेपछि नेपालमा कलेज प्रशासनको चर्को आलोचना सुरू भयो।

कलेज प्रशासनको आलोचना सुरु भएपछि निष्कासित विद्यार्थीलाई कलेज प्रशासनले फेरि फिर्ता बोलायो। कलेज प्रशासनले फिर्ता बोलाए पनि कतिपय विद्यार्थी भने नेपाल हिडिसकेका छन्।

सामाजिक सञ्जालमा पोष्ट भएका भिडियोहरुमा कतिपयले खान नपाएर भोकै बसेकोसम्म भनिएको छ।

संसद्‌मा कलेजको व्यवहारप्रति आलोचना, सरकारको कूटनीतिमाथि प्रश्न

लम्सालको मृत्युपछि सोमबार बसेको नेपालको संसद् उनकै विषयमा केन्द्रित रह्‍यो जहाँ प्राय: सबै सांसद्‌ले लम्साल मृत्युको विषयमा सत्यसतथ्य छानबिनको माग गरेका छन्।

र कलेज प्रशासनको संसद्‌मा चर्को आलोचना भएको छ। नेपाल र नेपाली विद्यार्थीमाथि अमावीय व्यवहार गरिएको भन्दै यस विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसदहरूले नेपालको कूटनीतिक कमजोर हुँदा नेपाली विद्यार्थी निकालिनु परेको, नेपाल र नेपाली विद्यार्थीमाथि अमानवीय व्यवहार गरिएको, अपशब्द प्रयोग गरिएको भन्दै सरकारको आलोचना गरे।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारको कूटनीतिक असक्षमताका कारण त्यहाँ अहिले पनि नेपाली विद्यार्थीले असुरक्षा र अपमानजनक व्यवहार सामना गरिरहनु परेको बताए।

‘प्रकृति लम्सालको मृत्युपछि उनको न्यायका लागि आन्दोलन गर्दा अन्य विद्यार्थीले भारतमा अपमानजनक व्यवहार गरियो। अमानवीय व्यवहार गरियो र सिङ्गो नपाली र नेपालमाथि धावा बोलियो’, उनले भने, ‘तर सरकारको कुटनीतिक असक्षमताका कारण त्यहाँ अहिले पनि असुरक्षा र अपमानजनक व्यवहार नेपाली विद्यार्थीले सामना गरिरनुपरेको छ।’

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले पनि भारतमा भएको उक्त घटनाप्रति सरकारको राजनीतिक तथा कूटनीति कमजोर भएकाले कलेजको चौकीदारलेसमेत नेपाल र नेपालीमाथि अपमान गरेको बताए।

‘प्रकृतिको मृत्यु घटना एउटा विषेश घटनामा सिमित नभएर हाम्रो डेप्लोम्याटिक रणनीति कति कमजोर भयो कि त्यहाँको एउटा चौकीदारले हाम्रो नेपाली विद्यार्थीलाई सजिल्यै पिटिदिन सक्ने भयो। तिम्रो देशको बजेट हाम्रो कलेजको बजेट जति पनि छैन भनेर हेप्न पायो’, उलने भने ‘यो दुई तिहाइको दम्भ सिंहदरबार भन्दा बाहिर त नागरिकले महसुस गर्न पाएनन्।’

नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले नेपालप्रति आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै आपत्ति जनाए। ‘त्यहाँ (कलेज)मा हाम्रो देशप्रति घृणा गर्ने देशप्रति आपत्तिजनक शब्द प्रयोग गरिएका छन्। यसले हामी सबै नेपालीको शिर झुकेको छ। त्यसको म आपत्ति प्रकट गर्दछु’, उनले भने।

उनले सरकारको पहल नपुगेको हाल पनि अत्याचार भइरहेको बताए। ‘परराष्ट्रमन्त्रीको स्टाटस र गृहमन्त्री ज्यूको जवाफ पनि आयो। तर घटनाको सृङ्खला रोकिएका छैनन्’, उनले भने ‘त्यहाँ पढ्ने विद्यार्थीमाथिको अत्याचार रोकिएको छैन। यतिसम्म गरिएको छ कि त्यहाँ पढ्ने विद्यार्थीलाई होस्टेलबाट निकाले ४० किलोमिटर पर अज्ञात अवस्थामा छोडिएको छ र उनीहरूको मोबाइल पनि लुटिएको छ।’

यस्तै नेपाली काँग्रेसकी सांसद सीता मिजारले कूटनैतिक पहल गरेर नेपाली विद्यार्थीको सुरक्षाको माग गरिन्। माओवादी सांसद सुदन किरातीले त भारतमा नेपाली विद्यार्थीको मृत्यु हुँदा पनि संसद् बेखबर रहेको आरोप लगाए।

उनले सुमना श्रेष्ठलाई बोल्न नदिएकोतर्फ इङ्गित गर्दै किन बोल्न दिइएन भन्दै प्रश्न गरे।

दिनभर संसद्‌नै प्रकृति लम्सालप्रति श्रद्धासुमन व्यक्त गर्ने र उनको न्यायका लागि केन्द्रित बन्यो। अन्य सांसदहरूले पनि सरकारको ध्यानाकर्षण गराउँदै कलेजमा रहेका अन्य विद्यार्थीको सुरक्षाका लागि आग्रह गरे।

राष्ट्रिय सभामा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले लम्सालको मृत्यु प्रकणमा आवाज उठाएपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको ध्यानाकर्षण नै गराए।

लम्सालको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गर्न संसद्‌मा रुलिङ गरेका थिए। दाहालले उक्त कलेजमा अध्ययनरत विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण बनाउन पहल गर्नसमेत निर्देशन दिए।

सभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले लम्सालको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्नुपर्ने माग गरेका थिए। राष्ट्रियसभाका सांसद राधेश्याम पासवानले लम्सालको मृत्यु प्रकरणको विषयमा छानबिन हुनुपर्ने माग गरे।

‘सोही कलेजमा अध्ययनरत विद्यार्थी अड्विक श्रीवास्तवले पटकपटक दिइरहेको मानसिक यातनाबारे प्रमाणसहित कलेज प्रशासनमा पेस गर्दा पनि सुनुवाइ नहुँदा लम्सालले आत्महत्या गर्नुपरेको छ’, उनले भने, ‘नेपाल सरकराले कूटनीतिक पहल गरेर अलपत्रमा परेका विद्यार्थीहरुको उद्धार गर्नुपर्छ।’

अर्का सांसद कृष्णबहादुर रोकायले पनि नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको विषयमा आवाज उठाउँदा अन्य नेपाली विद्यार्थीमाथि दमन भइरहेको भन्दै आपत्ति जनाए। ‘विद्यार्थीहरुलाई जबर्जस्ती रुपमा घर पठाउने काम भइरहको छ’, उनले भने, ‘कूटनीतिक पहलबाट मृत्यु प्रकणको छानबिन गर्न लगाउने, विद्यार्थीलाई त्यहीँ पढ्न सुरक्षित वातावरण बनाउनुपर्छ।’

सांसद मदनकुमारी शाह गरिमाले लम्सालको पार्थिक शरीर आफन्तलाई हेर्न नदिनु अन्याय भएको भन्दै लम्सालको न्यायका लागि आवाज उठाउँदा कलेज प्रशासनले दमन गरेको भन्दै आपत्ति जनाइन्। ‘विद्यार्थीहरुसँग पैसा थिएन, टिकट थिएन, तर गलहत्याएर निकालियो, नेपाली विद्यार्थीहरु रेलबे स्टेसनमा अलपत्र परेको घटना अमानवीय र असंवेदनशील हो’, उनले भनिन्, ‘प्रकृतिले आफूलाई अभद्र व्यवहार भएको भन्दै उजुरी दिए पनि विश्वविद्यालयले साथ नदिँदा उनले आत्महत्या गर्नुपरेको छ।’

सडकमा विद्यार्थी

प्रकृतिको लम्सालको मृत्युपछि उनको न्यायका लागि नेपालमा विद्यार्थी संगठनहरू सडकमा उत्रिएका छन्। सोमबारदेखि नै सडक र कलेजहरुमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

सोमबार नै सत्तारुढ दल नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन (अनेरास्ववियु)ले भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो।

प्रदर्शनमा सहभागीहरूले ‘प्रकृति लम्सालको मृत्युको छानबिन गर, मानवता विरोधी गतिविधि बन्द गर, गोर्खेले अन्याय सहन जान्दैन, नो मोर साइलेन्स, अविलम्ब कूटनीतिक संवाद सुरु गर’लगायतका नारा लगाएका थिए।

मंगलबार पनि बिहानैदेखि विद्यार्थीहरूले प्रदर्शन गरेका थिए। काँग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) पद्मकन्या क्याम्पसको दबाबमुलक प्रदर्शन गरेको थियो।

उनीहरुले नेपाली विद्यार्थीमाथि भएको आक्रमण बन्द गर, जस्टिस फर प्रकृति लम्साल लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका छन्।
नेविसंघकै पब्लिक युथ कलेजले पनि प्रकृति लम्सालको न्यायको लागि विरोध प्रदर्शन गरेको छ।

यस्तै मंगलबार देशकै ठुलो इन्जिनियरिङ कलेज पुलचोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले प्रकृतिको न्यायका लागि हस्ताक्षर संकलन गरे। उक्त हस्ताक्षर नेपालस्थित भारतीय दूतावासलाई बुझाउने विद्यार्थीहरूको भनाइ छ।

माओवादी केन्द्र सम्बद्ध अनेरास्ववियु (क्रान्तिकारी) पनि सडकमा उत्रिएको छ। मंगलबार लम्सालको शङ्कास्पद मृत्यु भएको भन्दै क्रान्तिकारीले छानबिन गर्न माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गर्‍यो।

कलेज प्रशासनले माग्यो माफी

नेपालमा केआइआइटीको चर्को विरोध भएपछि कलेज प्रशासनले माफी मागेको छ। नेपाल र नेपाली विद्यार्थीमाथि गरिएको व्यवहारप्रति कलेज प्रशासनले माफी मागेको हो।

संस्थाका उपकुलपति शरनजीत सिंहले माफी मागे। उनले नेपाल र नेपालीविद्यार्थीप्रति कलेजका दुई महिला अधिकारीहरू गरेको व्यवहारप्रति खेद प्रकट गर्दै माफी मागेका छन्।

उनले ती महिला अधिकारीहरूलाई सेवाबाट हटाएको जानकारी पनि दिएका छन्। ‘हामी मध्ये केहीले आन्दोलनकारी विद्यार्थीहरूसँग गरेको व्यवहारप्रति खेद पनि व्यक्त गर्दछौं,’ उनले भनेका छन्।

विद्यार्थीहरूलाई माया गर्ने तथा उनीहरूलाई कहिल्यै अपमान नगरेको प्रतिबद्धता पनि उपकुलपति सिंहले गरेका छन्।

भारतीय दूतावासले सोमबार नै नेपाली विद्यार्थीको हकहित सुनिश्चित गर्न भारत सरकारले आवश्यक कदम चाल्ने जानकारी दिएको थियो। नेपालका प्रधामन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकलेसमेत नेपाली विद्यार्थीको सुरक्षाका लागि पहल भइरहेको बताएका थिए।

तर मंगलबार दिउँसोसम्म आफूहरू असुरक्षित रहेको भन्दै केआइआइटी कलेजका विद्यार्थीहरूले सामाजिक सञ्जालमा भनिरहेका छन्।

प्रकृतिका बुबा भारतमा

केआइआइटी कलेजमा मृत फेला परेकी प्रकृति लम्सालका बुबा सुनिल लम्साल कलेजमा पुगेका छन्। उनी सोमबार साँझ कलेजमा पुगेका छन्।

त्यहाँ पुगेर उनले छोरीको न्यायका लागि प्रहरीमा उजुरी दिएका छन्। उनले छोरीलाई भावनात्मक ब्ल्याकमेल गरेर आत्महत्या गर्न बाध्य पारिएको भारतीय सञ्चारसँगको कुराकानीमा बताएका छन्।

‘हामीलाई थाहा छ अनुसन्धान चलिरहेको छ। पोस्टमार्टम प्रतिवेदन आउन बाँकी छ,’ उनले भनेका छन्, ‘तर हामीलाई थाहा छ यसलाई भावनात्मक ब्ल्याकमेल गरेर आत्महत्या गर्न बाध्य पारिएको हो।’

उनले एक जनालाई पक्राउ गरिएको र त्यही व्यक्ति नै घटनाको मूल कारण भएको आरोप लगाएका छन्।


श्रोत : deshsanchar.com

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट