काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको डिजिटल शाखा ‘जियो प्लेटफर्म्स’ले सेट-टप बक्स प्रयोगकर्ताका लागि एउटा नयाँ भर्चुअल डेस्कटप सेवा सुरु गरेको छ । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश भारतका लाखौं टिभी सेटलाई कम्प्युटर (पीसी) मा परिणत गर्ने उद्देश्यका साथ यस्तो सेवा सुरु गरिएको हो ।

‘जियोपीसी’ नाम दिइएको यो सेवाले जियोको सेट-टप बक्समार्फत क्लाउडमा आधारित कम्प्युटरको अनुभव प्रदान गर्ने बताइएको छ । जियोको होम ब्रोडब्यान्ड सेवाका ग्राहकले यो सेटअप बक्स निःशुल्क पाउँछन् । तर, छुट्टै खरिद गर्नका लागि पाँच हजार ४९९ भारु (८,८०० नेपाली रुपैयाँ) तिर्नुपर्ने हुन्छ । हाल यो सेवा निःशुल्क परीक्षणको चरणमा छ भने ‘वेटलिस्ट’ मार्फत सीमित ग्राहकलाई उपलब्ध गराउन थालिएको छ ।
यसका लागि सबैभन्दा पहिले वेटलिस्टमा रहेका प्रयोगकर्तालाई कम्पनीले छनोट गर्छ । त्यसपछि प्रयोगकर्ताले आफ्नो अकाउन्ट सेटअप गर्नुपर्ने हुन्छ । यससँगै किबोर्ड र माउस जोडेपछि आफ्नो टिभीमा भर्चुअल डेस्कटप चलाउन सकिनेछ ।
हाल यो सेवामा केही सीमितता छन् । यसले क्यामेरा र प्रिन्टर जस्ता बाह्य डिभाइसलाई सपोर्ट गर्दैन । सफ्टवेयरको कुरा गर्दा यसमा ओपन सोर्स लिब्रेअफिस (LibreOffice) पहिले नै इन्स्टल गरिएको हुन्छ । यदि प्रयोगकर्ताले माइक्रोसफ्ट अफिसका एप चलाउनु परेमा उनीहरूले ब्राउजर मार्फत चलाउनुपर्ने हुन्छ ।

यी सीमितताका बाबजुद पनि अम्बानीको ‘जियोपीसी’ को योजना कम्तिमा पनि सैद्धान्तिक रूपमा निकै आकर्षक देखिन्छ । काउन्टरपोइन्ट रिसर्चका अनुसन्धान निर्देशक तरुण पाठकले टेकक्रन्चलाई बताए अनुसार जियोपीसी मुम्बईस्थित जियो कम्पनीको लागि आफ्नो प्रयोगकर्ता सङ्ख्या बढाउने एक प्रभावकारी तरिका हो । जियोका प्रयोगकर्ता अहिले नै ४८ करोड ८० लाखभन्दा बढी छन् ।
पाठकका अनुसार करिब ७० प्रतिशत भारतीय परिवारमा टिभी छ । तर केवल १५ प्रतिशतसँग मात्र पीसी छ ।
कम्प्युटरको अनुभव गर्न नपाएका परिवारका लागि यो आकर्षक अवसर हो । तर, जियोलाई यो सेवाको मार्केटिङ र प्रयोगबारे बुझाउन निकै मिहिनेत गर्नुपर्ने उनी सुनाउँछन् । उनले भने, “तपाईंले मानिसलाई सेट-टप बक्स प्रयोग गरेर टिभीमै पीसी चलाउन सकिन्छ भनेर विश्वस्त पार्नुपर्छ ।”
सरकारी तथ्याङ्क अनुसार भारतमा हाल करिब पाँच करोड ७० लाख सक्रिय ‘पे-टिभी’ (शुल्क तिरेर हेरिने) सेट-टप बक्स प्रयोगकर्ता छन् । तर, इन्टरनेटको सहज पहुँचसँगै परम्परागत ‘डाइरेक्ट-टु-होम’ (डीटीएच) टिभी बजार खुम्चिँदै गएको छ ।
साइबर मिडिया रिसर्चका उपाध्यक्ष प्रभु रामका अनुसार जियोपीसीमार्फत जियोले ग्रामीण र कम आय भएका क्षेत्रमा नयाँ सेट-टप बक्स प्रयोगकर्तालाई आकर्षित गर्न सक्छ । उनले टेकक्रन्चलाई भने, “यसको सम्भावित प्रभाव धेरै व्यापक हुन सक्छ । तर यसको सफलता मुख्य रूपमा कार्यान्वयनमा निर्भर रहनेछ । विशेषगरी इन्टरनेट कनेक्टिभिटीको समस्या समाधान गर्न सक्नु र नागरिकमा डिजिटल साक्षरता बढाउन सक्नु महत्त्वपूर्ण हुनेछ । यदि यी पक्षमा सुधार गर्न सकिएन भने राम्रो योजना भएर पनि यो काम सफल नहुन सक्छ ।”
आईडीसीका अनुसार भारतमा पीसीको पहुँच अमेरिका र चीन जस्ता प्रमुख बजारको तुलनामा अझै पनि कम छ । यसको मुख्य कारण सीमित खर्चयोग्य आय र स्मार्टफोनलाई नै मुख्य कम्प्युटिङ उपकरणको रूपमा प्रयोग गरिनु हो ।
रामका अनुसार माइक्रोसफ्ट र अन्य धेरै क्लाउड प्रदायकले व्यावसायिक ग्राहकलाई लक्षित गरी भर्चुअल डेस्कटप सेवा पहिलेदेखि नै दिंदै आएका छन् । तर, जियोको यो कदम आम उपभोक्तालाई लक्षित गरिएको पहिलो गम्भीर प्रयास हो ।
पछिल्लो अध्यावधिक: असार २८, २०८२ १०:५७
सामाग्री श्रोत :
टेक पाना