काठमाडौँ । बाँकेको नेपालगन्जबाट नेपक्याब नामक नयाँ राइड शेयरिङ प्लेटफर्म सुरु भएको छ । ‘ईड्राइभ पश्चिम नेपाल प्राली’ नामक कम्पनीले नेपालगन्जभित्र र अन्तर-सहर ट्याक्सी सेवा सुरु गरेको हो ।

नेपक्याबले नेपालगन्जबाट विमानस्थल जान र सहर भित्रकै एक ठाउँबाट अर्को ठाउँमा जाने सुविधा दिने छ । नेपक्याबका अध्यक्ष विजय भण्डारीका अनुसार अर्को सहरमा जान पनि चार पाङ्ग्रे गाडी बुक गर्न सकिन्छ । उनले भने , “कुनै काम विशेषले तत्काल काठमाडौँ जानु पर्यो वा सुर्खेत जान पर्यो भने ट्याक्सी अनलाइनबाट नै बुक गर्न सकिन्छ ।”
नेपक्याबको राइड शेयरिङ एप यात्रु र राइडरका लागि छुट्टाछुट्टै ल्याइएको छ । यात्रुले यहाँ क्लिक गरेर र चालकले यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नेछन् । यो प्लेटफर्मबाट यात्रा सुरु गरेको स्थान र गन्तव्यसम्मको दुरीअनुसार एपले भाडा तोकिदिन्छ ।
यात्रुले ट्रोल फ्रि नम्बर १८१०५०००३६६ मा कल गरेर पनि गाडी बुक गर्न र शुल्क निर्धारण गर्न सक्ने बताइएको छ । सुरुवातमा चार पाङ्ग्रे सवारी साधनहरूबाट सेवा दिइरहेको नेपक्याबले भविष्यमा तीन पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनहरूलाई पनि समेट्ने योजना बनाएको छ ।

भण्डारीले भने, “यहाँ लामो दुरीका लागि बढी राइडको आवश्यकता महसुस गरेका छौँ । प्रायसँग दुई पाङ्ग्रे सवारी हुने भएकाले मोटरसाइकललाई अलि पछि सुरु गर्ने योजना बनाएका हौँ ।”
नेपालगन्जबाट काठमाडौँसम्मका लागि ट्याक्सी बुक गर्न सकेपनि काठमाडौँबाट नेपालगन्ज जानका लागि भने यो प्लेटफर्ममा बुकिङ सुविधा छैन । नेपालगन्जमा प्लेटफर्म सफल भएमा क्रमशः: अन्य सहरमा पनि बिस्तार गर्ने योजना रहेको उनले बताए ।
विद्युतीय गाडीको प्रयोग
नेपक्याबको सेवा दिन कम्पनीले आफ्नै १० ओटा विद्युतीय ट्याक्सी खरीद गरेको छ । यसमा ट्याक्सी भाडा पनि तुलनात्मक रूपमा सस्तो पर्ने उनले बताए । यस्तै अन्य निजी सवारी चालकले पनि आफूलाई राइडरको रूपमा प्लेटफर्ममा दर्ता गराउन सक्नेछन् ।
यात्रुले आफूले चाहेजस्तो गाडी रोज्न सक्ने विकल्प प्लेटफर्ममा दिइएको छ । पेट्रोल गाडीहरू, एसयूभी र लक्जरी ट्याक्सी मध्ये आफूले चाहेको ट्याक्सी रोज्न सकिनेछ । उनले थपे, “कसैलाई अफरोड यात्रा गर्नुपर्ने छ भने त्यही अनुसारको कार पनि रोज्न सक्नुहुन्छ ।”
त्यस्तै तत्कालका लागि राइड बुक गर्न वा पछिका लागि बुकिङको शेड्युलमा राख्ने सुविधा पनि उपलब्ध छ । नेपक्याबले यात्रु र चालकको सुरक्षालाई विशेष प्राथमिकता दिएको उनले बताए ।
“ हामीसँग यात्रु वा चालकले असुरक्षित महसुस गरेमा इन्टरनेट बिना ह्वाट्सएपमा सिधै कल गर्न सक्ने फिचर पनि उपलब्ध छ,” उनले भने, यो प्लेटफर्म पूर्ण रूपमा नेपालमै विकास गरिएको हो ।”
भारतमा अध्ययन गरेका नेपालगन्जका चार-पाँच जना युवा डिजाइनरहरूले यो एपको विकास गरेको उनले सुनाए । उनले भने, “स्थानीय भाइहरूले बनाए हामीलाई प्राविधिक सहयोग पनि लिन सजिलो हुन्छ भन्ने लागेको थियो । हामीले आइडिया दियौँ । उनीहरूले ६ महिना लगाएर यो प्लेटफर्म बनाए ।”
महँगो ट्याक्सी भाडा तिर्न यात्रु बाध्य भएकाले नयाँ राइड शेयरिङ प्लेटफर्म ल्याइएको उनले सुनाए । “यहाँ ट्याक्सी भाडामा एकरूपता नै छैन । मनलाग्दी भाडा लिने गरिन्छ । त्यसैले सस्तो भाडामा जहाँ बसेर पनि सजिलै ट्याक्सी बुक गर्न सक्ने सुविधा ल्याएका हौँ ।” यो प्लेटफर्मबाट चौबिसै घण्टै राइड शेयरिङ सेवा लिन सकिनेछ ।
पछिल्लो अध्यावधिक: असार २०, २०८२ २१:१५
सामाग्री श्रोत :
टेक पाना