२०८२ असार २१ शनिबार
LATEST NEWS
२०८२ असार २१ शनिबार

के साँच्चै गगन थापाले भने जस्तै कोर्सेरामा विदेशी विश्वविद्यालयका अनलाइन कोर्स निःशुल्क छन् ?

काठमाडौँ । पछिल्ला केही दिन यता नेपाली काँग्रेसका महामन्त्री गगन थापाको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । एक कलेजको कक्षामा उनले कोर्सेरा वेबसाइटको बारेमा विद्यार्थीहरूलाई सल्लाह दिएका छन् । 

कोर्सेरामा गएर लगइन गरी खोल्दा अमेरिकाको स्ट्यानफोर्ड, अमेरिका-युरोपका एकसेएक युनिभर्सिटीभित्र छिरेर त्यहाँको पढाई फोनबाटै निःशुल्क गर्न सकिने दाबी उनले गरेका छन् । आज हामी तपाईँलाई कोर्सेराको अनलाइन लर्निङ प्लेटफर्मसँगै थापाको त्यही दाबी वरपर रहेर चर्चा गर्दैछौँ ।

हुन त पछिल्लो समय अनलाइन शिक्षाको माग तीव्र गतिमा बढिरहेको छ । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अनेकौँ प्लेटफर्महरू सञ्चालनमा छन् । 

त्यसमध्येको एउटा हो, कोर्सेरा (Coursera) । जुन विश्वको सबैभन्दा ठुलो सिकाइ प्लेटफर्ममध्येको एक मानिन्छ । कोर्सेरामा ३१ मार्च २०२५ सम्म १७ करोड ५० लाख रजिस्टर्ड प्रयोगकर्ता जोडिएका छन् । कोर्सेरामा उपलब्ध कोर्स निःशुल्क पढ्न सकिने विकल्प पनि छन् । तर ठ्याक्कै गगन थापाले भने जस्तो विदशी विश्वविद्यालयको पढाई वा डिग्री भने निःशुल्क छैन । 

कोर्सेराको वेबसाइटमा ‘अनलाइन डिग्री‘ नामक एउटा सेक्सन छ, जहाँ विभिन्न विश्वविद्यालयले उपलब्ध गराउने अनलाइन डिग्री (कोर्स) राखिएका छन् । त्यहाँ रहेका कोर्सहरूमा क्लिक गर्दा कोर्सेराभन्दा बाहिर अर्थात् सम्बन्धित विश्वविद्यालयको अनलाइन डिग्री लिन सकिने प्लेटफर्ममा पुगिन्छ । ती कोर्सहरूलाई कोर्सेराले आफ्नो वेबसाइटमा एग्रिगेट गरेको मात्रै हो । 

यद्यपि, कोर्सेरामै उपलब्ध भिडिओ, पाठ्यसामग्रीसहितका विभिन्न कोर्सहरू भने निःशुल्क रूपमा अध्ययन गर्न सकिन्छ । यदि बिना शुल्क नयाँ सीप सिक्न वा आफूलाई मनपर्ने विषयहरू अन्वेषण गर्न चाहनुहुन्छ भने अवश्य पनि कोर्सेरा एक राम्रो विकल्प हुन सक्छ । 

कोर्सेराले शीर्ष विश्वविद्यालय र उद्योगका लिडरहरूबाट विभिन्न क्षेत्रका कोर्सहरू प्रदान गर्दै आएको छ । यी कोर्सहरू निःशुल्क वा कम लागतमा कसरी लिन सकिन्छ भन्ने बारेमा आज हामी तपाईँलाई बताउँदै छौँ । 

 

१. निःशुल्क अडिट मोड (Audit Mode)

कोर्सेराका कोर्समा निःशुल्क पहुँच पाउने एउटा तरिका हो अडिट द कोर्स (Audit the Course) । यो सुविधाले तपाईँलाई कोर्सका सामग्रीहरू निःशुल्क रूपमा हेर्ने अनुमति दिन्छ ।

अडिट मोडमा तपाईँले कोर्सका भिडिओ, पाठ्य सामग्री (readings) र असाइनमेन्टहरूमा पहुँच पाउन सक्नु हुन्छ । । तर, यसमा तपाईँले ग्रेड, फिडब्याक र कुनै पनि प्रमाणपत्र (certificate) भने पाउनु हुनेछैन । यदि तपाईँको उद्देश्य प्रमाणपत्र नभई सिक्नु र सीप विकास गर्नु मात्र हो भने यो तपाईँका लागि उत्कृष्ट विकल्प हुनसक्छ ।

अडिट मोड कसरी प्रयोग गर्ने ? 

अडिट मोड प्रयोग गर्न सबैभन्दा पहिला तपाईँले यहाँ क्लिक गरेर वा कोर्सेराको वेबसाइटमा गएर आफ्नो अकाउन्ट बनाउनु होस् । त्यसपछि आफूले सिक्न चाहेको कुनै पनि कोर्स छान्नुहोस् । 

कोर्सको पेजमा गएर Enroll बटनमा क्लिक गर्नुहोस् । यति गरिसकेपछि भुक्तानीका विकल्पहरू देखिनेछन् । त्यसको तल Audit वा Audit the course भन्ने सानो बटन खोज्नुहोस् र त्यसमा क्लिक गर्नुहोस् । 

यसरी एक पटक तपाईँले Audit the course मा क्लिक गरेपछि कोर्सका सबै सामग्रीहरूमा तत्काल र असीमित पहुँच पाउनु हुनेछ । कतिपय अवस्थामा, तपाईँले सिधै Audit बटन देख्नुहुन्न । जस्तै कि जब तपाईँ कुनै स्पेसलाइजेसनमा (जसमा धेरै कोर्सहरू हुन्छन्) हुँदा ।

यदि तपाईँले कुनै कोर्सको Enroll बटनमा क्लिक गर्दा तल सानो अक्षरमा Audit अथवा Audit the course को विकल्प देख्नु भएन भने एक स्टे पछि फर्किनुहोस् । अब केही तल स्क्रोल गरेर Courses मा क्लिक गर्नु भयो भने स्पेसलाइजेसन अन्तर्गतका एक एक (individual) कोर्स देख्नु हुनेछ । त्यहाँबाट प्रत्येक कोर्सलाई एक एक गरी छानेर Enroll बटन क्लिक गर्नु भयो भने  Audit अथवा Audit the course को विकल्प पाउनु हुनेछ, जहाँबाट उक्त कोर्स अध्ययन गर्न सकिन्छ ।

 

२. वित्तीय सहायता (Financial Aid) 

कोर्सेराले आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई वित्तीय सहायता (Financial Aid) पनि प्रदान गर्दछ । यो विकल्पले तपाईँलाई निःशुल्क रूपमा वा निकै कम लागतमा यसमा रहेका कोर्सहरूमा पहुँच प्रदान गर्दछ र सफलतापूर्वक कोर्स पूरा गरेपछि प्रमाणपत्र पनि प्राप्त हुन्छ ।

सन् २०२५ मा कोर्सेराले आफ्नो प्रणालीमा केही परिवर्तन गरेको छ । पहिले १००% वित्तीय सहायता उपलब्ध भए पनि, अहिले अधिकांश कोर्सहरूमा बढीमा ९०% छुट मात्र प्रदान गरिन्छ । जुन पूर्ण रूपमा निःशुल्क होइन । यसको अर्थ, यदि कुनै कोर्सको लागत २० डलर (करिब २७०० रुपैयाँ) छ भने, ९०% छुटपछि तपाईँले २ डलर (करिब ३०० रुपैयाँ) मात्र तिर्नुपर्ने हुन्छ । यो रकम हार्वर्ड स्तरको कोर्स र प्रमाणित प्रमाणपत्रको लागि निकै सस्तो हो ।

कोर्सेराले वास्तविक रूपमा आवश्यकता भएकाहरूलाई मात्र सहयोग प्रदान गर्न चाहन्छ । त्यसका लागि निश्चित योग्यता आवश्यक पर्छ । जस अनुरूप तपाईँले कोर्सको शुल्क किन तिर्न सक्नुहुन्न भन्ने कुरा खुलाउनु पर्छ  । साथै तपाईँ कोर्स किन लिन चाहनुहुन्छ र यसले तपाईँको करियरमा कसरी मद्दत गर्छ भन्ने देखाउनु पर्छ । वित्तीय सहायताको बारेमा थप बुझ्न र प्रक्रिया अगाडि बढाउन यहाँ क्लिक गर्नुहोस् । 

 

निःशुल्क उपलब्ध कोर्स

कोर्सेराले विभिन्न विषयहरूमा निःशुल्क कोर्सहरू पनि प्रदान गर्दछ, जुन प्रमाणपत्रसहितको कोर्स भन्दा फरक हुन्छन् । यी कोर्सहरूले तपाईँलाई बिना खर्च नयाँ सीपहरू सिक्न, रुचि भएका विषयहरू पत्ता लगाउन, र आफ्नो व्यक्तिगत वा व्यावसायिक लक्ष्यतर्फ कदम चाल्न मद्दत गर्दछन् । 

कोर्सेराको वेबसाइटमा Free खण्डमा गएर तपाईँले विभिन्न विषयहरूमा निःशुल्क कोर्सहरू खोज्न सक्नुहुन्छ । जसमा बिजिनेस, कम्प्युटर विज्ञान, डेटा साइन्स, सूचना प्रविधि (आईटी), भाषा शिक्षा, व्यक्तिगत विकास, कला तथा मानविकी, जेनेरेटिभ एआई लगायतका विषयहरू छन् । 

 

पछिल्लो अध्यावधिक: असार २०, २०८२ २०:२६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट