सानो उमेरका बालबालिकालाई भोक नलाग्ने समस्या आजको समयमा धेरैजसो नेपाली परिवारमा देखिने एक सामान्य तर गम्भीर चिन्ताको विषय बनिसकेको छ। विशेषगरी १ देखि ५ वर्ष उमेर समूहका बालबालिकामा यो समस्या बढी देखिन्छ। बच्चाले खाना देख्दा मुख बिगार्छ, दुई थुँगा खानासँगै टाढा भाग्छ वा कहिलेकाहीँ त खाली दूध वा चिप्समा मात्र रुचि देखाउँछ। यस्तो अवस्थामा अभिभावक असमञ्जसमा पर्छन्—आखिर के गरौं?
वास्तवमा, भोक नलाग्नु कुनै एक कारणको परिणाम होइन। यसको पछाडि धेरैजसो स्वास्थ्यसम्बन्धी र व्यवहारगत कारणहरू लुकेका हुन्छन्, जसलाई समयमै बुझ्न सकिएन भने बच्चाको पोषण अवस्था, वृद्धि र मानसिक विकासमा नकारात्मक असर पर्न सक्छ।
स्वास्थ्यसँग सम्बन्धित कारणहरू
सबैभन्दा पहिले, बच्चाको शरीरमा आइरनको कमी भएको छ कि छैन भन्ने बुझ्नु आवश्यक हुन्छ। आइरनको कमी हुँदा बच्चाको शरीरमा हेमोग्लोबिन बन्न सक्दैन, जसले गर्दा ऊ थकाइ महसुस गर्छ, चुपचाप बस्छ, र उसमा भोक लाग्ने प्रक्रिया स्वाभाविक रूपमा घट्छ। यो स्थिति विशेषगरी ती बच्चामा देखिन्छ, जसले मासु, सागसब्जी, चना वा दाल नियमित खाँदैनन्।
त्यस्तै बच्चाको मुखमा छाला (अल्सर) देखिनु पनि अर्को मुख्य कारण हो। जब बच्चाको मुखभित्र घाउ हुन्छ, ऊ बोल्न, निल्न वा चपाउन असहज महसुस गर्छ। खासगरी २ वर्षमुनिका बच्चाले यो कुरा व्यक्त गर्न सक्दैनन्। यस्तो अवस्थामा बच्चाको मुहारमा असहजता देखिन्छ, तर अभिभावकले बुझ्न सक्दैनन्। त्यसैले समय–समयमा मुखको निरीक्षण गर्न आवश्यक हुन्छ।
पेटमा किराको समस्या बालबालिकामा धेरै सामान्य छ। यदि पेट सफा छैन भने बच्चाले भोक महसुस गर्दैन। राष्ट्रिय स्वास्थ्य निर्देशिका अनुसार हरेक ६ महिनामा किरा हटाउने औषधि गरिनु आवश्यक हुन्छ।
किरा हटाउने औषधि दिएन भने बच्चा कुपोषणको उच्च जोखिममा पर्न सक्छ।
साथै, रुघा, खोकी, ज्वरो वा गला दुख्ने अवस्थाहरूमा पनि बच्चाले खाना खान रुचाउँदैन। यस्तो अवस्थामा खानाका लागि जबरजस्ती गर्नु बच्चाको मानसिकतामा नकारात्मक प्रभाव पार्न सक्छ। उसले ठीक भएपछि पनि त्यही खाना हेर्दा झस्किने अवस्था आउन सक्छ।
व्यवहारगत कारणहरू
आजकल धेरै अभिभावक मोबाइल वा टेलिभिजन देखाएर बच्चालाई खाना खुवाउने गर्छन्। देख्दा सजिलो लागे पनि यसले बच्चाको भोक महसुस गर्ने प्राकृतिक प्रणालीलाई विघटन गर्छ। बच्चालाई थाहा नै हुँदैन ऊ साँच्चिकै भोकाएको हो कि होइन। यस्तो आदतले दीर्घकालीन रूपमा उसको पाचन प्रणाली र खानप्रतिको दृष्टिकोण दुवैमा असर पार्न सक्छ।
अर्को व्यवहारगत समस्या हो—तीन वेला खाने समयबाहेक पनि बच्चालाई बारम्बार दूध, चिप्स, जुस वा चिनीजन्य खानेकुरा दिइरहनु। पेटभरि यी खानेकुरा पुगेपछि बच्चाले खाना नखानु स्वाभाविकै हो। बच्चाले असन्तुलित खाना खाइरहेको अवस्थामा उसले सन्तुलित भोजनप्रति रुचि गुमाउँछ।
धेरै पटक देखिन्छ, बच्चा भाइरल संक्रमणको कारण एन्टिबायोटिक औषधि लिइरहेको हुन्छ। अत्यधिक वा अनावश्यक एन्टिबायोटिकले पेटमा ग्यास, अपच र असहजता उत्पन्न गर्छ, जसको असर भोकमा पर्छ।
के गर्ने त?
बच्चालाई भोक लाग्न दिनुहोस्—खाली पेट भएपछिको भोक प्राकृतिक र गहिरो हुन्छ।
खाना विविध बनाउनुहोस्—रोजरोटीभन्दा बाहिर निस्किएर नयाँ स्वाद दिनुहोस्।
फलफूल, सागसब्जी, दाल र अनाजलाई नियमित रूपमा खानामा समावेश गर्नुहोस्।
मोबाइल वा टिभीबाट टाढा राखेर खानाको संस्कार विकास गराउनुहोस्।
बच्चाको नियमित रूपमा वजन र वृद्धि हेर्नुहोस्—पोषण अवस्था बुझ्न सहज हुन्छ।
बच्चाले खान छोड्न थालेको केही दिनमै बालरोग विशेषज्ञसँग सल्लाह लिनुहोस्।
भोक नलाग्नु बच्चाको शारीरिक वा मानसिक कमजोरीको संकेत हो। साना उमेरमा भोक नलाग्ने समस्या समाधान गर्न सकिएन भने त्यसले दीर्घकालीन असर पार्न सक्छ—कमजोर शारीरिक बनावट, सुस्त मस्तिष्क विकास, र रोगप्रतिको कम प्रतिरोध क्षमता।
अभिभावकले बच्चाको साना संकेत बुझ्न सक्नुपर्छ—उनीहरूको नबोलेको कुरालाई महसुस गर्न सक्नु पर्छ। सही समय, सही खानपान र सही दृष्टिकोण अपनाउन सके, तपाईंको बच्चा फेरि रमाइलो गरी खान थाल्नेछ।
सामाग्री श्रोत :
swasthyakhabar

