२०८२ बैशाख २३ मंगलवार
२०८२ बैशाख २३ मंगलवार

श्रमिक दिवसले गिज्याएको साइप्रसका घरेलु कामदार

domestic-worker-nepali-housemaid-and-may-day-labour-day

समिम मियाँ
मे ५ / साइप्रस

श्रमिक दिवस मे १ तारिकमा विश्व मजदुर दिवसका रुपमा संसार भर मनाइन्छ। सन् १९१९ मा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलएलो) को स्थापना भए पछि यसले स्थापनाकालदेखि नै श्रमिकहरूको हकअधिकारका लागि काम गर्दै आएको छ। विश्वका धेरै मुलुक आर्थिक समृद्धितर्फ लागेपछि श्रम क्षेत्र विस्तार हुँदै जाँदा श्रमबजारमा श्रमिकको माग बढ्दै गयो। खाडि संगसंगै युरोपमा पनि नेपाली श्रमिकको माग बढ्दै गएको छ। श्रमिकको योगदान, अधिकार र सम्मानका लागि समर्पित दिन भए पनि ओझेलमा परेको श्रमिक कै एउटा वर्ग हो घरेलु कामदार। खाडिका हुन् या साइप्रसका घरेलु कामदार, यो वर्गलाई श्रमिक दिवसले गिज्याइ रहन्छ।

सन् १९६० देखि नै औपचारिक रूपमा आइएलएलोसँग आबद्ध रहेको युरोपेली राष्ट्र साइप्रसमा पछिल्लो केहि वर्ष देखि नेपाली कामदारको माग बढेको छ। खास गरि नेपाली घरेलु कामदारको लागि यो प्रमुख गन्तव्य देश बन्न पुगेको छ । खाडिमा घरेलु कामदार पठाउन नेपाल सरकारले बन्द गरे संगै नेपाली महिलाको लागि साइप्रस मुख्य रोजाइमा पर्ने गरेको हो।

आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगार विभागको रेकर्ड अनुसार ५,८९५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने १,०२० जनाले पुन: श्रम स्वीकृति लिएका छन्। नयाँ र पुन : श्रम लिने को संख्या हेर्दा ६९५० जना साइप्रस गएका छन्। नयाँ श्रम स्वीकृति लिने ५,८९५ मध्य १६२४ जना पुरुष हुन् भने ४,२७१ जना महिला हुन्। पुन: श्रम स्वीकृति लिने मा १९६ पुरुष र ८२४ जना महिला छन्।

२०२५ मार्च १४ देखि अप्रिल १३ सम्म को एक महिना को डाटा हेर्ने हो भने नयाँ श्रम लिने ३५० पुरुष र ५४० महिला छन् यहि समयमा पुन: श्रम लिनेमा २६ पुरुष र १२५ महिला रहेका छन्। नयाँ र पुन: श्रम स्वीकृतिको संख्या एक महिनामा १,०४९ रहेको छ।

साइप्रसमा घरेलु कामदार कति छन् भन्ने २०२५ सम्मको तथ्यांक उपलब्ध नभए पनि २०२३ जनवरी सम्म २१ ,३१८ जना घरेलु कामदार रहेको तथ्यांकले देखाएको छ। जसमध्य सबै भन्दा धेरै नेपाली घरेलु कामदार ६,१४८ जना, फिलिपिन्सका ५४००, श्रीलंका ४६८९, भारत ३२५४ र भियतनामको १,१९२ जना रहेको देखिएको छ।

हरेक घरको आधारस्तम्भ बनेका घरेलु श्रमिकको अनियमित र कठिन दैनिकी

साइप्रसमा करिब २१ ,००० भन्दा बढी वैध रूपमा घरेलु श्रमिकहरू कार्यरत छन् भने १५,००० जति अवैध अवस्थामा काम गरिरहेका छन् भन्ने अनुमान गरिएको छ। घरेलु कामदारको भिसामा आउनेले वृद्दवृद्धा,रोगी बिरामी स्याहार, बालबच्चा हेरचाह , अपाङ्ग, मानसिक सन्तुलन ठिक नभएका व्याक्तिको रेखदेख देखि घरपालुवा जनावर सम्मको स्यहार गर्दै आएका छन्। साथै, दैनिक घरायासी काम सरसफाई, कपडा धुने, आइरन गर्ने, झाडु पोछा, नास्ता देखि रातको खाना पकाउने, सामान किनमेल, गाडि धुने देखि फुलबारी सरफाई सबै गर्नु पर्ने हुन्छ।

अशक्त, अपाङ्ग र वृद्दवृद्धा रेखदेख गर्नेले तिनलाई नुहाई दिने, दिसापिसाब गराइदिने देखि प्याम्पर फेर्ने सम्म, दिनभरि घरायासी काम र रातिभर वृद्द संगसंगै निन्द्रा मारेर बस्नु पर्ने बाध्यता हुन्छ। घरमै आराम गरि रहेका बिरामीलाई सहि समयमा औसधी खुवाउनु, दैनिक ड्रेसिङ्ग गर्नु, सुगर र रक्तचाप नाप्नु, इन्जेक्सन लगाइदिने काम पनि यिनै कामदारले गर्नु पर्छ।

बालबच्चा हेरचाह गर्ने नानी कामदारले दैनिक घरायसी काम र बच्चा संगै खेलीराख्नु पर्छ। भर्खरै जन्मिएको बच्चा हो भने आफ्नो सरसफाई र बच्चा को सरसफाईमा खास ख्याल राख्नै पर्छ। आमाले बच्चा जन्माईदिने मात्र हो बाँकी हुर्काउने काम उही नानी कामदारको हो। यसमा कति घण्टा काम गर्नु पर्छ कुनै हिसाब नै हुदैन।

एउटा परिवारमा काम गर्ने सामान्य हाउसमेडले बिहान ६ बजे देखि राति ९ बजे सम्म सबै काम नसकी कोठा जान नपाइने बाध्यता छ। अझ गाउँघर मा काम गर्ने हाउसमेडले बिहान को घरको काम सकेर खेत बारीमा समेत काम गर्न जानु पर्ने बाध्यता छ। ओलिभ टिप्ने, सिजन अनुसारका तरकारी र फलफुल टिप्ने सम्म को काम गर्न बाध्य पारिएको अनुभव हाउसमेडले गर्ने गरेका छन् जुन सम्झौता विपरित हो।

एउटा परिवार हेर्न भनेर गएको हाउसमेडले सोहि परिवारका अन्य सदस्यका अन्य २ – ३ घर मा काम गर्न लगाइने प्रवृतिले आजित बनेका हाउमेड काममा आएकै केहि महिना मै काम परिवर्तन गर्न खोज्छन्। किनकि एउटा तलब मा २ – ३ घर मा काम गर्नु पर्ने मानसिक र शारीरिक दवाब सबैले झेल्न सक्दैनन्।

केही हाउसमेडले भने यौनउत्पीडनमा परेको गुनासो गर्ने गरेका छन् । शारीरिक सम्बन्ध बनाउन ७० वर्षिय रोजगारदाताले दबाब दिने गरेको एक नेपालीले बताइन। आफ्नो कोठामा निदाएको बेला कोठमा आउने, शरीरमा नकारात्मक तरिकाले छुन खोज्ने, पैसा को प्रलोभनमा पार्न खोज्ने गरेको उनले बताइन। यस बारे उनले नेपाली दूतावास इजरायल र नेपाली मेनपावर कम्पनीलाई पनि जानकारी गराइ सकेकी छन्

 

के सबै हाउसमेडलाई सधै दुख छ त ?

छिरिङ तामाङ साइप्रस आएको ११ वर्ष भयो। हाउसमेडको रुपमा आएकी तामाङ अहिले सम्म एउटै घरमा कार्यरत छिन् । आउँदा ३१४ युरो तलब लिदै आएकी उनले अहिले ६५० युरो तलब पाँउछिन् । दिनमा ३ घन्टा आराम गर्ने समय र महिनामा २ पटक छुट्टि पनि पाँउछिन् ।
” सबैले उस्तै दुख पा’को छन् भन्न मिल्दैन, तर सेलरी राम्रो हुने हो भने कोहि पनि घर छोडेर अरु देश जानै पर्दैन ।” उनी भन्छिन् ।

काठमाडौ कि पेमा शेर्पा साइप्रसमा ३ वर्ष देखि कार्यरत छिन् । रोजगारदाताले उनलाई ५०० युरो तलब दिने गरेका छन् । सम्झौता अनुसार नै दैनिक ७ घन्टा र हप्तामा ६ दिन मात्र काम गर्न र नेपाली खाना को व्यवस्था गरिएकोमा उनी खुसी छिन् ।

कति हुन्छ तलब ?

साइप्रस सरकारको नियम अनुसार घरेलु कामदारको करार सम्झौतामा मासिक तलब ४६० युरो छ। जसबाट खाना, बसोबास , सोसल इन्सोरेन्स र मेडिकल इन्सोरेन्सको खर्च भनेर यो रकमबाट ३३ % सम्म कटौती गरिन्छ जसले गर्दा उनीहरूको वास्तविक आम्दानी मासिक ३०९ युरो हातमा पर्छ।

सोसल इन्सोरेन्समा मासिक योगदान गरेको पैसा न त फिर्ता पाइन्छ न त त्यसबाट कुनै पनि नेपाली श्रमिकले फाइदा नै पाँउछन।

करार सम्झौता अनुसार प्रतिदिन ७ घण्टा र हप्तामा ६ दिन काम गर्नु पर्ने हो तर वास्तविकतामा अधिकांस घरेलु कामदार हरेक दिन १२-१५ घण्टा काम गर्न बाध्य छन्।

श्रम समर्थकहरूले वर्तमान प्रणालीमा व्यापक सुधार आवश्यक रहेको तर्क गर्छन्। गत डिसेम्बरमा एक पत्रिकालाई दिएको अन्तर्वार्तामा ट्रेड युनियनको छाता संगठन पिईवो का कार्यकारी सचिव मारिना स्टाविन कोउकुले घरेलु कामदारको तलब र रोजगारीको नियम मा परिवर्तन गरिनु पर्ने बताएकी थिइन।

“तलब सहित रोजगारीका सर्तहरू धेरै वर्ष पहिले सहमत भएको साधारण सम्झौतामा आधारित छन् जुन २०/३० वर्षदेखि सुधार भएको छैन। ” कार्यकारी सचिव मारिना ले बताइन्।

साइप्रस को राष्ट्रिय न्युनतम तलब मा अटाएका छैनन् हाउसमेड ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) ले ‘घरेलु कामदार महासन्धि, २०११ (नम्बर १८९)’ मार्फत घरेलु कामदारका लागि अन्तर्राष्ट्रिय मान्यता स्थापित गरिसकेको छ। तर पनि नेपाल र साइप्रसले हालसम्म अनुमोदन गरेका छैनन्।

साइप्रसमा सन् २०१४ देखि २०२२ सम्म न्युनतम तलब ८७० युरो रहेको थियो भने यसलाई २०२३ को जनवरी र जुन मा बढाएर ९४० युरो पुर्याइयो। २०२४ को जनवरी देखि हाल सम्म न्युनतम तलब एक हजार युरो कायम नै छ। तर हरेक पटक वृद्धिमा घरेलु कामदार, कृषि कामदार र पानी जहाजमा कार्यरत श्रमिकलाई किनारा लगाइदै आएको छ।

घरेलु कामदारको न्यूनतम तलब दशकौ देखि बढेको छैन। तलब कै कारण नेपाली हाउसमेडहरु अवैध बाटो हुदै पोर्चुगल स्पेन जस्ता देश मा जान मानव तस्करलाई हजारौ युरो तिर्ने गरेको यथार्थ जगजाहेर नै छ।

युरोपियन काउन्सिलक विज्ञहरूले बनाएको रिपोर्ट हालै प्रकाशित भएको छ जसमा ‘यी कामदारहरूलाई शोषण र बेचबिखनको जोखिममा पार्छ’ भनिएको छ।

”साइप्रसका अधिकारीहरूलाई आप्रवासी कामदारहरूले साइप्रस र युरोपेली कामदारहरू जस्तै न्यूनतम तलब सहित समान अधिकार र सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्न उपायहरू अपनाउन आग्रह गर्दछ,” युरोप काउन्सिलको रिपोर्टमा उल्लेख छ।

मानव तस्कर र दुरुपयोगको जोखिम

हालैको रिपोर्टअनुसार, धेरै नेपाली महिलाहरू न्यून तलब, अत्यधिक काम र अमानवीय व्यवहारको शिकार छन्। श्रमिकहरूले ठगी वा शोषणका कारण आफ्नो रोजगारदाता छोड्ने प्रवृत्ति बढ्दो छ। पछिल्लो तीन वर्षमा करिब ३,००० नेपाली घरेलु श्रमिकले आफ्नो रोजगारदाता छाडेका छन्, जसले गर्दा उनीहरू तस्करी गिरोहको चपेटामा पर्ने सम्भावना बढ्दो छ।

यथार्थ पनि यहि हो कि न्यून तलब र अत्यधिक कामले हतास भएका घरेलु कामदारले पोर्चुगल र स्पेन जान जस्तो सुकै जोखिम मोल्न तयार हुन्छन्। लकडाउन हटे संगै टर्कीए शासित उत्तरी साइप्रस बाट टर्की हुदै ‘डन्कि ‘ रुट लिएर पोर्तुगल जाने “मौसम” नै आएको थियो। तर पछिल्लो समय पोर्चुगलले आप्रवासी को लागि प्रवेश बन्द गरे सगैं अहिले साइप्रसबाट ग्रीस, इटाली, स्पेन जाने क्रम जारी छ।

अशक्त, अपाङ्ग र वृद्दवृद्धा रेखदेख गर्ने कामदारले मध्यराति नै घर छोडेर विभिन्न बाटो हुदै साइप्रस छोड्ने क्रम बढे पछि सांसद रिता सुपरमेन ले संसदीय कमिटिमा यस विषयमा चिन्ता जाहेर गरेकी थिइन ।

सुधारको माग

साइप्रसका श्रम अधिकारकर्मीहरू र केही सांसदहरूले घरेलु श्रमिकहरूको अवस्था सुधार्न तत्काल कदम चाल्नुपर्ने माग गरिरहेका छन्।
सांसद रीता सुपरम्यानले भनेकी छिन्, “हामीले रोजगार प्रक्रिया पारदर्शी बनाउनुपर्छ, श्रमिकहरूको तालिम सुनिश्चित गर्नुपर्छ, र उनीहरूको योगदान अनुसार सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्छ।”
उनले यस्तो व्यवस्था नेपाल, फिलिपिन्सजस्ता श्रमिक पठाउने मुलुकसँग मिलेर द्विपक्षीय सम्झौताको माध्यमबाट गर्न सकिने सुझाव दिएकी छन्।

घरेलु कामदारहरूको अवस्था सुधार गर्न तीन पक्ष—सरकार, रोजगारदाता र स्वयं कामदारले आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्छ।
घरेलु कामदारलाई लक्षित गरि कानुन निर्माण गर्न नेपाल सरकारले पहल गर्न जरुरी छ। कानुनमा सहजता पुर्याउन, गुनासो गर्न, मद्दतको लागि सम्बन्धित निकायमा मातृभाषामा हेल्पलाइन सेवा सुचारु गर्न सकिन्छ। साथै, दुतावास वा कन्सुलर कार्यालयमा श्रम सहचारीको सशक्त उपस्थिति भए समस्या समाधान गर्न सहज हुने र म्यानपावर व्यवसायी संग सम्वन्व्य गर्न सके आधा समस्या समाधान गर्न सकिन्छ।

घरेलु कामदार का लागि मात्र नभई साइप्रस आउने सबै श्रमिकले अनिवार्य ग्रीक वा अंग्रेज़ी भाषाको परीक्षा दिनु पर्ने व्यवस्था बनाउनु पर्छ।

कयौ वर्ष देखि साइप्रसमा स्थापित नेपाली संघसंस्थाले यी समस्या बारे नेपाली दूतावास इजरायल र परराष्ट्र मन्त्रालय को ध्यानाकर्षण गराउदै आएका छन् तर सुधार शुन्य छ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट