२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

के हो क्यूआर कोड अनि कसरी स्क्यान गर्ने ? जान्नुहोस् सजिलो तरिका

 

काठमाडौं । अहिलेको समयमा क्यूआर (क्विक रेस्पोन्स) कोड जताततै देख्न पाइन्छ । सुरुवाती समयमा सन् १९९० को दशकमा गाडीका पार्टपुर्जा स्क्यान गर्नका लागि आविष्कार गरिएको भए पनि महामारीको समयमा सम्पर्कमा नरहने प्रवृत्तिको महत्त्व बढेपछि यसको लोकप्रियता ह्वात्तै बढ्यो । अहिले त यो हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा नै बनिसकेको छ ।

तपाईंले रेस्टुरेन्टमा खाना अर्डर गर्न, वाई-फाई कनेक्ट गर्न, अनलाइन किनमेल गर्न, कार्यक्रम वा यात्राको टिकट प्राप्त गर्न, आफ्नो पहिचान प्रमाणित गर्न र यस्तै अन्य धेरै कामहरूका लागि क्यूआर कोड प्रयोग भएको पाउनुहुन्छ । 

नागरिक एपबाट त झन् क्यूआर कोड स्क्यान गरेर आफ्ना विभिन्न निकायलाई आफ्नो व्यक्तिगत जानकारी उपलब्ध गराउन सकिन्छ । यी कोडहरूले कि त केही जानकारी (लगभग ३ किलोबाइटसम्म) भण्डारण गर्न सक्छन् वा तपाईंलाई कुनै निश्चित एड्रेस (जस्तै; वेबसाइट वा एपको पेजमा) पुर्‍याउन सक्छन् ।

यदि तपाईंले कतै क्यूआर कोड भेट्नुभयो र त्यसमा के छ भन्ने पढ्न खोज्नुभयो भने तपाईंलाई फोन आवश्यक पर्छ । आँखाले नै क्यूआर कोड डिकोड गर्न त्यति सम्भव हुँदैन । तपाईंको फोनले नै क्यूआर कोडमा भएको जानकारी तपाईंलाई उपलब्ध गराउँछ ।

त्यसो भए क्यूआर कोडले कसरी काम गर्छ ?

क्यूआर कोडहरूले थोरै मात्रामा डेटा भण्डारण गर्छन् । सामान्यतः हामीले दिनहुँ देख्ने कोडहरूमा १०० भन्दा कम अक्षर र अङ्कहरू (जसलाई अङ्ग्रेजीमा अल्फान्युमेरिक क्यारेक्टर्स भनिन्छ ) हुन्छन् । यद्यपि धेरै जानकारी राख्नुपर्दा क्यूआर कोड ठूलो र जटिल हुन सक्छ ।

क्यूआर कोडमा ‘त्रुटि सुधार’ गर्ने क्षमता पनि हुन्छ । यसले गर्दा कोडको केही भाग छोपियो वा बिग्रियो भने पनि यसले काम गर्न सक्छ । फोनको क्यामेरा वा अन्य स्क्यानिङ डिभाइसले क्यूआर कोडमा भएको जानकारी पढ्न सक्छ । यसका लागि कोडको तीन कुनामा रहेका ‘खोज्ने ढाँचाहरू’ (फाइन्डर प्याटर्न) ले मद्दत गरेको हुन्छ । त्यसलाई सामान्य भाषामा हामी तीन ओटा कोठा भनेर पनि बुझ्छौं । ती कोठा किन हुन्छन् भन्ने बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

यी कोठाको मुख्य काम स्क्यानरलाई क्यूआर कोड कहाँ छ, कत्रो छ र कता फर्केको छ भन्ने जानकारी दिन्छन् । यसले गर्दा तपाईंले क्यूआर कोड जता ढल्काएर स्क्यान गर्न खोजे पनि डिभाइसले सजिलै स्क्यान गर्छ । 

थोरै अक्षरहरू मात्र अट्ने भएकाले क्यूआर कोडमा तस्बिर वा लामो लेख राख्न सकिँदैन । तर वेबसाइटको एड्रेस, सम्पर्क विवरण वा वाई-फाई नेटवर्कमा लगइन गर्ने जानकारी जस्ता विवरण सजिलै अट्छन् । रंगशालाको टिकट, सिनेमाको टिकेट वा विमानको बोर्डिङ पास जस्ता कागजातमा भने क्यूआर कोडभित्र एउटा विशेष ‘टोकन’ (unique embedded token) हुन्छ । यसलाई डेटाबेसमा जाँच गरेर तपाईं सही व्यक्ति हो कि होइन भनेर प्रमाणित गरिन्छ ।

क्यूआर कोडहरू तपाईंलाई ठग्नका लागि पनि प्रयोग हुन सक्छन् । यस्ता कोडहरूले तपाईंलाई नक्कली वेबसाइटमा पुर्‍याएर तपाईंको व्यक्तिगत वा भुक्तानीसम्बन्धी जानकारी चोर्ने प्रयास गर्न सक्छन् । तपाईंको फोनको ब्राउजरमा भएको सुरक्षा प्रणालीले यस्ता धेरै ‘फिसिङ’ आक्रमणलाई रोक्न मद्दत गर्छ । तर, सार्वजनिक ठाउँमा टाँसिएका, शंकास्पद वेबसाइटमा देखिएका वा कसैले चलाएको जस्तो देखिने क्यूआर कोड स्क्यान गर्दा सधैं सावधानी अपनाउनुपर्ने हुन्छ । आफूलाई आवश्यक छैन भने कौतुहलताले पनि क्यूआर कोड स्क्यान गर्ने बानी हुन सक्छ । त्यस्तोमा सजग हुनुहोला ।

क्यूआर कोड कसरी स्क्यान गर्ने ?

आजकलका प्रायः सबै स्मार्टफोनमा (एन्ड्रोइड ८ र आईओएस ११) क्यामेरा एपभित्रै क्यूार कोड स्क्यान गर्ने सुविधा पहिलेदेखि नै हुन्छ । त्यसैले तपाईंलाई कुनै छुट्टै एप डाउनलोड गरिरहनु पर्दैन । ती सुविधा उपलब्ध नभएका डिभाइसको नोटिफिकेसन बारमा पनि स्क्यानको अप्सन हुन्छ । त्यहीबाट क्यूआर कोड सजिलै स्क्यान गर्न सकिन्छ । 

यदि पर्याप्त उज्यालो छ र स्पष्ट रूपमा फोकस भएको छ भने तपाईंले क्यूआर कोड स्क्यान गरिसकेपछि तल लिङ्क खुल्छ । त्यही लिङ्कमा ट्याप गरेर वेबसाइट वा एपको पेजसम्म पुग्न सक्नुहुन्छ । तपाईं कुन वेबसाइटमा पुग्नुहुन्छ भन्ने जानकारी त्यही क्यूआर कोडले निर्धारण गर्छ । उदाहरणका लागि यसले तपाईंलाई कुनै रेस्टुरेन्टको मेनु पेजमा लैजान सक्छ वा कसैको सम्पर्क कार्डमा लैजान सक्छ ।

यदि तपाईंलाई कुनै क्यूआर कोड महत्त्वपूर्ण लागेको छ भने त्यसको फोटो खिचेर वा डाउनलोड गरेर राख्न सक्नुहुन्छ । त्यसलाई पछि आवश्यक पर्दा गुगल लेन्सबाटै पनि स्क्यान गर्न सकिन्छ । गुगल लेन्स गुगल सर्चबारको छेउमा हुन्छ । यदि तपाईं कुनै ब्राउजर खोलेर ‘google.com’ मा जानुभयो भने त्यसको छेउमा क्यामेराको जस्तो आइकन देखिन्छ । त्यही ट्याप गरेर क्यूआर कोड छानी त्यसमा भएको जानकारी पाउन सक्नुहुन्छ । अथवा गुगल फोटोजमा उक्त क्यूआर कोड फेला पार्नुहोस् । र, त्यसको तलपट्टि भएको ‘लेन्स’ (Lens) को अप्सनमा जानुहोस् । यति भएपछि त्यसमा भएको जानकारी सहजै गुगल लेन्समा देखिन्छ । यो एन्ड्रोइड प्रयोगकर्ताका लागि काम लाग्ने फिचर हो । 

आईओएस प्रयोगकर्ताले सहजै डिभाइसमा सेभ भएको क्यूआर कोडको जानकारी पाउन एप्पल फोटोज एप प्रयोग गर्न सक्नुहुन्छ । उक्त एप खोलेर क्यूआर कोड भएको फोटो छान्नुहोस् । अनि त्यहाँ देखिएको ‘लाइभ टेक्स्ट’ (Live Text) बटनमा ट्याप गर्नुहोस् । यसरी तपाईंले सहजै क्यूआर कोड स्क्यान गर्न सक्नुहुन्छ । 

विभिन्न थर्ड पार्टी कोड स्क्यानर एप पनि उपलब्ध छन् । तर यदि तपाईंलाई स्क्यान गर्नेबाहेक अरू विशेष फिचर आवश्यक छैनन् भने तपाईंको फोनको नेटिभ स्क्यानर एप वा क्यामेरा एप नै उपयुक्त हुन्छ । स्क्यान गर्नका लागि मात्र थर्ड पार्टी एप इन्स्टल नगर्दा नै राम्रो हुन्छ । यी एपहरूले विभिन्न प्रकारका बारकोडहरू स्क्यान गर्ने, तपाईंले स्क्यान गर्नुभएका क्यूआर कोडहरू सुरक्षित राख्ने वा आफ्नै क्यूआर कोडहरू बनाउने जस्ता सुविधा दिन्छन् ।

तर तिनीहरू प्राय: विज्ञापनले भरिएका हुन्छन् र सामान्यतः तपाईंलाई शुल्क तिरेर प्रिमियम सेवा लिन वाध्य पार्ने किसिमका हुन्छन् । यदि तपाईं केवल क्यूआर कोड बनाउन चाहनुहुन्छ भने इन्टरनेटमा थुप्रै क्यूआर जेनेरेटर वेबसाइट हुन्छन् । जसले सजिलै तपाईंलाई आवश्यक पर्ने क्यूआर कोड बनाइदिन्छन् । तपाईंले एडोबीको निःशुल्क क्यूआर कोड जेनेरेटर पनि प्रयोग गर्न सक्नुहुन्छ । त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८२ १४:३२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट