काठमाडौँ । नेपालमा हरेक वर्ष एक हजार भन्दा बढी डिजिटल फाइनान्सिङ फ्रड अर्थात् डिजिटल भुक्तानीका माध्यमबाट भएका ठगी सम्बन्धी उजुरीहरू दर्ता हुन्छन् । “हामी बैँकबाट तपाईँलाई कल गरिरहेका छौँ” भन्दै ठग्ने क्रम बढेको छ । मोबाइल बैङ्किङ अथवा डिजिटल वालेटको ओटीपी मागेर ग्राहकको खातामा पहुँच बनाइ रकम झिक्ने समस्या पनि उत्तिकै छ ।

समय समयमा प्रहरी र बैँक तथा वित्तीय संस्थाहरूले यस्ता ठगीहरूबाट बच्नका लागि सचेतनामूलक सूचनाहरू प्रकाशन गरिरहेका पनि हुन्छन् । डिजिटल बैङ्किङको सुरक्षालाई थप बलियो बनाउन उनीहरूले टु फ्याक्टर अथेन्टिकेसन (2FA), थ्रीडी सेक्योर, पासवर्ड र पिनको सुरक्षित प्रयोग, सेक्योर सकेट्स लेयर (SSL) लगायतका उपाय पनि अपनाई रहेका छन् । तर पनि यस्ता घटनाहरूमा कमी आएको छैन ।
हामीले प्रयोग गर्ने एटीएम कार्डदेखि अनलाइन बैङ्किङ, अनलाइन खाता खोल्ने लगायतका सबै गतिविधिहरू डिजिटल बैङ्किङभित्र पर्छन् । डिजिटल बैङ्किङले बैङ्किङ सुविधालाई छिटो, सुरक्षित र सुलभ बनाएको छ । तर, सुविधासँगै ठगी पनि बढेको छ । जसरी हामी बैँकमा नगइ मोबाइलको भरमा सम्पूर्ण आर्थिक कारोबार गर्न सक्छौँ, त्यसैगरी चोर वा ठगहरूले पनि बैँकसम्म नपुगी अनलाइनबाटै हाम्रो खातामा भएको सम्पूर्ण रकम चोरी गर्न सक्छन् । डिजिटल ठगीका धेरै घटनामा प्रयोगकर्ताको गल्ती देखाइन्छ । तर, प्रयोगकर्ताका साथै बैँक तथा वित्तीय संस्था र भुक्तानी प्रदायकले पनि सुरक्षित कारोबारको प्रणाली बलियो बनाउनुपर्ने साइबर सुरक्षा विज्ञहरूको भनाइ छ ।
“ठुल्ठुला राशिका फ्रडहरू धेरैजसो प्रयोगकर्ताको तर्फबाट भन्दा पनि सम्बन्धित संस्थाले आफ्नो प्रणालीलाई सुरक्षित बनाउन नसकेका कारण भएका छन्,” साइबर सुरक्षा विज्ञ नारायण कोइराला भन्छन् । “पहिलेको तुलनामा अहिले धेरै वित्तीय संस्थाहरू साइबर सुरक्षाप्रति संवेदनशील भएको देख्न सकिन्छ । विशेषगरी वाणिज्य तथा विकास बैँकहरूले साइबर सुरक्षालाई बलियो बनाउने प्रयास गरिरहेका छन् ।” तर फिनटेकको क्षेत्रमा आएका नयाँ संस्थाहरूमा यस्ता समस्या देखिने गरेको उनको भनाई छ ।

बैँक तथा वित्तीय संस्थाहरू यस्ता समस्याहरूप्रति सचेत छन् । बारम्बार विभिन्न सूचनाहरू जारी गरेर ग्राहकसम्म यस्ता समस्याका विषयमा सचेत पनि गराइरहेकै छन् । तर पनि डिजिटल साक्षरताको कमीका कारण र विभिन्न प्रलोभनमा फसेर यी घटनाहरू हुने गरेका छन् । मोबाइल बैँकिङको तुलनामा डिजिटल वालेटबाट यस्ता ठगी धेरै भएको पाइन्छ । फेरि, वालेटमा नै बैँक खाताहरू लिंक हुने हुँदा डिजिटल वालेटमा पहुँच पाउने बित्तिकै बैँक खाताबाट पनि रकम निकाल्न सहज हुने माछापुच्छ्रे बैँकको आईटी विभागका प्रमुख हेमकुमार श्रेष्ठ बताउँछन् ।
“विगत हेर्ने हो भने ओटीपी मात्रै पाउँदा पनि ठगहरूले पैसा खाताबाट निकाल्न सक्ने परिस्थिति थियो । तर अहिले मोबाइल नम्बर भेरिफिकेसन फिचर लागु गरेसँगै ओटीपीबाट हुने चोरीमा कमी आएको छ,” उनले भने, “अहिले ग्राहकलाई लक्की ड्रमा पैसा परेको छ, विदेशबाट पार्सल आएको छ भन्दै प्रलोभनमा पारेर रकम माग्ने क्रम बढेको देख्न सकिन्छ । यसमा ग्राहक आफैँ सचेत हुन आवश्यक छ ।”
यसको मुख्य कारण डिजिटल डिभाइड भएको उनी विश्वास गर्छन् । सबै ग्राहकहरू डिजिटल प्रविधिमा साक्षर नहुने र यसको फाइदा उठाउँदै ठगहरूले ठगी गर्ने गरेको उनले बताए । ठगी गर्ने तरिकाहरू पनि परिवर्तन हुँदै गर्दा भविष्यमा एआई प्रविधिको प्रयोग नहोला भन्न सकिन्न । विद्यमान समस्या र भोलिको दिनमा आउन सक्ने समस्यालाई हेरेर त्यसलाई न्यूनीकरणमा ग्राहक, बैँक, वालेट, नीति निर्माता लगायत सबै सरोकारवाला सचेत हुनुपर्नेमा उनले जोड दिए ।
भुक्तानी सेवा प्रदायक तथा सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) भने यस्ता किसिमका घटनाहरू अन्य देशको तुलनामा नेपालमा कम भएको बताउँछ । एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निशेलमानसिंह प्रधान डिजिटल फाइनान्सिङ फ्रडको सङ्ख्या घटाउनुपर्ने र घटना घटेपछि क्षतिपूर्तिको लागि पनि पहल गरिनुपर्नेमा जोड दिन्छन् ।
“विभिन्न देशहरूले डिजिटल भुक्तानीको क्षेत्रमा प्रविधिको प्रयोग गरेर हुन सक्ने ठगीमा क्षतिपूर्तिका लागि बीमाको व्यवस्था गर्ने प्रचलन छ । नेपालको हकमा यो अभ्यास छैन,” उनी भन्छन्, “यस्तो प्रकारको नीतिको अभावका कारण ग्राहक, बैँक तथा मध्यस्तकर्तालाई पनि समस्या भइरहेको छ । यदि बीमाको व्यवस्था गराउन सक्ने हो भने डिजिटल भुक्तानी प्रति ग्राहकको विश्वास थप बढ्ने सम्भावना छ ।”
हामीले गर्ने कुनै न कुनै गल्ती वा कमजोरी नै ठगहरूको लागि सजिलो बाटो बन्ने गरेको छ । ‘चोर सधैँ एक कदम अगाडि हुन्छ’ भनेझैँ, सचेत हुदाँहुदैँ र प्रणाली बलियो बनाउँदा बनाउँदै पनि घटना घटिरहन्छन् । ठगहरूका नयाँनयाँ शैलीबारे सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने प्रहरी बताउँछ ।
पछिल्लो समय ठगहरूले ग्राहकलाई स्क्रिन शेयर गर्न लगाएर व्यक्तिगत विवरणहरू लिने गरेको पाइएको सीआईबीका प्रहरी उपरीक्षक सुधीरराज शाही बताउँछन् । “ग्राहकलाई स्क्रिनशेयर गर्न लगाएर मिररिङ भएको स्क्रिनमा प्रयोग भएका व्यक्तिगत विवरणहरू, पासवर्ड पत्ता लगाउने र ग्राहकको खातामा पहुँच बनाउने घटना पनि अहिले बढेका छन्,” उनी भन्छन् ।
पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १५:५
सामाग्री श्रोत :
टेक पाना