काठमाडौँ । आजकल स्मार्टफोन हाम्रो जीवनको अभिन्न अङ्ग भएको छ । हामी सधैँ सम्पर्कमा रहन र उत्पादनशील बन्नको लागि यसमाथि निर्भर हुन्छौँ ।

स्मार्टफोनमा रहेको ब्याट्रीको चार्ज घट्ने कुरा स्वाभाविक नै हो । तपाईंले आफ्नो डिभाइस अन गर्नासाथ त्यसको ब्याट्री खपत हुन थाल्छ । ब्याट्रीको आयु बढाउने सवालमा केही भ्रम र वास्तविकता बजारमा व्याप्त छन् ।
ती मध्ये केही अभ्यासहरूले ब्याट्रीको आयु बढाउन कुनै भूमिका खेलिरहेका हुँदैनन्, केही उपायहरू भने निकै प्रभावकारी हुन्छन् । यदि तपाईँ आफ्नो मजबुत र कम-मूल्यको स्मार्टफोनबाट बढी फाइदा लिन चाहनुहुन्छ भने, ब्याट्री बिग्रिनुअघि यसको आयु बढाउनेतर्फ ध्यान दिन सक्नु हुन्छ । आज हामी यहाँ फोनको ब्याट्री लाइफ बढाउने सामान्य अभ्यासहरू र केही भ्रमहरूको बारेमा चर्चा गर्दैछौँ ।
ब्याट्री लाइफ बढाउने भन्नुको अर्थ के हो ?

ब्याट्रीको लाइफ बढाउनु कुनै विशेष ट्रिक वा जुक्ति मात्र होइन । निर्माता कम्पनीले कुनै डिभाइसको आयु लगभग ६ वर्ष हुन्छ भन्छ भने त्यो एक औसत हिसाबकिताबमा आधारित हुन्छ । तर यदि अझ लामो समयसम्म प्रयोग गर्न चाहनुहुन्छ भने, त्यसको आयु बढाउने उपायहरू खोज्नु स्वाभाविक हुन्छ । ६ वर्षको औसत समय भनेको सही ढङ्गको प्रयोगमा आधारित हुन्छ । तपाईंको आफ्नै अनुभवले पनि यो अवधि कम वा बढी लाग्न सक्छ । ब्याट्रीको आयु पनि यस्तै हो । जब निर्माता कम्पनीले ब्याट्री-सेभर मोडमा २४ घण्टा वा १०० घण्टासम्म फोन टिक्छ भनिरहेको हुन्छ भने त्यो औसत अनुमान हो । त्यो अनुभव सायद मिल्दोजुल्दो होला । तर ठ्याक्कै एउटै नहुन पनि सक्छ । ब्याट्री लाइफ लम्ब्याउनुको अर्थ हुन्छ ब्याट्रीलाई सही रूपमा अनुकूल बनाउने र राम्रा तरिका अपनाउने । हाम्रो फोन प्रयोगको शैली, सफ्टवेयर सेटिङ, र डिभाइसको समग्र हेरचाहले नै ब्याट्रीको हेल्थ र यसको लाइफ निर्धारण गर्छ ।
अल्पकालिन भर्सेस दीर्घकालीन ब्याट्री हेल्थ
अल्पकालीन र दीर्घकालीन ब्याट्री सेभ गर्ने रणनीति बीच भिन्नता छुट्याउन आवश्यक छ । यदि तपाईँ आफ्नो फोन दिनभर लामो समयसम्म टिकोस् र चाँडै अफ नहोस् भन्ने चाहनु हुन्छ भने अल्पकालीन उपायको खोजीमा हुनुहुन्छ । तर, दीर्घकालीन ब्याट्री हेल्थ ख्याल गर्ने भनेको चाहिँ त्यो समयसम्म ब्याट्रीको आयु कायम राख्नु हो, जबसम्म ब्याट्रीले चार्ज धान्न छोड्दैन र फेर्नुपर्ने हुन्छ ।
यी दुई अवस्थामा अपनाउनु पर्ने विधिहरू फरक हुन्छन् । उदाहरणका लागि, ब्राइटनेश घटाउनु वा रिफ्रेश रेट कम गर्नुले तत्काल ब्याट्रीको खपत कम गर्न सघाउँछ । जुन अल्पकालीन उपाय हो । तर, तपाईँले कसरी चार्ज गर्नुहुन्छ भन्ने कुराले दीर्घकालीन रूपमा ब्याट्रीको आयुमा प्रभाव पार्छ ।
दुवै अवस्थामा, तपाईँले ब्याट्रीको समग्र स्वास्थ्यलाई ध्यानमा राख्नुपर्छ र ब्याट्री डिग्रेडेसन हुनबाट जोगाउने प्रयास गर्नु पर्छ । ब्याट्री डिग्रेडेसन भन्नाले समयसँगै ब्याट्रीको क्षमता बिस्तारै घट्दै जाने प्रक्रिया हो । यसबाट ब्याट्रीले कति चार्ज स्टोर गर्न सक्छ र कति राम्रोसँग शक्ति प्रवाह गर्न सक्छ भन्ने कुरामा असर पार्छ ।
८५% सम्म मात्र चार्ज गर्दा ब्याट्रीको आयु साँच्चिकै बढ्छ ?
छोटकरीमा भन्नुपर्दा, हो, यसले ब्याट्रीको आयु बढाउँछ । चार्ज गर्ने तरिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ, विशेष गरी यदि तपाईँ आफ्नो ब्याट्रीको आयु लामो बनाउन चाहनुहुन्छ भने ।
तर कुरा यति सरल पनि छैन । तपाईँको चार्ज गति, जस्तै फास्ट चार्ज वा साधारण चार्ज गर्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ । साथै, प्रयोग हुने चार्जर पनि गुणस्तरीय हुनु पर्छ । अन्य चार्जरहरूबाट नियन्त्रित पावर आउटपुट नहुँदा ब्याट्रीको लाइफमा नकारात्मक असर पार्न सक्छन् । रातभर चार्ज गर्दा ब्याट्रीमा नोक्सान पुग्छ भन्ने कुरा एक भ्रम मात्र हो ।
अधिकांश चार्जरहरूले फोन १००% पुग्ने बित्तिकै चार्ज रोक्ने गर्छन् र ब्याट्री लेभल तल झरेपछि मात्र फेरि चार्ज थप्छन् । आधुनिक स्मार्टफोनहरूमा फुल चार्ज भएपछि चार्ज रोक्नको लागि पूर्वनिर्मित सुरक्षा सुविधा हुन्छ । सबैभन्दा ठुलो चिन्ता भनेको ओभर हिटिङ हो । ब्याट्रीमा हुने विद्युतीय रासायनिक क्रियाबाट ताप उत्पन्न हुन्छ, जसले सामान्य रूपमा अलिकति फोन तताउन सक्छ ।
तर यदि फोन अत्यधिक तातो भएर छुन असहज लाग्छ भने त्यो खराब चार्जर, पोर्ट वा ब्याट्रीको सङ्केत हो । रातभर चार्ज गर्दा तपाईँले यस्तो प्रभाव परिरहेको छ कि छैन विचार गर्न नसक्ने हुन सक्छ । लिथियम-आयन ब्याट्रीहरूको लागि तपाईँले फोनको चार्ज २०% देखि ८०% बीचमा राख्नुपर्ने हुन्छ, तर फोनलाई पूर्ण रूपमा (०% मा) खाली हुन दिनु हुँदैन । किनकि यसले ब्याट्रीलाई क्षति पुरयाउँछ ।
अधिकांश फोनहरूले सुरक्षा प्रणाली प्रयोग गर्छन्, जसले ब्याट्री स्तर ०% भन्दा तल गएमा फोन बन्द गरिदिन्छ । देखाइएको ०% वास्तवमै ०% हुँदैन । तर यदि तपाईँले फोनलाई लामो समयसम्म ०% रहन दिनुभयो भने अन्ततः चार्ज गुम्ने हुन्छ । लिथियम-आयन ब्याट्रीको उत्तम अवस्था भनेको तपाईँले फोनको चार्ज लेभल ४०% देखि ८०% बिचमा राख्नुपर्छ, जसले ब्याट्रीमा पर्ने दबाब कम गर्छ र ह्रासलाई न्यूनीकरण गर्छ ।
यसले अत्यधिक चार्ज गर्ने (८०% भन्दा माथि) र गहिरो चार्ज (४०% भन्दा तल) अवस्थाबाट बचाउँछ । जुन अवस्थामा ताप उत्पन्न हुने जोखिम सामान्य चार्जिङको तुलनामा बढी हुन्छ । यदि तपाईँको डिभाइस अत्यधिक तातो भइरहेको छ भने, त्यो तपाईँको फोनको ब्याट्रीमा स्थायी क्षति आउने सङ्केत हो र यसले ब्याट्रीको आयु घटाउन भूमिका खेलिरहेको हुन्छ ।
चार्ज गर्नुअघि फोनको ब्याट्री पूर्ण रूपमा डाउन हुन दिनु राम्रो हो ?
यो मिथक पुरानो ब्याट्री प्रविधिमा आधारित थियो, जहाँ पूर्ण डिस्चार्जले ब्याट्रीको पर्फर्मेन्सलाई पुन: क्यालिब्रेट गर्न मद्दत गर्थ्यो । तर आजकलका लिथियम-आयन ब्याट्रीहरूको लागि यो अभ्यास हानिकारक हुन सक्छ । बारम्बार फोनको ब्याट्री पूर्ण रूपमा रित्याउँदा अनावश्यक तनाव आइपर्न पर्छ । बरु, ब्याट्रीलाई २०% र ८०% को बीचमा राख्ने प्रयास गर्नुहोस् ।
३. ब्याकग्राउन्डका एपहरू बन्द गर्दा ब्याट्री लाइफ बढ्छ ?
छोटो उत्तरमा भन्नुपर्दा, केहि हदसम्म हो र केहि हदसम्म होइन । यो तपाईँको फोनको सफ्टवेयरमा निर्भर गर्छ । उदाहरणका लागि, एप्पलले एप निलम्बन (app suspension) सुविधा प्रयोग गर्छ । कुनै एपलाई बन्द गरी फेरि खोल्दा, ती एपहरूलाई सस्पेन्सन गर्ने भन्दा बढी ब्याट्री खपत हुन सक्छ ।
यदि तपाईँ आफ्नो उपकरणको ब्याट्री लाइफ छोटो अवधिको लागि बढाउन खोज्दै हुनुहुन्छ भने, सामान्यतया तपाईँ ब्याकग्राउन्डमा एपहरू चल्न नदिने प्रयास गर्नुहुन्छ । ब्याकग्राउन्ड एपहरूले तपाईँको डिभाइसको प्रोसेसिङ पावरमा बोझ थप्छन् र स्थिर रूपमा लोकेसन सर्भिस र वाई-फाई नेटवर्कसँग सञ्चार गर्दा ब्याट्रीको खपत बढाउँछन् ।
अधिकांश एन्ड्रोइड फोनहरूमा ब्याकग्राउन्ड एपहरूसँग जुध्ने उपायहरू छन् । उदाहरणका लागि सामसङ फोनहरूमा ‘डिप स्लिपिङ’ एपहरूको सूची हुन्छ भने पिक्सेल फोनहरूमा ब्याकग्राउन्ड गतिविधिलाई अन/अफ गर्न मिल्ने सेटिङ हुन्छ ।
आईओएस र एन्ड्रोइड अपरेटिङ सिस्टमहरू ब्याकग्राउन्ड एपहरूलाई कुशलतापूर्वक व्यवस्थापन गर्न डिजाइन गरिएका छन्, प्रयोगमा नभएको बेला तिनीहरूलाई पज वा फ्रिज गरिन्छ । वास्तवमा जबरजस्ती एपहरू बन्द गरेर तिनीहरूलाई पुन: खोल्दा बढी ब्याट्री खपत हुन सक्छ ।
किनकि फोनले प्रत्येक एपलाई सुरुदेखि पुन: लोड गर्नुपर्ने हुन्छ । यदि कुनै एपले खराबी गरिरहेको छैन भने, सिस्टमलाई ब्याकग्राउन्ड गतिविधि ह्यान्डल गर्न दिनु नै उत्तम हुन्छ ।
डार्क मोडले ब्याट्री लाइफमा कुनै फरक पार्दैन ?
यदि तपाईँसँग ओएलईडी वा एमोलेड स्क्रिन छ (जुन नयाँ आइफोनहरू र धेरै एन्ड्रोइड मोडेलहरूका लागि सामान्य हो) भने, डार्क मोड प्रयोग गर्नाले वास्तवमा ब्याट्री लाइफ बचाउन सक्छ । यी स्क्रिनहरूमा कालो रङ देखाउँदा प्रत्येक पिक्सेलहरू बन्द हुन्छन्, जसले गर्दा तिनीहरूलाई उज्यालो पार्न आवश्यक ऊर्जा खपत कम हुन्छ ।
फरक सानो भए पनि समयसँगै यो जम्मा हुन सक्छ, विशेष गरी यदि तपाईँ धेरै फोन प्रयोग गर्नु हुन्छ भने । एलसीडी स्क्रिनको हकमा भने यसको प्रभाव न्यून हुन्छ । यद्यपि डार्क मोडले आँखाको तनाव कम गर्न र कम प्रकाशमा स्क्रिन हेर्न सजिलो बनाउन सक्छ ।
फास्ट चार्जर प्रयोग गर्दा फोनको ब्याट्री बिग्रन्छ ?
फास्ट चार्जिङ पछिल्लो समय बजारमा आइरहेका नयाँ फोनहरूमा हुने एउटा सुविधाजनक कुरा हो । तर कसैलाई यसले ब्याट्री लाइफ छोटो बनाउन सक्छ भन्ने चिन्ता हुन सक्छ । फास्ट चार्जिङले बढी तातो उत्पन्न गर्छ, जुन ब्याट्रीको लागि हानिकारक हुन सक्छ ।
तर आधुनिक फोनहरू ओभरहिटिङबाट बचाउने सुरक्षा उपाय सहित बनाइएका हुन्छन् । आईफोन र एन्ड्रोइड दुवै डिभाइसहरूले ब्याट्री उच्च स्तरमा पुगेपछि तातो कम गर्न पावर इनपुट सीमित गर्छन् । तैपनि, यदि तपाईँ बारम्बार छोटो समयको लागि चार्ज गर्दै हुनुहुन्छ भने, सकेसम्म सामान्य चार्जर प्रयोग गर्नु राम्रो हुन्छ ।
ब्याट्री खपत बढाउने कारक
-
उच्च स्क्रिन ब्राइटनेस: तपाईँको फोनको डिस्प्ले नै सबैभन्दा बढी ब्याट्री खपत गर्ने मध्येको एक हो ।
-
लोकेशन सर्भिस तथा जीपीएस: लगातार लोकेसन ट्र्याकिङले धेरै ब्याट्री खपत गर्छ ।
-
ब्याकग्राउन्ड एप रिफ्रेश र पुश नोटिफिकेसन: ब्याकग्राउन्डमा एपहरूबाट बारम्बार हुने अपडेटहरूले ब्याट्री खपत गराउँछ ।
-
कमजोर नेटवर्कः कमजोर रिसेप्सन वा नेटवर्क भएको क्षेत्रमा फोनले सिग्नल खोज्दा बढी पावर प्रयोग गर्छ ।
-
प्रयोग नभएका वायरलेस सेवाः ब्लुटुथ, वाई-फाई, र एनएफसी प्रयोगमा नभएको बेला अन राख्दा ब्याट्री खपत बढाउँछन् ।
पछिल्लो अध्यावधिक: बैशाख ३, २०८२ ९:१२
सामाग्री श्रोत :
टेक पाना