काठमाडौँ । पछिल्लो समय मोबाइल चार्ज गर्ने क्रममा हुने दुर्घटनाहरू बढ्दै गएका छन् । यसैलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मोबाइल चार्ज गर्दा हुनसक्ने जोखिमबाट जोगिन केही सुझाव सार्वजनिक गरेको छ । सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै प्राधिकरणले नागरिकलाई सतर्क रहन आग्रह गरेको हो ।

प्राधिकरणका अनुसार मोबाइल चार्ज भइरहँदा प्रयोग गर्नु हुँदैन । त्यस्तै, मल्टिप्लगमा ओभरलोड हुनेगरी धेरै विद्युतीय उपकरण जडान गर्दा पनि दुर्घटनाको जोखिम हुने प्राधिकरणले उल्लेख गरेको छ ।
फोन चार्जमा राखेर सुत्दा पनि दुर्घटनाको जोखिम हुने भएकाले सावधानी अपनाउन प्राधिकरणले सुझाव दिएको छ । साथै, कमसल तार र चार्जर प्रयोग गर्दा विद्युत शर्टसर्किट भई आगलागी हुन सक्ने भएकाले त्यस्तो उपकरण प्रयोग नगर्न अनुरोध गरिएको छ ।
चार्ज गर्दै मोबाइल प्रयोग गर्दा ब्याट्री तात्ने र विस्फोट हुने सम्भावना हुने प्राधिकरणको भनाइ छ । चार्ज हुँदा मोबाइलको प्रोसेसर र ब्याट्री दुवै सक्रिय हुने भएकाले अत्यधिक ताप उत्पन्न हुने र जोखिम बढ्न सक्छ ।

एउटै मल्टिप्लगमा धेरै उपकरण जडान गर्दा ओभरलोड भएर आगलागीको सम्भावना बढ्ने भएकाले त्यसबाट पनि जोगिन सुझाव दिइएको छ ।
त्यस्तै, मोबाइललाई सिरानी वा ओछ्यानमा राखेर चार्ज गर्दा ताप बाहिर निस्कन नसक्दा ब्याट्री तातेर आगलागी हुन सक्ने भएकाले सुत्दा मोबाइल चार्जमा नराख्न प्राधिकरणले आग्रह गरेको छ ।
एप्पलले पनि फोन रातभर चार्जमा नराख्न सल्लाह दिएको उल्लेख गर्दै प्राधिकरणले यस्तो अवस्थामा आगलागी, विस्फोट र इलेक्ट्रिक शटको जोखिम हुन सक्ने बताएको छ ।
सस्तो र कमसल चार्जर तथा तार प्रयोग गर्दा विद्युत सर्किटमा समस्या आउँदा आगलागी हुने सम्भावना रहन्छ । गुणस्तरीय चार्जरमा सुरक्षा मापदण्ड पालना गरिने भएकाले त्यही प्रयोग गर्न सल्लाह दिइएको छ ।
त्यसैगरी, तातो ठाउँमा मोबाइल चार्ज गर्दा ब्याट्रीको तापक्रम अत्यधिक बढेर विस्फोट हुन सक्ने भएकाले प्रत्यक्ष घाम लाग्ने वा तातो स्थानमा फोन चार्ज नगर्न अनुरोध गरिएको छ ।
मोबाइलको ब्याट्री फुलेको वा बिग्रिएको अवस्थामा तुरुन्तै बदल्न सुझाव दिँदै प्राधिकरणले चार्ज गर्दा मोबाइललाई समथर र अग्निरोधक सतहमा राख्न उपयुक्त हुने जनाएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २, २०८२ १३:५६
सामाग्री श्रोत :
टेक पाना