काठमाडौँ । नेपाललाई डिजिटल घुमन्ते (डिजिटल नोम्याड्स) र रिमोट वर्करको गन्तव्य बनाउने उद्देश्यले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले महत्त्वपूर्ण सिफारिस गरेको छ । आयोगले मासिक १,५०० अमेरिकी डलर आम्दानी वा २० हजार डलर बैंक मौज्दात र एक लाख डलरको स्वास्थ्य बीमा भएका विदेशी नागरिकलाई पाँच वर्ष म्यादको बहुप्रवेश डिजिटल घुमन्ते भिसा दिन सरकारलाई सुझाव दिएको छ ।

आयोगको प्रतिवेदनमा डिजिटल घुमन्ते भिसावालालाई वाणिज्य बैंकमा परिवर्त्य मुद्रा खाता खोल्न दिने, ५० हजार डलरभन्दा बढी रकम जुनसुकै बेला विदेश लैजान पाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ । भिसा अवधि सकिएपछि मौज्दात रकम लैजान दिने व्यवस्थाले विदेशी नागरिकलाई आकर्षित गर्ने आयोगको विश्लेषण छ ।
नेपालमा १८३ दिन वा सोभन्दा बढी बसेको डिजिटल घुमन्तेको आम्दानीमा ५% आयकर लगाउने प्रस्ताव गरिएको छ । यसका साथै, डिजिटल घुमन्तेले सवारीसाधन आफ्नै नाममा दर्ता गर्न र आफ्नै मुलुकको चालक अनुमतिपत्र मान्यता दिने व्यवस्था प्रस्ताव गरिएको छ ।
आयोगको प्रतिवेदनले नेपाललाई डिजिटल घुमन्ते र रिमोट वर्करको गन्तव्य बनाउने नीति ल्याउन सके वैदेशिक मुद्रा भित्र्याउने, सीप हस्तान्तरण हुने, उच्च खर्च गर्ने पर्यटक आकर्षित हुने, दक्ष जनशक्ति विदेश पलायन कम हुने र आर्थिक तथा सामाजिक समस्यामा सुधार आउने उल्लेख गरेको छ ।

को हुन् डिजिटल घुमन्ते ?
डिजिटल घुमन्ते एकै ठाउँमा बसेर काम गर्दैनन् । पर्यटकीय गन्तव्यहरूमा गएर मढिनौं बस्छन् र त्यहींबाट काम गर्छन् । डिजिटल घुमन्तेले खोज्ने भनेको राम्रो इन्टरनेट सञ्जाल, सस्तो तथा रमणीय गन्तव्य, सहज अन्तर्राष्ट्रिय आवागमन र सुरक्षा हुन् । यिनीहरू कुनै खास कम्पनीको नियमित कर्मचारी हुँदैनन्, एकै समयमा एकभन्दा बढी कम्पनीको काम गरेका हुन सक्छन् वा आफ्नै इन्टरनेटमा आधारित व्यवसाय चलाइरहेका हुन सक्छन् ।
सन् १९९७ मा सुजिओ मकिमोतो र डेभिड म्यानर्सले लेखेको पुस्तक ‘डिजिटल नोम्याड्स” प्रकाशन भएपछि यो शब्दावली प्रचलनमा आएको हो । पुस्तकमा उनीहरूले प्रविधिमा आएको परिवर्तनले मानिसहरू जहाँ बसेर पनि काम गर्न सक्ने हुँदैछन्, जसले गर्दा घुमन्ते युगमा मानिसहरू फर्कने छन् भनेर उल्लेख गरेका थिए ।
अहिले विश्वभर चार करोड जति डिजिटल घुमन्ते छन् भन्ने अनुमान छ । उच्च दक्ष यो वर्ग मुलत ३० देखि ३९ वर्षका हुने गर्छन् । यी अलि खर्चालु स्वभावका हुन्छन् । त्यसैले, धेरै मुलुकले यिनीहरूलाई आकर्षण गर्न विशेष भिसाको स्किम ल्याएका छन् ।
विश्वका करिब ३० भन्दा बढी देशले डिजिटल नोम्याड भिसा जारी गरिसकेका छन् । इस्टोनियाले ई–रेजिडेन्सीमार्फत विदेशी नागरिकलाई भर्चुअल कम्पनी स्थापना गर्न दिने व्यवस्था गरेको छ । दुबई, क्रोएसिया, पोर्चुगल, थाइल्यान्ड लगायतमा पनि डिजिटल घुमन्ते भिसा प्रणाली लागु भएको छ । त्यस्तै जर्जिया र मेक्सिकोले डिजिटल घुमन्ते बस्न र काम गर्न उत्साहित गर्ने विशेष नीति ल्याएका छन् ।
कतिपय मुलुकहरूमा राजनीतिक अस्थिरता वा युद्धको कारण कम्पनीहरूले दक्ष जनशक्तिलाई मुलुक बाहिर बसेर काम गर्न प्रोत्साहन गरेका छन् । त्यसको लाभ डिजिटल नोम्याड्स भिसा कार्यकम रहेको उपयुक्त मुलुकले पाएको छ । उक्त मुलुकमा आप्रवासी कामदार बढेको देखिन्छ । रुस-युक्रेन युद्ध चर्किंदै गएपछि धेरै दक्ष रुसी कामदारहरू दुबई सरे । स्वतन्त्र रूपले रचनात्मक काम गर्न राजनीतिक, सामाजिक वा कानुनी अवरोध भएका मुलुकबाट पनि दक्ष जनशक्ति डिजिटल नोम्याड्स भिसा पाइने मुलुकहरूमा आफ्नो कार्यस्थल बनाएको पाइन्छ ।
कतिपय ठूला कम्पनीहरूले तलब खर्चको भार कम गर्न डिजिटल घुमन्तेलाई कामदारको रूपमा राख रुचाएको पाइन्छ । डिजिटल घुमन्तेहरूले उच्च तलब पाइने मुलुकको कम्पनीको काम जीवनस्तर लागत कम पर्ने मुलुकमा बसेर काम गर्ने हुँदा कम्पनीहरूलाई तलबवृद्धि गर्ने मागको दवाव पर्दैन । त्यसकारण, ठूला कम्पनीहरू त्यस्तो कामदार राख उत्प्रेरित भएको देखिन्छ ।
यसका अतिरिक्त विभिन्न मुलुकमा वस्तु वा सेवा बिकी गर्ने कम्पनीलाई विक्री-पश्चात् सेवा दिनका लागि डिजिटल घुमन्ते प्रयोग गर्दा लागत कम पर्छ र सेवा चाँडो दिन सकिने हुँदा यसको उपयोग बढिरहेको छ ।
पछिल्लो अध्यावधिक: चैत ३०, २०८१ १२:४०
सामाग्री श्रोत :
टेक पाना