२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

भाइरल हुने लोभमा पीडित युवतीको अन्तरङ्ग भिडिओ राखी बेइज्जत गर्दै टिकटक प्रयोगकर्ता

काठमाडौं । भाइरल हुने लोभमा सामाजिक सञ्जाल प्रयोगकर्ताले एक युवतीको अन्तरङ्ग गतिविधिको भिडिओ सार्वजनिक गर्दै उनको गोपनीयता गम्भीर रूपमा उल्लङ्घन गरेका छन् । केही दिनदेखि फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालमा ती युवतीका गोप्य अङ्ग देखिने फोटो/भिडिओहरू राखेर उनीको चरित्रहत्या भइरहेको हो ।

कतिपय प्रयोगकर्ताले ‘काण्ड चाहिए मलाई मेसेज गर’ भन्दै युवतीको तस्बिरसहित पोस्ट गरेका छन् भने केहीले युवतीलाई सम्झाउने नाममा गोपनीय विवरण समावेश गरिएका सामग्रीहरू शेयर गरेका छन् । केहीले ती तस्बिरलाई लिएर ट्रोल र मिम बनाउँदै बेइज्जती गरेका छन् ।

टिकटकमा कुन किवर्ड ट्रेन्डिङमा छ भनेर खोज्दा यस्ता विषयवस्तु सजिलै देखिन्छन् । भाइरल हुने लोभमा कतिपय प्रयोगकर्ताले वैयक्तिक गोपनीयताको हद नाघेको पाइएको छ ।

यसरी कसैको अन्तरङ्ग सामग्री सार्वजनिक गर्नु विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत गैरकानुनी कार्य रहेको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थी बताउँछन् । उनका अनुसार कसैले यस्तो कार्य गरेको प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ ।

पीडित युवतीले उजुरी दिएमा भिडिओ रेकर्ड गर्ने, आदानप्रदान गर्ने, डिभाइसमा भण्डारण गर्ने सबैजना कारबाहीको दायरामा पर्ने उनले बताए ।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) मा लेखिएको छ, “कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय ।”

त्यस्तै वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ अनुसार पनि पीडितको जैविक वा यौनिक पहिचानसँग सम्बन्धित विषय सार्वजनिक गर्नु अपराध मानिन्छ । परिच्छेद २ को दफा ३ र ४ अनुसार व्यक्तिको निजी जीवनसँग सम्बन्धित विषयहरू सार्वजनिक गर्न नपाइने स्पष्ट व्यवस्था छ । यस्तो कार्य गरेमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने छ ।

अर्कोतर्फ मुलुकी अपराध संहिता २०७४ को धारा ३०६ अन्तर्गत गाली बेइज्जती गर्न नहुने कानुनी प्रावधान छ भने धारा ३०७ अनुसार विद्युतीय माध्यमबाट कसैको बेइज्जती गरेमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ ।

यदि बेइज्जती भएको प्रमाणित भयो भने पीडितलाई क्षतिपूर्ति दिलाउन र मुद्दामा लागेको खर्च समेत कसुरदाताबाट असुल गर्न सकिने प्रावधान पनि सोही संहितामा राखिएको छ ।

यो पनि पढ्नुहोस्: ​प्रेमको नशामा आफ्ना गोप्य फोटो/भिडिओ पठाउँदा यतिसम्म हुन सक्छ खतरा !

पछिल्लो अध्यावधिक: चैत २५, २०८१ १४:४७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट