२०८१ चैत्र २३ शनिबार
२०८१ चैत्र २३ शनिबार

नेपालमै नमुना विश्वविद्यालयः विद्यार्थीलाई उल्टै पैसा दिने, राति १२ बजेसम्म खुल्ने

काठमाडौं । नेपालकै एउटा त्यस्तो विश्वविद्यालय, जहाँ पीएचडी पास गरेर अनुसन्धानमा सक्रिय प्राध्यापकहरूले मात्रै पढाउन पाउँछन् । विद्यार्थीहरू पनि भर्ना भएदेखि नै अनुसन्धानमा संलग्न हुनुपर्छ र उनीहरूलाई सहजीकरण गर्न जुनसुकै समयमा प्राध्यापक उपलब्ध हुन्छन् । अध्ययन अनुसन्धानमा संलग्न भएबापत उनीहरूले मासिक तलब समेत पाउँछन् । 

काठमाडौंको कलङ्कीबाट २२ किलोमिटरको सडक दुरीमा छ, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय । विश्वविद्यालयले विश्वस्तरीय शिक्षा दिने लक्ष्यका साथ आफ्ना नयाँ संरचनाहरू थपिरहेको छ । सहरको होहल्लाबाट टाढाको यो विश्वविद्यालय आसपासको मनोरम प्राकृतिक दृश्यले मात्र लोभ्याउँदैन, यहाँको ‘शैक्षिक संस्कृति’ले पनि मोहित पार्छ । 

नेपालका चर्चित कम्युनिस्ट नेता ‍मदन भण्डारीको नामबाट खुलेको भएपनि अन्य विश्वविद्यालयजस्तो राजनीतिक हस्तक्षेपबाट यो विश्वविद्यालय मुक्त रहेको विश्वविद्यालयका अध्यक्ष प्राडा. राजेन्द्रध्वज जोशी बताउँछन् । दलीय राजनीति र घुसखोरीका कारण नेपालका विश्वविद्यालय सही तरिकाले चल्न नसकेको उनले सुनाए ।

“यहाँ राजनीति नचल्ने भएकाले राम्रोसँग काम गरेको प्राध्यापकले प्रमोसन हुन्छ भनेर ढुक्क हुनसक्ने वातावरण छ,” उनी भन्छन् । सरकारले विश्वविद्यालयको नाम राखेको, तर मदन भण्डारी फाउन्डेसन वा अन्य किसिमको राजनीतिसँग कुनै सम्बन्ध नरहेको जोशी बताउँछन् । 

बोर्ड अफ ट्रस्टीबाट चल्ने नेपालमै पहिलो विश्वविद्यालय हो, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय । यस विश्वविद्यालयमा बोर्ड अफ ट्रस्टीले नै विश्वविद्यालयको अध्यक्ष र उपाध्यक्ष चयन गर्छ । आवश्यक नीति-नियम बनाउने काम समेत यसैले गर्छ । 

नेपालका अन्य विश्वविद्यालयमा वार्षिक दुई-तीन पटक मात्र बोर्ड बैठक बस्ने गर्छ । तर मदन भण्डारी विश्वविद्यालय भने डेढ वर्षको अवधिमा २० पटक बैठक बसिसकेको  उपाध्यक्ष पद्म सुन्दर जोशीले सुनाए । उनी भन्छन्, “बोर्ड अफ ट्रस्टीमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त प्रोफेसरहरू छन् । अनलाइनबाट बैठक बसेर विश्वविद्यालयको नीति नियम बनाउने काम हुन्छ ।” 

अध्यक्ष, उपाध्यक्षदेखि विश्वविद्यालय कमिटीमा रहने सबै सदस्यले कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने प्रतिबद्धता जनाएको हुनुपर्छ । दलीय राजनीतिमा लागेको शङ्का लागेमा स्पष्टीकरण सोध्ने र चित्त बुझ्दो जवाफ नआएमा कमिटीबाटै हटाइन्छ । 

मदन भण्डारी विश्वविद्यालय रिसर्चमा आधारित नेपालकै पहिलो विश्वविद्यालय समेत रहेको डिजिटल टेक्नोलोजी डिपार्टमेन्टका अननरी चेयर तथा प्रोफेसर अफ एआई डा. सुरेश मानन्धर बताउँछन् । यहाँ विद्यार्थीहरू कुनै विषयमा रटेर नभइ प्रयोगात्मक ढङ्गले आफैँ अभ्यास गरेर सिक्छन् ।  उनी भन्छन्, “सैद्धान्तिक ज्ञान र प्रयोगात्मक कुरा सिकाउँछौँ । विद्यार्थीले पूर्णकालीन समय विश्वविद्यालयमै खर्चेर अनुसन्धान गर्दै सिक्छन् ।”

अध्ययन सुरु गर्दा नै रिसर्च सुरु

विगत दुई वर्ष पहिलेबाट विद्यार्थी भर्ना लिन थालेको विश्वविद्यालयमा हाल स्नातकोत्तर र विद्यावारिधि तहमा ‍अध्यापन सुरु भइसकेको छ । स्नातकका कक्षा भने आगामी नोभेम्बरबाट लिन सुरु गर्ने तयारी छ ।  

अहिले विश्वविद्यालयमा विभिन्न पाँच ओटा विषयमा पढाइ भइरहेको छ । जसमा अर्गानिक एग्रिकल्चर, फरेस्ट बायो मटेरियल्स, सस्टिनेबल हाइड्रोजन इन्फास्ट्रक्चर, डिजिटल टेक्नोलोजी अन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स र डेटा साइन्स विषय छन् । तर विश्वविद्यालय स्थापना भएको लामो समय नभएकाले विद्यार्थीको सङ्ख्या भने न्यून रहेको विश्वविद्यालयका उपप्राध्यापक एवं जनसम्पर्क संयोजक डा. राजिब सुब्बा बताउँछन् । हाल विश्वविद्यालयमा २५ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

अनुसन्धानमा आधारित रहेर अध्यापन गराइने भएकाले विश्वविद्यालयले स्नातकोत्तर र विद्यावारिधि तहमा १६/१६ जना विद्यार्थीको कोटा निर्धारण गरेको छ । यस्तै स्नातक तहमा भने एउटा विधामा २५ जना विद्यार्थी रहने गरी कोटा निर्धारण गरिएको डा. सुब्बाले जानकारी दिए । विश्वविद्यालयमा भर्ना भएदेखि नै विद्यार्थीहरू सम्बन्धित विषयको अनुसन्धानमा संलग्न हुने गर्छन् । 

रिसर्च ल्याबमा काम गर्दै स्नातकमा अर्गानिक एग्रिकल्चर पढिरहेका चुडामणि जोशी

स्नातकोत्तर तह प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी चूडामणि जोशीले क्याम्पसको सुरुवाती दिनबाट नै रिसर्च ल्याबमा अनुसन्धानका लागि खटिएको अनुभव सुनाए । अर्गानिक एग्रिकल्चर अध्ययन गरिरहेका उनी च्याउमा लाग्ने रोगहरूलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर अनुसन्धान गरिरहेका छन् । स्नातक तहमा रिसर्च गर्न खासै नपाएकाले पनि मदन भण्डारी विश्वविद्यालयमा मास्टर्सको पहिलो सेमेस्टरमा नै प्राक्टिकल गर्न पाएर उनी उत्साहित छन् । 

मास्टर्स इन अर्गानिक एग्रिकल्चरको स्नातकोत्तर तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी सबनम सुवेदी पनि रिसर्च ल्याबमै दिन बिताउँछिन् । 

रिसर्च ल्याबमा सबनम सुवेदी

“ब्याक्टेरियाको प्रयोग गरेर बिरुवामा लाग्ने रोगलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर अनुसन्धान गर्दैछु,” उनले भनिन् । यसका लागि चित्लाङका विभिन्न स्थानबाट उनी ब्याक्टेरिया सङ्कलन गरेर रिसर्च ल्याबमा ल्याउँछिन् ।  ल्याबमा बसेर ती ब्याक्टेरियाको प्रयोगमार्फत विभिन्न रोगलाई जैविक विधिबाट नियन्त्रण गर्ने उपाय खोज्छिन् । 

अर्गानिक एग्रिकल्चर पढिरहेका केही विद्यार्थी भने जुम्ली मार्सी धानमा लाग्ने ब्लास्ट रोगको उपचार खोजिरहेका छन् । केही विद्यार्थी बाँसबाट बनेका संरचनालाई कसरी धमिरा र किराबाट बचाएर दिगो बनाउने भनेर अनुसन्धान गरिरहेका छन् । 

विश्वविद्यालयको फरेस्ट बायो मटेरियल्स विधामा हाल तीन जना विद्यार्थी अध्ययनरत छन् । सहप्राध्यापक डा. सबिना श्रेष्ठका अनुसार विद्यार्थीहरूले वन पैदावार क्षेत्रमा पाइने स्रोतलाई प्रयोगमा ल्याउने विषयमा ध्यान दिइरहेका छन् । 

उनीहरूले जैविक ऊर्जाको प्रयोग कसरी गर्ने, आयूर्वेद तथा आधुनिक औषधि विज्ञानमा वनमा पाइने स्रोतको कसरी प्रयोग गर्न सकिन्छ भनेर अनुसन्धान गरिरहेका छन् । विद्यार्थीहरूले रोजमेरी, ब्लु जिन्जर, कफी तथा नेपालका चियाहरूको गुणस्तरीयतामा पनि अनुसन्धान गरिरहेको उनले सुनाइन् । 

यस्तै केही विद्यार्थी चित्लाङमा पाइने च्याउहरूको खेती गर्न सकिने सम्भाव्यता र यसको औषधीय गुणको बारेमा अनुसन्धान गर्दैछन् । 

अनुसन्धानका लागि चित्लाङको वनबाट सङ्कलन गरेर ल्याएको च्याउको नमुना

अर्गानिक एग्रिकल्चरमा पीएचडी तेस्रो सेमेस्टर पढिरहेका विद्यार्थी आत्मज कुमार श्रेष्ठले नेपालका जङ्गलहरूमा पाइने रातो च्याउको बारेमा अध्ययन गरिरहेको अनुभव सुनाए । उनले भने, “नेपालको वनमा पाइने रातो च्याउ चीनमा अत्यधिक निर्यात हुन्छ । चीनले  प्रशोधन गरेर तयारी उत्पादनको रूपमा संसारभर बेच्छ । तर हाम्रोमा सजिलै पाइने भएपनि  बजारीकरण गर्न सकेका छैनौँ ।”

आफूले उक्त च्याउको खेती गर्न सकिन्छ कि सकिँदैन भनेर परीक्षण गरिरहेको उनले सुनाए । यदि परीक्षण सफल भएमा यसको उत्पादनका लागि उद्योगहरूसँग सहकार्य गर्न सकिने उनको भनाई छ । 

यस्तै हरेक वर्ष चैत वैशाखको सुक्खा याममा नेपालका जङ्गलहरूमा आगलागी हुने गर्छ । त्यसैले आगलागी फैलिनुभन्दा पहिल्यै पत्ता लगाउन सक्ने सिस्टम बनाउन डिजिटल टेक्नोलोजी प्रोग्रामका विद्यार्थीहरू अनुसन्धानरत छन् । 

यता एआईका विद्यार्थी लार्ज ल्याङ्ग्वेज मोडल बनाउन लागिपरेका छन् । विद्यार्थीले हेल्थ केयर एलएलएम र नेपाली ल्याङ्ग्वेज एलएलएममा काम गरिरहेको विश्व विद्यालयका डिजिटल टेक्नोलोजी प्रोग्रामका उप-प्राध्यापक डा. भुवन भट्टराईले जानकारी दिए । उनका अनुसार एआईमा ४ र डेटा साइन्समा ५ जना गरी डिजिटल टेक्नोलोजीमा ९ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । 

वनमा लाग्ने आगोको अलर्ट दिने विद्यार्थीको कन्सेप्ट देखाउँदै सह-प्राध्यापक डा. भुवन भट्टराई

विश्वविद्यालयमा विद्यार्थीले फुल टाइम दिनुपर्ने, उत्कृष्टले मासिक खर्च पाउने

नेपालका अन्य विश्वविद्यालय जस्तो विद्यार्थीलाई अन्य काम गर्दै पढ्ने र परीक्षा फाराम भर्न र परीक्षा दिन मात्र विश्वविद्यालयमा उपस्थित हुने जस्तो प्रवृत्ति मदन भण्डारी विश्वविद्यालयमा नरहेको अध्यक्ष जोशी बताउँछन् । “परीक्षा आउनुभन्दा केही समय पहिले फाराम भरेकै भरमा विद्यार्थी हुने परम्पराले जरो गाडेको छ । तर हाम्रा विद्यार्थी बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म पनि विश्वविद्यालयमा बसेका हुन्छन् । भर्ना भएदेखि नै रिसर्च गरेर आउटपुट निकाल्छन्,” उनले भने ।

यहाँका विद्यार्थीहरूले सम्पूर्ण समय अध्ययन र अनुसन्धानका लागि नै छुट्याउनुपर्छ । विश्वविद्यालयले उत्कृष्ट विद्यार्थीलाई स्टाइपेन्ड (अध्ययन बापत विश्वविद्यालयलाई मासिक रूपमा दिइने शुल्क) पनि उपलब्ध गराउँछ । 

हाल विद्यार्थीको सङ्ख्या कम भएकाले सबै विद्यार्थीलाई स्टाइपेन्ड उपलब्ध गराइएको उनले बताए । यसअघि स्नातकोत्तर तहमा मासिक २५ हजार रुपैयाँ विश्वविद्यालयले उपलब्ध गराएको थियो । हाल भने पीएचडीका विद्यार्थीलाई मासिक ३० हजार र स्नातकोत्तर तहका विद्यार्थीलाई मासिक १२ हजार ५०० रुपैया स्टाइपेन्ड पाइरहेका छन् । 

अनुसन्धानमा आधारित भएर मास्टर्स र पीएचडी गर्ने विद्यार्थीलाई अनिवार्य स्टाइपेन्ड दिन सकेमा मात्र राम्रो नतिजा आउने उनी बताउँछन् । “सरकारबाट सहयोग पाएमा हामीलाई सहज हुन्छ, तर सरकारले कहिले गर्ला भनेर पर्खिने भन्दा पनि आफैले गर्न थाल्नुपर्छ,” उनले भने । 

विद्यार्थीहरूका लागि विश्वविद्यालय बिहान ६ बजेदेखि राति १२ बजेसम्म खुला हुन्छ । रिसर्चका लागि आवश्यक ल्याबोरेटरी खोलिएका छन् । त्यसैले विद्यार्थीहरूले चाहेजति समय विश्वविद्यालयमा बिताउँछन् । यसरी अध्ययन पूरा गरेर विश्वविद्यालयबाट निस्किने क्रममा विद्यार्थीलाई “अब म के गरौँ” भन्ने दुविधा नहुने, बरु “म यो गर्छु” भनेर आत्मविश्वास र दृढता आइसक्ने उनको दाबी छ । 

प्राध्यापकका लागि पीएचडी अनिवार्य

विश्वविद्यालयमा अध्यापनका लागि पीएचडी पूरा गरिसकेका प्रोफेसरहरूलाई मात्र नियुक्ति गरिन्छ । बौद्धिक वर्गलाई प्राथमिकता दिनकै लागि यस्तो व्यवस्था गरिएको अध्यक्ष जोशी बताउँछन् । सेवा आयोग बनाएर परीक्षा लिनेभन्दा पनि रिसर्च पेपर हेरेर प्राध्यापक नियुक्त गरिने उनले बताए  । 

“एउटा रिसर्चर वा प्राध्यापकको प्रोफाइल आफ्नै किसिमको हुन्छ । सम्बन्धित विषयमा सबैभन्दा बढी जानकारी को सँग छ, के कस्ता रिसर्च पेपर, लेखहरू प्रकाशित भएका छन् भन्ने मूल्याङ्कनको आधारमा नियुक्ति गरिन्छ,” उनले भने ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको मुख्य भवन 

क्यानडाको म्याकगिल विश्वविद्यालयको पूर्व अध्यक्ष र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) का उपाध्यक्षसमेत विश्वविद्यालयको प्राध्यापक छनोट समितिमा रहेको उनले बताए । उक्त समितिले अन्तर्राष्ट्रिय स्तरको मापदण्डअनुसार सुहाउँदा प्रोफेसर छनोट गर्छ । त्यसैले कसैको ‘पावर’ प्रयोग गरेर नभइ आफ्नो क्षमताले मात्र विश्वविद्यालयको प्राध्यापक बन्न सकिने उनले सुनाए । यस्तै विश्वविद्यालयमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्राध्यापकको बढुवा हुन्छ । 

अन्य विश्वविद्यालयका प्राध्यापकको तुलनामा तलब भुक्तानी गर्ने तरिका पनि फरक छ । उनले भने, “म त्रिभुवन विश्वविद्यालयबाट पेन्सन खाएर बसेको हुँ । त्यहाँ तलब एउटा स्केलमा हुन्छ, तर तलबपछि दिइने सेवा सुविधा पनि थुप्रै हुन्छन् ।” 

सेवा सुविधाका कारण त्रिभुवन विश्वविद्यालयमा काम गर्न प्राध्यापकहरूले मरिहत्ते गर्ने गरेको उनले सुनाए । “तर त्यहाँ वर्षभर पढाइ हुँदैन । कुनै प्राध्यापकले हप्तामा दुई दिन एक/दुई घण्टा समय दिनुपर्ने हुन्छ ।”

यता मदन भण्डारी विश्वविद्यालयमा भने प्राध्यापकलाई दशैं, तिहार, बिरामी बिदा पनि दिँदैन । “प्राध्यापक २८० दिन अनिवार्य आउनैपर्ने हुन्छ । आफ्नो कोर्स पूरा भएपछि भने यहाँहरू आफ्नो तरिकाले आउन सक्नुहुन्छ,” उनी भन्छन् । उनका अनुसार विश्वविद्यालयले प्राध्यापकलाई दैनिक सात हजार रुपैयाँका दरले तलब उपलब्ध गराउँछ । 

त्रिवि विश्वविद्यालयका प्रोफेसर सरह वार्षिक तलब पाउन मदन भण्डारी विश्वविद्यालयमा अनिवार्य रूपले २८० दिन पढाउनै पर्ने उनले सुनाए‍ । जागिर खुवाउने र खाने भन्दा पनि सबै मिलेर जागिर बनाउने गरेको उनले बताए ।

यस्तै विद्यार्थीलाई २५% देखि १००% सम्म अध्ययन शुल्कमा छुटसमेत दिइएको छ । विश्वविद्यालयले न्यूनतम शुल्कमा विश्वस्तरीय शिक्षा दिएकाले दुई-चार पैसा कमाउन करिअरमै असर पुर्‍याउनुभन्दा राम्रोसँग पढ्न उपयुक्त हुने उनको बुझाई छ । अनुसन्धानमा आधारित रहेर प्रविधिसँग सम्बन्धित विषयमा स्नातकोत्तर र विद्यावारिधि अध्ययन गर्न मदन भण्डारी विश्वविद्यालय उत्कृष्ट रहेको दाबी उनले गरे । 

कस्तो छ चित्लाङको बसाई ?

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय बनाउने निर्णयमा पुगेपछि सुरुमा काठमाडौं उपत्यकाभित्र नै निर्माण गर्ने योजना बनेको अध्यक्ष जोशी बताउँछन् । तर खोजेको जस्तो जग्गा पाउन नसकिएको उनले सुनाए । “काठमाडौं उपत्यकामा जग्गा नपाएपछि नजिकै पर्ने स्थानमा जग्गा खोज्ने क्रममा चित्लाङमा विश्वविद्यालय बनाउने निर्णयमा पुग्यौँ,” उनले सुनाए । 

अहिले विश्वविद्यालय नजिकै चित्लाङ बजारमा विद्यार्थीहरू डेरा गरेर बस्ने गरेका छन् । नेपालको पहिलो होमस्टे भ्याली भनेर चिनिने चित्लाङको समाजसँग विद्यार्थीलाई जोड्ने उद्देश्य विश्वविद्यालयले राखेको अप्लाइड साइन्सका निर्देशक कीर्ति कुसुम जोशी  बताउँछन् । उनी भन्छन्, “‍विद्यार्थी यहाँका स्थानीय घर र होमस्टेमा पनि बस्न सक्छन् । भविष्यमा आवश्यक पर्‍यो भने विश्वविद्यालयले नै होस्टल सञ्चालनमा ल्याउन सक्छ ।”

सुर्खेत घर भएकी विद्यार्थी सब्नम सुवेदीले आफू भाडामा चित्लाङ बसिरहेको सुनाइन् । उनका अनुसार विश्वविद्यालय आसपासमा होमस्टे धेरै भएकाले नजिकै भाडामा कोठा पाउन अलि मुस्किल नै पर्छ । मासिक चार हजार रुपैयाँसम्मका कोठा भाडामा पाइने उनले सुनाइन् ।  

यस्तै क्यान्टिनमा र बाहिर खानेकुरा भने सस्तो मूल्यमा पाइने गरेको उनले बताउँछिन् । “यहाँ तरकारी राम्रोसँग फल्ने भएकाले ताजा खानेकुरा पाइन्छ,” सब्नम भन्छिन् । 

कसरी जुट्छ विश्वविद्यालयको खर्च ?

“इमान्दार र कडा परिश्रम” गर्ने संस्कृतिसहितको नमुना विश्वविद्यालय बनाउन लागि परेको अध्यक्ष जोशी बताउँछन् । यसलाई विश्व स्तरीय विश्वविद्यालय बनाउन सरकारले नै नेतृत्व गर्न आवश्यक रहेको उनले सुनाए । 

तर, नेपाल सरकारबाट सोचेको सहयोग नपाएकोमा उनले गुनासो गरे । उनका अनुसार, चालु आवमा सरकारले भौतिक संरचना निर्माणका लागि ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । गत वर्ष ५ करोड रुपैयाँको बजेट विनियोजन गरिएको थियो ।

यस्तै आम नागरिकको तर्फबाट पनि सहयोग मिलिरहेको उनले सुनाए । उनले भने, “व्यक्तिको तर्फबाट थोरै थोरै सहयोगबाट पनि एक करोड भन्दा बढी जम्मा भइसकेको छ । अमेरिकामा विश्वविद्यालयलाई नै सहयोग गर्ने गरी एभरेस्ट फन्ड अफ साइन्स एन्ड टोक्नोलोजी नामक गैरनाफामुखी संस्था सञ्चालनमा छ । संस्थाले हालसम्म ३५ हजार अमेरिकी डलर सङ्कलन गरेको र सोमध्ये ३३ हजार विश्वविद्यालयमा आइसकेको छ ।”

हाल विश्वविद्यालयले सबै विधामा अध्ययन गर्ने विद्यार्थीसँग वार्षिक एक लाख ५० हजार रुपैयाँ शुल्क लिँदै आएको छ । जसमध्ये विद्यार्थीले २५ देखि शत प्रतिशतसम्म विश्वविद्यालयबाट छुट पाउँछन् ।

सरकारको तर्फबाट सहयोग नमिले पनि विश्वविद्यालयको अक्षय कोषमा १ अर्ब पुर्‍याउने उद्देश्य रहेको उनले सुनाए । “अक्षय कोषमा त्यति रकम जम्मा भयो भने ब्याजबाटै पनि हरेक वर्ष ५० जना विद्यार्थीलाई नि:शुल्क पढाउन सकिन्छ,” उनले भने । यसका साथै विश्वविद्यालयले सोलारबाट उत्पादित विद्युत् बिक्री गरेर पनि वार्षिक ३० लाखभन्दा बढीको आम्दानी गर्ने गरेको छ । 

विश्वविद्यालयको विश्वसनीयता 

अन्तर्राष्ट्रिय बजारमा चर्चित विश्वविद्यालयमा पढेका विद्यार्थीलाई मात्र विश्वास गर्नुपर्ने नियम नरहेको अध्यक्ष राजेन्द्रध्वज जोशी बताउँछन् । उनी भन्छन्, “कुनै पनि विश्वविद्यालयलाई हेरेर विश्वास गर्ने वा नगर्ने भनेर लेखिएको छैन । व्यक्तिको सीभी, उनीहरूको अनुसन्धान हेरेर विद्यार्थीमाथि विश्वास गरिन्छ ।”

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको हकमा भने विद्यार्थीहरू बजारमा गएपछि मात्र विश्वविद्यालयको पहिचान स्थापित हुने जिकिर उनले गरे । यस वर्ष नोभेम्बरमा विश्वविद्यालयको पहिलो ब्याचका तीन जना विद्यार्थीहरूले आफ्नो मास्टर्स पूरा गर्दैछन् । पासआउट भएका विद्यार्थीले बजारमा गएर गर्ने कामले नै विश्वविद्यालयलाई पहिचान दिलाउन मद्दत गर्ने उनको विश्वास छ । 

यस्तै उनले विश्वका उत्कृष्ट विश्वविद्यालयका प्रेसिडेन्टलाई मदन भण्डारी विश्वविद्यालयले कुन स्तरको काम गरेको छ भनेर राय माग्ने गरेको बताए । नेपालका अन्य विश्वविद्यालय भन्दा राम्रो काम गरिरहेको जवाफ दिन्छन् । उनले भने, “विश्वका चर्चित विश्वविद्यालयको स्तरमा त हामी पुगिसकेका छैनौँ, तर ‘त्यही स्तरको बन्ने बाटो हुनुहुन्छ’ भनेर उहाँहरू भन्नु हुन्छ ।”

विश्वविद्यालयमा अनुसन्धान गरेर पढ्ने परिपाटी भएकाले अध्ययन सकिँदासम्म तयार भएका आफ्ना रिसर्च पेपर देखाएर पनि जागिर र व्यवसायका लागि विश्वास दिलाउन सहज हुने उनी बताउँछन् । कुन विश्वविद्यालयमा पढ्ने भन्दापनि कस्तो कुरा सिक्ने भन्ने कुरा बढी महत्त्वपूर्ण हुने उनको भनाई छ । 

इकोसिस्टम नबिग्रिनेगरी भवन, संरचना र पूर्वाधार निर्माण

विश्वविद्यालय रहेको स्थानमा भवन लगायतका संरचना निर्माण गर्दा त्यहाँको इकोसिस्टमलाई नबिगार्ने गरी काम भएको उनी बताउँछन् । फोहर व्यवस्थापन, ऊर्जा व्यवस्थापन, पानीको सदुपयोग गरेर वातावरणीय सन्तुलनलाई खलल नपुर्‍याउने गरी पूर्वाधार निर्माण गरिएको उनले बताए । 

उनका अनुसार विश्वविद्यालय परिसरमा वर्षाको समयमा जम्मा हुने पानीलाई ट्याङ्करमा जम्मा गरिन्छ । ट्याङ्करमा जम्मा हुन नसकेका पानी चित्लाङ खोलामा गएर मिसिने बनाइएको छ । यस्तै विश्वविद्यालयका प्रत्येक भवनबाट खेर जाने फोहर पानी बायो ग्यास प्लान्टमा पठाइन्छ । 

उनले भने, “प्लान्टमा दिसा र पिसाब छुट्याएर जान्छ । पिसाबलाई सोझै मलको रूपमा प्रयोग गरिन्छ । यता दिसाजन्य फोहोरबाट ऊर्जा निकालिन्छ । ऊर्जा निकालेर बाँकी पदार्थलाई मलको रूपमा प्रयोग गरिन्छ । त्यसपछि पनि बाँकी रहने पानीलाई विश्वविद्यालयभन्दा केही तल रहेको ट्रिटमेन्ट प्लान्टमा ट्रिट गरिन्छ । त्यसपछि सफा बनेको पानी खोल्सामा बग्ने पानीसँगै मिसिन्छ । 

यस्तै विश्वविद्यालयमा निस्किने फोहोरलाई वर्गीकरण गरेर गल्ने फोहोरलाई गँड्यौला कम्पोस्ट प्लान्टमार्फत कम्पोस्ट मल बनाइन्छ । उनी भन्छन्, “हामीसँग धेरै जग्गा छ । कृषि अभ्यासको लागि मल जति भएपनि पुग्दैन ।” त्यसैले उक्त मल विश्वविद्यालयकै जग्गामा प्रयोग गरिने उनले सुनाए । 

यस्तै त्यहाँको समाजले प्रयोग गर्ने पानी प्रयोग नगरी विश्वविद्यालयले आफ्नो प्रयोजनका लागि डिप बोरिङ गरेर निकालिएको पानी प्रयोगमा ल्याएको उनले जानकारी दिए । 

विश्वविद्यालयले सञ्चालनमा ल्याएको सोलार फार्मको तस्बिर

सोलारबाट विद्युत् उत्पादन गरेर सरकारलाई बेच्दै 

विश्वविद्यालयले आवश्यक विद्युत् उत्पादनका लागि सोलार फार्म नै सञ्चालनमा ल्याएको छ । विश्वविद्यालयका ल्याबहरूमा २४ सै घण्टा विद्युत् चाहिने भएकाले  नेपाल विद्युत् प्राधिकरणको भर पर्न नसकेर प्लान्ट सञ्चालनमा ल्याएको उपाध्यक्ष पद्म सुन्दर जोशीले बताए । उक्त फार्मबाट दैनिक ५०० किलोवाट विद्युत् उत्पादन हुन्छ । उत्पादित विद्युत्‌लाई ब्याट्रीमा सङ्कलन गरेर राखिन्छ ।

हाल विश्वविद्यालयलाई उत्पादन भएको सम्पूर्ण विद्युत् आवश्यक नपर्ने भएकाले प्राधिकरणसँग सम्झौता गरेर विद्युत् बेचिरहेको छ । राति विश्वविद्यालयलाई विद्युत् चाहिएको बेलामा प्राधिकरणबाट लिने र दिउँसो विश्वविद्यालयमा सोलार प्यानलबाट उत्पादन भएको विद्युत् प्राधिकरणलाई बेच्ने गरिएको उनले सुनाए । हाल मासिक दुई लाख रुपैयाँसम्म विद्युत् बेचेर आम्दानी गर्दै आएको उनको भनाई छ । उनले भने, “धेरै विद्यार्थीलाई भर्ना लिन थालेपछि सबै विद्युत् हामीलाई नै चाहिन पनि सक्छ ।”

हालसम्म विश्वविद्यालयमा चार ओटा भवन तयार भइसकेका छन् । ती भवन मास्टर्स र पीएचडी अध्ययन गर्ने विद्यार्थीका लागि तयार पारिएका हुन् । यस्तै ल्याबोरेटरी र कक्षा कोठा निर्माणका कामहरू भइरहेका छन् । 

विश्वविद्यालयका उपाध्यक्ष पद्म सुन्दर जोशी

अब विश्वविद्यालयको स्नातक तहका लागि भवन निर्माणको तयारी थालिएको छ । त्यसका लागि दुईओटा भवन बनाउन लागिएको र निर्माण कार्य सुरु गर्नका लागि तोकिएको स्थान भवन बनाउन उपयुक्त छ कि छैन भन्ने परीक्षण भइरहेको उनले बताए । 

स्नातक र स्नातकोत्तरको भवनको बिचमा सेन्टर प्लाजा बनाउने योजना रहेको अध्यक्ष जोशीले सुनाए । जहाँ अडिटोरियम, एनपी थियटर र लाइब्रेरीमा विद्यार्थीहरूले समय बिताउन सक्नेछन् । यस्तै विश्वविद्यालयको हरेक भवनमा रिसर्च ल्याबोरेटरी राखिएको छ । 

विश्वविद्यालयमा रहेका ल्याबहरू मध्येको एक

पछिल्लो अध्यावधिक: चैत २१, २०८१ १२:२४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट