काठमाडौं, यस बर्ष सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार भन्ने मुल नाराका साथ नेपाल सरकारले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो नारालाई मूल नारा बनाइ विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा सप्ताहव्यापी रुपमा दिवस मनाउन लागेको हो ।
दिवसको पूर्वसन्ध्यामा मन्त्रालयद्धारा जारी गरिएको राष्ट्रिय आह्वान पत्रमा भएिको छ, आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति (पुनः श्रम स्वीकृति समेत) लिई वैदेशिक रोजगारीमा गएका ८० हजार १७२ महिला सहित कूल ७ लाख ४१ हजार २९७ जना श्रमिकले पठाएको विप्रेषणले आप्रवासी श्रमिकहरूको घर परिवार सञ्चालन, मानवीय सम्पत्ति सूचकाङ्कमा सुधार र गरिबीमा रहेका परिवारहरुको आर्थिक जोखिम कम गर्न तथा नेपालको अर्थतन्त्रमा ठूलो सहयोग छ ।
तर यसका लागि नेपाली श्रमिक र उनीहरुका परिवारले चुकाउनु परेको सामाजिक मूल्य चर्को छ । वैदेशिक रोजगार बोर्ड सचिवालयका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि हाल सम्म वैदेशिक रोजगारीको क्रममा मृत्युवरण भएका १४ हजार २१३ जना र गम्भीर बिरामी तथा अङ्गभङ्ग भएर फर्किएका विभिन्न ३,४४० जना श्रमिकहरूलाई वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता प्रदान गरिएको छ ।
पढ्नुहोस् मन्त्रालयद्धारा आव्हान पत्र
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस (१८ डिसेम्बर, २०२४) को अवसरमा नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट तयार गरिएको राष्ट्रिय आह्वान पत्र
वर्तमान् समयमा आप्रवासन समाजको अभिन्न आयाम बन्न पुगेको छ । यसका विभिन्न कारणहरूमध्ये गरिबी, युद्ध, आन्तरिक द्वन्द्व तथा असुरक्षा, जलवायु परिवर्तनले पारेको असर, काम तथा रोजगारीको खोजी, विश्वव्यापीकरण एवं सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासलाई लिन सकिन्छ।आप्रवासनबाट शरणार्थीको रुपमा विभिन्न मुलुकमा बसोबास गर्न पुगेका मानिसहरुको विषय पनि संवेदनशील छ।जुनसुकै कारणले व्यक्ति या परिवार आप्रवासनमा परेपछि नयाँ स्थानमा निर्वाहका लागि कामको खोजी नै पहिलो प्राथमिकता हुन पुग्छ। कामको खोजीमा श्रमिक, विद्यार्थी, उद्यमी, कलाकार आदि सबै हाम्रै परिवारका सदस्यहरू आप्रवासीका रूपमा एक ठाउँबाट अर्को ठाउँमा गईरहेका मानिसहरू आफ्नो उद्गम र गन्तव्य दुवै मुलुकहरूमा सामाजिक आर्थिक विकासका शक्तिशाली चालक हुन् । नेपालमा पनि विभिन्न मुलुकका नागरिकहरू आप्रवासीको रुपमा रहेका र अन्यत्र स्थानान्तरण भइरहेका छन। आप्रवासीहरूले गन्तव्य मुलुकमा नयाँ समुदायहरूसँग मिलेर आफ्नो उद्गम मुलुकसँग पनि बलियो सम्बन्ध कायम राख्छन्, ज्ञान, अनुभव र सीप तथा सामाजिक रुपान्तरण गर्दछन्।
अन्तराष्ट्रिय आप्रवासन संगठन (IOM) द्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन, २०२४ (World Migration Report, 2024) अनुसार विश्वभरी अनुमानित २८.१ करोड मानिसहरु आप्रवासीको रुपमा रहेका छन् । जसमध्ये आप्रवासी श्रमिकहरूको संख्या १६.९ करोड रहेको छ | आप्रवासीमाथि हुनसक्ने विभेदलाई ध्यानमा राखी संयुक्त राष्ट्र संघले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तिनका परिवारको सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी महासन्धि, १९९० पारित गरी सन् २००३ जुलाई १ देखि लागू भएको छ । अन्तर्राष्ट्रिय आप्रवासी दिवस हरेक वर्ष डिसेम्बर १८ मा मनाइन्छ। संयुक्त राष्ट्र संघले आप्रवासनका चुनौती र अवसरहरूको बारेमा चेतना जगाउन र विश्वभरका आप्रवासीहरूको योगदानलाई मान्यता दिनको लागि विश्वव्यापी रुपमा यो दिवस मनाउँदै आइएको छ । नेपालमा पनि यो दिवस सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज, आप्रवासी श्रमिक तथा उनीहरुका परिवार, सञ्चार जगतलगायत विभिन्न पक्षहरूको संयुक्त पहलमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आइएको छ । नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारीले महत्वपूर्ण योगदान गरेको छ । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पूँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम रुपमा परिचालन गर्ने हाम्रो नीति रहेको छ ।
नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार सम्बद्ध कानूनमा परिमार्जन, सीपसहितको रोजगारीको सुनिश्चितता, निःशुल्क अभिमुखीकरण तालिम, श्रम सम्झौता पुनरावलोकनका साथै थप गन्तव्य मुलुकसँग श्रम सम्झौता तथा समझदारी, वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई निःशुल्क बैंक खाता खोल्न र सोही खातामार्फत स्वदेशमा विप्रेषण ल्याउन प्रोत्साहन गर्ने, “रिटर्नी उद्यमशीलता कार्यक्रम” कार्यान्वयन गरिने आदि नीति लिइएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा गत आर्थिक वर्षको तुलनामा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई रू. १४ खर्ब ४५ अर्ब ३२ करोड जतिको रकम नेपाल भित्रिएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति ( पुनः श्रम स्वीकृति समेत) लिई वैदेशिक रोजगारीमा गएका ८० हजार १७२ महिला सहित कूल ७ लाख ४१ हजार २९७ जना श्रमिकले पठाएको विप्रेषणले आप्रवासी श्रमिकहरूको घर परिवार सञ्चालन, मानवीय सम्पत्ति सूचकाङ्कमा सुधार र गरिबीमा रहेका परिवारहरुको आर्थिक जोखिम कम गर्न तथा नेपालको अर्थतन्त्रमा ठूलो सहयोग छ । विश्व बैंकको अक्टोबर, २०२४ को प्रतिवेदन अनुसार नेपालमा कूल गार्हस्थ उत्पादनमा विप्रेषणको हिस्सा एक चौथाई भन्दा बढी रहेको छ । यसैबीच वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्याङ्क अनुसार सचिवालयको स्थापना आर्थिक वर्ष २०६५/६६ देखि हाल सम्म वैदेशिक रोजगारीको क्रममा मृत्युवरण भएका १४ हजार २१३ जना र गम्भीर बिरामी तथा अङ्गभङ्ग भएर फर्किएका विभिन्न ३,४४० जना श्रमिकहरूलाई वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता प्रदान गरिएको छ । वैदेशिक रोजगारीका लागि नेपाली समाजले महङ्गो सामाजिक मूल्य पनि चुकाउनु परिरहेको छ ।
सुरक्षित एवं मर्यादित वैदेशिक रोजगारीका लागि सरोकारवालाहरुमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि आप्रवासी दिवस सप्ताहव्यापी रुपमा मनाउने निर्णय भएको छ । यसलाई नतिजामुखी हुनेगरी मनाउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवको संयोजकत्वमा एक मूल समारोह समिति गठनगरी त्यसअन्तर्गत अन्य उपसमितिहरू गठन गरिएका छन् । वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने राहदानी, सीप तालिम तथा अभिमुखीकरण लगायतका कागजात तयार पार्न स्थानीय तह तथा जिल्ला स्तरका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नगरपालिका तथा गाउँपालिका लगायतका निकायहरुको महत्वपूर्ण भूमिका रहेको छ। यसर्थ सबैको सरोकारको विषय भएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसले स्थानीयस्तरमा समेत विशेष महत्व राख्दछ ।
नेपालमा यो दिवस राष्ट्रिय तहमा मनाउन “सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार” भन्ने मूल नारा तय गरिएको छ।प्लेकार्ड / व्यानर आदिका लागि अन्य सचेतनामूलक नाराहरू देहाय बमोजिम हुनेछन् ।
– आप्रवासी र आश्रित परिवारको संरक्षण गरौँ ।
– सामाजिक सुरक्षा कोषमा योगदान, आफू र आश्रित परिवारको कल्याण ।
– विदेश जाँदै हुनुहुन्छ कमाउन धन, काम गर्दा ख्याल राखौं आफ्नो मानसिक स्वास्थ्य र तन ।
– आप्रवासी श्रमिकको सम्मान: समान कामका लागि समान ज्याला।
– महिला आप्रवासी श्रमिकको सम्मान गरौं: लैङ्गिक विभेदको अन्त्य गरौं ।
– आप्रवासी श्रमिकको स्वास्थ्य र सामाजिक सुरक्षाको आधारः व्यवस्थित र सम्मानित वैदेशिक रोजगार
अतः यस दिवसको संदेशलाई प्रदेश तथा स्थानीय तहसम्म सञ्चार गर्न प्रदेश सरकार तथा स्थानीय तहको अगुवाईमा जिल्लास्थित विभिन्न सरकारी निकायहरू, वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरू, सबै राजनीतिक दल, नागरिक समाज, गैरसरकारी एवं निजी संघ संस्थाहरू, ट्रेड युनियन, सञ्चारजगत, आप्रवासी श्रमिक तथा उनीहरूका परिवारसमेतको सक्रिय सहभागितामा विभिन्न क्रियाकलापहरु आयोजना गर्ने एवं मूल समारोह समितिबाट स्वीकृत भएका विविध कार्यक्रमहरू यही डिसेम्बर १६ देखि २२ तारिखसम्म सप्ताहव्यापीरुपमा उत्साहपूर्वक मनाउन मूल आयोजक समिति सबैमा हार्दिक आव्हान गर्दछ ।
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2024/12/15840/ )