काठमाडौं । लिभिङ विथ आईसीटीको आयोजनामा नवौं संस्करणको ‘इन्ड्राइभ आईसीटी अवार्ड २०२४ सपोर्टेड बाई एनसे इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनेस एन्ड जुम’ सम्पन्न भएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा विभिन्न १५ विधामा आईसीटी अवार्ड वितरण गर्नुका साथै सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई ‘रिकग्निसन’ प्रदान गरिएको थियो ।
यस वर्षको पायोनियर आईसीटी अवार्ड काठमाडौं विश्वविद्यालयका संस्थापक प्राडा. सुरेशराज शर्माले प्राप्त गरे भने एनसेल वुमन आइकन आईसीटी अवार्ड नेपाल बैंकको डिजिटल बैंकिङ र कार्ड विभाग प्रमुख बन्दना शर्माले जितिन् । प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड नामीका संस्थापक डा. विशेष खनालले पाए ।
स्टार्टअप आईसीटी अवार्ड भने क्रिमसन टेकले जित्न सफल भयो । त्यस्तै सोसल इनोभेसन आईसीटी अवार्ड जियोकृषिले जित्यो । यसैगरी, पब्लिक च्वाइस आईसीटी अवार्ड ज्याप सर्भिसेसले प्राप्त गर्यो ।
डिजिटल गभर्नेन्स आईसीटी अवार्ड सर्वोच्च अदालतले जित्दा डिजिटल सर्भिसेस आईसीटी अवार्ड आईएमई पेले प्राप्त गर्यो । डिजिटल शिक्षा आईसीटी अवार्ड सार्वजनिक र निजी क्षेत्रका लागि क्रमशः सुकुना मावि मोरङ र एलआरआई स्कुल काठमाडौंले पाए ।
सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरूमा डेल्टा टेक (कोशी), तेजस टेक (मधेश), अभियान्त्रिक कर्मशाला (बागमती), आकाश डिजिटल (गण्डकी), निन्जा इन्फोसिस (लुम्बिनी), बिजनेश अनलाइन सर्भिस (कर्णाली) र फार वेस्ट इन्फोटेक एण्ड रिसर्च सेन्टर (सुदूरपश्चिम) लाई ‘प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२४’ बाट सम्मान गरियो ।
अवार्ड समोरोहमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले सूचना प्रविधिको विकासमा सरकारले जति गर्नुपर्ने हो, त्यति काम गर्न नसकेको स्वीकार गरे । ‘आईटी दशक भनेर घोषणा गर्छौं । तर त्यसको कार्यान्वयनका लागि बजेट छुट्याएका छैनौं,’ उनले अगाडि भने, ‘नेपालसँग एउटा पनि आईटी पार्क छैन । पूर्वाधार विकास र नीतिगत सुधार राज्यले गर्ने तथा निजी क्षेत्रले व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।’
आईसीटी अवार्डका अध्यक्ष राजन लम्सालले सन् २०१६ देखि डिजिटल इकोसिस्टम विकास र प्रवर्द्धनमा क्रियाशील यो कार्यक्रम नेपालमा मात्रै नभएर विदेशमा समेत विस्तार भएको बताए । सूचनाको प्रविधिको विकासमा निजी क्षेत्र अग्रणी भूमिकामा जानकारी दिँदै उनले सरकारले नीतिगत सुधार गर्दै अझै सहयोगी हात बढाउनु पर्नेमा जोड दिए ।
आईसीटी अवार्ड २०२४ मा विभिन्न १४ विधामा ८०० बढीको अनलाइन नोमिनेश प्राप्त भएको बताइएको छ । १४ जना स्वदेशी र तीन जना अन्तर्राष्ट्रिय विज्ञ जुरीहरूले २५ बढी मिटिङहरु सञ्चालन गदै छनौट प्रकृयालाई सम्पन्न गरेका थिए ।
आईसीटी अवार्डको प्रि-इभेन्टको रूपमा सातै प्रदेशमा स्टार्टअप मिटअप, दुई दिने स्टार्टअप एण्ड आइडिया फेस्ट, बुटक्याम्प तथा मेन्टरिङ, इन्डष्ट्री भिजिट, फिल्ड भिजिट, स्पीड डेटिङ तथा प्रिजेन्टेसन लगायतका कार्यक्रम सञ्चालन भएका थिए ।
लिभिङ विथ आईसीटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको आईसीटी अवार्ड कार्यक्रम नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड कार्यक्रमको रूपमा परिचित छ । आईसीटी अवार्ड अन्तर्राष्ट्रिय अवार्डहरू डब्लूएसए अवार्ड, अरोरा टेक अवार्ड लगायतको आधिकारिक साझेदार समेत हो ।
फोटोमा हेर्नुहोस् आईसीटी अवार्ड २०२४
पछिल्लो अध्यावधिक: पुस ७, २०८१ १४:४२
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्