काठमाडौं । युट्युब भिडिओमा अडियन्स आकर्षित गर्ने सबैभन्दा उत्तम माध्यम हो ‘थम्बनेल’ । जसरी कुनै पुस्तकका लागि त्यसको कभरले पाठकलाई आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ, त्यसरी नै युट्युब भिडिओका लागि थम्बनेलले दर्शकलाई आकर्षित गर्ने प्रमुख भूमिका खेल्छ ।
तपाईंले जति आकर्षक थम्बनेल बनाउनु भयो, त्यति नै बढी दर्शक तपाईंको भिडिओमा आकर्षित हुन्छन् । आज हामी थम्बनेललाई आकर्षक बनाउन आवश्यक के-कस्ता विषयवस्तुमा ध्यान दिनुपर्छ भन्ने विषयमा चर्चा गर्दैछौं:
१) उत्सुकता जगाउने
थम्बनेल यस्तो बनाउनुहोस् कि दर्शकलाई उत्सुकता मेटाउन भिडिओ क्लिक गर्नै परोस् । भिडिओमा के होला भन्ने जान्न मस्तिष्कलाई दबाब सिर्जना होस् । कसरी त ? थम्बनेलकै कारण सबैभन्दा बढी चर्चा पाउने व्यक्ति हुन् मिस्टर बिस्ट । यसमा उनले ‘क्युरियोसिटी ग्याप’ कसरी सिर्जना गरेका छन् भन्ने जानौं:
मिस्टर बिस्टको यो भिडिओमा निकै खतरनाक स्टन्टसँग सम्बन्धित छ भन्ने अनुमान लगाउन सकिन्छ । तर, यसमा ठ्याक्कै के हुन लागेको छ भन्ने थाहा हामीलाई थाहै छैन । हामी त्यही सूचना पाउन चाहन्छौं । उक्त सूचना पाउन भिडिओ नै क्लिक गर्नुपर्ने हुन्छ । हो यसैलाई ‘क्युरियोसिटी ग्याप’ भनिन्छ ।
२) कलर छनोट
युट्युबमा दर्शकहरूको ध्यान खिच्न थम्बनेलको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ । युट्युब फिड स्क्रोल गरिरहँदा तपाईंले उनीहरूको ध्यान खिच्नका लागि एक सेकेन्डभन्दा पनि कम समय पाउनुहुन्छ । युट्युबमा अडियन्सको चाहना अनुसारका सयौं भिडिओहरू आइरहेका हुन्छन्, जसले गर्दा प्रतिस्पर्धा तीव्र छ । यस्तो अवस्थामा तपाईंको थम्बनेलले नै भिडिओतर्फ तान्ने पहिलो माध्यमको रूपमा काम गर्नुपर्छ ।
थम्बनेल डिजाइन गर्दा ध्यान दिनुपर्ने एउटा महत्त्वपूर्ण कुरा भनेको कलरको प्रयोग हो । हाम्रो आँखाले थोरै समयमा सीमित मात्रामा सूचना प्रशोधन गर्न सक्छ । त्यसैले थम्बनेलमा बढीमा तीन ओटा कलर प्रयोग गर्नु उपयुक्त हुन्छ । यी कलरले स्पष्ट, आकर्षक र ध्यान खिच्नसक्ने हुनुपर्छ ।
त्यसैगरी कलर छान्दा दर्शकलाई पहिलो नजरमै प्रभाव पार्ने कुरा ध्यान दिनुपर्ने हुन्छ । थम्बनेलमा प्रयोग हुने कलरले भिडिओको विषयवस्तु पनि झल्काउनुपर्छ । सही थम्बनेल र कलर कम्बिनेसनले दर्शकलाई रोक्न र भिडिओ हेर्न प्रेरित गर्न सक्छ । त्यसैले प्रभावकारी थम्बनेलको डिजाइनमा ध्यान दिनुहोस् ।
३) अडियन्सको ज्ञानलाई चुनौती दिनुहोस्
जब अडियन्सलाई उनीहरूको ज्ञानमाथि कुनै प्रश्न उठाइन्छ, तब उनीहरूमा उत्सुकता र चासोको भावना उत्पन्न हुन्छ । यसले तुरुन्तै एउटा भावनात्मक प्रतिक्रिया सिर्जना गर्छ र उनीहरूलाई उक्त भिडिओमा क्लिक गर्न बाध्य बनाउँछ । यसलाई अझ बुझ्नको लागि हामी अर्को भिडिओको उदाहरणमा यसलाई देख्न सक्छौं ।
१२ वर्षअघि युट्युबमा अपलोड भएको ‘दिस इज नट एल्लो’ शीर्षकको भिडिओ यसको मुख्य उदाहरण हो । हामीलाई थाहा छ, यो फोटो पहिलो हो । तर, किन उनले यसलाई पहेलो होइन भने त ? यसले हाम्रो ज्ञानमाथि नै प्रश्न उब्जायो । के रहेछ भन्ने जान्न अडियन्सले भिडिओ क्लिक गर्नैपर्ने हुन्छ ।
यसरी अडियन्सकै ज्ञानमा प्रश्न उठाउनका लागि तपाईंले बोल्ड स्टेटमेन्ट, तथ्य, अनौठो दृष्टिकोण प्रस्तुत गर्नुपर्ने हुन्छ । यस्तो कम्पोनेन्ट प्रयोग गर्नुहोस्, जसले अडियन्सलाई थाहा भएको विषयमा चुनौती दिन सकोस् ।
४) थ्री इलिमेन्ट रुल
हामीले माथि भनेको जस्तै तपाईंसँग युट्युबका अडियन्सको ध्यान खिच्नका लागि एक सेकेन्डभन्दा पनि कम समय हुन्छ । त्यसैले तपाईंले थम्बनेलमा त्यति धेरै सूचना राख्नु हुँदैन, जसले गर्दा अडियन्सको मस्तिष्कलाई प्रसोधन गर्न बढी समय लागोस् । अडियन्सको ध्यान आकर्षित गर्ने तीन ओटा तत्वका बारेमा यहाँ चर्चा गरिएको छ । त्यसका लागि युट्युबर रियान त्रहानको एक भिडिओको उदाहरण लिऔं ।
उक्त भिडिओको थम्बनेलमा माथि एउटा स्टार मात्र दिइएको देख्न सकिन्छ । यसले भिडिओको सन्दर्भ खुलाएको छ । त्यस्तै रिभ्यु दिएको तलपट्टि हेर्नुभयो भने त्यहाँ एउटा व्यक्ति देखिएका छन् । तर उनी को हुन् भन्ने चिन्न सकिएको छैन । ती व्यक्ति को होलान् भन्ने जिज्ञासा अडियन्समा उत्पन्न हुन्छ ।
त्यसबाहेक त्यहाँ रियानले थम्बनेलमा आफ्नो फोटो राखेका छन् । उनलाई चिन्ने अडियन्सले यो रियानकै भिडिओ हो भनेर क्लिक गर्छन् । एउटै भिडिओ यी तीन ओटा तत्त्व राख्न सक्नुभयो भने तपाईंको थम्बनेलप्रति अडियन्स आकर्षित हुन्छन् । र, भिडिओ क्लिक गर्छन् ।
५) चर्चित व्यक्तिको फोटो राख्नुहोस्
तपाईंले युट्युब सुरु गर्नासाथ तपाईंलाई सबैले चिन्दैनन् । त्यसैले तपाईंको फोटो थम्बनेलमा देखेकै भरमा क्लिक गर्ने धेरै कम हुन्छ । त्यसैले अडियन्सलाई भिडिओमा क्लिक गराउनका लागि चर्चित व्यक्तिको फोटो थम्बनेलमा राख्न सक्नुहुन्छ ।
तर, थम्बनेलमा राख्नका लागि मात्र फोटो राख्ने होइन । भिडिओमा कतै ती व्यक्तिको फोटो राख्नुको कारण खुलाउनु पर्छ । कतिपय भिडिओमा ती व्यक्तिको सन्दर्भ अनुसार क्लिप पनि प्रयोग गर्न सक्नुहुन्छ ।
६) कन्ट्रास्ट प्रयोग गर्नुहोस्
तपाईंले चर्चित व्यक्तिका युट्युब थम्बनेल हेर्नुभयो भने त्यसमा कन्ट्रयास्ट प्रयोग गरेको देख्न सक्नुहुन्छ । फोटोमा कन्ट्रास्ट प्रयोग गर्दा हाम्रो आँखा त्यसमा टक्क अडिन्छ । त्यसबाहेक कन्ट्रयास्ट प्रयोग गरेको छ भने हाम्रो आँखालाई त्यसमा फोकस गर्न सजिलो हुन्छ । त्यसका लागि तपाईंले क्यान्भाको कलर ह्विल टुल प्रयोग गर्न सक्नुहुन्छ ।
७) ए/बी टेस्टिङ
तपाईंले युट्युब स्टुडियोमा एउटै भिडिओका लागि तयार पारिएका दुई थम्बनेल राखेर कुनले राम्रो प्रभाव पारिरहेको छ भन्ने परीक्षण गर्न सक्नुहुन्छ । यसरी लामो समयसम्म थम्बनेल परीक्षण गरिसकेपछि कस्तो थम्बनेल प्रयोग गर्दा अडियन्स आकर्षित हुन्छन् भन्ने थाहा पाउन सक्नुहुन्छ । त्यसपछि भिडिओमा त्यस्तै किसिमको थम्बनेल प्रयोग गर्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: मंसिर २३, २०८१ १३:१८
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्