२०८२ श्रावण २५ शनिबार
LATEST NEWS
२०८२ श्रावण २५ शनिबार

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ३० अर्ब रुपैयाँ खिच्ने भएको छ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र  बैंकले यस्तो तरलता निरन्तर खिच्दै आएको छ। राष्ट्र बैंकका अनुसार निक्षेप बढेपछि आइतबार ३ बजे अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिएको हो। ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। सावाँ ब्याज भुक्तानी आजै हुने राष्ट्र बैंकले जनाएको छ। 

बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ। सावाँ तथा ब्याज भुक्तानी आगामी भदौ १५ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ।

Ncell 2
Ncell 2

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ। निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्।

निक्षेप सङ्कलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ । अहिले कुल निक्षेप ७० खर्बमाथि पुगेको छ। बैंकमा ठुलो मात्रमा निक्षेप थुप्रिए पनि लगानी हुन सकिरहेको छैन।

लगानीकर्ताको आत्मविश्वासमा अझै पनि कमी रहेको बैंकबाट प्रवाह हुने कर्जा बढ्न नसक्नुले पनि पुष्टि गरेको छ। कर्जा प्रवाह नबढ्ने र बैंकमा अधिक तरलता भए पनि राष्ट्र बैंकले रकम खिच्दै आएको छ।


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

धेरै मानिसले एनेस्थेसियोलोजिस्ट भनेको बेहोस बनाउने मात्र डाक्टर भन्ने बुझाइ राखेका हुन्छन्। तर एनेस्थेसियोलोजिस्टको जम्मा २५ प्रतिशत काम मात्रै बेहोस गराउने हो। उनीहरूले एनेस्थेसिया दिने, दुखाइ व्यवस्थापन गर्ने, क्रिटिकल केयर (गम्भीर अवस्थाका बिरामीको उपचार) तथा पेरी-अपरेटिभ मेडिसिन (शल्यक्रियाको अघिपछि आवश्यक औषधि र उपचार व्यवस्थापन) समेत सम्हाल्ने गरेका छन्।

नेपालमा पहिलो पटक सन् १९५५ मा डा. भवानीभक्त सिंह प्रधानले एनेस्थेसियोलोजिस्टका रूपमा सेवा सुरु गरेका थिए। अहिले नेपालमा झण्डै ७ सयभन्दा बढी एनेस्थेसियोलोजिस्ट कार्यरत छन्।एनेस्थेसिया के हो? नेपालमा यसको विकास कहिले र कसरी भयो? एनेस्थेसियाका क्रममा के-के जोखिम आउन सक्छन्? एनेस्थेसियाले बिरामीमा अल्पकालीन वा दीर्घकालीन असर के-के पार्छ? यी विषयमा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा. पवन हमालसँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी:

एनेस्थेसिया भनेको के हो?
चिकित्सा शास्त्रमा एनेस्थेसिया भन्नाले बिरामीलाई शल्यक्रिया वा अन्य पीडादायी प्रक्रिया सहज बनाउने औषधि तथा विधि जनाउँछ। धेरैले यसलाई जनरल एनेस्थेसियासँग मात्र जोड्छन्, तर वास्तवमा बिरामीलाई बेहोस गराउनेका साथै अम्नेसिया (स्मृति हराउने), दुखाइ नियन्त्रण गर्ने लगायतका काम पनि एनेस्थेसियामा पर्छ।

शल्यक्रियाको प्रकृतिअनुसार बिरामीलाई बेहोस बनाउने वा अंगविशेषलाई मात्रै संवेदनाहीन बनाउने एनेस्थेसिया दिइन्छ।

नेपालमा एनेस्थेसियाको विकास कसरी भयो?
सन् १९५५ मा डा. भवानीभक्त सिंह प्रधान नेपालका पहिलो एनेस्थेसियोलोजिस्टका रूपमा आएका थिए। उनले भारतमा अध्ययन गरेर फर्किएपछि नेपालमा सेवा सुरु गरेका हुन्। सन् १९८५ मा क्यानडाका विश्वविद्यालयहरूसँगको सहकार्य तथा डा. रोशन अमात्यको पहलमा इन्स्टिच्युट अफ मेडिसिनमा एनेस्थेसियाको औपचारिक अध्ययन कार्यक्रम सुरु भएको इतिहास छ।

बिरामीहरूले एनेस्थेसियोलोजिस्टलाई कसरी बुझ्ने?
नेपालमा सुरुमा एनेस्थेसियोलोजिस्टलाई केवल बेहोस गराउने डाक्टरका रूपमा बुझिन्थ्यो। त्यो बेला चिकित्सकको संख्या कम हुँदा उनीहरूको काम त्यतिमै सीमित थियो। अहिले भने उनीहरू शल्यक्रियाको पूर्व-परामर्श, दुखाइ व्यवस्थापन, क्रिटिकल केयर तथा पेरी-अपरेटिभ मेडिसिनमा समेत सक्रिय छन्।

नेपाल एनेस्थेसियोलोजिस्ट सोसाइटीमा हाल करिब ७०० सदस्य आबद्ध भइसकेका छन्, जसले उनीहरूको भूमिकालाई अझै फराकिलो बनाएको छ।

एनेस्थेसियाका जोखिम के-के हुन्?
शल्यक्रियाको क्रममा वा त्यसपछिका विभिन्न जोखिम हुन्छन्। शल्यक्रियाका बेला बिरामीको अक्सिजन स्तर, श्वासप्रश्वास, मुटुको चाल ठीक छ कि छैन भनेर हेर्न अत्यन्तै दक्ष एनेस्थेसियोलोजिस्टको भूमिका महत्त्वपूर्ण हुन्छ।

यदि दुखाइ व्यवस्थापन राम्ररी भएन भने शल्यक्रियापछि मुटु वा छातीका रोगको जोखिम बढ्न सक्छ। मिर्गौला, कलेजोका बिरामीलाई एनेस्थेसिया असावधानीपूर्वक दिँदा अंग फेलियरसम्म हुन सक्छ।

एनेस्थेसियोलोजिस्टको भूमिका शल्यक्रियापछि सकिन्छ त?
शल्यक्रिया सकिएपछि पनि बिरामीको दुखाइ व्यवस्थापन र अन्य शारीरिक क्रियाकलापको निगरानीमा एनेस्थेसियोलोजिस्टको भूमिका झन् महत्त्वपूर्ण हुन्छ। क्याथेटर, सुई वा औषधिको सहायताले उनीहरूले दुखाइ घटाउने काम गर्छन्।

अरू के काम गर्छन्?
जटिल मुटु शल्यक्रिया, न्युरो सर्जरी जस्ता जोखिमयुक्त शल्यक्रियामा बिरामीलाई स्थिर राख्ने, शल्यक्रियापछि होसमा ल्याउने, दीर्घकालीन दुखाइ नियन्त्रण गर्ने जिम्मेवारी पनि एनेस्थेसियोलोजिस्टकै हुन्छ।

नेपालमा पर्दा पछाडिको हिरोजस्तै भूमिका किन भनिन्छ?
नेपालमा एनेस्थेसियोलोजिस्टको भूमिकालाई अझै पर्दा पछाडिको हिरोजस्तै लिने गरिन्छ। तर विदेशमा भने सर्जनजस्तै उनीहरूलाई पनि उत्तिकै सम्मान र मान्यता दिइन्छ।

लामो समयको एनेस्थेसियाले कस्ता असर पार्न सक्छ?
एनेस्थेसिया अत्यन्त संवेदनशील औषधि हो, यसलाई एनेस्थेसियोलोजिस्टबाहेक अन्य चिकित्सकले प्रयोग गर्न नपाउने नियम हुन्छ। रक्तचापमा एक्कासी उतारचढाव आउनु, लामो शल्यक्रियापछि बिरामी उठ्न नसक्नु, श्वासप्रश्वासमा समस्या आउनुजस्ता खतरा हुन्छ। तर दक्ष चिकित्सकबाट एनेस्थेसिया लिँदा डराउनु पर्ने छैन।

बिरामीलाई बेहोस किन बनाइन्छ?
शल्यक्रिया गर्न सजिलो होस् र बिरामीलाई दुखाइ नहोस् भनेर बिरामीलाई बेहोस बनाइन्छ। अहिले केही शल्यक्रियामा बेहोस नगराई अंगविशेषलाई मात्रै संवेदनाहीन बनाउने विधिहरू पनि विकसित भइसकेका छन्। शल्यक्रिया अघि अनिवार्य रूपमा एनेस्थेसियोलोजिस्टसँग परामर्श लिन बिरामीलाई सुझाव दिइन्छ।

श्वासप्रश्वास कसरी व्यवस्थित गरिन्छ?
एनेस्थेसियाका औषधिले श्वासप्रश्वास थोरै समयका लागि रोकिदिन्छ। त्यसैले बिरामीलाई भेन्टिलेटर र ट्युबमार्फत कृत्रिम रूपमा सास फेर्न सहयोग गरिन्छ।

इन्टरभेन्सनल पेन म्यानेजमेन्ट भनेको के हो?
दुखाइ व्यवस्थापन अर्थात् पेन म्यानेजमेन्ट पनि एनेस्थेसियाको महत्त्वपूर्ण अङ्ग हो। नेपालमा यसको अभ्यास विश्वका अन्य मुलुकभन्दा ढिलो सुरु भएको हो। एउटा रोचक प्रसङ्ग — राजपरिवारका एक सदस्यलाई ढाड दुखेपछि अमेरिकाबाट पेन म्यानेजमेन्ट विशेषज्ञ ल्याएर सुई दिएर उपचार गरिएको थियो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. बालकृष्ण भट्टराईले यसको औपचारिक अभ्यास सुरु गर्नुभएको मानिन्छ। सन् २०१५ पछि नेपालमा यस विधिको विकास तीव्र भएको छ।

कस्तो दुखाइमा पेन म्यानेजमेन्ट चिकित्सक भेट्ने?
तीन महिनाभन्दा बढी समयसम्म दुखाइ रहिरहेमा पेन म्यानेजमेन्ट विशेषज्ञको सल्लाह लिनुपर्छ। ढाड दुखाइ, मांसपेशी दुखाइ वा क्यान्सरजन्य दुखाइमा इन्टरभेन्सनल पेन म्यानेजमेन्ट उपयोगी हुन्छ।

हेरौं भिडियो

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकका लागि फोन पेसँगको साझेदारीमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले यस विषयमा जानकारी दिएको हो । यस अन्तर्गत ग्राहकहरूले यस बैंकको मोबाइल बैंकिङ एप “महालक्ष्मी स्मार्ट साथी” भित्र महालक्ष्मी फोन पे क्रेडिट कार्डमा गई कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले फोन पे क्यूआर मर्चेन्टमार्फत भुक्तानी गर्न तथा अनलाइन मार्फत गरिने किनमेलको भुक्तानी गर्न सक्नेछन् ।

भौतिक क्रेडिट कार्डमा रहेको ४५ दिनसम्मको ब्याज रहित अवधि तथा किस्ताबन्दी सुविधा यस भर्चुअल क्रेडिट कार्डमा समेत हुने कम्पनीले जनाएको छ । सेवाको थालनी सँगै बैंकले भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूलाई रु. ५०० सम्मको क्याशब्याकको अफर समेत ल्याएको छ । 

 

पछिल्लो अध्यावधिक: असार १५, २०८२ ११:६





सामाग्री श्रोत :
टेक पाना

Ncell 2
Ncell 2

काठमाडौँ – एसीसी यू–१६ इस्ट जोन प्रतियोगिता अन्तर्गत इन्डोनेसिया विरुद्धको खेलमा नेपालले सानदार ब्याटिङ गर्दै ४२१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालका लागि प्रसिद्ध जैसीले ११४ बलमा १३२ रन बनाए । परिमार्जन यादव २८ बलमा ७१ रन बनाएर आउट भए भने, रौनक श्रीवास्तवले ७१ बलमा ८८ रनको योगदान दिएका थिए । यस्तै जोए थापाले ३९ बलमा ५५ रनको योगदान दिएका थिए । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

डा बजरंगकुमार रौनियार कन्सल्टेन्ट इन्डोक्राइनोलोजिष्ट हुन्। स्वास्थ्यखबरले डा रौनियारसँग मधुमेहका (सुगर) र यससँग जोडिएका विषयमा कुराकानी गरेको छ।

स्वास्थ्यखबरले उनीसँग सुगर, खानपान, ध्यान दिनुपर्ने विषय र उपचार लगायतका विषयमा केन्द्रित रहेर एक दर्जन जिज्ञासा राखेको छ।

स्वास्थ्यखबरले भिडियो संवादमा डा रौनियारसँग निम्न विषयमा जानकारी लिने प्रयास गरेको छ।

मधुमेहका (सुगर) बिरामीहरुको संख्या पछिल्लो समय किन बढ्दै गएको हो ?

प्रि–डायबिटिज अवस्था के हो,यस्तो अवस्थाको पहिचान कसरी गर्ने?यो अवस्थामा के गर्नुपर्छ ?

सुगर तथा थाइराइडको समस्यालाई खानपानसँग कसरी जोड्न सकिन्छ ?

आयोडिनको विकल्पका रुपमा कालो नुन, बिरे नुन लगायतको प्रयोग उचित होइन भन्न खोज्नुभएको हो ?

सुगरका बिरामीले के खाने, के नखाने ?

बजारमा सुगर फ्रि भन्दै बिक्रीमा राखिएका खानेकुराको सेवन सुगरका बिरामीका लागि कति फाइदाजनक हुन्छ ?

मधुमेह अर्थात् सुगर भएका बिरामीहरुले आँप खान हुन्छ ?

सुगर नभएका मानिसले पनि बढी आँप खाँदा सुगर बढ्छ ?

सुगरका बिरामीले कस्ता फलफुल खाने, कस्ता नखाने ?

सुगरका बिरामीहरुले कार्बाेहाइट्रेड निषेध नै गर्नुपर्छ ?

सुगर लागिसकेको अवस्थामा यसलाई निको पार्न सकिन्छ कि आजीवन औषधिको सेवन गर्नुपर्छ ?

सुगर लागिसकेपछि के – कस्ता उपचार विधिको प्रयोग गरिन्छ ?

यी जिज्ञासामा डा रौनियारले दिएको जवाफ भिडियोमा हेरौं


 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । दुई वर्ष अगाडि नै एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध भएको युट्युबको भिडिओ एडिटिङ एप ‘युट्युब क्रियट’ अब आईओएसमा पनि उपलब्ध हुने भएको छ । कम्पनीले आईओएस प्रोजेक्टमा काम गर्नका लागि भारतबाट उल्लेख्य रूपमा इन्जिनियरहरू नियुक्त गरिरहेको जानकारी बाहिर आएको हो ।

टेक क्रन्चमा प्रकाशित एक समाचारका अनुसार कम्पनीले आईओएस भर्सन विकास गर्न कै लागि भारतबाट सफ्टवेयर इन्जिनियरहरू नियुक्त गरिरहेको छ । कम्पनीले सन् २०२३ मा यो एपको एन्ड्रोइड भर्सन सार्वजनिक गरेको थियो ।

यस एप मार्फत प्रयोगकर्ताले नि:शुल्क रुपमा मोबाइलबाट नै भिडिओ इडिट गर्न सक्छन् जसमा स्टिकर, गिफ, अन्य विभिन्न इफेक्ट लगायत थुप्रै फिचरहरू छन् । कम्पनीले यो एप विशेष गरी कन्टेन्ट क्रियटरहरूलाई लक्षित गरी सार्वजनिक गरेको हो ।

यसमा युट्युब भिडिओ सँगै लामो भिडिओहरू इडिट गर्न सकिन्छ । कम्पनीले करिब तीन हजार कन्टेन्ट क्रियटरहरूसँग गरेको परीक्षणपछि मात्र यो एप सार्वजनिक गरेको बताइन्छ । यो एप ठ्याक्कै टिकटकको मातृ कम्पनी बाइटडान्सको क्यापकट जस्तै छ । तर फिचरहरूको तुलनामा भने युट्युब क्रियट भन्दा क्यापकट नै उत्कृष्ट मानिन्छ ।

यस विषयमा गुगलले भने कुनै आधिकारिक धारणा दिइसकेको छैन । तर बाहिरिएको खबर अनुसार चाँडै नै आईओएस प्रयोगकर्ताका लागि पनि यो एप उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असार १५, २०८२ १०:३२





सामाग्री श्रोत :
टेक पाना

इटहरी – सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छी चोक सडकखण्डमा मोटरसाइकल दुर्घटनाहुँदा बाबुछोरासहित तीनको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । 

गए राति चतरा–कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१–०२–०५६प ५८६४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा बाबुछोरासहित तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३४ वर्षीय इनर्चन चौधरी, उनका नौ वर्षीय छोरा प्रनिष र अर्का मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादव छन् । 

Ncell 2
Ncell 2

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूलाई घाइते अवस्थामा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र  उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा इनर्चन चौधरीकी ३२ वर्षीया श्रीमती प्रतीक्षा र बिन्दु यादवसँग सवार इटहरी–७ निवासी ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन् । उनीहरूको धरानस्थित प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

सिंगापुर– नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन र एसोसिएसन फर ओरल हेल्थ थेरापिस्ट सिंगापुरबीच पेशागत समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो सम्झौता अन्तर्राष्ट्रिय ओरल हेल्थ कांग्रेस २०२५ को अवसरमा सिंगापुरको सिगेल्था एकेडेमियामा सम्पन्न भएको हो।

सम्झौतामा दुवै देशका दन्त चिकित्सा पेशाकर्मीहरूबीच सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न ८ वटा बुँदाहरू समावेश गरिएको छ। जसमा दुवै देशमा आयोजना हुने कार्यक्रमहरूमा सहभागिता, प्राविधिक सहयोग, पेशागत ज्ञान र सीप आदानप्रदान, साथै अन्य सहयोगात्मक कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख छ। यो सम्झौताले नेपाल र सिंगापुरका दन्त चिकित्सा क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।

सम्झौतामा नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनको तर्फबाट अध्यक्ष माइकल देवकोटा र एसोसिएसन फर ओरल हेल्थ थेरापिस्ट सिंगापुरको तर्फबाट अध्यक्ष टी. इथेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर समारोहमा दुवै पक्षले यो सम्झौताले दन्त चिकित्सा क्षेत्रमा पेशागत विकास र अन्तर्राष्ट्रिय सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।

यो सम्झौताले नेपाल र सिंगापुरका दन्त चिकित्सा पेशाकर्मीहरूलाई एकअर्काको अनुभव र प्राविधिक दक्षताबाट लाभ लिन मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ। साथै, यसले दुवै देशमा ओरल हेल्थ सेवाको गुणस्तर अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । टेस्लाले आफ्नो पूर्ण रूपमा स्वचालित कारको पहिलो डेलिभरी गरेको छ । कम्पनीले २७ जुनमा आफ्नो पहिलो ग्राहकलाई यो स्वचालित कार मोडेल वाई डेलिभर गरेको हो । कम्पनीले आफ्नो एक्स अकाउन्टमा एउटा भिडिओ पोस्ट गर्दै आफ्नो पहिलो डेलिभरीको विषयमा जानकारी दिएको थियो । उक्त भिडिओमा सो स्वचालित गाडी अमेरिकाको अस्टिनमा बिना चालक गुडिरहेको देख्न सकिन्छ । 

कम्पनीका अनुसार उक्त गाडी बिना चालक टेस्लाको गिगाफ्याक्टरीबाट पार्किङबाट निस्किएर, हाइवे र शहरी बाटो हुँदै ग्राहकको घरमा ३० मिनेटमा पुगेको थियो । 

यस पहिलो डेलिभरीको खुसीयालीमा शुक्रबार एक्समा एलन मस्कले लेखे, “कारखानाबाट ग्राहकको घरसम्म मोडल वाईको पहिलो पूर्ण रूपमा स्वचालित डेलिभरी, हाईवेसमेत पार गर्दै, निर्धारित समयभन्दा एक दिन अगाडि सफलतापूर्वक सम्पन्न भएको छ ! @Tesla_AI का सफ्टवेयर र चिप डिजाइन टिमलाई बधाई!”

कम्पनीले लामो समयदेखि यस कारमा काम गरिरहेको छ । अर्कोतिर भने अमेरिका सरकार अन्तर्गतको राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासनले टेस्लाको ‘फुल सेल्फ ड्राइभिङ’ प्रणालीमा सम्भावित सुरक्षा कमजोरीबारे छानबिन गरिरहेको छ । यसै सन्दर्भमा, टेस्लाले हालै सार्वजनिक गरेको रोबोट्याक्सी भिडियोमा ट्राफिक नियम उल्लङ्घन भएको देखिएपछि निकायले थप जानकारी मागेको छ।

पछिल्लो अध्यावधिक: असार १५, २०८२ ९:३१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले विकास गरी श्रम शक्ति तथा अन्य जनशक्तिलाई स्वदेशमै क्रियाशील गराइ आधुनिक कृषि प्रविधिको विकास तथा विस्तार गर्नुपर्ने खाँचो औँल्याएका छन् । 

राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले धानसँग सम्बन्धित खाद्य प्रविधिको विस्तार गर्न आग्रह गर्दै धान एवं चामल आयात बर्सेनि बढ्दै जानु चिन्ताको विषय हो भने । राष्ट्रपति पौडेलले जमिन बाँझो रहने अवस्थाको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेगरी हाम्रो प्रयासहरूलाई केन्द्रित गर्नुपर्ने खाँचो औँल्याए ।

शुभकामनामा भनिएको छ, ‘धान बालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गर्दै धान एवं चामलको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’

Ncell 2
Ncell 2

नेपालमा कृषिको महत्त्व बढाउँदै राष्ट्रिय खाद्य सुरक्षामा धानको भूमिकालाई महत्त्व दिने गरी धानको उत्पादन वृद्धि गर्न तथा यसलाई आधुनिकीकरण र व्यावसायीकरण गरी किसानको मनोबल वृद्धि गर्ने उद्देश्यले २०६१ सालदेखि प्रत्येक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन सुरु गरिएको हो । यस वर्ष ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय धान दिवस, २०८२ मनाइँदै छ ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हकको व्यवस्था गरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि धानखेतीको प्रवर्द्धन गर्नु आवश्यकता औँल्याएका छन् ।

सन्देश भनिएको छ, ‘नेपाल कृषिप्रधान देश हो । यहाँका अधिकांश जनताको प्रमुख खाद्यान्न बाली धान हो । त्यसैले धानखेती नेपाली समाज र जीवनसँग अभिन्न भएर रहेको छ । यसले हाम्रो जीवनमा आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक एवं पर्यटकीय महत्त्व पनि राख्दछ।’ विश्वव्यापी जलवायु परिवर्तनले धानखेतीमा पारेको र पर्न सक्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकार, किसान र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाइ धानको उत्पादन एवं उत्पादकत्व बढाउँदै धानबालीको विविधिकरण गर्नुपर्ने आजको आवश्यकता भएको उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले नेपालमा धानखेतीका लागि पर्याप्त सिँचाइको व्यवस्था भइनसकेको सन्दर्भमा वर्षा राम्रो नभएको वर्ष धान उत्पादन घट्ने र वर्षा राम्रो हुँदा उत्पादन बढ्ने गरेको तथ्यहरूले देखाउने बताउँदै धानखेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न राज्यको ध्यान केन्द्रित हुन जरुरी रहेको बताए ।

‘धान एवं चामल आयात बर्सेनि बढ्दै जानु चिन्ताको विषय हो । जमिन बाँझो रहने अवस्थाको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुने गरी हाम्रो प्रयासलाई केन्द्रित गर्नुपर्ने खाँचो छ,’ सन्देशमा भनिएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट