
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । अस्पतालबाट फोहर व्यवस्थापनको अनुगमनका क्रममा हानीकारक फोहरको उचित व्यवस्थापन नगरेको र सुधारको मौकालाई समेत वेवास्ता गरेपछि काठमाडौँ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७ बमोजिम जरिवानाको पत्र पठाएको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिइन्।ऐनबमोजिम रसायनिक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला, जोखिमपूर्ण फोहरमैला वा हानीकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ । यही कसुर दोहोर्याएमा पहिलो पटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ। ‘यस वर्ष मात्रै पनि एभरेष्ट अस्पतालको फोहर व्यवस्थापन अनुगमन गरिएको ३ पटक भइसकेको छ। विगतको अनुगमन जोड्ने हो भने ६ पटकभन्दा धेरै भइसक्यो। यसरी गरिएको अनुगमनका क्रममा सुधारका लागि सुझाव र सुधारको मौका दिने, अति लापर्वाही देखिए फोहर ढुवानीमा रोक लगाउने गरिएको थियो । अस्पतालको अभ्यास चित्तबुझ्दो नभएपछि निगरानी निरन्तर गरियो,’ वातावरण व्यवस्थापन विभागका वरिष्ठ इञ्जिनियर निशा कोइराला भनिन्।गएको असोज (२०८१) ३ गते भएको अनुगमनका क्रममा सुधार नदेखिएपछि असोज १४ गते अस्पतालका अधिकारीहरुलाई वातावरण व्यवस्थापन विभागका बोलाएर मापदण्डका विषयमा जानकारी दिँदै अस्पतालले पूरा गर्नुपर्ने दायित्वका विषयमा सम्झाइएको थियो। त्यसअघि अस्पतालले विभिन्न संस्थाहरुको नाम लिएर व्यवस्थापनको जिम्मेवारी दिएको बताउँदै आएका थियो । महानगरपालिकाले भने हानीकारक फोहर व्यवस्थापनको दायित्व अरुलाई दिन नमिल्ने, हानीकारक फोहरलाई आफैँ निर्मलीकरणको प्रबन्ध गर्नुपर्छ भन्दै आएको थियो। अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन गर्ने क्रममा २०७९ सालमा त्रुटि पाइएपछि ९ बुँदे सुधारका सुझाव दिएर पत्र पठाइएको बताइएको छ। फोहर वर्गीकरण गर्ने र वर्गीकरण गरिएको फोहर जम्मा गर्ने कोठा नबनाइनुका साथै सबै फोहर एउटै हलमा थुप्रो बनाएर राखिएको बताइएको छ। ‘कुन ठाउँमा कस्तो फोहर छ, भन्ने कुराको स्पष्ट संकेतका लागि अक्षर र चित्र दुवै राख्नु पर्ने सुझावलाई अस्पतालले ख्याल गरेको छैन । अहिले पनि वर्गीकरणमा काम गर्ने व्यक्ति आफैँले हातले लेखेर कार्ड बोर्ड राख्नेबाहेक अस्पतालका तर्फबाट पहिचान वर्गीकरणको काम भएको देखिँदैन,’ महानगरले भनेको छ। फोहोर वर्गीकरण गर्न वाडमा राखिएका बाल्टिनको रङ्ग संकेत र रङ्गअनुसारको प्रयोगमा अहिले पनि ख्याल गरिएको छैन । अनुगमनका क्रममा शौचालयको प्रवेश द्वारमा हानीकारक फोहर राख्ने रातो बाल्टिन राखिएको थियो । यसअघि हानीकारक फोहर निर्मलीकरण गर्ने अटोक्लेभ मेसिनसम्म पनि थिएन। विग्रिएको अटोक्लेभ मर्मत नगरेपछि यस्तो अवस्था थियो । अहिले अटोक्लेभ मेसिन त छ, तर यसको सञ्चालन विधि मिलेको छैन । वरिष्ठ इञ्जियिनर कोइराला भन्छिन्, ‘शल्यक्रिया, प्रसुति जस्ता कार्यबाट उत्पादन भएको फोहर पनि बट्टामा प्याक गरेर राखेको अवस्थामा भेटिएको छ । यो मापदण्ड विपरीतको काम हो । चरम लापर्वाही हो।’अस्पतालको फोहर संकलन गर्ने गरिएको कक्षमा भेन्टिलेटर नभएका कारण हावा दोहोरो हुन सक्ने अवस्था छैन। फोहर वर्गीकरणका काम गरिरहेका प्रभाव खड्का (नाम परिर्वन) भन्छन्, ‘गर्मीमा धेरै गर्मी छ । म हरेक दिन १ बजेदेखि ४ बजेसम्म काम गर्छु । गर्मी भएर हपक्क हुन्छ । कडा गन्ध आउँछ । सर म्याडमलाई भनेको बनाइदिन्छु त भन्नुहुन्छ । तर, बनाइदिनुभएको छैन।’हानीकारक फोहर वर्गीकरणको अभ्यास सुनाउँदै उनले माथिबाट रातो भाँडामा हानीकारक फोहर आउने पहिले त्यसलाई छुट्याएर धारिलो र रगत लागेको फोहर अटोक्लेभ गर्ने गरेको बताए। फोहरलाई स्रोतमा वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहरको संकलन कक्षसम्म सुरक्षित ढुवानी नहुनु, ढुवानी गरेर भण्डारण कक्षमा लगेपछि मात्र जोखिमयुक्त फोहर वर्गीकरण गर्न थाल्नु, जोखिमयुक्त फोहर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, प्रकृतिअनुसार भण्डारण उपयुक्त नहुनु, निर्मलीकरणका साधन तथा उपकरण नहुनु, भएकाहरुको पनि उचित प्रयोग नहुनु हस्पिटलको लापरबाही रहेको बताइएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । प्रमुखप्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४सम्म सरकारमा नजाने बताएका छन्।
हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानका क्रममा बिहीबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारमा जाने हतारोमा नरहेको र सोही अनुरुपको दृढता पैदा भएको बताएका हुन्।
‘वृद्धवृद्धादेखि युवायुवतीदेखि बालवच्चासम्मले पनि अब हाम्रो भरोसा एकचोटी फेरि माओवादीतिर, माओवादी नेतृत्वतिर, प्रचण्डतिर छ भनेर भावुक बनेर आउने हजरौं हजार संख्या हामीले जो देख्यौं हुलाकीमार्ग वरीपरी, त्यसले हामीलाई थप जिम्मेवारी बोध भएको छ। सरकारमा २०८४ सम्म नजाने हाम्रो निर्णयमा एउटा नयाँ दृढता पैदा भएको छ। तपाईंहरुलाई लाग्छ सरकारमा जान हतारो गरेको होला,’ उनले भने।
उनले अब पार्टीले फेरी सरकारमा जाने त्रुटि नगर्ने दाबी गरेका छन्। ‘हामी फेरि एकचोटी सरकारमा गएर त्यो त्रुटी गर्ने पक्षमा छैनौं। यो हामीले भन्नका लागि भनेको होइन। तपाईंहरु भन्नुहुन्छ-कुर्सी प्राप्तिका लागि जे पनि गर्ने,’ उनले भने।
सामाग्री श्रोत :
काठमाडौँ । एसईई परीक्षा दिएर खाली समय बसेका विद्यार्थीका लागि आईटी तालिम प्रदायक ब्रोडवे इन्फोसिसले विशेष छुट घोषणा गरेको छ ।
काठमाडौँ तीनकुनेमा रहेको यस संस्थाले विद्यार्थीहरूका लागि आईटी तालिम कोर्समा २४ प्रतिशत छुट दिने भएको हो ।
खाली समयको सदुपयोग गरी विद्यार्थीलाई आईटी सीप सिकाइ भविष्यका लागि तयारी गराउने उद्देश्यले छुट दिइएको ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले जानकारी दिए ।
उनका अनुसार यो अफर आउँदै १५ वैशाखसम्म लागु हुनेछ । यसअन्तर्गत एआई, साइबर सेक्युरिटी, प्रोग्रामिङ, डिजिटल मार्केटिङ लगायतका कोर्समा छुट मिल्नेछ ।
थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ १२:३२
सामाग्री श्रोत :
टेक पाना

हुम्ला–हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका-३ स्थित गोठभित्र पुरिएर २६ बाख्रा मरेका छन्।
अदानचुली-३ का आइते बुढाको गोठभित्र रहेका ७० बाख्रामध्ये २६ वटा बाढीपहिरो आउँदा पुरिएर मरेका हुन्।
भेडिगोठभित्र पहिरो पस्नुका साथै गोठ भत्किँदा २६ बाख्रा मरेका पीडित किसान बुढाले बताए। गोठभित्र रहेकामध्ये २९ वटा बाख्रा गाउँलेको सहयोगमा जीवित निकालिएको उनले जानकारी दिए। उनका अनुसार बाँकी बाख्रा हराइरहेकाले खोजीकार्य भइरहेको छ।
एक्कासि आएको वर्षाले लाई ठूलो क्षति गरेको बताउँदै बुढाले दुःखकष्ट र मेहनतका साथ पालिएका बाख्राको गोठभित्र पहिरो खसेको उल्लेख गरे।
आज बिहान आएको वर्षाले अदानचुली गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्याएको छ। बिहान परेको मुसलधारे वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थायी टहरासहित पसलमा राखिएका सामानमा क्षति पुर्याएको स्थानीयले बताएका छन्।
अविरल वर्षापछिको बाढीले अदानचुलीमा ११ पसल, एक घर र एक भेडिगोठमा क्षति पुर्याएको जनाउँदै ११ वटा पसल बगाएको सञ्चारकर्मी मोहनसिंह बुढाले बताए।
वर्षासँगै आएको लेदोसहितको बाढीले अदानचुली-२ अमृत बुढा, अदानचुली-१ का बुद्धि महतारालगायत व्यवसायीका पसलमा क्षति पुर्याएको उनीहरूले जानकारी दिए। यहाँका अधिकांशका घर तथा टहरामा पानी पसेर स्थानीय प्रभावित बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापामाथिको प्रतिबन्ध फुकुवा भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकुवा भएको उनले जानकारी गराएका हुन्।
उनले सन् २०१५ अप्रिल १६ मा फिफाले आफूमाथि लगाएको प्रतिबन्ध यही बैशाख २ गते (अप्रिल १५) मा सकिएको प्रेस विज्ञप्तिमार्फत जनाएका छन्। जसका कारण संगठित फुटबलमा संलग्ननतामा प्रतिबन्ध भएका थापाले अब सबैखाले निलम्बनबाट फुकुवा भएको जानकारी गराएका हुन्।
थापाले आफ्नो प्रतिबन्ध फुकुवा भएपछि नेपाली फुटबल शुद्धीकरणका लागि ठूलो आन्दोलन गर्ने घोषणा गरेका छन्। उनले अब फुटबलका आधिकारिक फोरममै गएर आफ्ना कुरा राख्ने बताएका छन्।
प्रतिबन्धको १० वर्षे समयलाई अत्यन्तै चुनौतीपूर्ण रहेको बताउँदै थापाले त्यस अवधिमा आफूलाई साथ दिनेहरुप्रति धन्यवाद व्यक्त गरेका छन्। साथै नेपाली फुटबलको विकास र विस्तारमा सधैं लागिरहने प्रतिबद्दता पनि जाहेर गरेका छन्।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान थापाले एसियाली फुटबल महासंघ ९एएफसी०का उपाध्यक्ष, दक्षिण एसियाली फुटबल महासंघ ९साफ०को अध्यक्ष, एएफसी च्यालेन्ज कप र प्रेसिडेन्ट्स कपको अध्यक्ष, फिफाका विभिन्न समितिमा रहेर काम गरेका थिए।
सामाग्री श्रोत :
इ. रबिनराज गौतम
आफ्नो अनलाइन अकाउन्ट सुरक्षित राख्न बलियो पासवर्ड प्रयोग गर्न र टु-फ्याक्टर अथेन्टिकेसन (टुएफए) इनेबल गर्न सुझाव दिइन्छ । हुन त यी महत्त्वपूर्ण कदम हुन्, जो कहिल्यै बेवास्ता गर्नु हुँदैन ।
तर यहाँ सत्य केही फरक छ । यदि तपाईँले अकाउन्टका लागि बलियो पासवर्ड राख्नु भएको छ र टुएफए इनेबल गर्नु भएको छ भने पनि तपाईँको अकाउन्ट ह्याक गर्न सकिन्छ, हुन्छ ।
तर, कसरी ? त्यो हो ‘कुकिज चोरी’ । यो तपाईँ हामीले सोचेभन्दा धेरै सजिलो छ । आउनुहोस् विस्तृतमा बुझौँ ।
के हो कुकिज चोरी ?
तपाईँले कुनै सवेबसाइटमा लग इन गर्दा तपाईँको ब्राउजरले कुकिज भनिने चिज सेभ गर्छ । यी कुकिजमा तपाईँको ‘सेसन आईडी’ समावेश हुन्छ । यो त्यही चिज हो, जसले तपाईँले पहिले नै उक्त वेबसाइटमा लगइन गर्नुभएको थियो भन्ने जानकारी दिन्छ ।
यसलाई ‘गेट पास’को रूपमा बुझ्नुहोस् । जबसम्म तपाईँसँग कुकिज छ, तबसम्म वेबसाइटले तपाईँलाई पुनः पासवर्ड वा टुएफए माग्दैन । सरासर वेबसाइटभित्र प्रवेश गर्ने अनुमति दिन्छ ।
यदि कसैले त्यस्तो कुकिज चोरी गर्यो भने त्यस्तो व्यक्तिले तपाईँले जस्तै सजिलै वेबसाइटमा तपाईँकै पहिचान वा हैसियत प्रयोग गर्न सक्छ । त्यस्ता व्यक्तिलाई तपाईँको पासवर्ड आवश्यक पर्दैन, न त टुएफए नै चाहिन्छ । केवल तपाईँको कुकिज भए पुग्छ ।
कुकिज चोरीमा प्रयोग हुने केही सामान्य तरिका
१. ‘इन्सपेक्ट एलिमेन्ट’ प्रयोग गरेर म्यानुअल कुकिज चोरी
यो विधि एकदमै सरल छ । यसबाट जोगिन यो कहाँ हुन्छ र कसरी लिइन्छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउन सक्नुहुन्छ ।
-
सबैभन्दा पहिला ब्राउजरमा अकाउन्ट लगइन भएको कुनै वेबसाइटमा जानुहोस् र डेभलपर टुल खोल्नुहोस् । (यसका लागि माउसको दायाँ बटन क्लिक गरेर इन्सपेक्टको अप्सनमा गएर वा ‘F12’ वा ‘Fn’ सँगै F12 कि थिच्न सक्नुहुन्छ ।)
-
त्यसपछि एप्लिकेसन (Application) को ट्याबमा गएर कुकिज (Cookies) को अप्सनमा जानुहोस् ।
-
अब लगइन भएको अकाउन्टको सेसन कुकिज (Session Cookies) जस्तै ‘session_id’, ‘auth_token’ कपी गर्नुहोस् ।
-
त्यसपछि अर्को ब्राउजरमा सेसन कुकिज पेस्ट गर्नुहोस् । यति गरेपछि तपाईँले अकाउन्ट लगइन नगरेको ब्राउजरमा तपाईँको अकाउन्ट लगइन भएर देखिन्छ ।
यहाँ विन्डोजको क्रोम ब्राउजरमा गिटहबको डेमो देखाइएको छ ।
सबैभन्दा पहिला ‘https://github.com’ मा जानुहोस् र साइन इन गर्नुहोस् । त्यसपछि ‘डेभलपर्स टुल्स’ (Developers Tools) खोल्न एफ १२ (F12) थिच्नुहोस् । त्यसपछि एप्लिकेसनको ट्याबमा गई कुकिज सेक्सनमा जानुहोस् । र ‘https://github.com’ मा क्लिक गर्नुहोस् । हाइलाइट गरिएको नाम (user_session र saved_user_session ID) फेला पार्नुहोस् र यसको भ्यालु कपी गर्नुहोस् ।

अब, यी सेसन आईडीहरू अर्को डिभाइस वा त्यही डिभाइसको अर्को ब्राउजरमा एउटै फिल्डमा पेस्ट गर्नुहोस् र, रिफ्रेश गर्नुहोस् । यसरी हामी लगइन नगरी प्रयोगकर्ताको अकाउन्टमा एक्सेस पाउन सक्छौँ ।
यो उदाहरणले के देखाउँछ भने कसैले डिभाइस प्रयोग गरेर म्यानुअल रूपमा सेसन चोरी गर्न सक्छ ।
२. जोखिमयुक्त ब्राउजर एक्सटेन्सन
केही ब्राउजर एक्स्टेन्सन तपाईँका लागि उपयोगी देखिए पनि ती भित्रभित्रै गोप्य रूपमा तपाईँको कुकिज चोर्ने काम गरिरहेका हुन सक्छन् ।
-
यी एक्स्टेन्सनले तपाईँको सबै सेसन कुकिज चुपचाप सङ्कलन गरी बाहिर पठाउन सक्छन् ।
-
ह्याकरले त्यसपछि ति सङ्कलित कुकिजलाई आफ्नो ब्राउजरमा इन्जेक्ट गर्छन् ।
-
तिनीहरू अब तपाईँको अकाउन्टमा सहजै पहुँच पाउँछन् । यसमा उनीहरूलाई तपाईँको पासवर्ड वा टुएफए केही आवश्यक पर्दैन ।
त्यसैले विश्वसनीय डेभलपरले तयार पारेका एक्स्टेन्सन मात्र प्रयोग गर्नुपर्ने हुन्छ । तिनीहरूले कुन अनुमति लिइरहेका छन् भन्ने कुरा सधैँ चेकजाँच गर्न सक्नुहुन्छ । अनावश्यक एक्सेस मागेको छ भने तत्कालै हटाउन सक्नुहुन्छ ।
३. प्रत्यक्ष रूपमा कुकिज फाइल चोरी
तपाईँ हामीले प्रयोग गर्ने प्रमुख ब्राउजरहरूले सिस्टमभित्र फाइलमा कुकिज भण्डारण गरेर राख्छन् ।
फायरफक्सः (C:\Users\<तपाईंको_युजरनेम>\AppData\Roaming\Mozilla\Firefox\Profiles\<प्रोफाइल_नाम>\cookies.sqlite)
क्रोमः (C:\Users\<तपाईंको_युजरनेम>\AppData\Local\Google\Chrome\User Data\Default\Cookies
)
कुकिज चोरीको प्रक्रिया
-
सुरुमा ह्याकरले भौतिक रूपमा पहुँच बनाएर वा म्यालवेयर प्रयोग गरी तपाईँको कम्प्युटरमा पहुँच प्राप्त गर्छ ।
-
सम्बन्धित कुकिज फाइलहरू (जस्तै cookies.sqlite वा Cookies) कपी गर्छ ।
-
त्यसपछि उसले अर्को कम्प्युटरको ब्राउजरबाट तपाईँको सेसन प्रयोग गर्न सक्छ ।
-
ब्राउजरले ती कुकिज पढ्छ ।
-
र, ह्याकरले पासवर्ड वा टुएफए बिनै तपाईँको एक्टिभ सेसनलाई पुनः निर्माण गरी सिधा तपाईँको अकाउन्टमा प्रवेश गर्न सक्छ ।
४. मालवेयर र स्क्रिप्टेड आक्रमण
ह्याकरहरूले क्रोम, फायरफक्स र एज जस्ता ब्राउजरबाट कुकिज र पासवर्डहरू चोर्न मालवेयरको प्रयोग पनि उत्तिकै गर्ने गर्छन् । केही मालवेयर एन्टिभाइरस प्रोग्रामलाई बाइपास गर्न र चुपचाप तपाईँको डेटा ह्याकरलाई पठाउन सक्ने किसिमका हुन्छन् ।
यही कारणले गर्दा तपाईँले अनधिकृत, अज्ञात वा अपरिचित सफ्टवेयर कहिल्यै इन्स्टल गर्नु हुँदैन । खासगरी अनियमित वेबसाइट वा टोरेन्टहरूबाट सफ्टवेयर इन्स्टल गर्दा यस्तो जोखिम हुन्छ ।
टुएफएले किन कुकिज चोरीलाई रोक्न सक्दैन ?
टुएफएले त्यतिबेला मात्र काम गर्छ, जतिबेला कसैले तपाईँको अकाउन्ट युजरनेम र पासवर्ड राखेर लगइन गर्ने प्रयास हुन्छ । तर, ह्याकरले तपाईँको सेसन कुकिज पायो भने उनीहरूलाई लगइन गरिरहनु पर्दैन । सेसन आईडी हुने बित्तिकै वेबसाइटले त्यो व्यक्ति तपाईँ नै हो भन्ने ठान्छ र, लगइन गरिदिन्छ । त्यसैले कुकिज चोरीले पावसर्ड र टुएफए सहजै बाइपास गरिदिन्छ ।
उसो भए कुकिज चोरीबाट कसरी सुरक्षित रहने ?
-
विश्वसनीय ब्राउजर एक्सटेन्सनहरू मात्र प्रयोग गर्नुहोस् ।
-
अज्ञात सफ्टवेयर डाउनलोड वा इन्स्टल नगर्नुहोस् ।
-
टाढा हुँदा आफ्नो कम्प्युटर लक गर्नुहोस् ।
-
नियमित रूपमा आफ्नो कुकिज खाली गर्नुहोस्
-
नयाँ सुरक्षा जोखिमको बारेमा जानकारी राख्नुहोस् ।
-
भीपीएन बिना संवेदनशील लेनदेनको लागि सार्वजनिक वाईफाई प्रयोग नगर्नुहोस् ।
-
आफ्नो काम पुरा गरिसकेपछि एप्लिकेसनबाट साइन आउट गर्नुहोस् ।
-
कसैले कम्प्युटरको रिमोट एक्सेस मागेको छ भने त्यो व्यक्ति कत्तिको भरपर्दो र विश्वसनीय हो भन्ने यकिन गर्नुहोस् । जोकोहीले रिमोट एक्सेस मागेको छ भने भरसक नदिनुहोस् ।
-
यदि तपाईँ फेसबुक पेज चलाउनु हुन्छ भने केहीले तपाईँको पेज मेन्सन गर्दै पेज बन्द हुन लागेको र जोगाउन भन्दै युजर आईडी र कुकिज आईडी माग्छन् । त्यस्तोमा सेसन कुकिज नदिनुहोस् । कुनै पनि व्यक्तिलाई त्यस्तो सेसन कुकिज कपी गरेर उपलब्ध गराउने गल्ती पनि नगर्नुहोस् ।
-
यदि तपाईँ डेभलपर हुनुहुन्छ भने कुकिज दुरुपयोग रोक्न ‘HttpOnly’, ‘Secure’ र ‘SameSite’ जस्ता सुरक्षित कुकिज सेटिङहरू प्रयोग गर्न सक्नु हुन्छ ।
कुकिज चोरी एक डरलाग्दो साइबर आक्रमण हो, जुन प्रायः बेवास्ता गर्ने गरिन्छ । तपाईँ साइबर सुरक्षाका विषयमा जानकार हुनुहुन्छ, कडा पासवर्ड राख्नुहुन्छ, टुएफए अन गर्नुहुन्छ भने पनि चोरी भएको कुकिजले तपाईँको अकाउन्टमा पहुँच दिन सकिन्छ ।
यस्ता साइबर आक्रमणका घटनाबाट जोगिन बलिया पासवर्डहरू प्रयोग गर्नुहोस् र टुएफए (2FA) इनेबल गर्नुहोस् । तर यो पनि याद राख्नुहोस्: तपाईँका सेसन कुकिज तपाईँका पासवर्ड जत्तिकै महत्त्वपूर्ण छन् ।
(काठमाडौँ इन्जिनियरिङ कलेजबाट स्नातकमा कम्प्युटर इन्जिनियरिङ उत्तिर्ण लेखक गौतमले पुल्चोक क्याम्पसबाट कम्प्युटर सिस्टम र नलेज इन्जिनियरिङमा स्नातकोत्तर समेत पास गरेका छन् । यहाँ क्लिक गरी उनको लिंक्डइनमा रहेको अङ्ग्रेजी लेख समेत पढ्न सक्नु हुनेछ ।)
पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ ११:१७
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – जारी भएको दुई दशकसम्म पनि आधिकारिक कार्यान्वयनमा जान नसकेको आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ कार्यान्वयनमा आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लगेको प्रस्ताव वैशाख २ गतेको मन्त्रिपरिषद बैठकबाट पारित भए पछि बल्ल ऐन कार्यान्वयनमा गएको हो । यसले स्वास्थ्य मन्त्रालयले यसअघिको अनुसन्धानमा बालबालिकामा अधिक रुपमा पाइएको आयोडिन र त्यसबाट सिर्जित स्वास्थ्य समस्या समाधानमा काम अघि बढाउन कानुनी बाटो खुला गरेको छ ।
ऐन जारी भएको सूचना २०५५ माघ १ को राजपत्रमा प्रकाशन भए पनि ऐनमा राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिबाट प्रारम्भ हुने उल्लेख थियो । तर, त्यसयताका सरकारहरुले कार्यान्वयनका लागि राजपत्रमा सूचना प्रकाशन नगर्दा ऐन कानुनी रुपमा लागु भएको थिएन । जसका कारण ऐनको कार्यान्वयन तथा नियमनका लागि नियमावली तथा निर्देशिका बनाउन सकिएको थिएन । अब साढे २ दशकपछि मन्त्रालयलाई यस काम अघि बढाउन कानुनी बाटो खुला भएको छ ।
मंगलबारको मन्त्रिपरिषद बैठकले २०८२ साउन १ गतेबाट लागु हुने गरी राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरेको हो । बनेको २६ वर्ष पछि बल्ल ऐन कार्यान्वयनमा आउने भएको हो ।
नेपालमा विगतमा बनेको मापदण्डका कारण बालबालिकामा आवश्यकताभन्दा बढी आयोडिन उपलब्ध हुँदा गम्भीर स्वास्थ्य समस्या आएको मन्त्रालयले नै एक दशक अघि गरेको अनुसन्धानले देखाएको मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्र्तगतको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले बताए ।
सन् २०१६ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको सुक्ष्म पोषक तत्व विश्लेषण सर्वेक्षण गर्दा ६ देखि ९ वर्षका बाबालिकाकाको पिसाबमा ३०० माइक्रोग्राम प्रतिलिटर हुनुपर्नेमा तीन सय १४ भेटिएको थियो ।
जसका कारण उच्च रक्तचाप, थाइरोइडजस्ता समस्या देखिने गरेको चिकित्सक बताउँछन् ।
व्यवहारिक रुपमा अभ्यासमा आए पनि राजपत्रमा ऐनको शुरुवात तथा क्षेत्रसहितको विवरण प्रकाशनको सूचना नआएकाले यसले नियमावली तथा निर्देशिका आदि बनाएर देखिएको स्वास्थ्य समस्या समाधानमा समेत अड्चन आएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ‘अब स्वास्थ्य, कृषि तथा सम्बद्ध मन्त्रालय मिलेर मापदण्ड परिमार्जन वा अरु आवश्क काम गर्न सहज हुनेछ,’ उनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। सुनको मूल्य एकै दिन ३६०० रूपैयाँले बढेको छ। जसअनुसार बिहीबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार हुनेछ।
अघिल्लो दिन तोलामा १ लाख ८७ हजार रुपैयाँ कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदीको मूल्य पनि बढेको छ।
अघिल्लो दिन १९५५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य बिहीबार भने बढेर तोलामा १९६० रुपैयाँ पुगेको छ।
सामाग्री श्रोत :
काठमाडौँ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय र कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) बिच दीर्घकालीन सहकार्य गर्ने सम्झौता भएको छ । आइतबार विश्वविद्यालयका अध्यक्ष प्राडा राजेन्द्रध्वज जोशी र क्यान महासङ्घकी अध्यक्ष सुनैना पाण्डे घिमिरेले दीर्घकालीन सहकार्य अन्तर्गत पाँच वर्षीय सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता विश्वविद्यालयलाई डिजिटल प्रविधिसँग सम्बन्धित उद्योगसँग जोड्ने उद्देश्यले गरिएको विश्वविद्यालयका उपप्राध्यापक तथा जनसम्पर्क संयोजक डा. राजिव सुब्बाले बताए । उनका अनुसार विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको प्लेसमेन्ट (रोजगारी तथा इन्टर्नशिप) का लागि क्यान महासङ्घले सहयोग गर्ने गरी सम्झौता गरिएको छ । यस्तै डिजिटल प्रविधिसँग चासो राख्ने व्यक्तिहरूमाझ विश्वविद्यालयको प्रचार गर्ने सहमति पनि भएको छ ।
यस्तै क्यान महासङ्घका महासचिव चन्द्रविलास भुर्तेलले क्यानको माध्यमबाट जाने विद्यार्थीका लागि विश्वविद्यालयले छात्रवृत्तिमा विशेष प्राथमिकता दिने गरी सम्झौता भएको जानकारी दिए । नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को विकास र दक्ष जनशक्ति उत्पादनमा मिलेर काम गर्नका लागि यो सम्झौता गरिएको उनको भनाइ छ । उक्त सम्झौता मदन भण्डारी विश्वविद्यालयको आगामी शैक्षिक सत्रबाट नै लागु हुने बताइएको छ ।
आगामी २०२५ मे १६ बाट स्नातकोत्तरमा डिजिटल टेक्नोलोजी अन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स र डेटा साइन्सका कार्यक्रम विश्वविद्यालयले सुरु गर्दै छ । उक्त कार्यक्रमका लागि २१ जना विद्यार्थीका लागि कोटा तोकिएको छ ।
दुई वर्षको उक्त कोर्स पूरा गर्न तीन लाख रुपैयाँ शुल्क लाग्छ । तर विश्वविद्यालयले उक्त शैक्षिक सत्रमा विद्यार्थीहरूलाई कम्तीमा २५% देखि १००% सम्म छुट प्रदान गर्ने जनाएको छ । विश्वविद्यालयमा भर्ना हुन न्यूनतम योग्यता पुगेमा क्यान महासङ्घका तर्फबाट जाने विद्यार्थीलाई छुटमा विशेष प्राथमिकता दिने गरि सम्झौता भएको क्यानका महासचिव भुर्तेलले बताए ।
भर्नाका लागि २३ अप्रिल २०२५ सम्म आवेदनको समय तोकिएको छ । विश्वविद्यालयको छनोट भएका विद्यार्थीको नाम अप्रिल २६ मा प्रकाशित हुनेछ । scholarship.can.org.np मा गएर विद्यार्थीले आवेदन दिनसक्ने बताइएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ ८:५१
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – वर्षा भए संगै गएको हप्ताबाट घटेको काठमाडौँको वायु प्रदूषण आज पुनः बढेको छ । वल्ड एयर क्वालिटि इन्डेक्स (एक्यूआई)को बिहान साढे १० बजेको रेकर्ड अनुसार काठमाडौँको आईक्यूएयर १६६ रहेको छ । जुन स्वास्थ्यका हिसाबले एकदमै नराम्रो मानिन्छ ।
आज विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा बंगलादेशको राजधानी ढाका रहेको छ । जहाँको एक्यूआई १७५ रहेको छ । तेस्रोमा सेनेगलको डकार (१५६) रहेका छन् ।
० देखि ५० सम्मको एक्यूआईलाई मात्र स्वास्थ्यका हिसाबले स्वच्छ मानिन्छ । तर आज काठमाडौँमा प्रदूषणको मात्रा तेब्बरले बढेकाले स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् । अत्यावश्यक काम बाहेक घर बाहिर नजान, बाहिर निश्किदा मास्क प्रयोग गर्न सुझाव दिएका छन् । आज काठमाडौँको आकाश बिहानै देखि बादल तथा तुवालोले भरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ









