
काठमाडौँ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिभिजनको आधिकारिक युट्युब च्यानल डिलिट भएको पाइएको छ । बारम्बार कपीराइट अर्थात् प्रतिलिपि अधिकार उल्लङ्घन गरेपछि लाखौँ सब्सक्राइबर भएको युट्युब च्यानल टर्मिनेट (हटेको) भएको हो ।
हाल नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण संस्था अन्तर्गत सञ्चालित छ । जसको मुख्य युट्युब च्यानल प्रादेशिक च्यानलले समेत प्रयोग गर्दै आइरहेका छन् । यसै क्रममा कोहलपुर प्रसारणका कर्मचारीले राखेको भिडिओका कारण युट्युब च्यानल डिलिट भएको बताइएको छ ।
८ लाखभन्दा बढी सब्सक्राइबर रहेको नेपाल टेलिभिजनको मुख्य युट्युब च्यानलमा ८ हजार ४०० भन्दा बढी भिडिओ अपलोड गरिएका थिए । ती सबै भिडिओ समेत च्यानलसँगै गायब भएका छन् । पुरानो युट्युब च्यानल डिलिट भएपछि मार्चदेखि सोही नाममा नयाँ युट्युब च्यानल खोलिएको छ ।
संस्थाका अध्यक्ष महेन्द्र विष्टले कोहलपुर प्रसारणबाट भुलवश अल जजिराको भिडिओ अपलोड भएको र त्यसैमा कपीराइट लागेको बताए । अल जजिरा कतारको न्युज टेलिभिजन नेटवर्क हो, जुन मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रको सबैभन्दा ठुलो न्युज नेटवर्क मानिन्छ ।
नेपाल टेलिभिजनको डिजिटल प्लेटफर्म हेर्ने जिम्मेवारी प्राप्त डीजीएम चिन्तामणि बरालले युट्युब च्यानल फिर्ता ल्याउने प्रयासमा अल जजिराले नै समस्या खडा गरेको दाबी गरे । “यसका लागि हामीले सञ्चार मन्त्रालयबाट परराष्ट्र मन्त्रालय, कतारको दोहा स्थित राजदूत मार्फत अल जजिरालाई पत्राचार गरेका थियौँ,” उनले भने, “तर पनि उसले अझै खोलिदिएको छैन ।”
कोहलपुर स्टेसनले छुट्टै समाचार सामग्री तयार पारेको नभई टेलिभिजनमा प्रसारण भएको भिडिओ सामग्रीलाई नै युट्युब च्यानलमा राखेको बरालले बताए । “त्यस दिन अल जजिराबाट लिइएका ३ ओटा भिडिओ कन्टेन्ट हाम्रो युट्युब च्यानलमा अपलोड भएका रहेछन् । टेलिभिजनमा जे गयो, त्यही नै युट्युबमा पनि अपलोड भयो । त्यसपछि उनीहरू (अल जजिरा) ले युट्युबलाई कम्प्लेन गरेपछि हाम्रो च्यानलमा समस्या आयो,” उनले भने ।
च्यानल डिलिट हुनु अघि कुनै वार्निङ समेत नदिइएको दाबी गर्दै बरालले सरकार मार्फत जाँदा पनि अल जजिराले प्रतिक्रिया नदिएको सुनाए । तर युट्युबसँग भने अहिलेसम्म कुनै पनि कुराकानी नभएको उनको भनाई छ ।
नेपाल टेलिभिजनको आधिकारिक युट्युब च्यानल बन्द भएको केही महिनापछि मात्र बराल डिजिटल प्लेटफर्म हेर्ने जिम्मेवारीमा आएका हुन् । त्यसो त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार एजेन्सीबाट भिडिओ सामग्री खरिद गर्न नेपाल टेलिभिजनका लागि सरकारबाटै बजेट आउँछ । तर आधिकारिक तवरमा न्युज एजेन्सी मार्फत नभई लापरवाहीपूर्वक अन्य माध्यमबाट विदेशी सञ्चार माध्यमका भिडिओ सामग्री प्रयोग गर्दा युट्युब च्यानल नै डिलिट हुन पुगेको हो ।
तर युट्युबले च्यानल डिलिट गर्नु अघि वार्निङ नै नदिने भन्ने चाहिँ हुँदैन । यहाँनिर कपीराइट उल्लङ्घनमा कसरी युट्युब च्यानल डिलिट हुन सक्छ भन्ने बारेमा बुझ्नुपर्ने हुन्छ ।
कपीराइट स्ट्राइकले कसरी डिलिट हुन्छ, युट्युब च्यानल ?
युट्युबमा कन्टेन्ट क्रियटरहरूका लागि कपीराइट स्ट्राइक एउटा डरलाग्दो विषय हुन सक्छ । यो एक औपचारिक चेतावनी हो, जुन सम्बन्धित सामग्री (म्युजिक, भिडिओ वा तस्विर) को कपीराइट अर्थात् प्रतिलिपि अधिकार भएको व्यक्ति वा संस्थाले दिने गर्छ । खासगरी अरू कसैले अपलोड गरेको भिडिओले आफ्नो अधिकार उल्लङ्घन गरेको लागेमा ओरिजिनल क्रियटरहरूले यस्तो एक्सन लिने गर्छन् ।
युट्युबले भ्यालिड कपीराइट रिमुभल रिक्वेस्ट प्राप्त भएको खण्डमा त्यस्ता भिडिओ हटाउँछ र कपीराइट स्ट्राइक जारी गर्छ । यदि ९० दिनभित्र तीन ओटा एक्टिभ कपीराइट स्ट्राइक प्राप्त भएमा युट्युबले त्यस्तो अकाउन्ट बन्द गर्छ र त्यसमा रहेका सबै भिडिओ हटाउँछ । साथै नयाँ च्यानल बनाउनबाट समेत रोक्छ ।
कपीराइट स्ट्राइक र कन्टेन्ट आईडी
युट्युबको स्वचालित सिस्टमले अपलोड हुने भिडिओमा कपीराइट सामग्री पत्ता लगाएमा कन्टेन्ट आईडी दाबी हुन्छ । यसले सामान्यतया त्यस्ता युट्युब च्यानलमा सोझै कुनै जरिबाना भने लाग्दैन । बरु, कपीराइट धनीले त्यस्तो भिडिओबाट पैसा कमाउने, पर्फमेन्स ट्य्राक गर्ने वा निश्चित देशहरूमा वा विश्वभर उक्त सामग्री हेर्नबाट रोक्ने जस्ता विकल्पहरू रोज्न सक्छन् ।
कन्टेन्ट आईडी दाबीका कारण भिडिओमा कपीराइट लागे पनि त्यसलाई सोझै हटाइँदैन । यद्यपि, बारम्बार गरिएका कन्टेन्ट आईडी दाबीका कारण मनिटाइजेसनको योग्यतामा भने नकारात्मक असर पार्न सक्छ।
कपीराइट स्ट्राइक भनेको चाहिँ कपीराइट धनीले औपचारिक उजुरी दर्ता गर्दा युट्युबले उल्लङ्घन कर्ता च्यानलमाथि गर्ने कारबाही हो । यस्तो अवस्थामा भने अकाउन्टमाथि सोझै पेनाल्टी लाग्छ । यदि कुनै च्यानल कपीराइट स्ट्राइकका कारण बन्द भयो भने, त्यसमा रहेका सबै सामग्री र च्यानल सुविधाको पहुँच गुमाउनु पर्ने हुन्छ ।
युट्युब च्यानल कपीराइट स्ट्राइकका कारण डिलिट (टर्मिनेट) भइसकेपछि त्यसलाई फिर्ता ल्याउनु चुनौतीपूर्ण भए पनि असम्भव भने छैन । यसका लागि समस्याको पहिचान गरेर औपचारिक अपिल दर्ता गर्ने, ध्यानाकर्षण गराउने आदि प्रक्रियामा जान सकिन्छ ।
कपीराइट स्ट्राइकबाट कसरी बच्ने ?
कपीराइट स्ट्राइकबाट बच्नका लागि रोयल्टी-फ्री सामग्री प्रयोग गर्न सकिन्छ । कपीराइट धनीबाट स्पष्ट अनुमति लिने र उचित प्रयोग (fair use) का नियमहरू बुझ्नुपर्ने हुन्छ । यदि युट्युब च्यानलमा स्ट्राइक आएमा ९० दिनको म्याद सकिन दिनु राम्रो हुन्छ, त्यस अवधिमा थप स्ट्राइक नलाग्नेतर्फ सचेत रहनु पर्छ । यसका लागि युट्युबको ‘कपीराइट स्कुल’ पूरा गर्नुपर्ने हुन्छ ।
वैकल्पिक रूपमा काउन्टर नोटिफिकेसन (counter notification) पेस गर्न वा कपीराइट दाबीकर्तालाई सिधै सम्पर्क गरेर स्ट्राइक फिर्ता लिन अनुरोध गर्न सकिन्छ । काउन्टर नोटिफिकेसन ईमेल, फ्याक्स अथवा पोस्टल मेलबाट पनि पठाउन मिल्छ । काउन्टर नोटिफिकेसनको बारेमा थप जानकारीका लागि यहाँ क्लिक गर्नु होस् ।
पछिल्लो अध्यावधिक: असार २३, २०८२ १६:४१
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– सम्पत्ति शुद्धिकरण मुद्दा खेपिरहेका बाराका युनुस अन्सारी १५ लाख धरौटी तिर्न नसकेर कारागार चलान भएका छन् ।
नेपाल अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा जिल्ला अदालत काठमाडौंमा न्यायाधीश बलराम लम्सालको एकल इजलासले सोमबार भएको थुनछेक बहसपछि १५ लाख धरौटी दिन आदेश दिएपछि उक्त धरौटी रकम तिर्न नसकेर अन्सारी कारागार कार्यालय कारागार चलाउन भएका हुन् ।
अन्सारी नक्कली भारतीय नोट प्रकरणमा दोषी ठहर भएपछि ललितपुरको नख्खु कारागारमा ६ वर्षको कैद सजाय भुक्तान गरी आइतबार छुट्ने क्रममा थिए । तर उनी रिहा हुने भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धानका लागि उपस्थित गराइदिन कारागार व्यवस्थापन विभागलाई बुधबार नै पत्राचार गरिसकेको थियो ।
त्यही पत्रका आधारमा कारागारबाट रिहा भए लगत्तै अन्सारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो ।
अन्सारी पहिलो पटक २०६६ मा पुस १३ मा २५ लाख ४४ हजार ५ सय भारतीय जाली नोटसहित पक्राउ परेका थिए । उनी अर्को महिना माघ १७ मा कारागार चलान भएका थिए । त्यति बेला उनी नेसनल टेलिभिजनका अध्यक्ष थिए ।
२०६७ असोज ६ मा पुनः ४० लाख ९१ हजार जाली नोट बरामद हुँदा पनि अन्सारी जोडिएका थिए । त्यसपछि करिब ५ वर्ष कैद सजाय भुक्तान गरेर उनी २०७० असोज १८ मा छुटेका थिए ।
तेस्रो पटक २०७० माघ १० मा पुनः ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका अन्सारी फेरि सजाय भुक्तान गरेर छुटेका थिए । २०७६ जेठ १० मा पुनः ७ करोड ६७ लाख ९४ हजार भारतीय जाली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परेका थिए ।
त्यसपछि उनलाई अदालतले दोषी ठहर गर्दै ६ वर्ष कैद, ६० हजार जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । त्यही कैद सजाय उनले भर्खरै पुरा गरेका थिए ।
अन्सारी भारतीय आपराधिक गिरोहको निसानामा पर्दै आएका छन् । केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका बेला समेत अन्सारीमाथि भारतीय सुटर मनमित सिंह भनिने मनमित भाटियाले २०६७ फागुन २६ मा गोली हानी हत्या प्रयास गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । त्रिशूली नदीमा यात्रुसहितको बस खसेको र मानिसहरू बेपत्ता भएको भन्दै भाइरल भइरहेको भिडिओ एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिबाट बनाएको पाइएको छ । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्तालाई झुक्याउने उक्त भिडिओको फ्याक्टचेकका क्रममा टेकपानाले यस्तो निष्कर्ष निकालेको हो ।
भिडिओमा जङ्गलसँगै रहेको पक्की सडकबाट यात्रुबस खोलामा खसेको दृश्य देखिन्छ । बसको छतमा यात्रुहरू भरिभराउ देखिन्छन् र खोलामा आएको बाढीले बस पल्टिन लागिरहेको जस्तो लाग्छ । बाढीले बगाएका रुख तथा काठहरू पनि खोलामा थुप्रिएका छन् । सडक छेउमा उभिएको भिड रमिते जसरी उक्त दृश्य हेरिरहेको देखिन्छ ।
करिब पाँच सेकेन्ड लामो उक्त भिडिओलाई त्रिशूली नदीमा भएको दुर्घटनाको रूपमा दाबी गर्दै भाइरल बनाइएको छ । तर, टेकपानाले तथ्यजाँच गर्दा भिडिओ एआईबाट सिर्जना गरिएको पुष्टि भएको हो ।
दाबी
“समिर प्रिन्स” नामक फेसबुक प्रयोगकर्ताले त्रिशूलीमा बस खसेर १५ जना बेपत्ता भएको र बाँकीको उद्दार हुँदैछ भन्ने दाबी सहितको उक्त भिडिओ सार्वजनिक गरे । २ जुलाईमा राति ७:५९ मा फेसबुक रिलमा सार्वजनिक उक्त भिडिओमा यो सामाग्री तयार पार्दासम्म ९ लाख ६५ हजार भन्दा धेरै भ्युज आइसकेको छ । जसमा ६ हजार बढी लाइक छन् ।
उक्त रिल्सको क्याप्सनमा लेखिएको छ, “त्रिशूलीमा बस खसेर धेरै जना बेपत्ता भएका छन् ।” हेर्नुहोस् भिडिओ, अर्काइभ लिंक, अनि तलको फोटो ।

अनुसन्धान
झट्ट हेर्दा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सहजै झुक्याउने दाबी सहितको भिडिओ देखेपछि हामीले उक्त भिडिओबाट विभिन्न कि फ्रेम निकालेर गुगर रिभर्स इमेज सर्चमार्फत अन्य भिडिओहरू खोज्यौँ । यसै क्रममा सामाजिक सञ्जाल फेसबुकमै “आयुज अलिजेह फ्यान” नामक पेजमा समिर प्रिन्स भन्दा तीन दिन पहिला सार्वजनिक भएको सोही भिडिओ फेला पर्यो ।
१५ असार (२९ जुन) बिहान ११:५६ मा सार्वजनिक उक्त भिडिओ यो सामग्री तयार पार्दा सम्म २ लाख ४५ हजार पटक हेरिएको छ । भिडिओको क्याप्सन छ, “ठुलो बस नदीमा खस्नुभन्दा केही सेकेन्ड अगाडि ! तीव्र धाराले सवारी साधन र यात्रुहरूलाई तानेर लैजान्छ!” यद्यपि उक्त पेजमा भिडिओ कहाँको हो भनेर दाबी गरिएको छैन । “आयुज अलिजेह फ्यान” नामक फेसबुकबाट सार्वजनिक भिडिओ, अर्काइभ लिङ्क र अनि तल फोटो ।

अनुसन्धानका क्रममा पछिल्ला हप्ताहरूमा उक्त भिडिओ भारतका विभिन्न ठाउँको भन्दै दाबी गरिएका कयौँ युट्युब भिडिओ पनि फेला परे ।

सबैभन्दा पुरानो भिडिओ खोज्दै जाने क्रममा ‘डिजास्टर स्ट्रक’ नामक इन्स्ट्राग्राम अकाउन्ट फेला पर्यो । जसमा २८ जुनको मितिमा उक्त भिडिओ राखिएको रहेछ । हामीले यसभन्दा पुरानो मितिमा यो भिडिओ सार्वजनिक भएको चाहिँ फेला पार्न सकेनौँ ।

भिडिओमा प्रयोग गरिएको आवाजको ‘ओरिजनल साउन्ड’ मा क्लिक गर्दा सोही भिडिओ फरक फरक अकाउन्टमा पनि राखिएको फेला पर्छ । जहाँ केही अकाउन्टले राखेको उक्त भिडिओमा “invideo” को मार्किङ देख्न सकिन्छ। इन्भिडिओ एउटा सफ्टवेयर हो, जसले स्क्रिप्ट दिएपछि एआई भिडिओ तयार पारिदिन्छ ।

त्यस बाहेक हामीले भिडिओलाई विभिन्न तार्किक आधारमा विश्लेषण गर्यौँ । त्रिशूली नदी आसपासको अधिकांश क्षेत्र पृथ्वी राजमार्ग अन्तर्गत पर्दछ । अचेल नेपाली राजमार्गमा छतमा यात्रु लिएर बस चलेको कुरा आफैँमा अस्वाभाविक हो । त्यस बाहेक भिडिओमा कयौँ मानिसहरू जम्मा भएपनि यात्रुहरूको मद्दत गरिरहेका देखिँदैनन् । विपद्को समयमा पनि चुपचाप खासै नआत्तिई बसेका देखिन्छन् ।
भिडिओबाट निकालिएका विभिन्न कि फ्रेमबाट तस्बिरलाई जुम गरेर हेर्दा उक्त भिडिओमा भएका असामान्य क्रियाकलापहरू खुल्छन् । यहाँ तल हामीले गरेका केही विश्लेषण हेरौँ:



यस्तै एआई भिडिओ डिटेक्सन टुल ‘हाइभ मोडेरेसन’ मार्फत उक्त भिडिओ एआई निर्मित हो वा होइन भनेर जाँच गर्दा ७५% एआईद्वारा निर्मित देखायो ।

दाबी
त्रिशूलीमा बस खसेर १५ जना बेपत्ता भएको र बाँकीको उद्दार हुँदै भनेर भिडिओ सार्वजनिक ।
दाबीकर्ता
‘समिर प्रिन्स’ नामक फेसबुक अकाउन्ट लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
यात्रुसहित बसलाई बाढीले बगाएको भनेर भाइरल भइरहेको भिडिओ एआई निर्मित हो ।
निष्कर्ष
त्रिशूली नदीमा यात्रुसहितको बस खसेर १५ जना बेपत्ता भएको दाबी सहित सामाजिक सञ्जालमा भाइरल भिडिओ वास्तविक नभई एआई निर्मित हो । यात्रु वाहक बसको छतमा यात्रुहरू देखिनु, भिडिओमा देखिएका व्यक्तिहरूको चालढाल सबै असामान्य छ ।
भिडिओका विभिन्न कि फ्रेम निकालेर विश्लेषण गर्दा यस अघि नै विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताले यही भिडिओ राखेको पाइयो । साथै एआई भिडिओ डिटेक्सन टुल ‘हाइभ मोडेरेसन’को परीक्षणमा समेत सो भिडिओ ७५% एआई निर्मित रहेको देखिएको छ ।

प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: असार २३, २०८२ १७:५
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य सहयोगले मात्रै देश विकास नहुने बताएका छन्।
नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले बाह्य सहयोगले मात्रै देश विकास हुने नभएर देश आफ्नै पौरखले विकास हुने बताए। उनले नेपाल पौरखी जनता भनेर दुनियाँमा प्रसिद्ध देश भएको जिकिर गरे।
अरुले सहयोग नगर्दा पनि चीन जस्तो जनसंख्या र भूगोलले ठूलो भएको देश बन्ने तर नेपाल नबन्ने भन्ने नहुने बताए।
प्रधानमन्त्री ओलीले भने, ‘पौरखी जनता भनेर दुनियाँमा प्रसिद्ध देश नेपाल हो। कामकै लागि तीन मिलियन मान्छे बाहिर छन्। अरुले सहयोग गरेनन् भन्ने हो भने चीन जत्रो देश सबैभन्दा ठूलो जनसंख्या, भूगोल भएको देश हो। चीनको विकास हुने, जुन देशका जनतालाई एक छाक खाना खाने सहयोग कसैले गर्न सक्दैन, डेढ अर्बलाई खाना कसले खुवाउन सक्छ। आफैँ खानेबाहेक अरुले खुवाइदिन त सम्भव नै छैन।’
त्यस्तै उनले भगवान् रामको जन्म भएको यथार्थ भन्न डराउनु नपर्ने बताएका छन्।
उनले भने, ‘हामी पर्यटनका कुरा गर्छौं तर नेपालमा राम जन्मिएका, अन्त कसैले भन्नुपर्यो नि, त्यत्तिकै कथा हालेर हुन्छ फलानु ठाउँमा जन्मिएको भनेर …।’
उनले थपे, ‘राम जन्मिएका नेपालमा हो। नेपालको भूमिमा पर्छ त्यो ठाउँ। उतिबेला पनि नेपालमै थियो भन्दिनँ म। के थियो के थिएन। … अहिले त्यो भूभाग नेपालमा पर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । नेपालमा ‘ओमोडा एन्ड जेइको’ को आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ‘देशव्यापी मनसुन चेकअप क्याम्प’ सुरु गर्ने भएको छ । यो वर्षाको समयमा गाडीलाई थप हेरचाह आवश्यक पर्ने हुँदा कम्पनीले देशव्यापी रूपमा यो क्याम्प सञ्चालन ल्याउने भएको हो ।
आउँदो बुधबार अर्थात् यही असार २५ गतेबाट सञ्चालन हुने असार २७ गतेसम्म चल्नेछ । यस अवसरमा ग्राहकले आफ्नो ईभी निःशुल्क चेकअप गराउन सक्ने छन् । यसका साथै विभिन्न सेवा सुविधि समेत पाउन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस क्याम्पको उद्देश्य ओमोडा र जेइको ब्रान्डका ग्राहकलाई बर्खा याममा गाडीमा आउन सक्ने चुनौतीहरू पहिचान गरी त्यसलाई मर्मत गर्नु हो । यो क्याम्पमा ग्राहकले सर्भिस र ब्रेक प्याडको लेबर चार्जमा शत प्रतिशत छुट प्राप्त गर्नेछन् ।
यसका साथै टप वाशमा समेत शत प्रतिशत छुट उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यस्तै सस्पेन्स लगायतका अन्य पार्टहरूको परिवर्तनको लेबर चार्जमा ५० प्रतिशत छुट प्राप्त हुनेछ । गाडीमा भएका सानोतिना स्क्र्याचहरूको मर्मतमा १० प्रतिशत र स्पेयर पार्टमा १० प्रतिशत छुट पाउन सकिने उल्लेख छ ।
कम्पनीका अनुसार यो चेकअप क्याम्प देशभरका १२ ओटा विभिन्न आधिकारिक चेकपोइन्टहरूमा सञ्चालन हुनेछ । जसअनुसार उपत्यका भित्र सीतापाइला स्थित एसपीजी अटोमोबाइल्स र भक्तपुरको परिवार कार क्लिनिकमा यो सेवा उपलब्ध हुनेछ । उपत्यका बाहिर वीरगन्जको दर्शी अटोमोबाइल्स, बुटवलको सिद्धिविनायक मोटर्स, नेपालगन्जको देवमङ्गल इन्जिनियरिङ रहेका छन् ।
यसका साथै चितवनमा युनाइटेड अटो कन्सर्न, धनगढीमा नवदुर्गा टेक्नोलोजी, पोखराको एलिट मोटर्स, इटहरीको पाथिभरा अटो, बिर्तामोडको ओपी इन्टरनेसनल, दाङको एनएल मोटो कर्प र सुर्खतको बुटवल भेराइटीमा यो सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार २३, २०८२ १५:५५
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेकपा एमालेका सांसद सूर्य थापाले कारागारमा रहेका एक व्यक्तिको याचनापत्र अनुसार नाटकीय हस्ताक्षर अभियान जारी रहेको टिप्पणी गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्।
‘एउटा नाटकीय हस्ताक्षर अभियान जारी छ। ७ असार २०८२ मा नै भैरहवा कारागारमा पूर्पक्षमा रहेका एक जना व्यक्तिको नाममा १५ पृष्ठको अपिल जारी गरिएको छ। त्यसलाई मैले याचना पत्र भनेको छु’ उनले भने, ‘त्यो याचनापत्रसहित अहिले हस्ताक्षर अभियान जारी छ।’
उनले थपे, ‘सर्वोच्च, उच्च र जिल्ला अदालतमा आधा दर्जन भन्दा बढी मुद्दा चलिरहेका छन्। त्यसलाई प्रतिशोध भन्ने कि राजनीति, प्रतिशोध भन्दै अहिले हस्ताक्षर भएको छ त्यो खासमा राजनीति हो।’
रास्वपा र सभापति लामिछानेप्रति लक्षित गर्दै उनले हस्ताक्षर अभियानलाई राजनीतिक प्रचार र प्रोपोगाण्डा भएको बताए।
‘राजनीतिक प्रोपोगाण्डा हो, राजनीतिक प्रचार हो र आफ्नो रोटी सेक्ने उपक्रम हो। सर्वोच्च अदालतबाट समेत त्यसबारेमा जुन आदेश भएको छ, त्यो आदेशलाई हस्ताक्षरले बदल्न सक्दैन,’ उनले भने, ‘अदालतले हस्ताक्षरको संख्या हेरेर होइन, रिट निवेदनका साथ संलग्न तथ्य, प्रमण, बहस, पैरवी र तथ्यका आधारमा अदालतले निर्णय गर्दछ। यो कुरा हेक्का राख्न आग्रह गर्न चाहन्छु।’
सांसद थापाले जान्नेलाई छान्ने भनेर चुनावबाट सांसद भएकाहरुको उपस्थितिमा अदालतको आदेश बर्खिलाप हुनेगरी क्रियाकलाप भइरहेको टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं, प्रतिनिधिसभाकी सांसद रमा कोइरालाले गन्तव्य मुलुकमा रहेका नेपाली दूतावासहरुमा कर्मचारीको अभाव रहेको भन्दै दूतावासमा कर्मचारी बढाउन आग्रह गरेकी छन् । उनले कम्तीमा द्धिपक्षिय श्रम सम्झौता गरिएका मुलुकहरुमा अवस्थित नेपाली दूतावासमा एकजना डाक्टर र एकजना वकिल राख्न सके धेरै नेपाली श्रमिकले त्यसबाट लाभ पाउने धारणा राखिन् ।
प्रतिनिधिसभाको सोमवारको बैठकमा बोल्दै सांसद कोइरालाले भनिन्, “अर्थमन्त्री यहि हुनुहुन्छ, जति खर्च भएपनि त्यति गरौं । यसले दूतावासको कामलाई प्रभावारी बनाउँछ ।” उनले हालै आफू मलेसिया भ्रमणमा गएर फर्केको जानकारी गराउँदै हाल मलेसियास्थित नेपाली दूतावासमा २१ जना कर्मचारीहरु कार्यरत रहेको तर उनीहरुलाई वैधानिक रुपमा कार्यरत ४ लाख भन्दा बढी श्रमिक र अवैधानिक रुपमा बसिरहेका थप श्रमिकको समस्या सम्वोधन गर्न हम्मेहम्मे परिरहेको जानकारी गराइन् ।
उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारमा जाने श्रमिकले पैसा जम्मा गरेपनि गन्तव्य मुलुकका रोजगारदाताले भनें रकम जम्मा नगरिरहेको भन्दै यसका लागि श्रम मन्त्रालयले कुटनीतिक पहल गर्नुपर्ने धारणा राखिन् । उनले भनिन, “हाम्रा श्रमिकले त पैसा जम्मा गर्ने गरेका छन्, त्यहाँ (गन्तव्य मुलुक) को रोजगारदाताले त जम्मा गर्दैनन् । हामीले हाम्रो बार्गेनिङ पावर बढाउनु पर्दछ ।”
उनले स्वास्थ्य परीक्षणमा नेपालमा नै सिण्डीकेट रहेको भन्दै गन्तव्य मुलुकमा रोजगारी दिन नसकेपछि सप्लाई कम्पनीले पुनः स्वास्थ्य परीक्षण गराइ जानाजान फेल बनाएर फर्काइने गरेको दावी गरिन् । उनले राज्यको नीति फ्रि भिसा फ्रि टिकट रहेपनि रोजगारीका लागि मलेसिया जाने श्रमिकले ३ देखि ५ लाखसम्म तिर्नु परिरहेको भन्दै यसमा राज्यले अनुगमन कडा बनाउनु पर्ने माग राखिन् ।
मलेसियामा कार्यरत सुरक्षा गार्डहरुले महिनामा ३० दिन हरेक दिन १५ घण्टा उभिएर काम गर्नुपरिरहेको भन्दै उनले त्यसवापत उचित ज्याला नपाएको बताइन् । त्यति समय काम गर्दा ३३ सय रिंगिटसम्म तलव हुनुपर्ने भन्दै तर १५ सय देखि २ हजार रिंगिटमा काम गर्न उनीहरु बाध्य रहेको उनको भनाई थियो । सप्लाई कम्पनी मार्फत जानेहरुले दुःख पाइरहेको भन्दै उनले त्यसरी पठाउने काममा नेपालका मेनपावर (कम्पनी) हरु नै संलग्न रहेको र सो ठगिको जालोमा संलग्नहरुलाई राज्यले अनुगमन गरि नियन्त्रण गर्नुपर्ने धारणा राखिन् ।
संसदमा बोल्दै सांसद कोइरालाले भनिन्, “नेपालमा त मैले सुनेको थिएँ मिटर व्याजी छन् भनेर तर विदेशमा पनि मिटर व्याजीहरु रहेछन् । त्यसलाई कसरी नियन्त्रण गर्ने हो ? ति मिटर व्याजीबाट कसरी हाम्रा श्रमिकलाई जोगाउने हो संसदमा छलफल हुनु पर्दछ ।”
सामाग्री श्रोत :
deshparadesh
काठमाडौँ । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले एउटा सङ्ग्रहालय स्थापना गरेको छ । कम्पनीले नेपालको इन्टरनेट विकासको इतिहास र आफ्नो सङ्घर्षपूर्ण यात्रालाई जीवन्त राख्ने उद्देश्यले सोमबारदेखि ‘वर्ल्डलिंक सङ्ग्रहालय’ सञ्चालनमा ल्याएको हो ।
यो सङ्ग्रहालय ललितपुरको कुसुन्तीस्थित वर्ल्डलिंकको मुख्य कार्यालयमा रहेको छ । उक्त सङ्ग्रहालयमा वर्ल्डलिंकले आफ्नो स्थापना कालदेखि हालसम्म प्रयोगमा ल्याएका विभिन्न प्रविधि र उपकरणलाई प्रदर्शनमा राखेको छ । यसमा डायल-अप, भी-स्याट, वायरलेस, केबुल इन्टरनेटदेखि फाइबर-टु-द-होम (एफटीटीएच) सम्मका उपकरणहरू रहेका छन् ।
यीमध्ये अधिकांश प्रविधि अहिले प्रयोगमा नरहे पनि तिनले नेपालको इन्टरनेट इतिहासका महत्त्वपूर्ण चरणहरूलाई प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ । वर्ल्डलिंकले यो सङ्ग्रहालयलाई अध्ययन, अवलोकन र अनुसन्धानको साझा थलो बन्ने विश्वास लिएको छ ।
“हाम्रो यो कदमबाट नेपालमा सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थी, अनुसन्धानकर्ता, इतिहासविद्, लेखक तथा सञ्चारकर्मी लगायतलाई विगतका प्रविधिहरू अवलोकन गर्न, सिक्न र बुझ्न सहयोग पुग्नेछ,” कम्पनीले भनेको छ ।
यसले भविष्यमा नेपालको इन्टरनेट प्रविधिको क्रमिक विकास बुझ्न महत्त्वपूर्ण आधार प्रदान गर्ने कम्पनीको विश्वास छ ।
पछिल्लो अध्यावधिक: असार २३, २०८२ १५:७
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको क्षतिपूर्तिको फैसलाप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ।
संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो।
आन्दोलनका कारण बिरामीको बिचल्ली भएको छ। वीर अस्पतालमा पनि आन्दोलनको असर परेको छ।
आकस्मिक बाहेकका सेवा बन्द भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामीहरू फर्कन बाध्य भएका छन्।ओपीडी बन्द हुँदा टाढा टाढाबाट आएका बिरामी बढी समस्यामा परेका छन्।
उनीहरूलाई खान-बस्नकै समस्या भएको छ। आन्दोलन कहिलेसम्म चल्ने टुङ्गो नहुँदा उनीहरू अन्योलको स्थितिमा छन्।
चिकित्सकीय अभ्यास सम्बन्धी मुद्दामा उपभोक्ता अदालतले गरेको फैसलाले मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको उनीहरूको भनाइ छ। विभिन्न अस्पतालविरुद्ध परेको मुद्दामा उपभोक्ता अदालतले अस्पताल र उपचारमा संलग्न चिकित्सकलाई क्षतिपूर्ति भराउन आदेश दिएको थियो।
उक्त आदेशको विरोध गरेको भन्दै संघका महासचिवलाई समेत अवहेलना गरेको मुद्दामा कारण देखाऊ भएको थियो। त्यसपछि संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवले मधेस आज नभए भोलि अलग हुने अभिव्यक्ति दिएका छन्।
नेपाल प्रहरीको खोजी सूचीमा रहेका यादवले एक भिडियो सन्देश जारी गर्दै सो कुरा बताएका हुन्।
उनले नेपालका शासकमा नश्लीय चिन्तन रहेको आरोप लगाएका छन्। मधेशीलाई दोस्रो नागरिकको दर्जा दिइएको भन्दै उनले मधेश अलग हुन आवश्यक रहेको भनेर आफूले पटक-पटक सोंचेको बताएका छन्।
पूर्वसांसद यादवले भिडियो सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘मधेश कुनै न कुनै समय अलग हुन्छ। म रहुँ वा नरहुँ।’
‘जय बिहार, जय नेपाल, जय भारत’ भनेर भिडिओ सन्देश सुरु गरेका यादवले आफूलाई पक्राउ गर्नबाट जोगाउन भारतीय प्रहरी अधिकारीहरुसँग याचना पनि गरेका छन्।
उनले बिहारका सम्पूर्ण जनता, बिहारका सबै राजनीतिक दलका जनप्रतिनिधिहरू, नेतागण, बिहारका सम्पूर्ण प्रहरी अधिकारी र प्रहरीकर्मी प्रशासनलाई अपिल गरेका छन्।
उनले भनेका छन्– ‘भारतमा नेपालका आन्दोलनकारीहरूलाई शरण मिल्दै आएको छ। सुरुदेखि नै हरेक विभिन्न किसिमका आन्दोलन भए। र आन्दोलनकारी कोही अपराधी वा हत्यारा होइनन्। तर स्थानीय स्तरमा सर्लाहीका एसपी र डीएसपी गुण्डागर्दी गर्दै भारतीय सेवा क्षेत्रमा, सीमावर्ती इलाकाका मानिसहरूलाई गलत आरोप लगाएर हामीले गलत काम गर्यौँ, हाम्रा आफन्तहरू‘ मेरा आफन्तका घरमा गएर छापा मारे। र छापा मारिरहेका छन् अहिलेसम्म। अतः म बिहार सरकारसँग आग्रह एवं बिहारका सबै मानिसहरू तथा जनप्रतिनिधि र प्रहरी प्रशासनसँग आग्रह गर्दछु कि यो विदेशको मामला हो र राजनीतिक मामला हो। र हामीहरू आन्दोलनको लडाइँ अहिलेसम्म लडिरहेका छौँ। जनताको लडाइँ लडिरहेका छौँ। भारतमा हाम्रो शरण स्थल छ। भारतको हामीलाई समर्थन मिल्नुपर्छ, मिलेको छ।’
प्रहरी स्रोतका अनुसार यादव भारततर्फ फरार भइसकेका छन्। यद्यपि, आइतबार उनले सामाजिक सञ्जालमार्फत आफू फरार नभएको र छोराको उपचारको लागि आएको दाबी गरेका थिए। सोमबार उनले अर्को भिडियो सन्देश जारी गरेका छन्। उनले यसमा बिहारका सम्पूर्ण जनता, बिहारका सबै राजनीतिक दलका जनप्रतिनिधिहरू, नेतागण, बिहारका सम्पूर्ण प्रहरी अधिकारी र प्रहरीकर्मी प्रशासनलाई अपिल गरेका छन्।
सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई गालीगलौज गरेको अडियो भाइरल भएपछि यादव फरार भएका छन्। मधेस प्रदेश प्रहरीका प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि यादवको तीव्र रूपमा खोजीकार्य भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ




