

काठमाडौँ–निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला र मतदातामा अनुरोध गरेको छ।
त्यस कार्यक्रमका लागि अनलाइनमार्फत निवेदन पेस गर्न वा सम्बन्धित निर्वाचन कार्यालयमा सम्पर्क गर्न पनि आयोगले भनेको छ।
निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम अद्यावधिक कार्यक्रम सञ्चालन हुन लागेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए।
उक्त कार्यक्रम बमोजिम गत चैत मसान्तसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकको विवरणलाई वैशाख १ गतेबाट अद्यावधिकको प्रक्रिया प्रारम्भ भैसकेको छ।
मतदाताहरूको प्रारम्भिक नामावली आयोगको वेवसाइट www.election.gov.np मा प्रकाशन समेत भएकामा अद्यावधिक कार्य सम्पन्न भएपछि वैशाख मसान्तमा अन्तिम मतदाता नामावली प्रकाशन हुने उनले जानकारी दिए।
आयोगका अनुसार, मतदाता नामावली अद्यावधिक प्रयोजनका लागि प्रकाशित प्रारम्भिक नामावलीमा त्रुटि भए सच्याउन, कुनै व्यक्तिको विरोधमा उजुरी दिनु पर्ने भए दिन सकिने छ। त्यसैगरी एकभन्दा बढी स्थानमा नाम समावेश भएमा हटाउन तथा मृत्यु भएका एवम् नागरिकता त्याग गरेकाको नाम मतदाता नामावलीबाट हटाउन यही वैशाख ७ देखि १४ गतेसम्म सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइनमार्फत् निवेदन दिन सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
यस अवधिमा पनि नयाँ नाम दर्ता तथा अद्यावधिक कार्य निरन्तर भइरहने पनि आयोगले स्पष्ट पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

सिरहा। सिरहाको धनगढीमाईमा सञ्चालन गरिएको आँखा शिविरबाट एक हजार ४२३ सर्वसाधारणले निःशुल्क उपचार पाएका छन्। धनगढीमाई नगरपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको साझेदारीमा नगरको विभिन्न वडामा सञ्चालित नौ दिनसम्म चलेको उक्त शिविरबाट उनीहरुले लाभ लिएका हुन्।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विश्वेश्वरप्रसाद यादवका अनुसार प्रतिष्ठानका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले धनगढीमाई–१, २, ३, ५, ६, ७, ८, १२, १३ र १४ वडामा शिविर सञ्चालन गरेका थिए। आँखा चिकित्सकहरू डा बन्दना खनाल, डा दीक्षा विष्ट, डा विष्णुहरि मरहठ्ठासहित १८ जनाको टोली उपचारमा खटिएको थियो।
शिविरमा आँखा जाँच गराएकामध्ये तीन सय ७२ जनामा मोतियाविन्दुको समस्या देखिएको तिलगङ्गा आँखा प्रतिष्ठानबाट शिविरमा खटिनुभएका नेत्र सहायक गजेन्द्रकुमार महतोले जानकारी दिए। धनगढीमाई नगरपालिकाको कार्यालयमा वडा नं ४ र १० सहित अन्य वडामा छुटेका आँखाका बिरामीको जाँच गरिने छ।
यसअघि २०७९ फागुनमा पनि नगरपालिकाले तिलगङ्गा आँखा प्रतिष्ठानसँगको सहकार्यमा नगर क्षेत्रमा करिब एक साता आँखा जाँच शिविर सञ्चालन गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यादवले बताउनुभयो। उक्त शिविरमा ५३२ बिरामीको मोतियाविन्दुको शल्यक्रिया गरिएको उहाँले बताए।
सामाग्री श्रोत :
काठमाडौँ । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको मोबाइल फोनका पार्टस् रहेको पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार झापाको भद्रपुर नगरपालिका वडा नं. ९ स्थित घोडामारा चोकबाट प्रहरीले बा १८ च ४६१६ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको हो ।
गाडीमा करिब २९ लाख ८७ हजार २०० रुपैयाँ बराबरको २० कार्टुन मोबाइल फोनका पार्टसहरू फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।
उक्त गाडीका चालक झापा भद्रपुर नगरपालिका वडा नं. ५ निवासी २३ वर्षीय राहुल कामतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।
यस्तै, सोही दिन इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले झापा अर्जुनधारा नगरपालिका वडा नं. ६ स्थित छाताचोक नजिक प्लास्टिकको बोरामा पोका पारी राखिएको अन्दाजी १८ लाख १० हजार २५० रुपैयाँ बराबरको विभिन्न कम्पनीका मोबाइलमा प्रयोग हुने सामानहरू फेला पारी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाएको डीएसपी खड्काले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १५:४७
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ।
उनी सप्तरीको राजविराजबाट पक्राउ परेका हुन्।
जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताएका हुन्।
ललितपुर प्रहरीमा उनीबिरुद्ध ठगी र आपराधिक विश्वासघात बिरुद्धको जाहेरी दर्ता भएको छ। उनलाई अनुसन्धानका लागि ललितपुर पठाइने एसपी खतिवडाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

मलेखु (धादिङ) । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ।
बागमती प्रदेश ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल दुर्घटनामा सिन्धुलीको तिनपाटन गाउँपालिका–९ का २६ वर्षीय मीनबहादुर तामाङको मृत्यु भएको हो।
मोटरसाइकल सडकबाट तीन सय मिटर तल त्रिशूली नदी किनारमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले दुर्घटनाको खबर पाउनेवित्तिकै प्रहरी घटनास्थल पुगे पनि तामाङलाई मृत अवस्थामा भेटिएका जानकारी दिए।
मृतकको शवसहित दुर्घटनाग्रत मोटरसाइकल त्रिशूली किनारको झाडीमा भेटिएको उनले बताए।
सामाग्री श्रोत :
काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई-मोबिलिटीले चिनियाँ ब्रान्ड डोङफेङको एसयूभी फर्थिङ फ्राइडे नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले फर्थिङका दुई मोडेल नेपाल भित्र्याउने छ, जसमा लक्जरी र एक्सक्लुसिभ भेरियन्ट रहेका छन् ।
हाल यी गाडीहरू आन्तरिक परीक्षणका लागि नेपाल भित्रिइसकेका छन् । कम्पनीका अनुसार यसै साता आवश्यक परीक्षण सकाएर गाडी सार्वजनिक गरिनेछ । गाडी सार्वजनिक भएसँगै बुकिङ खुलाइने कम्पनीले जनाएको छ ।
सार्वजनिक हुने तयारीमा रहेको फर्थिङ फ्राइडेमा ९९ किलोवाटको मोटर र ६४.४ किलोवाटको लिथियम आयन फस्फेट ब्याट्री दिइएको छ । गाडीलाई एसी चार्जरबाट चार्ज गर्दा फुल चार्ज हुन १५ घण्टा लाग्नेछ ।
गाडीले ४०० किलोमिटरको रेन्ज दिने बताइएको छ । यसमा अटोमेटिक पार्किङ, ३६० डिग्री पानारोमिक क्यामेरा, सिट भेन्टिलेसन, सिट हिटिङ, सिट मसाजिङजस्ता सुविधा छन् । गाडीको ह्विलबेस २७१५ एमएम रहेको छ ।
कम्पनीले लक्जरी भेरियन्टको मूल्य ५६ लाख ९६ हजार रुपैयाँ र एक्सक्लुसिभ भेरियन्टको मूल्य ६२ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १५:५३
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ — ब्राजिलियन फुटबलका चर्चित स्टार रोबर्टो कार्लोस नेपाल आउने भएका छन्।
शुक्रबार आउने पूर्वनिर्धारित कार्यक्रम उनको स्वास्थ्य अवस्थाका कारण सरेको थियो। स्वास्थ्य सुधार भएकाले मंगलबार उनी काठमाडौं आइपुग्नेछन्।
दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल) मा उनी गेस्टका रूपमा सहभागी हुनेछन्। मंगलबार साँझ एलओडी क्लबमा कार्लोसको विशेष उपस्थिति रहने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए।
विश्व फुटबलका उत्कृष्ट डिफेन्डरमध्येका एक कार्लोसले सन् १९९२ मा ब्राजिलको सिनियर टिममा डेब्यु गरेका थिए।
रियल म्याड्रिड र ब्राजिलियन राष्ट्रिय टोलीका पूर्वखेलाडी समेत रहिसकेका कार्लोस फुटबल इतिहासका सबैभन्दा प्रशंसित डिफेन्डरहरूमध्ये एक हुन्।
रोमाञ्चक खेलहरू, उत्साही फ्यानहरू र अब रोबर्टो कार्लोसको उपस्थिति सँगै यो सिजन अहिलेसम्मकै सबैभन्दा ठूलो साबित हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्र्रचण्ड’ ले पार्टीभित्र रहेको गुटबन्दी हटाउन नेता कार्यकर्ता एकजुट हुनु जरूरी रहेको बताएका छन्।
माओवादी केन्द्र विराटनगर महानगर कमिटीको दोस्रो सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले एकताबद्ध भएर लागेकै कारण यस क्षेत्रमा भएको उपनिर्वाचन र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विजय हासिल गरिएको बताए।
अध्यक्ष दाहालले माओवादीको १८ महिने शासनकालमा भ्रष्टाचारविरुद्धको अभियानले पार्टीप्रति ठूलो आशा जगाएको भन्दै पार्टीको सङ्कल्पअनुसार जनताले देख्ने, बुझ्ने गरी सुशासन, सामाजिक न्याय र समृद्धिका लागि काम गर्नुपर्ने बताए।
उनले पार्टीले सञ्चालन गरेको हुलाकी सडक अभियानमा जनताको ठूलो उत्साह, सहभागिता र लहर आएकाले यसलाई सङ्गठनमा रूपान्तरण गरी आगामी निर्वाचनमा विजय हासिल गर्न लाग्नुपर्नेमा जोड दिए।
पूर्वप्रधानमन्त्री दाहालले विराटनगरको चक्रपथ सम्पन्न गर्न, सुकुम्वासी समस्या समाधान, अन्तरराष्ट्रिय क्रिकेट खेलमैदान र पर्यटन विकासमा पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नगर अध्यक्ष नवीन पौडेल, पूर्वमन्त्री अमनलाल मोदी, पार्टीका कोशी प्रदेश इन्चार्ज हरिवोल गजुरेल, केन्द्रीय सदस्य शिवकुमार मण्डल, प्रदेश अध्यक्ष हर्क नेम्वाङलगायतले सम्बोधन गरेका थिए।
सामाग्री श्रोत :
पार्टीभित्र रहेको गुटबन्दी हटाउन नेता कार्यकर्ता एकजुट हुनु जरूरी छ: अध्यक्ष दाहाल
काठमाडौँ । सूचीकरणका लागि दिइएको समयसीमा भित्र दर्ता हुन नआएपछि सामाजिक सञ्जालहरूलाई सरकारले अन्तिम मौका दिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको ३० दिने समयसीमा आइतबार सकिए पनि फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स लगायतका सामाजिक सञ्जाललाई थप समय दिइने भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचीकरणका लागि दिइएको म्यादभित्र फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआएको जानकारी दिए । उनका अनुसार अब एक हप्ता वा १५ दिनको थप समय दिएर अन्तिम मौका दिइनेछ ।
सो समयभित्र पनि दर्ता हुन नआए नेपालभित्र त्यस्ता सामाजिक सञ्जालको सञ्चालनमा रोक लाग्नसक्ने उनको भनाइ छ । “उनीहरूले हामीलाई अटेर गररहेको देखियो, आजै रोक लगाउने दिशातर्फ भन्दा पनि अन्तिम मौका स्वरूप केही दिन अझै पर्खिछौँ,” टेकपानासँगको कुराकानीमा मन्त्री गुरुङले भने । “त्यसपछि पनि अटेर गरिरहे हामीले आवश्यक निर्णय गरेर अगाडि बढ्नुपर्ने हुन्छ ।”
सरकारले २०८० सालमै ल्याएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका अनुसार सामाजिक सञ्जालहरू नेपालमा अनिवार्य दर्ता हुनुपर्छ । गत चैत ७ गते तेस्रो पटक सूचना जारी गर्दै सरकारले ३० दिनभित्र दर्ता हुन निर्देशन दिएको थियो । उक्त म्याद आइतबार सकिए पनि सामाजिक सञ्जाल प्लेटफर्महरू सूचीकरणमा नआएका हुन् ।
हालसम्म नेपालमा टिकटक, भाइबर, एसएआरएल र सारांश मिडिया ल्याब मात्र दर्ता भएका छन् । फेसबुक, इन्स्टाग्राम, एक्स जस्ता अन्य प्लेटफर्महरू अझै दर्ता हुन आएका छैनन् ।
सरकारले सामाजिक सञ्जाललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गराउन, नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वःनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्न निर्देशन दिएको छ ।
यस बाहेक सरकारले सामाजिक सञ्जाल प्लेटफर्मका लागि थप जिम्मेवारीहरू पनि तोकिएको छ । निर्देशिका अनुसार सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालमा पर्यटन प्रवर्धनमा सहयोग गर्नुपर्ने र देशव्यापी रूपमा साइबर सुरक्षा तथा डिजिटल साक्षरता अभियानलाई समर्थन गर्नुपर्नेछ । त्यस्तै विद्यालय र कलेजहरूमा शिक्षाको गुणस्तर अभिवृद्धिमा ध्यान केन्द्रित गर्दै शिक्षा क्षेत्रको डिजिटल रूपान्तरणमा योगदान गर्नु पर्नेछ ।
साथै सामाजिक सद्भाव खलल पुर्याउने वा साइबर अपराधलाई बढावा दिने गैरकानुनी र अनुपयुक्त सामग्री हटाउन सरकारी निकायहरूसँग सहकार्य गर्दै नेपाली र अन्य राष्ट्रिय भाषाहरूमा सामग्री फिल्टरिङ र मध्यस्थताका लागि उपयुक्त प्रविधिको कार्यान्वयन गर्नुपर्नेछ ।
मन्त्रालयले सबै सरोकारवालालाई यी प्रावधानहरूको पालना गर्न र नेपालमा सुरक्षित, व्यवस्थित र नियमन गरिएको डिजिटल वातावरण सुनिश्चित गर्ने कार्यमा सरकारलाई सहयोग गर्न आग्रह गर्दै आएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १६:३८
सामाग्री श्रोत :
टेक पाना

एजेन्सी–चीनको कुल विद्युत उत्पादन क्षमता चालु वर्षको सन् २०२५ मार्चको अन्त्यसम्ममा अन्त्यसम्म तीन अर्ब ४३ करोड किलोवाट पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.६ प्रतिशतले बढी हो।
राष्ट्रिय ऊर्जा प्रशासनका अनुसार सौर्य ऊर्जाबाट उत्पादन हुने क्षमता ९५ करोड किलोवाट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४३.४ प्रतिशतले वृद्धि भएको हो।
त्यस्तै, हावाबाट उत्पादन हुने विद्युतको क्षमता ५४ करोड किलोवाट पुगेको छ, जसमा १७.२ प्रतिशतले वृद्धि देखिएको छ।
यस वर्षको पहिलो तीन महिनामा चीनका ठूला विद्युत कम्पनीहरूले विद्युत उत्पादन योजनामा १३२ अर्ब २० करोड चिनियाँ मुद्रा बराबरको लगानी गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले कम हो।
सोही अवधिमा विद्युत प्रसारण लाइन निर्माणमा ९५ अर्ब ६० करोड चिनियाँ मुद्रा लगानी गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा २४.८ प्रतिशतले बढी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ









