२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

जेनेभा – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का सदस्य राष्ट्रहरूले  २०२०-२२ मा लाखौं मानिसहरूको ज्यान लिने कोभिड-१९ बाट कसरी सिक्ने र भविष्यमा आउन सक्ने महामारीको लागि विश्वलाई कसरी तयार पार्ने भन्ने बारेमा एक ऐतिहासिक सम्झौतामा पुगेका छन्। सम्झौताका क्रममा मुख्य विवादको विषय भनेको औषधि र खोपहरू कसरी धनी राष्ट्रहरू र गरिब राष्ट्रहरूबीच न्यायसंगत रूपमा बाँडफाँड गर्ने भन्ने थियो। यो कानुनी रूपमा बाध्यात्मक सम्झौताले, हाल बहुपक्षीय संस्थाहरू विशेषगरी डब्लुएचओले अमेरिकी वैदेशिक सहयोगमा भएको कटौतीको सामना गरिरहेकै समयमा, डब्लुएचओका लागि ठूलो उपलब्धि मानिएको छ।डब्लुएचओले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘तीन वर्षभन्दा बढी समयसम्मको कठिन वार्तापछि सदस्य राष्ट्रहरूले महामारीबाट विश्वलाई सुरक्षित राख्नका लागि एक ठूलो कदम चालेका छन्।’अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० मा डब्लुएचओबाट अमेरिका फिर्ता लिने प्रक्रिया सुरु गरेपछि अमेरिकी वार्ताकारहरू यस छलफलबाट बाहिरिएका थिए। डब्लुएचओका सबैभन्दा ठूला आर्थिक सहयोगकर्ता भएको अमेरिका यो सम्झौताबाट कानुनी रूपमा बाध्य हुने छैन।‘यो एक ऐतिहासिक क्षण हो। अमेरिका बिना पनि देशहरू मिलेर बहुपक्षीयतामा विश्वास गरेर अघि बढ्न तयार छन् भन्ने यसले देखाएको छ,’ ग्लोबल हेल्थ थिङ्क ट्याङ्क ‘स्पार्क स्ट्रिट एडभाइजर्स’ की संस्थापक निना श्वाल्बले भनिन्।डब्लुएचओको ७५ वर्षको इतिहासमा यो मात्र दोस्रो पटक हो, जब सदस्य राष्ट्रहरूले कुनै कानुनी रूपमा बाध्यकारी सम्झौता गरेका छन्। पहिलोपटक यस्तो सम्झौता सन् २००३ मा तम्बाकू नियन्त्रण सम्बन्धी सम्झौताका रूपमा भएको थियो।यो सम्झौता, जुन मे महिनामा विश्व स्वास्थ्य सभाले अपनाउनुपर्ने र सदस्यहरूद्वारा अनुमोदन गर्नुपर्ने विषय हो, यसले औषधि वा खोप र स्वास्थ्य उपकरणहरू कसरी विकास गरिन्छ भन्ने बारे संरचनात्मक असमानताहरूलाई सम्बोधन गर्दछ। यसको अनुच्छेद ९ अनुसार, सरकारहरूले अनुसन्धान तथा विकास सम्झौताहरूमा पहुँचको सर्तहरू तय गर्ने नीतिहरू बनाउनु पर्नेछ, र महामारीसँग सम्बन्धित औषधि, उपचार, खोपहरू सबैका लागि पहुँच योग्य बनाउनु पर्नेछ,  जुनकुरा अन्तर्राष्ट्रिय स्वास्थ्य सम्झौतामा पहिलोपटक उल्लेख गरिएको हो।‘यस सम्झौताले डब्लुएचओ सदस्य राष्ट्रहरूलाई भविष्यमा महामारीको तयारी, प्रतिकार र रोकथाममा थप जिम्मेवारी र अधिकार दिएको छ,’ जेनेभा ग्राजुएट इन्स्टिच्युट अन्तर्गत गभर्निङ प्यान्डेमिक्स टिमका नीति सल्लाहकार रिकार्डो माटुटेले भने।सम्झौताले डब्लुएचओलाई मास्क र खोप जस्ता स्वास्थ्य सामग्रीहरूको विश्वव्यापी आपूर्ति श्रृङ्खलाको निगरानी गर्ने अधिकार दिनेछ, र महामारीका समयमा स्थानीय खोप उत्पादनलाई पनि प्रवर्द्धन गर्नेछ।स्वास्थ्य प्रविधि बाँडफाँडमा सहमतिटेक्नोलोजी ट्रान्सफर अर्थात् प्रविधि, सीप, र उत्पादन क्षमताहरू बाँडफाँड गर्ने अनुच्छेद ११ मा सहमति जुटाउन धेरै समय लागेको थियो, विशेषगरी न्यून आय भएका देशहरूले आफैं महामारी सम्बन्धित खोप, औषधि र परीक्षण उत्पादन गर्न सक्ने विषयमा लामो छलफल चलेको थियो।सम्झौताले उत्पादनकर्ताहरूलाई महामारीको समयमा आफ्नो उत्पादनको २० प्रतिशत हिस्सा डब्लुएचओलाई छुट्याउन बाध्य बनाएको छ, जसको कम्तीमा १० प्रतिशत निःशुल्क अनुदान हुनेछ भने बाँकी न्यून लागतमा उपलब्ध गराइनेछ।यो सम्झौता अब मे महिनाको डब्लुएचओ सभामा प्रस्तुत गरिनेछ। तर ‘प्याथोजेन पहुँच र लाभ बाँडफाँड सम्बन्धी अनुबंध अझै टुंगिएको छैन र थप वार्ताको आवश्यकता रहेको स्वास्थ्य क्षेत्रका स्रोतहरूले बताएका छन्।सभाले पारित गरेपछि, वार्तामा सहभागी सदस्य राष्ट्रहरूले यसलाई अनुमोदन गर्नु पर्नेछ।स्वास्थ्य विज्ञहरू आशा गर्छन् कि यो सम्झौताले महामारी तयारीमा सरकारले थप लगानी गर्ने वातावरण बनाउनेछ, विशेषगरी अहिलेका विश्वव्यापी स्वास्थ्यका लागि सहयोगमा भइरहेको कटौतीलाई ध्यानमा राख्दै।‘हामी अर्को महामारी सहन सक्दैनौं, तर त्यसको रोकथामका लागि लगानी गर्न सक्छौँ,’ ‘द इन्डिपेन्डेन्ट प्यानल फर प्यान्डेमिक प्रिपेयर्डनेस’ की सह-अध्यक्ष हेलेन क्लार्कले भनिन्।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। नेपाली सांगीतिक बजारमा चम्किँदै गरेका गायक तथा संगीतकार मनिपाल राईको संगीत तथा चर्चित गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “पीडा” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतकार पासाङ तामाङको उत्कृष्ट शब्द रचनमा रहेको उक्त गीतमा संगीतकार मनिपल राई अत्यन्तै मर्मस्पर्शी संगीत रहेको छ भने गीतमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ।

मुनाल सिशिर कोइरालाको निर्देशन रहेको म्युजिक भिडियो मा, बिक्रम बुडाथोकि,कुसुम शर्मा, तुलसि खड्काको अभिनय रहेको छ। भिडियोलाई काठमाडौँ र भक्तपुरको बिभिन रमणीय स्थानमा छायांकन गरेका हुन्। म्युजिक भिडियो सम्लिङ्गिको कथामा आधारित रहेको छ।

भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् भने गीतको म्युजिक भिडियो लाई np musicmedia को अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ।


सामाग्री श्रोत :

गायक प्रमोद खरेलको को “पीडा” सार्वजनिक

 

काठमाडौँ । कम्प्युटर इन्जिनियरिङमा ब्याचलर्स र नेटवर्किङमा मास्टर्स पास गरेको अनुभव । तर हाउसकिपिङको काम गरिरहँदा एक्स्ट्राटेकका संस्थापक विनोद कुँवर सोच्ने गर्थे, “कम्प्युटरको अगाडि बसेर काम गर्न पाए पनि हुन्थ्यो ।”

तर विदेशमा आफ्नो पढाइ अनुसारको काम पाउन सकिरहेका थिएनन् । सन् २०१९ मा कुँवर स्नातकोत्तर गर्न अस्ट्रेलिया पुगेको पनि पाँच वर्ष भइसकेको थियो । विभिन्न आईटीसँग सम्बन्धित कम्पनीहरूमा आवेदन दिइरहेका थिए । तर ४०० भन्दा धेरै कम्पनीमा आवेदन दिइसक्दा पनि कतैबाट पनि उनले खुसीको खबर पाउन सकेनन् । 

त्यसपछि उनी अस्ट्रेलिया नै छाड्ने मनसायमा पुगे । काम पाउन सजिलो हुन्छ की भनेर युएई जाने प्रक्रिया अघि बढाउन थालिरहेका थिए । तर भाग्यवश उनले अस्ट्रेलियाकै एक आईटी कम्पनीमा जागिर पाए । तर काम गर्ने क्रममा “नेपालीहरूले पनि आईटी क्षेत्रमा काम गर्न सक्छन् ?” भन्ने जस्ता प्रश्नहरूको सामना गर्नु परेको उनी सुनाउँछन् । 

यस्ता प्रश्नहरूका कारण अस्ट्रेलियामा आईटी क्षेत्रमा जागिर पाउन समस्या भएका विद्यार्थीलाई जागिर खोज्न सघाउने कम्पनी नै सुरु गरेर धेरै नेपालीलाई आईटी कम्पनीमा भित्र्याउने सोच बनाए । त्यसपछि उनले सन् २०१९ मा अस्ट्रेलियाको सिड्नीबाट “एक्स्ट्राटेक” सुरु गरे । 

“एक्स्ट्राटेक”लाई विश्वविद्यालयको सैद्धान्तिक पढाइ र बजारलाई चाहिने प्रयोगात्मक जानकारीका बिच हुने खाडल पुर्ने संस्थाको रूपमा परिभाषित गर्छन्, कुँवर। उनी भन्छन्, “ संसारभरका विश्वविद्यालय प्रयोगात्मक भन्दा पनि सैद्धान्तिक हुन्छन् । कम्पनीहरूलाई डिग्री भन्दा पनि आबद्ध हुने बित्तिकै काम गर्न सक्ने सक्षम मान्छे चाहिन्छ । एक्स्ट्राटेकलाई एउटा ट्युसन सेन्टरको रूपमा लिए पनि हुन्छ । यहाँबाट तालिम लिएपछि काममा गएको पहिलो दिनबाट नै मज्जाले काम गर्नसक्ने गरी विद्यार्थीहरूलाई तयार पार्ने कोर्स डिजाइन गरेका छौँ ।”

आईटी क्षेत्रमा काम गर्न चाहने जुनसुकै व्यक्तिले जागिरको तयारीका लागि एक्स्ट्राटेकको तालिम लिन सक्ने उनले बताए । उनका अनुसार आईटीसँग सम्बन्धित विषयमा विश्वविद्यालयमा पढेको तर आईटी कम्पनीमा काम गरेको अनुभव नभएका, नेपालमा आईटी कम्पनीमा काम गरिसकेका, तर नेपाल बाहिरका कम्पनीमा रोजगारी खोजिरहेका अनि आईटी क्षेत्रमा कुनै जानकारी नै नभएका व्यक्तिलाई तालिम दिइन्छ।

एक्स्ट्राटेकले आईटी क्षेत्रमा केही जानकारी नभएका व्यक्तिहरूलाई ८ देखि १२ महिनासम्म लाग्ने तालिम प्रदान गरिरहेको छ । आईटी पढेका, तर प्रयोगात्मक ज्ञान-सीप नभएका व्यक्तिहरूले भने तीनदेखि चार महिनाको तालिम लिए पुग्छ । नेपालमा आईटी कम्पनीमा काम गरिसकेको अनुभव भएका व्यक्तिलाई करिअर काउन्सिलिङ समेत प्रदान गरिन्छ । 

क्लाउड, नेटवर्किङ, सिस्टम्स, साइबर सुरक्षा, डिजिटल मार्केटिङ, डेटा एनालिसिस, बिजनेस एनालिसिस, प्रोगामिङ लगायतका आईटीसँग सम्बन्धित विषयमा तालिम उपलब्ध गराउँदै आएको उनले सुनाए । साइबर सुरक्षामा विशेषज्ञता भएका उनले भने, “क्लाउड, नेटवर्किङ, सिस्टम र साइबर सेक्युरिटीको ट्रेनिङ म आफैँ दिन्छु ।”

यस्तै, करिअर काउन्सिलिङ अन्तर्गत रिजुम बनाउने, मक इन्टरभ्यु गराउने तथा डिप्लोमेटिक तरिकाले इन्टरभ्यु दिन तयार पार्ने काम गरिन्छ । प्रोफेसनल ईमेल लेख्ने, व्यक्तिको ब्रान्डिङ गर्ने तथा आत्मविश्वास बढाउने काम गरिन्छ । 

 

हालसम्म एक्स्ट्राटेकबाट १९ सयभन्दा धेरैले तालिम लिइसकेका छन् । त्यसमध्ये १५ सय जतिले काम पाइसकेको उनले बताए । 

कुँवरका अनुसार सन् २०२२ सम्म तालिम लिएका मध्ये ९० प्रतिशतसम्मले काम पाउने सम्भावना रहन्थ्यो ।  तर गत वर्ष एक्स्ट्राटेकमा तालिम लिएका मध्ये ७५% विद्यार्थीले काम ‍पाएको उनले सुनाए ।

समय समयमा सरकारको नीतिका कारणले जागिर पाउन विद्यार्थीहरूलाई समस्या पार्ने गरेको कुँवर सुनाउँछन् । पछिल्लो समय अस्ट्रेलियन सरकारले जागिरको क्रममा पीआर भएका व्यक्तिहरूलाई प्राथमिकतामा राख्ने गरेको छ । “यहाँ चुनाव आउन लागेको भएर विद्यार्थीहरूलाई रोजगारी  पाउन समस्या भइरहेको छ । तर मेहेनत गर्ने व्यक्तिले काम नै नपाउने भन्ने चाहिँ हुँदैन,” उनले भने । 

अस्ट्रेलियाका अन्य सहरमा एक्स्ट्राटेकले आफ्नो फ्रेन्चाइज समेत उपलब्ध गराएको छ । हाल सिड्नीसहित मेलबर्न, ब्रिसबे र पर्थ क्यानबेरामा एक्स्ट्राटेक सञ्चालनमा रहेको कुँवरले सुनाए । यस्तै कम्पनीले भौतिक कक्षाबाहेक अनलाइनमार्फत पनि तालिम उपलब्ध गराउँदै आएको छ । 

हाल नेपालीहरू रोजगारीका लागि जाने ३० देशहरूबाट अनलाइन एक्ट्राटेकको तालिम लिन सकिन्छ । यसमा नेपाली बाहेक दक्षिण एसियाली मूलका व्यक्तिहरूले पनि तालिम लिने गरेका छन् । “१०  भन्दा धेरै देशका व्यक्तिहरूले हामीसँग तालिम लिइरहेका छन् ।” 

संसारभरबाट पछिल्लो तीन महिनामा मात्रै २५० देखि ३०० विद्यार्थीहरू एक्स्ट्राटेकको तालिममा जोडिएको उनले सुनाए । अस्ट्रेलियामा कोर्स पूरा गरेको शुल्क २ लाख ५० हजार रुपैयाँसम्म बुझाउनुपर्छ । अमेरिकामा हुने व्यक्तिलाई त्यसैका लागि २ लाख ७० हजार रुपैयाँ पर्न जान्छ । यस्तै क्यानडाका लागि २ लाख, जापानबाट १ लाख ७० हजार र मलेसिया तथा कतारबाट कोर्स लिन ७० देखि ८० हजार रुपैयाँसम्म शुल्क लाग्ने गरेको उनले सुनाए । देशअनुसार तालिमका विषयवस्तु परिवर्तन गर्ने गरिएको र विद्यार्थीहरूलाई जागिर नपाएसम्म  कम्पनीले नै सपोर्ट गर्दै आएको उनले सुनाए । 

विद्यार्थीलाई तालिम दिने बाहेक एक्स्ट्राटेकले विभिन्न कम्पनीहरूका लागि आईटी सेवा समेत उपलब्ध गराउँछ । कुँवरले भने, “माग अनुसार एप्लिकेसन तथा वेबसाइट बनाउने, अफिस सेटअप गर्ने जस्ता सेवाहरू समेत उपलब्ध गराउँदै आएका छौँ ।”

एक्स्ट्राटेकको तालिम लिनेहरूको करिअरको धार नै परिवर्तन भएको उनको दाबी छ । “यहाँ तालिम लिएर आईटी कम्पनीका विभिन्न पोजिसनमा काम गरिरहनु भएको छ । म्यानेजर-सिनियर म्यानेजरको तहसम्म हाम्रा विद्यार्थीहरू पुगेका छन्,” उनी थप्छन्, “विदेशमा गएर आफ्नो फिल्ड अनुसारको काम पाउनु भनेको ठुलो कुरा हो ।” 

अस्ट्रेलियामा विद्यार्थी भिसामा जाने व्यक्तिका लागि हप्ताको २४ घण्टा मात्र पार्ट टाइम काम गर्ने अनुमति मिल्छ । जसले गर्दा  विद्यार्थी भिसामा जानेहरूलाई सम्बन्धित क्षेत्रमा काम  पाउन समस्या हुने गरेको उनले सुनाए । तर भिसा परिवर्तन भएपछि भने काम गर्न सहज हुन्छ । त्यसैले विद्यार्थीहरूले कलेजको पढाइ पुरा हुनुभन्दा ६ महिना वा एक वर्ष अघिदेखि नै तालिम लिएर आफ्नो अध्ययन अनुसारको काम गर्न तयार भएर बस्नु उपयुक्त हुने उनको सल्लाह छ । 

नेपालमा पनि एक्स्ट्राटेक 

विगत ६ वर्षदेखि आईटी विद्यार्थीहरूलाई जागिरका लागि योग्य बनाउँदै आएका कुँवरले  नेपालमा पनि कम्पनी सुरु गर्ने योजना बुनेको सुनाए । 

त्यसैले यही नयाँ वर्षको अवसर पारेर १ वैशाखदेखि काठमाडौँ, सिनामङ्गलस्थित प्रयागमार्गमा एक्स्ट्राटेकले आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ । उनले भने, “आईटीमा चासो राख्ने धेरै जनाले नेपाली विद्यार्थीहरूलाई पनि सस्तो शुल्कमा तालिम दिने गरी काम गर्न सुझाव दिनुभएको थियो । नयाँ वर्षको अवसर पारेर नेपालमा पनि कम्पनी विस्तार गरेका छौँ ।”

नेपालका आईटी कम्पनीमा काम गर्न चाहने र विदेशमा गएर काम गर्न चाहने दुवै किसिमका विद्यार्थीहरूलाई उनीहरूको चाहनाअनुसार पढाउने गरी नेपालमा कम्पनी सञ्चालनमा ल्याइएको उनले बताए । नेपालमा पनि अनलाइन र भौतिक दुवै माध्यमबाट तालिम लिन सकिन्छ। 

उनले भने, “नेपालका आईटी कम्पनीमा काम गर्ने कोर्स २५ हजार रुपैयाँ शुल्कमा पूरा हुन्छ । विदेशमा गएर काम गर्ने कोर्स लिने हो भने चाहिँ अलि महँगो पर्न जान्छ ।” हाल २० जनाभन्दा धेरैलाई एक्स्ट्राटेकले प्रत्यक्ष रोजगारी दिइरहेको छ। 

आईटी क्षेत्रको भविष्य 

नेपालमा बसेर आउटसोर्सिङको काम गर्ने थुप्रै आईटी कम्पनी रहेको कुँवर बताउँछन् । यसरी काम गर्न चाहनेका लागि प्रोग्रामिङ र डिजिटल मार्केटिङ पढ्न उपयुक्त हुने उनी बताउँछन् । तर नेटवर्किङ, साइबर सेक्युरिटी, डेटा एनालिटिक्स क्षेत्रमा भने नेपालमा अझै मेहेनत गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।  

“नेपालमा साइबर सेक्युरिटीमा काम गरिरहेका टप लेभल कम्पनीहरू छन् । थुप्रै ह्याकरहरू पनि छन्, तर तिनीहरू आउटसोर्सिङ अथवा अरू देशको लागि काम गर्छन् । तर नेपालकै लागि भनेर काम गर्ने चाहिँ एकदमै कम छन्,” नेपालका लागि प्रोगामिङका कोर्सहरू र विदेशका लागि नेटवर्किङसँग सम्बन्धित कोर्सहरू उपयोगी हुने उनले सुनाए । 

दुई वर्षमा फर्किएर नेपालको आईटी क्षेत्र सुधार्ने रहर 

अस्ट्रेलियाबाट नेपालमै बस्नेगरी फर्किएर आईटी उत्पादन बढाउने सपना कुँवरले बोकेका छन् । उनी भन्छन्, “एक्स्ट्राटेक एउटा ब्रान्ड भयो । यसको नामबाट नेपालका लागि आवश्यक प्रविधि स्वदेशमै उत्पादन तथा प्रयोग गर्ने वातावरण तयार पार्ने  मन छ । दुई वर्षपछि नेपालमै बस्ने गरी फर्किने योजना बनाएको छु । ”

नेपालमा फर्किएर प्रयोगात्मक ज्ञान-सीपमा आधारित आईटी कलेज खोलेर प्रविधिको विकास गर्ने योजना बनाएको उनले सुनाए । उनी भन्छन्, “ चीन, अमेरिका र जापान जस्ता देशमा किशोरावस्थामै प्रविधिसँग सम्बन्धित धेरै कुरा सिकिसकेका हुन्छन् । १८ वर्षमा त धेरै माथिल्लो तहमा पुगिसकेका हुन्छन् । तर नेपालमा १८ वर्षमा पनि राम्रोसँग कम्प्युटर चलाउन जानेका हुँदैनन् । हामी त्यो ट्रेन्ड बदल्न चाहन्छौँ ।” 

नेपालीहरूलाई आईटीमा थप सक्रिय बनाउने उद्देश्यले नै नेपालमा तालिम दिन सुरु गरेको उनी बताउँछन् । “केही वर्ष लगाएर भए पनि विदेशमा भएको प्रविधिलाई नेपाल भित्र्याउने योजना छ । बाहिरको जति पनि प्रविधि छ, हामी त्यसलाई नेपाल भित्र्याउन चाहन्छौँ,” उनी थप्छन् ।

कुँवरले रूपन्देहीको तिलोत्तमामा आफ्नै लगानीमा एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पनि निर्माण गरिरहेका छन् । गत वर्षदेखि सुरु भएको रङ्गशाला निर्माणको काम आधा भन्दा धेरै सम्पन्न भइसकेको छ। उक्त रङ्गशालाका कारण पनि एक्स्ट्राटेक धेरै व्यक्तिहरूसम्म चिनिएको र विद्यार्थीहरूको नजरमा परेको छ। 

यस्तै नेपालमा सुविधा सम्पन्न अस्पताल बनाउने लक्ष्य पनि कुँवरले राखेका छन् । उनले भने, “हामीले हस्पिटल र स्टेडियममा नेपालीले नै बनाएको आईटी प्रयोग गर्न चाहन्छौँ,” उनले भने । 

“नेपालीहरू पनि आईटीमा कम छैनन् भनेर संसारलाई देखाउन मन छ । यसका लागि नेपालमा चाहिने प्रविधिको विकासमा ध्यान दिनुपर्ने हुन्छ ।” त्यसैले प्रविधिले भरिपूर्ण अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, अस्पताल हुँदै आईटी क्याम्पस सञ्चालनमा ल्याउन चाहेको उनले बताए । “एउटा ल्यापटपबाट नै लाखौँ कमाउन सकिन्छ भनेर देखाउन चाहन्छु,” उनी अगाडि भन्छन् ।

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ १२:१४





सामाग्री श्रोत :
टेक पाना

सुत्केरी अवस्था भनेको बच्चा जन्मेको शुरुको ६ हप्तालाई बुझिन्छ। यो समय सुत्केरी महिलाको लागि अत्यन्तै महत्वपूर्ण हुन्छ। किनकि यही समयमा महिलाको शरीर बच्चा बस्नु भन्दाको पहिलाको अवस्थामा फर्किएर बलियो वा दरिलो हुनु पर्दछ। यस अवस्थालाई सहज, सजिलो बनाउनको लागि स्वास्थ्यकर्मी, घर परिवार, आफन्तबाट साथ, सहयोगको खाँचो पर्दछ। बच्चा जन्माइसके पछि दूध खुवाउने आमालाई (सुरुको २ वर्ष) विशेष प्रकारको स्याहार र खानपानको आवश्यकता पर्दछ।बच्चा पाउनु भनेको प्राकृतिक प्रकृया हो, कुनै रोग लागेको अवस्था होइन। त्यसलै सुत्केरी महिलालाई पोषिलो र सन्तुलित सबै प्रकारको स्रोतहरु समावेश भएका (कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, खनिजयुक्त साथै पानी) खानेकुरा हुनु पर्दछ। जसमा अन्न, गेडागुडी, सबै प्रकारका तरकारी सहित हरिया सागसब्जी, मौसम अनुसारका फलफूल, दूध र यसबाट बनेका परिकार दिनु पर्दछ। यदि मांसाहारी हुनुहुन्छ भने मांसाहारी (मासु, माछा, अण्डा) खानेकुरा पनि खान सकिन्छ। सुत्केरी दूध खुवाउने आमालाई अरु समयमा भन्दा बढाएर र सबै प्रकारका खानाहरु मिलाएर हरेक ३-४ घन्टामा खुवाउनु पर्दछ। यदि सुत्केरी महिलालाई विशेष स्वास्थ्य समस्या (मेडिकल रोग) छ भने खानाको लागि स्वास्थ्यकर्मीको सल्लाह अनुसार दिनु पर्दछ। महिलालाई आवश्यक पोषण पुग्नाले सुत्केरी अवस्थाबाट तंग्रिन सहयोग गर्नुको साथै बच्चालाई पोषिलो र प्रशस्त दूध उत्पादन हुनको लागि सहयोग गर्दछ। सुत्केरी महिलालाई खानेकुरा दिने कुरामा हाम्रो समाजमा अन्धविश्वास र गलत धारणाहरु पनि छन्। जस्तै हरिया सागपात, कर्कलो, तरकारीमा फर्सी, गोलभेडा, आलु आदि दिनुहुन्न,  जसले गर्दा चिसो लाग्दछ, बच्चाले हरियो दिशा गर्दछ। फलफूल खाँदा पनि चिसो लागेर खोकी लाग्दछ भन्ने गलत धारणा आम मानिसमा छ। जबकि यतिबेला महिलाको शरीरमा रगतको कमी हुने हुँदा रगतको मात्रा बढाउनको लागि ताजा हरिया सागपात, सबै प्रकारका तरकारीहरु, सलादहरु र मौसम अनुसारका फलफुलहरु दिनु पर्दछ। यदि मांसाहारी खानेकुरा खानुहुन्छ भने माछा, मासुजन्य खानेकुराले पनि छिटो रगत बढाउन सहयोग गर्दछ। फलफुलहरु र सलादहरु दिंदा फ्रीजबाट निकालेर २-३ घन्टा बाहिर कोठाको तापक्रममा राखेर दिन सकिन्छ। यतिखेर महिलाको हिडडुलमा कमी हुँदा कब्जियतको समस्या हुन सक्दछ। तसर्थ हरिया सागपात, फलफूलहरु र सलादहरु साथै पानी पनि मिलाएर प्रशस्त मात्रामा खानाले यस समस्याबाट जोगिन सकिन्छ।प्रोटिनयुक्त खानेकुरा खुवाउने कुरामा पनि अन्धविश्वास लगायत गलत धारणाहरु छन्। विशेषतः गेडागुडी (कालो मास) माछा, मासु खाँदा घाउ पाक्छ अथवा संक्रमण हुन्छ र अण्डा दिँदा शरीर सुनिन्छ भन्ने जस्ता गलत धारणा र विश्वास गरिन्छ। झन् यति बेला महिलालाई प्रोटिनयुक्त खानेकुराको बढी आवश्यकता हुन्छ। यतिखेर महिलाको पाठेघर र यौनांगमा घाउ लगायत शल्यक्रिया गरिएको छ भने पनि यस्ता खानेकुराको आवश्यकता बढी मात्रामा हुन्छ। प्रायजसो महिला गर्भवती हुँदा तौल बढेको कारणले खुट्टा सुनिएको हुन्छ । यसलाई ठीक पार्नको लागि पनि प्रोटिनयुक्त खानाको मात्रा बढाउनु पर्दछ। यस्तो बेलामा घाउ छिटो निको हुन नयाँ कोषिकाहरु छिटोछिटो बन्नुपर्ने हुँदा प्रोटिनयुक्त खानाहरु जस्तै – गेडागुडी, दूध र यसबाट बनेका परिकारहरु साथैयदि मांसाहारी खानेकुरा खानुहुन्छ भने माछा, मासु र अण्डा खानको लागि प्रोत्साहन गर्नु पर्दछ। यसका साथसाथै उपलब्ध गराउन सकिन्छ भने सुख्खा फलहरु जस्तै बदाम, ओखर, काजु आदिलाई पनि मिलाएर खाँदा शरीरलाई चाहिने राम्रो चिल्लो पदार्थ प्राप्त गर्नुको साथै प्रोटिन र अन्य आवश्यक पोषण तत्व पाइन्छ।यो समयमा महिलाले बच्चालाईस्तनपान गराउनु पर्ने हुँदा क्यालसियमयुक्त खानेकुराको बढी मात्रमा जरुरत हुन्छ। दूध र यसबाट बनेका परिकार, तोफू, आलमोन्ड आदि कुराहरुमा क्यालसियम धेरै मात्रामा पाइन्छ र यस्ता खानेकुरा खुवाउन जोड दिनु पर्दछ। प्रायजसो नेपाली समुदायमा सुत्केरी महिलालाई ज्वानोको झोल खुवाइन्छ। बच्चालाई स्तनपान गराउने समयमा पोषणको हिसाबले यसलाई उत्कृष्ट मानिन्छ किनकि यसमा क्यालसियमको मात्रा धेरै हुनुको साथै अन्य खनिज तत्वहरु पनि पाइन्छ। क्यालसियम भएका खानाले दूध उत्पादनमा सहयोग पुर्या्उनुको साथै महिलाको हड्डीलाई बलियो बनाउँछ र शरीरलाई पहिलाको अवस्थामा पुर्याउन सहयोग गर्दछ। स्तनपान गराउने महिलालाई चिल्लो पदार्थको मात्रा अरु समय भन्दा बढाएर खानु पर्दछ। सकेसम्म वनस्पतिजन्य चिल्लो पदार्थलाई प्राथमिकता दिनु पर्दछ। यतिखेर महिलाले पानीको साथै अन्य प्रकारका झोल पदार्थ पनि बढाएर खानु पर्दछ, जसले गर्दा प्रशस्त दूध उत्पादन हुन्छ। सुत्केरी महिलाहरुमा सरसफाईमा पनि यतिखेर विशेष ध्यान दिनु पर्दछ। हाम्रो कतिपय नेपाली समुदायमा नङ काट्नु हुदैन, दाँत माझ्नु हुदैन, नुहाएमा चिसो लाग्दछ भन्ने गलत धारणाहरु छन्। यदि उचित र समय समयको सरसफाई भएन भने शरीरमा संक्रमण हुनुको साथै यसले शारीरिक र मानसिक स्वास्थ्यलाई असर पार्दछ। सुत्केरी महिलाले यो समयमा धुम्रपान गर्नुहुँदैन । यसको कारणले आमा साथै उनको शिशुको स्वास्थ्यमा विशेषत श्वासप्रश्वास समन्धी समस्या ल्याउन सक्दछ। कतिपय नेपाली समुदायको जाति विशेषमा यतिखेर अल्कोहल भएका चीजहरु जस्तै जाँड, छयाङ दिइन्छ। जसले गर्दा सुत्केरी महिलालाई निन्द्रा लागेर आराम हुन्छ र साथै दूध धेरै उत्पादन हुन्छ भन्ने गलत विश्वास छ। यो स्वास्थ्यको लागि राम्रो होइन, किनकि यदि दूध खुवाइरहेकी आमाले यी चीजहरु खाँदा, आमाको दूध मार्फत अल्कोहलको मात्रा बच्चामा जाने र विकास भइरहेको दिमागलाई यसले असर पुर्याउँछ। त्यस्तै यस समयमा क्याफिन भएका चीजहरु जस्तै चिया, कफी, क्याफिनेटेड चकलेट नखानु राम्रो हो, किनकि आमाले यस्ता चीजहरु लिदा दूध मार्फत जाने र बच्चामा निदाउन गाह्रो हुने र कम समय मात्र सुत्ने समस्या आउन सक्दछ। त्यसको साथै यी चीजहरुले शरीरमा खनिज तत्व आइरन सोसिनलाई असर पुर्याउँछ, जुन रगत बढ्नको लागि आवश्यक हुन्छ। सुत्केरी महिलाले पोषणयुक्त खानाको साथै शारीरिक कसरतमा पनि ध्यान दिनु पर्दछ। बच्चा जन्मेको केही दिनमा महिलाले सामान्य घरको हल्का काम र हिँडडुल गर्दा राम्रो हुन्छ। अमेरिकन कलेज अफ अबसटेटृसियन एण्ड गाइनेकोलोजिस्टको अनुसार सुत्केरी महिलाले हप्तामा १५० मिनेटवा दिनको ३० मिनेटसम्म मध्यम खालकोख (पसिना आउने र श्वासप्रश्वास बढने गरी) कसरत गर्नु पर्दछ। यतिखेर गरिने कसरतहरुमा हिडडुल गर्ने, योगा, डान्स, मेडिटेसन आदि पर्दछन्। शारीरिक कसरत गर्नाले महिलालाई विभिन्न फाइदाहरु हुन सक्दछन्। कसरतबाट हुने फाइदाहरुमा मुख्यतः शरीरको मांसपेशीलाई बलियो बनाउँछ, मुटुलाई स्वस्थ बनाउन सहयोग गर्छ र तौल नियन्त्रणमा सहयोग पुर्याउँछ। जसले गर्दा भविष्यमा हुन सक्ने दीर्घ रोगका समस्याहरु (मोटोपना, उच्चरक्तचाप, मधुमेह)को संभावनालाइ कम गर्दछ। यसको साथै महिलाको मानसिक स्वास्थ्य राम्रो राख्न महत्वपूर्ण भुमिका खेल्दछ। तर बच्चा जन्मेको शुरुको ६ हप्ता गाह्रो गरम भारी बोक्ने वा उचाल्ने गर्नु हुँदैन किनकि यतिखेर महिलाको पाठेघरको आकार ठूलो हुने र आफ्नो सामान्य अवस्थामा आइनपुगेको हुँदा यस्ता कार्यहरुले पाठेघर झर्ने समस्या बढ्न सक्दछ। सुत्केरी महिला र नवजात शिशु राख्ने कोठा हावा आवतजावत हुने आवश्यक अक्सिजन पुग्ने खालको हुनु पर्दछ। यसको लागि सानो भेन्टिलेसनको ब्यवस्था हुनु पर्दछ। कोठालाई मौसम अनुसार न्यानो राख्नु पर्दछ जसले गर्दा सानो नवजात शिशुलाई चिसो लाग्न नपाओस् । कोठामा कोइला बालेर राख्ने र ग्यास हिटर लामो समयसम्म बालेर गुम्सने गरी राख्नु हुदैन । त्यस्तो ठाउँमा अक्सिजन मात्रा काम भएर निस्सासिने समस्या हुन सक्दछ। यो समय सुत्केरी महिला र नवजात शिशुको लागि विशेष अवस्था हो। यस समयमा राम्रो स्याहार र हेरचाह पाउँदा स्वास्थ्यमा जटिलता कम हुने गर्दछ। घर परिवार र स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भुमिका हुन्छ। बच्चा जन्मेको शुरुको दिनहरुमा सुत्केरी आमा आफैले आफ्नो र नवजात शिशुको आवश्यक सबै स्याहार र हेरचाह गर्न सक्दिनन्। त्यसैले उनलाई साथ, सहयोग चाहिन्छ। स्वास्थ्यकर्मीहरुले सुत्केरी आमा र उनको परिवारलाई आवश्यक स्वास्थ्य सल्लाह को साथै, स्तनपान गराउन सहयोग, बच्चाको स्याहार गर्ने तरिका सिकाउन सक्दछन् भने घर परिवारले उनलाई सहयोग गर्न सक्दछन्। यदि आमा र बच्चाको स्वास्थ्यमा जटिलता आएमा तुरुन्त स्वास्थ्य संस्थामा लैजानु पर्दछ।सुत्केरी महिलाको शारीरिक र मानसिक स्वास्थ्य सुधार गर्नको लागि घरपरिवार, स्वास्थ्यकर्मी तथा समुदायको उल्लेखनीय भूमिका हुन्छ। स्वस्थ महिला र बच्चा भोलिको समाज तथा देश विकासको आधार बन्न सक्दछन् । (घिमिरे ललितपुर नर्सिङ क्याम्पस (पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान)मा सह-प्राध्यापकका रुपमा कार्यरत छिन्।)
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। थुनामुक्त गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा परेको छ ।

रविकी श्रीमती निकिता पौडेलको तर्फबाट दायर भएको रिट आज सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा पेशी तोकिएकोमा हेर्न नमिल्नेमा परेको हो ।

हाल जिल्ला कारागार कार्यालय रूपन्देहीमा थुनामा रहेका लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गैरकानुनी थुनामा राखिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश दिएको थियो।

उक्त आदेश कार्यान्वयन गराउन लामिछानेलाई प्रहरीले बेलुका ८ः३० तिर घरबाटै पक्राउ गरेका थिए। लामिछानेको पक्राउ प्रक्रियामा प्रक्रिया पूरा नगरिएको रिट निवेदकको दाबी छ।


सामाग्री श्रोत :

रवि लामिछानेको मुद्दा हेर्न नमिल्ने

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले नयाँ कानुन लेख्न र विद्यमान कानुनहरू समीक्षा गरेर संशोधन गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्ने भएको छ । प्रविधिमा अर्बौँ डलर लगानी गरिसकेको उक्त गल्फ राष्ट्रको यो योजनालाई क्रान्तिकारी कदम मानिएको छ ।

त्यहाँको सरकारी सञ्चार माध्यमले यसलाई ‘एआई-सञ्चालित नियमन’ भनेको छ, र विज्ञहरूले यसको दायरा अन्य कुनै देशमा देखिएको भन्दा व्यापक हुने बताएका छन् । यद्यपि यसको कार्यान्वयन सम्बन्धी विवरण खुलाइएको छैन ।

अन्य धेरै देशहरूले विधेयकहरूको संक्षिप्त विवरण तयार पार्ने, सार्वजनिक सेवाहरू सुधार्ने जस्ता काममा एआई प्रयोग गरिरहेका छन् । तर एआईलाई नै सरकारी तथा कानुनी डेटा विश्लेषण गर्न लगाएर कानुन परिवर्तनमा सहयोग लिने स्तरसम्म भने पुगेका छैनन् ।

“यो नयाँ कानुन निर्माण प्रणाली एआईबाट सञ्चालित छ, जसले हाम्रो कानुन निर्माण प्रक्रियालाई छिटो र बढी सटीक बनाउनेछ,” दुबईका सरकार प्रमुख तथा यूएईका उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मकतुमले भनेका छन् ।

गत साता मन्त्रीपरिषदले नयाँ ‘रेगुलेटरी इन्टेलिजेन्स अफिस’ नामक एक क्याबिनेट एकाइ गठन गर्ने निर्णय गरेको थियो । जसले यो एआईबाट सञ्चालित नियमन योजनाको निगरानी गर्नेछ ।

कोपेनहेगन बिजनेस स्कुलका प्राध्यापक रोनी मेडाग्लियाले भनेका छन्, “यूएईले एआईलाई सह–विधायक (co‑legislator) को रूपमा प्रयोग गर्ने महत्त्वाकाङ्क्षा देखाएको छ, र यो कदम धेरै साहसी छ ।”

आबुधाबीले एआईमा ठुलो लगानी गरेको छ र गत वर्ष ‘एमजीएक्स’ नामक एउटा विशेष लगानी संस्था खोलेर ब्ल्याकरकको ३० अर्ब अमेरिकी डलरको एआई पूर्वाधार कोषमा साझेदारी गरेको थियो । एमजीएक्सले आफ्नो बोर्डमा पनि एआई सुपरिवेक्षक थपेको छ ।

यूएईले एक बृहत् डेटाबेस तयार गरी कानुनले जनसङ्ख्या र अर्थव्यवस्थामा पर्ने प्रभावलाई एआई मार्फत ट्य्राक गर्ने योजना बनाएको छ । यसमा सङ्घीय र स्थानीय दुवै कानूनहरू, अदालतका फैसला तथा सरकारी सेवा सम्बन्धी डेटाहरू समावेश गरिनेछन्।

सरकारको निर्णयअनुसार, एआईले कानुन निर्माण प्रक्रियालाई ७० प्रतिशत छिटो बनाउने अपेक्षा गरिएको छ । तर विज्ञहरूले यस्तो प्रणालीले कयौँ चुनौती र खतराको सामाना गर्न सक्ने चेतावनी दिएका छन् । एआई मोडेलहरू कहिलेकाहीँ ‘हल्युसिनेट’ गर्छन् र तिनमा विश्वसनीयता तथा मजबुती सम्बन्धी समस्या रहने भन्दै अक्सफोर्ड विश्वविद्यालयका विन्सेन्ट स्ट्राउबले फाइनान्सियल टाइम्ससँग भनेका छन्, “हामी एआईलाई पूरै विश्वास गर्न सक्दैनौँ ।”

स्ट्राउबका अनुसार, यूएईको योजना विशेषगरी नवीन छ, किनभने यसले आवश्यक कानुनी परिमार्जन पूर्वानुमान गर्ने क्षमता समेत राख्ने बताइएको छ । यसले सरकारले प्रायः ल-फर्महरूमा गर्ने परामर्श खर्च पनि घटाउन सक्छ ।

अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटका लेक्चरर किगन म्याकब्राइडले भनेका छन्, “अधिनायकवादी यूएई सरकारलाई डिजिटलाइज गर्न र एआई अपनाउन बढी सजिलो भएको छ; किन कि उनीहरू छिटो निर्णय गरी परीक्षण गर्न सक्छन् ।”

विश्वका थुप्रै सरकारहरूले कानुन निर्माणमा साना स्तरमा एआई प्रयोग गरिरहेका भए पनि यो स्तरको योजनाको उदाहरण मैले अन्यत्र देखेको छैन,” म्याकब्राइडले थपेका छन् ।

यद्यपि अझै यूएई सरकारले कुन एआई प्रणाली प्रयोग गर्नेछ भन्ने निश्चित छैन । विज्ञहरूले आवश्यक परेमा विभिन्न मोडेलहरू मिलाएर प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् । मानव निगरानी र कडा नियन्त्रण रेखा तोक्नु अत्यावश्यक हुनेछ । अन्यथा एआईले ‘मसिनका लागि मात्र बुझिने’ अचम्मका प्रस्ताव दिन सक्छ, जुन मानिसका लागि लागु हुनै नसक्ने खालका हुने सम्भावना छ,” बाथ विश्वविद्यालयकी मारिना डे वोसले भनेकी छिन् ।

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ १०:५६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा र विश्व स्वास्थ्य सङ्गठन, ‘द प्याण्डामिक फण्ड’को आर्थिक  प्राविधिक सहयोगमा पोखरामा सञ्चालित अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना  विकाससम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ।

कार्यशालाा गण्डकी प्रदेशअन्तर्गतका १२ स्याटेलाइट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीको सहभागिता रहेको थियो।

ती अस्पतालमा बुर्तिबाङ अस्पताल, बागलुङ,  प्रादेशिक अस्पताल मुस्ताङ जोमसोम, दमौली अस्पताल, तनहुँ, प्रदेश अस्पताल पुतलीबजार, स्याङ्जा, लमजुङ जिल्ला अस्पताल, लमजुङ,प्रादेशिक अस्पताल बेनी, प्रादेशिक अस्पताल चामे मनाङ,  प्रदेश अस्पताल कुस्मा, पर्वत,आमपिपल अस्पताल, गोरखा, मध्यविन्दु प्रादेशिक अस्पताल नवलपुर,  मातृ शिशु मितेरी प्रादेशिक अस्पताल कास्की,प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल कास्की रहेका थिए। 

Ncell 2
Ncell 2

सहभागीहरूले विज्ञ प्रशिक्षकको मार्गनिर्देशनमा ‘हस्पिटल सेफ्टी इनडेक्स प्लस एप’ प्रयोग गरेर आफ्ना अस्पतालको ‘एचडिपिआरपी’ विकास गरेका थिए।  सहभागीलाई जनस्वास्थ्य आपत्काल अवस्थाहरूको लागि समन्वय र सञ्चार, ‘एचइओसी’ सञ्जाल, हब तथा स्याटलाइट अस्पताल सञ्जाललगायतका विषयमा विस्तृत जानकारी गराइएको थियो। सहभागीले विकास गरिएका एचडिपिआरपि योजना परीक्षण गर्नका लागि ‘टेबलटप’ अभ्यास पनि गरेका थिए। 

यी योजनाहरू अब प्रत्येक अस्पतालमा लागू गरिने र कर्मचारीहरूलाई अद्यावधिक गरेर प्रभावकारी कार्यान्वयनको लागि मद्दत पुर्याइने तथा यसले तयारीमा सुधार ल्याउने जनाइएको छ। 

shivam cement
shivam cement

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीको अध्यक्षता समापन कार्यक्रम सम्पन्न भएको थियो। सो अवसरमा उनले स्वास्थ्य आपतकालीन अवस्थालाई सम्बोधन गर्न पूर्व तयारी गरिएको जानकारी दिनुभयो।  प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्का, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञ प्रशिक्षक  डा विकल श्रेष्ठ र डा सुवाष न्यौपानेले प्रशिक्षण दिनुभएको थियो। 
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं – चिकित्सा शिक्षा आयोगले गठन गरेको शुल्क परिमार्जन तथा एमबीबीएस/बीडीएसको सिट निर्धारणका लागि अध्ययन गर्न बनाइएको कार्यदलको बैठक सोमबार बस्दैछ। अपराह्न ४ बजे बस्ने तय गरेको बैठकले विषय प्रवेश गर्नेमा अन्योलता भने कायम छ। चिकित्सा शिक्षा आयोगको १६ औं आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय भएको थियो। उक्त निर्णय निजी मेडिकल कलेजले कार्यान्वयन नगर्दा आवासीय चिकित्सक आन्दोलनमा छन्। कार्यान्वयनका लागि प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पुन: स्मरण पत्र पठाउँदा समेत निजी मेडिकल कलेजले सम्बोधन गरेका छैनन्। प्रधानमन्त्री ओलीले नभइ आयोगका अन्य पदाधिकारीको जोडबलमा उक्त पत्र पठाइएको निजी मेडिकल कलेज सञ्चालकको बुझाइ छ। नयाँ भर्ना गरेपछि लागु हुने बताउँदै पहिले नै भर्ना भएका विद्यार्थीलाई उक्त निर्वाह भत्ता नदिने अडानमा निजी मेडिकल कलेज सञ्चालक देखिन्छन्।कार्यदलकै केही सदस्यहरुलेउक्त निर्णय कार्यान्वयन नभइ आफूहरु कार्यदलको कार्यादेशमा प्रवेश नगर्ने बताइरहेका छन्। शनिबार भएको कार्यदलको बैठकमा कार्यदलका सदस्यद्वय डा अनिल कार्की र डा मंगल रावलले १६ औं बैठकको निर्णय कार्यान्वयन नभइ काम गर्न नसकिने बताएका थिए। कार्यदलको बैठकमा सहभागी नेपाल चिकित्सक संघका अध्यक्ष डा कार्कीले आफ्नो कार्यसमितिको निर्णय सुनाएका थिए। जहाँ एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष तथा विराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्रमान सिंह कार्कीले दुबै विषय सँगसँगै अघि बढाउनुपर्ने बताएका थिए। तर, १६ औं बैठकको निर्णय कार्यान्वयन नगरी अन्य कुरा अघि नबढ्ने पक्षकै जोडबल भएपछि विषय प्रवेश नगरी बैठक सकिएको थियो। शिक्षा सचिव डा दिपक काफ्ले संयोजत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको छ कार्यदलमा स्वास्थ्य सचिव डा विकास देवकोटा, डा रमेशकान्त अधिकारी, मेडिकल काउन्सिलका पूर्व अध्यक्ष डा भगवान कोइराला, आइओएमको पूर्वडीन  डा दिव्या सिंह शाह,  नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्की, मेडिकल कलेज एण्ड डेन्टल कलेज एशोसिएसन अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्की, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा मंगल रावल आइओएमका डिन डा मोहनराज शर्मा र केयू स्कुल अफ मेडिसिनका डीन डा भोला थापा सदस्य छन्। शिक्षा मन्त्रालयका सहसचिव सदस्य सचिव रहनेछन्।  
सामाग्री श्रोत :
swasthyakhabar

ताप्लेजुङ। पाथीभरा मन्दिरतर्फ यात्रु बोकेको एउटा जिप सोमबार बिहान पाँच बजेतिर सदरमुकाम फुङलिङबाट चुपचाप यात्रा सुरू गरेको थियो।

बिहानको चिसोमा लपक्क परेको कुहिरो छिचोल्दै यात्रुले आ-आफ्ना आस्थाका थुप्रा बोकेका थिए। कसैको मनमा आफ्नो मुराद पूरा गर्ने आशा थियो, कसैले घर फर्केपछि ल्याउने ‘प्रसाद’ को कल्पना गर्दै थिएका थिए।

तर त्यो यात्रा, बीचमै रोकियो-आगोको गोलामा परिणत हुँदै।

पाथीभरा क्षेत्रको सेवारो चोक पुग्नै लाग्दा, अचानक जिपले सडकमा लत्रिएको बिजुलीको तार छोयो। एक झ्याप्प आवाज, अनि आगोको ठूलो मुस्लो।

सेवारो चोकले यति दर्दनाक दृश्य सम्भवतः कहिल्यै देखेको थिएन।

मे १ ज ३०११ नम्बरको जिप पाथीभरातर्फ यात्रु बोकेको थियो। तर, लत्रिएको विद्युतको तारले टच गर्दा सवारीमा आगलागी भयो। जिपभित्रका यात्रुहरूलाई न त भाग्ने मौका मिल्यो, न त कुनै सहायता पुग्यो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावल भन्छन्, ‘दुर्घटनामा दुई पुरुष र दुई महिला गरी चार जनाको घटनास्थलमै मृत्यु भएको छ।’

च्यापिएको जिपबाट सकससाथ निकालिएका दुई जना यात्रु घाइते छन्। उनीहरू आमा र छोरा हुन्। आमाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट लैजाने प्रयास भइरहेको प्रहरीले जनाएको छ। उनका १० वर्षीय छोराको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

मृत्यु हुनेमा ललितपुर महानगरपालिका-१० का १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका-१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका-१० का ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन्।

त्यस्तै, घाइते हुनेमा ललितपुर-१० का ४५ वर्षीया सविना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्य छन्।

स्थानीयहरू भन्छन् – आगलागीपछि केही यात्रुहरू बच्न खोजे, तर जिपमा लागेको आगो यति भीषण थियो कि चार जनाको शव नचिनिने अवस्थामा जलेर नष्ट भएको छ।

अहिले पनि सेवारो चोकमा आगोको गन्ध र मृत्युको सन्नाटा फैलिएको छ। मानिसहरू मौन छन्, आकाश छात्तिएको छ।

ताप्लेजुङजस्ता पहाडी जिल्लामा सडकसँगै विद्युत्का पोलहरू र तारहरू अनियन्त्रित ढंगले बिछ्याइएका छन्। कतै पोल बाङ्गिएका छन्, कतै तार लत्रिएका छन्। यस्ता दुर्घटनाहरूका जोखिमबारे पटक-पटक चेतावनी दिइँदै आएको भए पनि सुधार भएको छैन।

स्थानीय एक बासिन्दा भन्छन्, ‘हामीले पहिले नै भनिरहेका थियौं तार लत्रिएको छ। कुनै दिन ठूलो दुर्घटना हुन्छ। तर सुन्ने कसले?’

आज त्यो डर साँचो भयो। चार जना निर्दोष यात्रुहरूको सपना अधुरैमा छोडेर।

जिपमा आगलागी यति भीषण भएको थियो कि उनीहरूको अनुहार, शरीर चिन्नसमेत मुस्किल छ। प्रहरी र स्थानीय प्रशासन पहिचान खुलाउने प्रयासमा जुटिरहेका छन्।

पाथीभरा, जसलाई हजारौं भक्तजनले आफ्नो आस्था र विश्वासको थलो मानेका छन्। तर, पुग्नुअघि नै चार यात्रुले जीवन गुमाउनु पर्‍यो। यो केवल एउटा दुर्घटना मात्र होइन, आस्थाको यात्रा बीचमै रोकिएको एउटा पीडादायी कहानी हो।

ताप्लेजुङका स्थानीयबासी भन्छन्, ‘यो केवल बिजुलीको तार मात्र होइन, राज्यको बेवास्ताले बुनेको एउटा मृत्युतर्फको बाटो थियो।’

अब प्रश्न उब्जिएको छ के अब पनि यस्ता लत्रिएका तारहरू सही गर्न ढिला गरिने छ? वा यी चार जीवनहरूको बलिदानले केही सचेतता ल्याउने छ?

सेवारो चोक, जसले आज एउटा कालो बिहान देख्यो, अब सधैंका लागि एउटा सम्झनाको स्थल बनेर बाँकी रहने छ।


सामाग्री श्रोत :

सेवारो चोक : जसले आज कालो बिहान देख्यो

काठमाडौँ । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले सन् २०३५ सम्ममा एआईले डाक्टर, शिक्षक लगायत धेरै पेसाकर्मीको जागिर विस्थापित गर्ने भविष्यवाणी गरेका छन् । हालै एक पडकास्टमा बिल गेट्सले एआईको प्रभावबारे आफ्नो धारणा प्रस्तुत गर्दै डाक्टर र शिक्षकको अभाव एआईले मेटाउने पूर्वानुमान गरेका हुन् । 

गेट्सले डाक्टर र शिक्षक जस्ता लामो समयदेखि स्वचालित प्रविधिबाट बाहिर ठानिएका पेसा नै सबैभन्दा पहिला एआईले रूपान्तरण वा विस्थापित गर्ने तर्क अघि सारेका छन् । अहिले डाक्टरसँग सल्लाह लिने वा राम्रो शिक्षकसँग पढ्ने कुरा महँगो हुँदै गएको छ । साथै यी कुरा सबैका लागि सजिलो र पहुँचयोग्य पनि छैनन् । 

यस्तो अवस्थामा अबको १० वर्षभित्र एआईले निःशुल्क रूपमा राम्रो स्वास्थ्य सल्लाह दिने र राम्रो पढाउने काम गर्न सक्ने बिल गेट्सले बताए । यसले गर्दा स्वास्थ्य र शिक्षा क्षेत्रमा विशेषज्ञको अभाव भएका भारत र अफ्रिकी देशमा यो उपयोगी हुने उनको भनाइ छ । 

त्यति मात्र नभई भविष्यमा एआईले कारखानामा काम गर्ने, घर बनाउने, होटेलमा सेवा दिने, गाडी चलाउने, खेतमा काम गर्ने जस्ता धेरै खालका शारीरिक र सामान्य कामहरू पनि गर्न थाल्ने उनको अनुमान छ । एआई र रोबोट दिनानुदिन स्मार्ट हुँदै जाँदा तिनीहरूले यस्ता काम सजिलै गर्न सक्छन् । अहिले जुन काममा करोडौँ मानिस आबद्ध छन्, भविष्यमा ती काम पनि एआईले गर्न सक्नेमा उनी विश्वस्त छन् । मानिसले गर्ने परम्परागत कामको तरिका नै एआईले परिवर्तन गर्न सक्ने उनले उल्लेख गरेका छन् ।

विभिन्न देशमा स्वास्थ्यकर्मी र शिक्षकको अभाव भएको बताउने बिल गेट्सको भनाइलाई विभिन्न अध्ययन प्रतिवेदनले पनि पुष्टि गरेका छन् । बिजनेस इन्साइडरका अनुसार संयुक्त राज्य अमेरिकाले पनि यस्तै चुनौतीको सामना गरिरहेको छ । 

बिजनेस इन्साइडरले स्रोत मानेको एसोसिएसन अफ अमेरिकन मेडिकल कलेजको एक प्रतिवेदनले सन् २०३६ सम्ममा अमेरिकामा ८६ हजारसम्म चिकित्सक, विशेषज्ञ र प्राथमिक स्वास्थ्य चिकित्सकको अभाव हुन सक्ने अनुमान गरेको छ ।

स्वास्थ्य क्षेत्रका यी कमीलाई पूरा गर्न र कामको बोझ तथा तनाव कम गर्न सुकी, जेफर एआई, टेनएनआर जस्ता स्वास्थ्य सेवामा केन्द्रित एआई स्टार्टअपले अर्बौँ डलर लगानी जुटाएका छन् । उनीहरूले बिलिङ र नोट लिने जस्ता दैनिक कामलाई स्वचालित बनाउने, रोग निदानको सटीकता सुधार्ने र नयाँ उपचारका लागि उपयुक्त बिरामी पहिचान गर्न मद्दत गर्ने बाचा गरेका छन् ।

यता जेनेरेटिभ एआईले स्वास्थ्य सेवा र औषधि उद्योगमा उत्पादकत्वलाई ३७० अर्ब डलरसम्म बढाउन सक्ने म्याकिन्से नामक परामर्शदाता फर्मले अनुमान गरेको छ । बिल गेट्सले प्रविधि क्षेत्रका साथसाथै समाजको सोचाइमै परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन् । 

एआई दिनानुदिन थुप्रै काममा अगाडि हुँदै जाने भएकाले परम्परागत कामको धारणा फेरिनुपर्ने उनको सुझाव छ । उनका अनुसार एआईले उत्पादन क्षमतामा वृद्धि गर्नुका साथै सामान्यदेखि जटिल काम पनि स्वचालित हुनेछन् । त्यसैले भविष्यमा काम गर्ने दिनको सङ्ख्या घट्ने, मान्छेले छिट्टै अवकाश पाउने र फुर्सदको समय बढ्ने उनको भविष्यवाणी छ । 

गेट्सले यस्तो भविष्यलाई ‘पोस्ट-लेबर वर्ल्ड’ भनेर परिभाषित गरेका छन् । यो अवधारणा अनुसार जसरी अहिले जागिर खानु वा काम गर्नु नै जीवनको मुख्य आधार छ, भविष्यमा त्यसो हुने छैन । उनी अगाडि भन्छन्, “जागिर भन्ने कुरा अभावको कारणले बनेको हो । जागिर बिनाको भविष्य कल्पना गर्न तपाईँको मस्तिष्कलाई फेरि प्रोग्राम गर्नुपर्ने हुन्छ । यो गाह्रो काम हो ।”

यस्तो परिवर्तन आउने हो भने समाजले नयाँ तरिकाले जीवनको उद्देश्य र उत्पादकतालाई परिभाषित गर्न सक्ने उनको भनाइ छ । यो परिवर्तन उत्साहजनक भए पनि असजिलो हुन सक्ने गेट्सको स्वीकारोक्ति छ । एआईको प्रयोगले सस्तोमा धेरै वस्तु तथा सेवा उपलब्ध हुने अवस्था ल्याउन सक्छ । तर यदि यसले सिर्जना गर्ने फाइदा सबैलाई समान रूपमा वितरण भएन भने आर्थिक अस्थिरता, रोजगारी गुम्ने समस्या र असमानता झनै बढ्न सक्ने जोखिम समेत उनले औँल्याएका छन् ।

यी चुनौतीलाई सम्बोधन गर्न गेट्सले सार्वभौमिक आधारभूत आय, कामको समय घटाउने र सम्पत्ति वितरणका लागि नयाँ नीति लागु गर्नुपर्ने सुझाव दिएका छन् । मानिसले गर्ने सबै काम एआईले विस्थापित गर्ने कुरामा भने बिल गेट्स सहमत छैनन् । खासगरी रचनात्मक क्षमता आवश्यक पर्ने काम, भावनात्मक बौद्धिकता, जटिल समस्या समाधान गर्ने क्षमता, थेरापिस्ट, कलाकारिता, हेरचाहकर्ता जस्ता काममा मान्छेको आवश्यकता बढ्ने उनी बताउँछन् । त्यसैगरी कोडिङ, ऊर्जा, जीव विज्ञान जस्ता क्षेत्रमा पनि मान्छेको विज्ञता अपरिहार्य हुने उनको भनाइ छ । यी क्षेत्रलाई एआईले परिवर्तन गरे पनि मानिसको विज्ञता पनि सँगसँगै आवश्यक पर्नेछ । 

त्यसैगरी दिनानुदिन फैलिरहेका भ्रामक तथा मिथ्या सूचना, पूर्वाग्रही प्रवृत्ति, सीमित प्रविधि कम्पनीसँग सञ्चित सामर्थ्य आदिमा खतराको सङ्केत भएकाले यसलाई पनि मानिसले विचार गर्नुपर्ने उनको तर्क छ । बिल गेट्सले नयाँ पुस्तालाई मानव केन्द्रित क्षेत्रमा विकास गर्न प्रेरित गरेका छन् ।

 

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ ९:५५





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट