
काठमाडौँ । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कमा आएका छन् । आर्थिक वर्षको अन्त्यमा कार्यालय भुक्तानीका लागि आवश्यक वन टाइम पासवर्ड (ओटीपी) लिन गएको टोली २४ असार बिहानदेखि सम्पर्कविहीन भएको थियो । गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढामगरका अनुसार सबै कर्मचारी सकुशल छन् ।
“प्रमुख प्रशासकीय अधिकृतले आज (बिहीबार) बिहान ७:०५ बजे फोन गर्नुभएको थियो,” अध्यक्ष बुढामगरले टेकपानासँग भने, “उहाँले हामी गुल्मीमा ठीक छौँ, आज लिबाङ आएर पालिकामा पुग्छौँ भन्नुभयो ।”
२३ असार राति प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरको नेतृत्वमा सात सदस्यीय टोली छिमेकी जिल्ला रुकुम पूर्व गएको थियो । तर २४ असार बिहानदेखि उनीहरूसँग सम्पर्क हुन नसकेपछि गाउँपालिकाले बुधबार विज्ञप्ति जारी गरेको थियो ।
टोलीमा प्रशासकीय अधिकृत घर्तीमगरसँगै सहायक प्रशासन (पाँचौँ तह) का कर्मचारी, सह-लेखापाल यज्ञप्रसाद कँडेल, सब-इन्जिनियरद्वय चन्द्रप्रकाश वली र निशा आचार्य, खा.पा.स.टे. शिवकुमार वली र सवारी चालक प्रदीप केसी थिए ।
विज्ञप्तिमा भनिएको थियो, “कार्यालयको तर्फबाट सम्पर्क गर्दा सबैको मोबाइल अफ रहेको पाइयो । खोजी गर्दा रुकुम पूर्वमा पनि नभेटिएकाले कार्यालयको कामकाज प्रभावित भएको छ ।”
मोबाइलहरू बन्द हुनुको कारणबारे स्पष्ट जानकारी प्राप्त नभएको अध्यक्ष बुढामगरले बताए । प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीलाई सम्पर्क गर्न खोज्दा उनीहरूको फोन उठ्न सकेको थिएन ।
पछिल्लो अध्यावधिक: असार २६, २०८२ १४:१६
सामाग्री श्रोत :
टेक पाना
काठाडौँ । एनआईसी एसिया बैँकले ग्राहकहरूलाई आफ्नो खातामा प्यान नम्बर अपडेट गर्न अनुरोध गरेको छ । मोबाइल बैँकिङ तथा वेबसाइटमार्फत प्यान अपडेट गर्न सकिने व्यवस्था मिलाएको बैँकले अन्यथा ग्राहक नै जिम्मेवार हुने भन्दै यस्तो अनुराेध गरेको हो ।
बैँकका ग्राहकहरूको खाताबाट गरिएको कर कट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम आन्तरिक राजस्व विभागको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने हुन्छ । एनआईसी एसिया बैँकले यसका लागि आफ्नो वेब पोर्टल panupdate.nicasiabank.com र मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा मार्फत प्यान अपडेट गर्न सकिने व्यवस्था मिलाएको छ ।
ग्राहकहरूलाई यथाशीघ्र प्यान अपडेट गर्न भन्दै बैँकले आफूलाई पायक पर्ने बैँकको नजिकैको शाखा कार्यालयबाट समेत प्यान अद्यावधिक गर्न सकिने प्रबन्ध मिलाइएको छ । बैँकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई-टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अनिवार्य छ ।
उक्त प्यान अद्यावधिक भएपश्चात् सम्बन्धित ग्राहकको कर कट्टीको विवरण (ई-टीडीएस) सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा कर कट्टीको विवरण मिलान गर्दछ । जसले गर्दा ग्राहकहरूलाई कर कट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैँकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने विश्वास बैँकले लिएको छ ।
प्यान अद्यावधिक नगराएका कारणले ई-टीडीएसमा ब्याज कर दाखिला नभएमा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेमा बैँक जिम्मेवार नहुने समेत उल्लेख छ । साथै, यसअघि बैँकलाई प्यान उपलब्ध गराएर पनि कर कट्टीको विवरण समावेश नभएको खण्डमा भने बैँकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बर १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार २६, २०८२ १३:७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । नक्सालमा सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै थलोमा उपलब्ध गराउने उद्देश्यले ‘सी–कार’ सञ्चालनमा आएको छ । नयाँ तथा सेकेन्ड ह्यान्ड गाडीको सोरुम, एक्सेसरिज पसल, चार्जिङ स्टेसन र क्याफेसहितका विभिन्न सुविधा एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले सी–कार सुरु गरिएको हो ।
कम्पनीका अनुसार पछिल्लो समय विद्युतीय सवारीमा अत्यधिक रुचाइएको बीवाईडीको नयाँ शोरुमले ग्राहकलाई सहज हुनेछ । साथै सी–कारमा विभिन्न ब्रान्डका सेकेन्ड ह्यान्ड सवारी साधन पनि उपलब्ध हुनेछन् । ग्राहकले सेकेन्ड ह्यान्ड सवारी खरिद गर्नुका साथै एक्स्चेन्जको सुविधा पनि पाउनेछन् ।
कम्पनीले सवारी खरिदबिक्रीका साथै सी–कार परिसरमा चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याएको छ । जहाँ एकै साथ ६ ओटा ईभी फास्ट चार्ज गर्न सकिने बताइएको छ । ग्राहकले सी–कार परिसरमै रहेको इटालियन रेस्टुरेन्ट र सवारी साधनका स्पेयर पार्टस पनि सुलभ मूल्यमै पाउन सकिने कम्पनीका संस्थापक रोशन घिमिरेले जानकारी दिए ।
कम्पनीले सेकेन्ड ह्यान्ड सवारी बिक्री गरेको तीन महिनासम्म सम्पूर्ण प्राविधिक जिम्मेवारी लिनेछ । “ग्राहकहरू अहिले सेकेन्ड ह्यान्ड सवारी खरिद गर्दा ढुक्क हुने अवस्था छैन, त्यसैले हामीले तीन महिनाका लागि प्राविधिक रूपमा कुनै समस्या आए समाधानको जिम्मेवारी लिने गरी अफर दिइरहेका छौँ,” घिमिरेले भने ।
साथै कम्पनीले ग्राहकलाई अझ बढी सेवा दिने उद्देश्यले ब्लुबुक नि:शुल्क नवीकरण सुविधा पनि ल्याएको छ । सी–कारमार्फत सवारीको बीमा गर्नेले ब्लुबुक नवीकरणको सुविधा पाउनेछन् । जसका लागि कुनै पनि अतिरिक्त शुल्क तिर्नु नपर्ने बताइएको छ ।
कम्पनीले ग्राहकहरूलाई सहज सेवा दिने उद्देश्यले सदस्यता योजना पनि ल्याएको छ । सदस्यता योजनामा सी–कारमा उपलब्ध कुनै पनि सेवा उपयोग गर्दा निश्चित प्वाइन्ट प्राप्त हुने र त्यस वापत विभिन्न सेवामा आकर्षक छुट पाउन सकिने कम्पनीको भनाइ छ । ४ रोपनी क्षेत्रफलमा फैलिएको सी-कारमा करिब ५० जनाले रोजगारी पाएका छन् ।
पछिल्लो अध्यावधिक: असार २६, २०८२ ११:३८
सामाग्री श्रोत :
टेक पाना

वीरगञ्ज– वीरगञ्ज महानगरभित्र पर्याप्त मात्रामा सार्वजनिक शौचालय नहुँदा सडक व्यापारी तथा सडकमा हिँड्ने बटुवाहरूलाई समस्या हुँदै आएको छ।
महानगरभित्र करिब आधा दर्जन स्थानमा मात्रै सार्वजनिक शौचालय छन्।
भएका सीमित शौचालयको पनि शुल्क अधिकतम हुँदा सर्वसाधारणलाई समस्या हुँदै आएको हो। अधिकांशले सार्वजनिक शौचालयभन्दा पनि खुला स्थानमा शौच गर्दै आएका छन्।
वीरगञ्जको घण्टा घरचोकसँगै सार्वजनिक शौचालय छ। पैसा नभएको बाहाना गरेर अधिकांश पुरुषहरू भने खुला रूपमा जथाभावी शौच गर्ने प्रवृत्ति देखिएको छ। घण्टाघरको सार्वजनिक शौचालयमा पिसाब फेरेको रु १०, दिसा गरेको रु १५ र नुहाउनेका लागि रु ४० तोकिए पनि सर्वसाधारण पैसाको अभाव देखाउँदै प्रयोग गर्दैनन्।
वीरगञ्जको बिपी उद्यानस्थित खुला हाट व्यापारमा व्यापार गर्ने र सरसमान खरिद गर्न आउने पुरुष ग्राहकहरू खुला शौच गर्दै आइरहेका प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंहले बताए।
मिनाबजारमा अवस्थित नेपाल टेलिकमको महसुल काउन्टरको पर्खालमा पनि खुला शौच गर्नेको घुइँचो देखिन्छ। अहिलेसम्म पनि महानगर प्रहरीले सडक छेउछाउमा शौच गर्नेलाई सचेतना जगाउने तथा बानी सुधार्ने प्रयास गरेको छैन।
प्रतिष्ठानका अध्यक्ष सिंहले वीरगञ्ज महानगरमा पर्याप्त मात्रामा सार्वजनिक तथा घुम्ती शौचालय नहुँदा सडक छेउछाउमा खुला रूपमा पिसाब फेर्ने प्रवृत्ति अझैसम्म नरोकिएको गुनासो गरे।
“यहाँ जहाँपयो त्यही थुक्ने र पिसाब फेर्ने बानी अधिकांशमा छ”, उनले भने, “यस्ता गतिविधिले वीरगञ्जलाई फोहर र दुर्गन्धित बनाउँदै आइरहेको छ।” अध्यक्ष सिंहले वीरगञ्ज महानगरमा पटकपटक सुलभ र घुम्ती शौचालय व्यवस्थापनको लागि माग राख्दै आए पनि अहिलेसम्म सुनुवाइ नभएको गुनासो गरेका छन्।
प्रतिष्ठानले वीरगञ्ज महानगर प्रमुखमा राजेशमान सिंह निर्वाचित भएर आएपछि पनि विसं २०७९ जेठ १५ वीरगञ्जका सार्वजनिक सरोकारका २३ बुँदे सुझावसहित सुलभ र घुम्ती शौचालय आवश्यकता भएको भन्दै ध्यानाकर्षण गराएको थियो।
“महानगरमा सार्वजनिक शौचालय पर्याप्त नहुँदा खुलमखुला शौच गरिरहेको दृश्य देख्नुपर्दा लाजैमर्दो हुन्छ”, उनले भने, “यहाँ सुलभ शौचालय, घुम्ती शौचालय (पिसाब फेर्नका लागि) तुरुन्त व्यवस्थापन तथा त्यसको दैनिक यथोचित सरसफाई गर्न आवश्यक भइसकेको छ।”
ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले विगत केही वर्षअघि वीरगञ्जलाई खुला दिशामुक्त महानगर घोषणा गरेपनि कार्यान्वयन फितलो रहेको गुनासो गरे।
“पर्याप्त मात्रामा सार्वजनिक शौचालय नहुँदा पनि खुला ठाउँमा शौच गरिरहेको दृश्य देखिन्छ”, उनले भने, “सार्वजनिक शौचालय बनाएर सो प्रवृत्तिको अन्त्य गर्न जरुरी छ।”
महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले महानगरमा करिब आधा दर्जन बढी स्थानमा सार्वजनिक शौचालय रहेको जानकारी दिए। उनका अनुसार घण्टाघर, पुरानो बसपार्क, नयाँ बसपार्क, लक्ष्मणवाचोकलगायत स्थानमा शौचालय छन्। “यहाँको पावरहाउस चोकमा सार्वजनिक शौचालय निर्माण भइरहेको छ”, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
नेपालका वरिष्ठ न्युरोसर्जन डा. वसन्त पन्तको फेसबुक पेजमा उहाँकै गर्दनको नसा च्यापिएर शल्यक्रिया गरे पश्चात्को फोटो पोष्ट हुनासाथ शिघ्र स्वास्थ्य लाभको कामनासहित हजारौं सन्देशहरू बर्सन थाले । शुभकामना सन्देशसँगै धेरैमा शल्यक्रिया कौतुहलता र चासोको विषय बन्यो । पन्तको शल्यक्रिया ? कतिपय मानिसहरू प्रश्न गर्दै थिए । यति जटिल शल्यक्रिया डा. पन्तले नेपालमा नै गरे ? किन उनी विदेश गएनन् ? मिश्रित प्रतिक्रिया भेटिन्थ्यो ।
आमनागरिकको बुझाइ थियो ; कतै पैसाकै अभाव भएर वा विदेशमा शल्यक्रिया महँगो भएर त होइन ?
चिकित्सा क्षेत्रमा संलग्न व्यक्तिहरूको भने बुझाइ भिन्नै थियो । सायद आफ्नो अस्पतालको छविलाई माथि उठाउनका लागि यो निर्णय गरेको हुनुपर्छ ।
तेस्रो वर्गका व्यक्तिहरू जसले डा. पन्तलाई नजिकबाट चिन्दथे, उनीहरू भने भन्दै थिए ः नेपालको स्वास्थ्य सेवा प्रणालीको गुणस्तरीयताप्रति पूर्ण रूपमा विश्वस्त भएर नै उनले सहज र पारिवारिक वातावरणमा आफ्नै अस्पतालमा शल्यक्रिया गरेका हुन्।
अर्काथरीको चासो भने छुट्टै थियो । हैन, उनलाई शल्यक्रिया गर्ने उनका शिष्यहरू चाहिँ कति दक्ष थिए हुन् । आफ्नै गुरुको शल्यक्रिया गरिरहँदा उनीहरूको हात कामे कि कामेनन् होला ?
प्रत्यक्ष र परोक्ष रूपमा धेरैले मसँग पनि डा. पन्तको स्वास्थ्यको बारेमा चासो लिन थालेपछि मैले धेरैका मनमा डा. पन्तको उपचारप्रति उब्जिएका मिश्रित धारणाहरूको उत्तर खोज्ने प्रयास गरें ।
म सानो छँदा डा. पन्तले चिकित्सा क्षेत्रमा पुर्याएको योगदानको चर्चापरिचर्चा रेडियो, टि.भि.बाट सुन्ने गर्थे । टाउको जोडिएका जुम्ल्याहा दिदीबहिनीको शल्यक्रियाको चर्चा त कक्षाकोठाहरूमा नै हुने गथ्र्यो । सन् २०१३ देखि त झन् प्रत्यक्ष रूपमा मैले पनि वहाँसँगै काम गर्ने अवसर मात्र पाएकी हैन, मेरो पीएच.डी.को गुरु समेत उहाँ नै हुनुहुन्छ । यस अर्थमा म उहाँको शिष्य पनि हुँ ।
जहाँसम्म पैसाको अभाव हो कि भन्ने बुझाइ छ, त्यसप्रति मेरो के धारणा छ भने डा. पन्तलाई पैसाको कुनै पनि अभाव छैन होला । उहाँ सफल चिकित्सक मात्र नभइ चिकित्सा क्षेत्रका सफल व्यवसायी पनि हुनुहुन्छ । सानो पुर्नस्थापना केन्द्रको रूपमा सन् २००९ मा सेवा प्रदानको सुरुवात गरेको उहाँको अस्पतालले आज चिकित्सकीय आचार संहितालाई मुख्य केन्द्रमा राख्दै नेपालकै विशिष्टिकृत न्युरो अस्पतालका रूपमा पहिचान दिन सफल भएको छ । न्युरोसर्जरीको क्षेत्रमा विशिष्टिकृत योगदान पुर्याउनु भएका उहाँले चाहेको भए वहाँको योगदानको कदर गर्दै विकशित मुलुक जापान, चीन, अमेरिका, भारत जस्ता मुलुकहरूले निःशुल्क रूपमा उहाँको उपचार गरिदिन सक्थे होला । शुल्क तिर्नुपर्ने भएको भए तापनि संसारको कुनै पनि महँगो अस्पतालमा गएर उपचार गर्न कुनै गाह्रो थिएन उहाँलाई । आफ्नो स्वास्थ्यलाई पैसासँग तौलन पनि त मिल्दैन नि ।
अर्काथरी समूहको बुझाइ छ कि डा. पन्तले आफ्नै अस्पतालको छविलाई अझ माथि उठाउनका लागि यो कदम चालेको हो । एकपटक सोचौं त, हामी सबैलाई सबैभन्दा प्यारो आफ्नो शरीर लाग्दछ । मस्तिष्क र मेरूदण्ड सम्बन्धी कतिपय जटिल शल्यक्रियाहरू विश्व प्रसिद्ध सर्जनले गर्दापनि कहिलेकाहीँ असफल भएका थुप्रै उदाहरणहरू छन् । कतिपय शल्यक्रियापश्चात् जटिलता उत्पन्न भई हातखुट्टा नचल्ने, प्यारालाइसिस हुने, विरामीको होस नखुल्ने, दिसापिसाब चुहिनेदेखि मृत्युसम्म पनि हुने संभावना रहेको पनि पाइन्छ । हाम्रै देशका नाम चलेका नेता, चिकित्सकहरूले अन्तर्राष्ट्रिय स्तरका विदेशी अस्पतालहरूमा सर्जरी गर्न जाँदा पनि अनेकौं जटिलताहरू उत्पन्न भएको देखिएको छ । तपाईं हामीले कल्पना गरेजस्तो शतप्रतिशत परिणाम नआएको र जीवनभर ह्विलचियरको बास भएको पनि देखिएको छ । अब तपाईंहरू आफैं सोच्नुहोस् त यी सबै जटिलताहरूको बारेमा पूर्ण ज्ञान भएका जो कोहीले के आफ्नै संस्थालाई राम्रो बनाउनको लागि ज्यानै जोखिममा पार्लान् त ? पक्कै पनि कोही व्यक्तिले आफ्नो स्वास्थ्यप्रति अविवेकी र मूर्खपूर्ण निर्णय गर्नै सक्दैन ।
डा वसन्त पन्त
अब लागौं, तेस्रो सन्दर्भतिर । डा. पन्तलाई नजिकबाट चिन्नेहरूको जस्तै दृष्टिकोण मेरो पनि छ । मेरो विचारमा सच्चा राष्ट्रप्रेमी हुनुहुन्छ डा. पन्त । उहाँको प्रगाढ राष्ट्रप्रेमले नेपालको परिचय दिएको छ । यसर्थ जहाँ गएपनि राष्ट्रियता भुल्नु हुँदैन । राष्ट्रियता भूल्ने भनेको आफ्नो अस्तित्व भूल्नु हो भन्ने मान्यता उहाँको पनि छ । राष्ट्रियता बोलीमा हुँदैन, शब्दमा झल्कदैन । कर्ममा राष्ट्रियता देखिनुपर्छ । हामी सबै आफ्नो कर्ममा रम्न सिकौं । नेपालको चिकित्सा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन जहिले पनि डा. पन्त र उनको टिम लागि परिरह्यो र नै सफलता प्राप्त गर्यो । नेपालको चिकित्सा क्षेत्रमा थुप्रै न्युरोसर्जरीका हस्तिहरू उहाँको प्रत्यक्ष मार्गदर्शनमा उत्पादन भइसकेका छन् । सबैभन्दा ठुलो कुरा विश्वस्तसँग सिक्ने र त्यस सिकाइलाई पुस्तान्तरण गर्नुपर्दछ भन्ने मान्यताका कारण आफैंले हात समाएर सिकाएका सिपमा र निखारिएका आफ्ना अनुयायीप्रति पूर्ण विश्वस्त भएर नै डा. पन्तले आफ्नै शिष्यको हातबाट शल्यक्रिया गर्ने निर्णय गर्नुभएको हो । झण्डै १ वर्ष अगाडि पित्त थैलीको पत्थरीको सफल शल्यक्रिया पनि उहाँले आफ्नै अस्पतालका सर्जन डा. विवेक खड्कासँग गराउनुभएको थियो । वास्तवमा यो शल्यक्रिया पनि डा. पन्त र उहाँका अनुयायीहरू दुवैका लागि ठूलो परीक्षा थियो । भोलिको परिणाम के आउलाभन्दा पनि वर्तमानको प्रयास उत्कृष्ट हुनुपर्दछ भन्ने विश्वास गरेका गुरु डा. पन्त र शिष्यहरू डा. समिर आचार्य, डा सुदन ढकाल, डा जनम श्रेष्ठ लगायत शल्यक्रिया गर्ने अन्य टिम सदस्यहरू सबैजना उत्कृष्ट हुन सफल हुनुभयो । फलस्वरूप नेपालको चिकित्सा सेवा कुनैपनि अन्तर्राष्ट्रिय स्तरको मान्यताप्राप्त अस्पतालभन्दा कम छैन भन्ने बुझाइ सत्य सावित भएको छ ।
आफ्नै देशमा बसेर, पारिवारिक वातावरणमा उपचार गर्न जति सहज हुन्छ, त्यस्तो वातावरण विदेशमा नहुनपनि सक्दछ । विदेशिंदा एकातिर ठुलो आर्थिक भार पर्दछ भने अर्कोतिर सोचेकै जस्तो परिणाम नआउन पनि सक्दछ । सामान्य रुघाखोकी लाग्दा समेत उपचारकै नाममा देशको अर्थतन्त्रलाई धरासायी बनाउँदै राष्ट्रको ढुकुटी रित्याउने अधिकांश नेतृत्ववर्गका लागि यो एउटा राम्रो पाठ हो । वास्तवमा राष्ट्रियता भाषणमा होइन, व्यवहारमा झल्किनुपर्छ । यसर्थ व्यवहारिकतामा अथक मिहिनेत र परिश्रम गर्दै राष्ट्रको हर क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने उद्धेश्य बोकेका जो कोहीलाई पनि सम्मान गर्ने बानी बसालौं । डा. पन्तको शल्यक्रियाको घटनालाई हेर्दा आफ्नै देश, आफ्नै सेवा, आफ्नै विज्ञताप्रति विश्वस्त हुने वातावरण सिर्जना गर्न राज्य र नेतृत्वले अहम् भूमिका खेल्नुपर्दछ भन्ने मलाई लागेको छ।
उहाँको शल्यक्रियाको पृष्ठभूमीलाई नियाल्दै गर्दा मलाई संस्कृतको एउटा श्लोक याद आयो ः “दुग्धेन धेनुः कुसुमेन वल्ली, शीलेन भार्या कमलेन तोयम् । गुरुं विना भाति न चैव शिष्यः शमेन विद्या नगरी जनेन ।।” अर्थात् दुध विनाको गाई, शील विनाको नारी, कलम विनाको जल, शान्ति विनाको विद्या, जन विनाको नगर उस्तै हुन्छ जस्तो गुरु विनाको शिष्य । सच्चा गुरुले सदैव आफु विश्वस्त हुन सक्ने शिष्यहरू जन्माउँछ साथै शिष्यको सिप र क्षमताप्रति सच्चा गुरु सदैव शिर उचो बनाएर गर्वको महशुस गर्दछ । आत्मनिर्भरता, लगनशीलता, परिश्रम र राष्ट्रप्रेममा सदैव मार्गदर्शन गर्ने मेरा समस्त गुरुहरूमा गुरूपूर्णिमाको हार्दिक शुभकामना । मभित्रको अहंकार, अन्धकार र अज्ञानतालाई हटाइ सत्मार्गमा लगाइदिनुभएकोमा हार्दिक धन्यवाद !
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । विश्वकै सबैभन्दा ठुलो भिडिओ प्लेटफर्म युट्युबले ‘अप्रामाणिक’ (inauthentic) सामग्रीमाथि कडाइ गर्ने तयारी थालेको छ । आगामी १५ जुलाईदेखि युट्युबले आफ्नो युट्युब पार्टनर प्रोग्राम (वाईपीपी) मनिटाइजेसन नीति अपडेट गर्दैछ, जुन विशेषगरी ठुलो परिमाणमा उत्पादित (mass-produced) र दोहोरिने (repetitive) भिडिओहरूलाई लक्षित छ ।
यस किसिमका सामग्रीहरू आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको सहायताले सिर्जना गर्न अझै सजिलो भएकाले यस्तो कदम चालिएको हो । युट्युबले क्रियटरहरूलाई ‘मौलिक’ (original) र ‘प्रामाणिक’ (authentic) सामग्री अपलोड गर्नुपर्नेमा जोड दिँदै आएको छ ।
आगामी नयाँ नीतिले हालको परिप्रेक्ष्यमा ‘अप्रामाणिक’ सामग्री कस्ता देखिन्छन् भन्नेबारे क्रियटरहरूलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्ने कम्पनीले जनाएको छ । यस नीतिको पछाडिको मुख्य कारण भनेको एआई प्रविधिको विकाससँगै युट्युबमा ‘एआई स्लोप’ अर्थात् जेनेरेटिभ एआई प्रविधि प्रयोग गरेर बनाइएका कम गुणस्तरका सामग्रीहरूको बाढी आउनु हो । पछिल्लो समय टेक्स्ट-टु-भिडियो (text-to-video) एआई टुलहरूको सहायताले एआई आवाजलाई फोटो, भिडिओ क्लिप वा अन्य पुन: प्रयोग गरिएका सामग्रीहरूमा ओभरले गरेर भिडिओ बनाउने प्रचलन बढेको छ ।
एआई सङ्गीत भरिएका केही च्यानलहरूमा लाखौँ सब्सक्राइबर छन् । डिडी ट्रायल जस्ता न्युज इभेन्टबारे नक्कली, एआई-उत्पादित भिडिओहरूले लाखौँ भ्युज पाइसकेका छन् ।
यस वर्षको सुरुतिर युट्युबमा भाइरल भएको एउटा सत्य दाबी गरिएको क्राइम मर्डर सिरिज पूर्ण रूपमा एआई-उत्पादित पाइएको थियो । युट्युबका सीईओ नील मोहनको नक्कली रूप प्रयोग गरेर एआई-उत्पादित फिशिङ स्क्याम समेत गरिएको थियो ।
युट्युबका एडिटोरियल तथा क्रियटर प्रमुख रेने रिची भिडिओ अपडेटमार्फत यो परिवर्तन युट्युबको पुरानो वाईपीपी नीतिमा ‘सामान्य अपडेट’ मात्र भएको र यसको उद्देश्य ठुलो मात्रामा उत्पादित वा दोहोरिने सामग्रीलाई अझ राम्रोसँग पहिचान गर्नु रहेको बताएका छन् । रिचीका अनुसार यस्ता सामग्रीहरू वर्षौँदेखि मनिटाइजेसनका लागि अयोग्य थिए, किनकि दर्शकहरूले तिनलाई प्रायः स्पाम मान्ने गर्छन् ।
उनले यो अपडेटले ‘रियाक्सन भिडिओ’ वा क्लिपहरू समावेश गरिएका भिडिओलाई मनिटाइजेसनमा सीमित नगर्ने पनि स्पष्ट पारेका छन् । तर, टेकक्रन्चले यसलाई ‘सामान्य अपडेट’ मात्र नभएको बताएको छ । एआई प्रविधिको आगमनसँगै यस्ता भिडिओ बनाउन धेरै सजिलो भएको छ, जुन रिचीले उल्लेख गरेका छैनन् ।
यस्ता सामग्रीलाई बढ्न दिनु र तिनका क्रियटरहरूलाई नाफा कमाउन दिनुले अन्ततः युट्युबको प्रतिष्ठा र मूल्यमा क्षति पुर्याउन सक्ने विश्लेषण छ । तसर्थ, कम्पनीले एआई स्लोप क्रियटरहरूलाई वाईपीपीबाट सामूहिक रूपमा प्रतिबन्ध लगाउन सक्ने स्पष्ट नीति चाहिएको हो ।
यो नीति लागु भएपछि युट्युबले आफ्नो प्लेटफर्ममा कन्टेन्टको गुणस्तर कायम राख्न थप सशक्त कदम चाल्ने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार २६, २०८२ ११:०
सामाग्री श्रोत :
टेक पाना
लामिछानेको पक्षमा हस्ताक्षर गर्न उनी बिहीबार रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा जाँदैछिन्।बिहान ११ः ३० मा कोइराला पार्टी कार्यालयमा हस्ताक्षर गर्न आउने रास्वपा निकट सञ्चारकर्मी प्रमोद न्यौपानेले जानकारी दिए।
सामाग्री श्रोत :
नेपाललाइभ
आजको जीवनशैलीमा मधुमेह, उच्च रक्तचाप, मुटु रोग, स्ट्रोक, क्यान्सर र मानसिक समस्या तीव्र रूपमा वृद्धि हुँदै गएका छन्। यस्ता दीर्घकालीन रोगहरू अचानक देखा पर्दैनन्, यी वर्षौँको अस्वस्थ बानीहरूको परिणाम हुन्। विडम्बना, हामीले जीवनको लम्बाइ त बढाएका छौँ, तर गुणस्तर अझै सुधार गर्न बाँकी छ। अब हाम्रो लक्ष्य दीर्घायुसँगै गुणस्तरीय जीवनयापन हुनु पर्दछ।
त्यसैले आज हामी तपाईंलाई यस्तो सरल, स्मरणीय र व्यवहारिक सूत्र बताउँदैछौँ जुन बच्चादेखि वृद्धासम्म, कामदारदेखि विद्यार्थीसम्म सबैले अपनाउन सक्नेछन्। त्यो सूत्र हो – आरोग्यम्।
आरोग्यम् एक स्मरणयोग्य शब्द हो जसमा दीर्घरोगबाट जोगिन सकिने चार आधारभूत कुराहरू समावेश छन्। यो एक जीवनशैली सुधारको रणनीति हो, जसलाई दैनिक व्यवहारमा उतार्न सकिन्छ।
आरोग्यम् शब्द चार भागमा विभाजित छ
आ आत्मपरीक्षण (screening)
रो रोगनिवारक कसरत (physical activity)
ग्य गुणस्तरयुक्त खानपान (healthy diet)
म् मानसिक विश्राम (mindfulness and rest)
अब यी चारवटै स्तम्भहरूलाई विस्तारमा बुझौँ-
१. आत्मपरीक्षण (Screening)
स्वास्थ्य समस्या प्रारम्भमा लक्षण देखाएर नआउने हुँदा धेरैजसो व्यक्तिहरूमा रोग गम्भीर अवस्थामा मात्रै थाहा हुन्छ। जस्तै, उच्च रक्तचापको असर मुटु र मस्तिष्कमा पर्दछ, तर सुरुवाती अवस्था मौन हुन्छ। मधुमेहका बिरामीमा आँखाको दृष्टि जान सक्छ, किड्नी बिग्रन सक्छ र घाउ नसुक्ने हुन्छ। कोलेस्ट्रोल बढ्दा मुटुका नसा बन्द भई मायोकार्डियल इन्फ्राक्शन वा स्ट्रोक जस्ता जटिलता आउन सक्छन्।
क्यान्सर जस्तै स्तन, पाठेघर वा कोलन क्यान्सर प्रारम्भमै पहिचान भयो भने ज्यान बचाउन सकिन्छ। मानसिक समस्याहरू पनि प्रारम्भमै आत्मसमीक्षा र सहयोग खोज्ने संस्कार भए नियन्त्रण सम्भव हुन्छ।
यसैले नियमित स्वास्थ्य परीक्षण आवश्यक हुन्छ। रक्तचाप, रक्तचिनी, कोलेस्ट्रोल, आँखाको जाँच, क्यान्सर स्क्रिनिङ तथा मानसिक स्वास्थ्य मूल्याङ्कन समयमै गर्नु आवश्यक छ।
२. रोगनिवारक कसरत (Physical Activity)
नचल्ने जीवनशैली आजको आधुनिक रोगहरूको मूल कारण हो। अफिसको कुर्सी, मोबाइल स्क्रिन, टिभी आदिमा अत्यधिक समय बिताउने बानीले गर्दा शरीर निष्क्रिय बन्दै गएको छ। यसको परिणाम स्वरूप मोटोपन, उच्च रक्तचाप, मधुमेह, मुटुरोग, स्ट्रोक जस्ता समस्या देखा परिरहेका छन्।
अझ दुःखद त के भने, निष्क्रियताले मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्दछ। शरीर नचल्दा मन पनि थलिन्छ।
यसको समाधान भनेको नियमित रूपमा कसरत गर्ने हो। हप्तामा कम्तीमा १५० मिनेट मध्यमस्तरको व्यायाम आवश्यक हुन्छ। बच्चाहरूको हकमा दिनको कम्तीमा एक घण्टा खेलकुद अनिवार्य छ। अफिसमा लामो समय बस्नुपरेमा एक-एक घण्टामा केही मिनेट हिंडडुल गर्ने बानी बसाल्नुपर्छ। घरको काम, बगैँचा स्याहार, योग वा नाच जस्ता गतिविधिहरूले पनि शरीर सक्रिय रहन्छ।
३. गुणस्तरयुक्त खानपान (Healthy Diet)
आजको खानपान स्वादअनुसार बनिरहेको छ, स्वास्थ्य अनुसार होइन। अत्यधिक नुन, चिनी, बोसो र जति सक्यो तारेको खाने बानीले गर्दा कोलेस्ट्रोल बढ्न, रक्तचाप चढ्न, मधुमेह हुन र मुटु र मस्तिष्कका नशा अवरुद्ध हुन सक्छन्। साथै, अल्ट्रा–प्रोसेस्ड खाना जस्तै चाउचाउ, प्याकबन्द फास्टफुड आदिले क्यान्सरको जोखिम बढाउँछ।
सन्तुलित खानपान भनेको आहारमा विविधता, सिजनअनुसारका फलफूल, गेडागुडी, सागसब्जी र रेशायुक्त खाना समावेश हुनु हो। बजारमा धेरै पटक धेरैपटक रासायनिक प्रक्रिया गरेर बनाइने तेललाई प्रशोधित तेल भनिन्छ, जसले पोषण घटाउँछ र स्वास्थ्यमा हानिकारक प्रभाव पार्न सक्छ। यस्ता तेलमा ट्रान्स–फ्याट बढेको हुन्छ, जुन मुटुरोगको खतरा बढाउँछ।
त्यसैले प्रशोधित तेलको सट्टा स्वस्थ र परम्परागत तेलहरू जस्तै तोरी तेल, सरसों तेल, तिल तेल वा आधुनिक विकल्पको रूपमा ओलिभ तेल प्रयोग गर्नुपर्छ।
चिनी, नुन र बोसो सीमित मात्रामा लिनुपर्छ। बच्चादेखि नै घरको खाना, सादा र पौष्टिक खाने संस्कार बसाल्न आवश्यक छ।
४. मानसिक विश्राम (Mindfulness and Rest)
तनाव, निद्राको कमी, सामाजिक एक्लोपना—यी सबै मनको रोग हुन्, तर यसले शरीरमा गहिरो असर पार्दछ। तनावले रक्तचाप चढाउँछ, धड्कन तेज बनाउँछ। निद्राको कमीले शरीरको इन्सुलिन प्रतिरोध बढाउँछ र मधुमेहको जोखिम बढ्छ। सामाजिक अलगावले डिप्रेशन, आत्महत्या र आत्मग्लानि जन्माउँछ।
निद्रा राम्रो हुनुपर्छ। हरेक दिन सातदेखि आठ घण्टा गहिरो निद्रामा सुत्ने अभ्यास गर्नुपर्छ। निद्राअघि मोबाइल स्क्रिन कम गर्नु, क्याफिनजन्य पेय पदार्थ नपिउनु, सजिलो वातावरण तयार गर्नु आवश्यक हुन्छ। साथै, दैनिक रूपमा १० मिनेट ध्यान गर्ने, सासप्रश्वासको अभ्यास (जस्तै 4-7-8 विधि) गर्ने, मौन बस्ने वा सकारात्मक कुरा सोच्ने बानी विकास गर्नुपर्छ। किशोरहरूलाई तनाव व्यवस्थापन, सृजनात्मक गतिविधिमा सहभागिता र आत्म–विश्वास बढाउने वातावरण आवश्यक छ।
यी सूत्र केबल ४० वर्ष नाघेकाहरूको लागि मात्र होइन
धेरै मानिसहरू सोच्दछन् कि स्वास्थ्यको ख्याल अब उमेर ढल्किएपछि गर्ने हो। तर वास्तविकता उल्टो हो- स्वस्थ जीवनशैलीको बीउ त बाल्यकालमै रोप्नुपर्छ। बच्चाले के खाँदैछन्, कति खेल्दैछन्, कसरी निद्रामा छन्, तिनै कुराले उनको भविष्यको स्वास्थ्य निर्धारण गर्छ।
यदि अहिलेको पुस्ताले आरोग्यम् सूत्रलाई आत्मसात गरेन भने, भोलिको पुस्ता अस्पताल र औषधिको भरमा बाँच्छ। त्यसैले विद्यालय, समुदाय, मिडिया र घरपरिवार सबैले यो सूत्रलाई व्यवहारमा उतार्न मिल्ने गरी प्रवर्धन गर्नु आवश्यक छ।
निष्कर्ष
आरोग्यम् जीवनशैली सुधारको आधारशिला हो। आत्मपरीक्षण, कसरत, गुणस्तरयुक्त खानपान र मानसिक विश्राम, यी चार आधारमा टिकेको यो सूत्र जीवनको सम्पूर्ण पाटो समेट्दछ।
यो केवल एक लेखको शीर्षक होइन, जीवन बाँच्ने तरिका हो। याद गर्न सजिलो भएकाले आरोग्यम् शब्दलाई हाम्रा दिनचर्या, विद्यालयको पाठ्यक्रम, सामुदायिक कार्यक्रम र अभिभावकको व्यवहारमा उतार्न सकिन्छ।
हामीले अब जीवनको लम्बाइ मात्र होइन, गुणस्तर पनि बढाउनुपर्छ। हामी स्वस्थ रह्यौँ भने मात्रै हामी अरूलाई पनि स्वस्थ राख्न सक्छौँ। बच्चाहरू, युवाहरू, महिलाहरू, वृद्धहरू सबैले यो सूत्र आत्मसात् गरून्।
आजैदेखि भनौँ –
आरोग्यम् मेरो जीवनशैली हो।
आचरणमा सुधार ल्याएर स्वास्थ्यलाई अपनाउँछु।
औषधिको भर होइन, बानीको भरमा बाँच्ने प्रण गर्छु।
(डा गुरागाईं बिराट मेडिकल कलेजको सामुदायिक चिकित्सा विभागमा कार्यरत छन्)
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । विश्वकै प्रमुख मध्येको एक इलेक्ट्रिक दुई पाङ्ग्रे ब्रान्ड याडियाले नेपाली ग्राहकहरूका लागि एक विशेष उपहारमूलक अफर ल्याएको छ । कम्पनीले २ लाख ३० हजार रुपैयाँमा बिक्री भइरहेको याडिया ई ८ एस प्रो (YADEA E8S Pro) केवल १,८५,००० मै उपलब्ध गराएको हो ।
याडियाले यो अफर अहिले सीमित स्टकका लागि मात्र ल्याइएको जनाएको छ । सुविधा, स्टाइल र शक्ति सबैमा अब्बल रहेको दाबी गरिएको याडिया ई ८ एस प्रो खरिद गर्ने ग्राहकहरूलाई याडिया ब्रान्डको हेल्मेट, रेनकोट र पेन उपहार स्वरूप प्रदान गर्दै आएको छ ।
“हामीले पाएको विश्वव्यापी सफलताको श्रेय हाम्रा विश्वासिला ग्राहकहरूलाई जान्छ । यो अफर उहाँहरूप्रतिको हाम्रो कृतज्ञता हो,” कुजु नेपाल प्रालिले भनेको छ । जुन नेपालका लागि याडियाको आधिकारिक वितरक हो ।
याडिया यो इलेक्ट्रिक स्कुटरमा ६० किमि/प्रति घण्टाको टप स्पिड रहेको छ । जसले एक पटकको फुल चार्जमा अधिकतम १५० किमि रेन्ज दिने दाबी गरिएको छ ।
स्कुटरमा ७२ भोल्ट ३८ एएच ग्राफिन ब्याट्री, ३००० वाटसम्मको मोटर पावर, १२ इन्चको एलोय रिम, हाइड्रोलिक सस्पेन्सन र ३२ लिटरको अन्डर सिट बुट स्पेस जस्ता फिचर छन् । अगाडि भागमा चम्किलो डिजिटल डिस्प्ले राखिएको छ भने स्मार्ट इन्डिकेटर समेत यसमा पाउन सकिन्छ ।
पछिल्लो अध्यावधिक: असार २६, २०८२ १०:१४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । एलन मस्कको स्टारलिंकले भारतमा आधिकारिक रूपमा सेवा सुरु गर्न अन्तिम स्वीकृति प्राप्त गरेको छ । भारतीय राष्ट्रिय अन्तरिक्ष प्रवर्धन तथा अनुमति केन्द्र (IN-SPACe) ले स्टारलिंक स्याटलाइट कम्युनिकेसन्स प्रालि (SSCPL) लाई आधिकारिक रूपमा भारतमा स्याटलाइट इन्टरनेट सेवा प्रदान गर्न स्वीकृति दिएको हो ।
भारत सरकारले स्टारलिंकलाई जुनको सुरुमा ग्लोबल मोबाइल पर्सनल कम्युनिकेसन बाई स्याटेलाइट (GMPCS), भेरी स्मल अपर्चर टर्मिनल (VSAT) सेवा र इन्टरनेट सेवा प्रदायक (ISP) क्याटेगोरी-ए अन्तर्गत इजाजत दिएको थियो । त्यसको केही सातापछि आएर कम्पनीलाई अन्तिम स्वीकृति प्रदान गरिएको एएनआईले लेखेको छ ।
यससँगै स्टारलिंक, वनवेब र रिलायन्स जिओ पछि भारतको दूरसञ्चार विभागबाट स्याटलाइट कम्युनिकेसन (satcom) सेवा प्रदान गर्न अनुमति पाउने तेस्रो कम्पनी बनेको छ ।
भारतभर उच्च-गतिको स्याटलाइट इन्टरनेट सेवा विस्तार गर्न एयरटेल र जिओले स्टारलिंकसँग साझेदारी गरेका छन् । यी टेलिकम कम्पनीहरूको देशभर फैलिएको डिलर सञ्जाल प्रयोग गरेर स्टारलिंकले आफ्नो सेवा बजारमा प्रचार तथा वितरण गर्नेछ ।
केन्द्रबाट प्रदान गरिएको यो अनुमति पत्रको अवधि पाँच वर्षसम्मका लागि वा स्टारलिंक जेन १ स्याटलाइट समूहको सञ्चालन अवधि समाप्त नभएसम्म, जुन चाँडो आउँछ, त्यही लागु हुनेछ । यो स्वीकृति सँगै अब भारतका दुर्गम तथा सेवा नपुगेका क्षेत्रमा समेत छिटो र भरपर्दो इन्टरनेट सेवा पुर्याउने बाटो खुलेको छ ।
यद्यपि, स्टारलिंकको सेवा सुरु हुनुअघि सम्बन्धित सबै सरकारी निकायहरूबाट आवश्यक अनुमति, इजाजतपत्र तथा नियामकीय प्रक्रिया समेत पूरा गर्नु पर्नेछ । स्टारलिंक जेन १ एक लो अर्थ अर्बिट (LEO) स्याटलाइट प्रणाली हो, जसमा ४,४०८ स्याटलाइटहरू पृथ्वीबाट ५४० देखि ५७० किलोमिटर उचाइमा परिक्रमा गरिरहेका छन् ।
यसले भारतभर करिब ६०० जीबीपीएसको इन्टरनेट ब्यान्डविथ पुर्याउने छ, जसले ग्रामीण र सहरी दुबै क्षेत्रमा इन्टरनेट पहुँचमा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। यो स्वीकृति भारतको अन्तरिक्ष क्षेत्रमा उदारीकरण ल्याउने तथा निजी क्षेत्रको सहभागिता बढाउने अभियानमा महत्त्वपूर्ण कदम मानिएको छ ।
यो निर्णयले भारत सरकारको डिजिटल इन्डिया अभियानलाई तीव्रता दिन तथा आगामी पुस्ताको सञ्चार पूर्वाधार विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ ।
भारतमा स्टारलिंकको आगमनले लाखौँ जनताको जीवनमा इन्टरनेट पहुँच सम्भव बनाउनेछ । विशेषतः स्याटलाइट टेलिकम सेवाहरूले दुर्गम तथा ग्रामीण क्षेत्रहरूमा, जहाँ परम्परागत दूरसञ्चार पूर्वाधार पुग्न कठिन छ वा आर्थिक रूपमा व्यावहारिक छैन, त्यहाँ कनेक्टिभिटी मजबुत बनाउने अपेक्षा गरिएको छ ।
स्टारलिंकको सेवा घरेलु उपभोक्ता, व्यवसाय, विद्यालय र आपत्कालीन सेवाहरूका लागि उपयुक्त हुने गरी डिजाइन गरिएको छ । जसले शिक्षा, व्यापार, र नवप्रवर्तनका लागि नयाँ अवसरहरू सिर्जना गर्नेछ ।
केन्द्रका प्रवक्ताले भनेका छन्, “स्टारलिंकका सबै गतिविधिहरू भारतको राष्ट्रिय सुरक्षा र नियामकीय मापदण्डहरू पूर्ण रूपमा पालना हुने गरी कडाइका साथ अनुगमन गरिनेछ ।” यो निर्णय विश्वव्यापी प्रवृत्तिसँग पनि मेल खान्छ, जहाँ स्याटलाइट इन्टरनेट प्रणाली डिजिटल पूर्वाधारको महत्त्वपूर्ण हिस्सा बन्दै गइरहेको छ ।
यससँगै भारत अब लियो (LEO) स्याटलाइट प्रविधिको प्रयोग गरेर इन्टरनेट पहुँच विस्तार गरिरहेका देशहरूको सूचीमा सामेल भएको छ । जसले डिजिटल रूपले सशक्त भविष्य निर्माणमा सहयोग पुर्याउनेछ । स्टारलिंकले हाल विश्वभर ५० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । भारतजस्तो ठुलो बजार प्रवेशसँगै कम्पनीले आफ्ना प्रयोगकर्ताहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढाउने लक्ष्य राखेको छ ।
स्टारलिंकले हालै श्रीलङ्कामा पनि आफ्नो स्याटलाइट सेवा सञ्चालन सुरु गरिसकेको छ । तर नेपालमा भने सरकारी तथा नियामकीय अनुमतिको अभावमा स्टारलिंकले चाहेर पनि यसको प्रक्रिया अगाडि बढाउन सकेको छैन ।
पछिल्लो अध्यावधिक: असार २६, २०८२ ७:४३
सामाग्री श्रोत :
टेक पाना





