२०८२ माघ ३ शुक्रबार
LATEST NEWS
२०८२ माघ ३ शुक्रबार

काठमाडौँ । रसुवामा १० जनाको ज्यान लिने र १९ जनालाई बेपत्ता पार्ने गरी मितेरी पुलसमेत बगाएको विनाशकारी बाढीले एउटा गम्भीर र टड्कारो प्रश्न खडा गरेको छ- चीनतर्फबाट आउने यस्ता विपद्को पूर्वसूचना पाउन नेपालले कहिलेसम्म अनौपचारिक माध्यम र भाग्यको भर पर्नुपर्ने ?

सोमबार राति तिब्बततर्फबाट आएको बाढी हिमताल फुटेका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाए पनि यसबारे नेपालसँग कुनै पूर्वसूचना थिएन । भारतसँग बाढीको ‘रियल-टाइम’ सूचना आदानप्रदान गर्ने औपचारिक सम्झौता भए पनि चीनसँग यस्तो कुनै संयन्त्र नहुँदा नेपाल बर्सेनि उत्तरी सीमाबाट आउने बाढीको उच्च जोखिममा छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी आउनुअघि चीनतर्फको ‘प्युरेपु हिमनदी ताल’ मा पानीको सतह निकै बढेको स्याटलाइट तस्बिरले देखाएको छ । तर, यो जानकारी नेपालले बाढी आइसकेपछि मात्र विभिन्न स्रोतबाट पाएको हो । 

“चीनसँग औपचारिक सम्झौता नभएकाले उनीहरूले यस्तो जानकारी दिनैपर्छ भन्ने बाध्यता छैन,” जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद पराजुली भन्छन्, “हामीले चीनको प्रणालीमा रहेको डेटामा पहुँच नपाउँदा र भरपर्दो सूचना नआउँदा पूर्वतयारी गर्न सकिरहेका छैनौँ ।”

यसको ठीक विपरीत, भारतसँग भने नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र भारतको केन्द्रीय जल आयोगबिच बनेको समितिले २५ नेपाली नदी र १८ भारतीय नदी जलाधार क्षेत्रको सूचना आदानप्रदान गर्दै आएको छ ।

विगतको घटनाले पनि चीनसँगको सूचना सहकार्यको महत्त्वलाई पुष्टि गर्छ । ०७३ सालमा सिन्धुपाल्चोकको भोटेकोशीमा बाढी आउनुअघि चिनियाँ पक्षले जानकारी दिएका कारण ५० घर बग्दा पनि मानवीय क्षति हुनबाट जोगिएको थियो । तर, यसपटक त्यस्तो सहकार्य देखिएन ।

अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) र यूएनडिपीको अध्ययनले नेपालका जलाधार क्षेत्रमा पर्ने ४७ ओटा हिमताल फुट्ने जोखिममा रहेको देखाएको छ, जसमध्ये २५ ओटा चीनमा पर्छन् ।

रसुवा घटनापछि प्रधानमन्त्रीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा चीनसँग विपद्बारे औपचारिक सम्झौताको पहल गर्ने विषयमा छलफल भएको प्राधिकरणका कार्यकारी प्रमुख दिनेश कुमार भट्टले बताएका छन् । तर, यो प्रक्रिया कहिले र कसरी अघि बढ्छ भन्ने अझै अनिश्चित छ । 

जिल्ला जिल्लाबाट हुन्छन् सूचना आदानप्रदान 

सोमबार राति रसुवामा आएको विपत्तिपछि मंगलबार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको भन्दै अरनिको राजमार्ग, भोटेकोशी र सुनकोशीमा सतर्कता अपनाउन आग्रह गरेको थियो ।  तर, सो विषयमा चिनियाँ पक्षबाट कुनै औपचारिक जानकारी प्राप्त भएको होइन । 

चिनियाँ अधिकारीसँग सामाजिक सञ्जाल प्लेटफर्म विच्याटमार्फत मंगलबार कुराकानी गरेर त्यहाँको अवस्थाको बुझेर उक्त जानकारी दिइएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । उनका अनुसार जिल्लाबाट सिमापारिका जिल्लाहरूसँग हुने बैठकमा पनि एक अर्कालाई सूचना आदान प्रदान गरिन्छ । दुई जिल्लाका अधिकारीहरू एक अर्काको निरन्तर सम्पर्कमा बसिरहेने भएकाले सूचना आदानप्रदान हुने गरेको उनले बताए। 

उनले भने, “बोर्डरमा रहेका प्रहरीहरूबाट पनि सूचना आदान प्रदान भइरहेको हुन्छ ।” तिब्बत क्षेत्रमा बाढी आउँदा त्यसको असर नेपालमा धेरै देखिने भएकाले पूर्व जानकारी लिन आफैँ अग्रसर हुने गरेको उनले बताए । 

प्रमुख जिल्ला अधिकारी थापाले भने, “रसुवाको अवस्था देखेपछि सिन्धुपाल्चोकमा पनि जोखिम देखेर उताको अवस्था बुझ्ने प्रयास गरेका हौँ ।” दुई राष्ट्रबिच औपचारिक सम्झौता भएमा पूर्व जानकारी सहजै पाउन सक्ने उनको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असार २६, २०८२ २०:२३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं । नेपालमा मनसुनसँगै बाढीको प्रकोप बढिरहेका बेला सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले एक जानकारीमूलक सर्च गाइड सार्वजनिक गरेको छ । यो गाइडले नेपाली प्रयोगकर्ताहरूलाई प्रमाणित, विश्वसनीय र अद्यावधिक (अप-टु-डेट) जानकारीसम्म पहुँच दिलाउन मद्दत गर्ने बताइएको छ ।

प्राकृतिक प्रकोपसँग सम्बन्धित गलत सूचना फैलिन नदिन र प्रयोगकर्ताहरूलाई वास्तविक तथ्यमा आधारित जानकारी दिन कम्पनीले यो गाइड ल्याइएको हो ।

टिकटकको नयाँ सर्च फिचरमार्फत बाढीसम्बन्धी अपडेट खोज्ने प्रयोगकर्ताले अब विशेष ब्यानर देख्नेछन्, जसले उनीहरूलाई विश्वसनीय स्रोतहरूबाट जानकारी पुष्टि गर्न प्रेरित गर्नेछ । गाइडमार्फत प्रयोगकर्ताहरू नेपालको राष्ट्रिय विपद् सूचना पोर्टल, टिकटक सेफ्टी सेन्टर रिसोर्सेस र ट्र्याजिक इभेन्ट सपोर्ट गाइड जस्ता स्रोतहरूमा सिधा पहुँच प्राप्त गर्न सक्नेछन् ।

यी स्रोतबाट प्रयोगकर्ताले प्राकृतिक विपद्, मानसिक स्वास्थ्य सहयोग तथा संवेदनशील घटनाहरूमा जिम्मेवारीपूर्वक सामग्री शेयर वा रिपोर्ट गर्ने तरिकाबारे जानकारी पाउनेछन् ।

टिकटक दक्षिण एशियाका लागि पब्लिक पोलिसी तथा सरकार सम्बन्ध समन्वय प्रमुख फिरदौस मोत्ताकिनले भने, “संकटको समयमा समयमै सही सूचना प्राप्त गर्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ भन्ने कुरा हामी बुझ्छौं । हामीले विपद् व्यवस्थापनसँग प्रत्यक्ष संलग्न संस्थासँग सहकार्य गरेर यस्ता स्रोतहरू प्रयोगकर्ताको पहुँचमा सजिलो बनाएका छौं, जसले उनीहरूलाई सचेत निर्णय लिन सहयोग गर्नेछ ।”

टिकटकले यो पहललाई विश्वसनीय जानकारीमा पहुँच, प्रयोगकर्ताहरूको सुरक्षाको प्रत्याभूति र सुरक्षित डिजिटल वातावरण निर्माणको दिशामा चालिएको महत्त्वपूर्ण कदमका रूपमा लिएको छ ।

यो गाइड टिकटकको सेफ्टी सेन्टर (www.tiktok.com/safety) मा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असार २६, २०८२ १९:१८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- अब सबै संघीय अस्पतालले आफ्ना उपकरणको अवस्थाबारे अडिट गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाउनुपर्ने भएको छ ।
मन्त्रालयले अस्पतालहरुसँग भएका उपकरण तथा उनीहरुको अवस्थाबारे यकिन विवरण नभएको भन्दै सबै संघीय अस्पतालहरुमा अनिवार्य रुपमा मेडिकल उपकरणको अडिट अनिवार्य गर्ने निर्णय गरेको हो ।
हाल मन्त्रालयमा यसरी उपकरणको अवस्थाबारे तथ्यांक प्राप्त गर्ने व्यवस्था नै नभएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चासो देखाएका थिए । उनले अस्पतालहरुका बिग्रिएका उपकरणबारे जानकारी लिएर मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएका थिए । त्यसक्रममा कैयौं सामान्य खर्चमै मर्मत गर्न सकिने उपकरण थन्किएको पाइएको थियो । त्यसयता मन्त्रालयले उपकरणको अवस्थाबारे जानकारी प्राप्त गर्नका लागि विवरण प्राप्त गर्न पहल थालेको थियो ।


तीन वर्ष अघि देखि नै प्रयास थालिए पनि मन्त्रालयको निर्णयले अब उपकरण लेखापरीक्षणको ढोका खुलेको हो । अब यस व्यवस्थाले उपकरणको सुरक्षा तथा मर्मत गर्नुपर्ने भए सोसम्बन्धी जानकारी मन्त्रालयले प्राप्त गर्ने र यसले अभिलेख व्यवस्थापनमा पनि सहज हुने मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखा प्रमुख डा. सरोज शर्माले बताए ।


उपकरणको स्थिति पहिचान, मर्मत आवश्यक भए नभएको जानकारी, सुरक्षा तथा स्टक व्यवस्थापन आदिमा यसले सघाउने उनले बताए ।


सामान्य मर्मत गर्न सकिने उपकरण भए पनि अस्पतालहरुले त्यसको मर्मतमा ध्यान नदिंदा नयाँ खरिदमा ठूलो धनराशी खर्च भैरहेको छ । हालै मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रमार्फत गरिएको अध्ययनमा कैयौं सामान्य मर्मत गर्न सकिने उपकरण बिग्रिएर थन्किएको पाइएको थियो ।


केन्द्रले झण्डै २४ करोड लाग्ने ती उपकरण २३ लाखमा मर्मत गरिएको विवरण पेश गरेको थियो ।
यसैगरी, कतिपय अस्पतालमा उपयोग नभएर रहेका उपकरण आवश्यक परेका स्थानमा पठाउन समेत प्राप्त तथ्यांकले सहजता प्राप्त हुने अधिकारीहरुले बताएका छन् । 

 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । हरेक बिहान शिक्षक कक्षामा पसेर ‘रोल नम्बर एक, दुई…’ भन्दै हाजिरी लिने झन्झट अब ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-९ स्थित कटुञ्जे माध्यमिक विद्यालयमा देखिँदैन । यहाँका विद्यार्थीहरू विद्यालयको गेटबाट छिर्नेबित्तिकै एउटा डिभाइसमा आफ्नो परिचयपत्र (आईडी कार्ड) छुन भ्याइसकेका हुन्छन् ।

उनीहरू कक्षामा पुग्दा नपुग्दै अभिभावकको मोबाइलमा ‘तपाईंको बाबु/नानी विद्यालय आइपुगेको छ’ भन्ने मेसेज पुगिसकेको हुन्छ । यो कुनै चलचित्रको दृश्य होइन, कटुञ्जे माविको बदलिँदो दैनिकी हो ।

यस शैक्षिक सत्रदेखि विद्यालयले सुरु गरेको ‘ई-हाजिरी’ प्रणालीले परम्परागत हाजिरीको झन्झट मात्र हटाएको छैन, विद्यार्थी र अभिभावकबिचको दूरीलाई प्रविधिले जोडिदिएको छ । विद्यार्थीले आफ्नो कार्डमा भएको चिपलाई डिभाइसमा स्क्यान गरेपछि उनीहरूको हाजिरी स्वतः विद्यालयको सिस्टममा दर्ता हुन्छ ।

“बिहान हरेक कक्षामा हाजिरीका लागि लाग्ने १०-१५ मिनेटको समय अब सिधै पढाइमा खर्च हुन्छ,” विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पुडासैनीले उत्साहका साथ सुनाए, “यसले विद्यार्थीलाई समयमै विद्यालय आउन र अनुशासित बन्न पनि प्रेरित गरेको छ ।”

विद्यालय छुट्टी भएपछि घर फर्कनुअघि पनि विद्यार्थीले पुनः कार्ड स्क्यान गर्छन् र ‘तपाईंको बाबु/नानी विद्यालयबाट घर फर्किएको छ’ भन्ने सन्देश फेरि अभिभावकको मोबाइलमा पुग्छ । यसले गर्दा छोराछोरी दिनभर कहाँ छन् भन्ने चिन्ताबाट अभिभावकहरू मुक्त भएका छन् ।

कसरी सम्भव भयो यो प्रविधि ?

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झनक कुमार कार्कीका अनुसार ‘पाठशाला’ नामक स्कुल म्यानेजमेन्ट प्रणालीको सहयोगमा यो प्रविधि जडान गरिएको हो । विद्यालयको आन्तरिक स्रोत, विद्यार्थीबाट लिइने कार्ड छपाइ शुल्क र केही दाताहरूको सहयोगबाट यसको खर्च व्यवस्थापन गरिएको छ ।

कक्षा १ देखि १० सम्मका २३० जना विद्यार्थी र शिक्षकहरू सबैले यही प्रणालीबाट हाजिरी गर्छन् ।

“हामीले यो शैक्षिक सत्रको सुरुबाटै लागु गर्ने सोचेका थियौँ, शिक्षक आन्दोलनले केही ढिला भयो,” अध्यक्ष कार्की भन्छन्, “अहिले शिक्षक र अभिभावक सबै खुसी हुनुहुन्छ । अब विद्यालयको आर्थिक कारोबार पनि पारदर्शी बनाउन प्रविधिको प्रयोग गर्ने योजनामा छौं ।”

गाउँपालिकाको नजरमा कटुञ्जे मावि

कटुञ्जे माविको यो सफल प्रयासलाई सुनकोशी गाउँपालिकाले नजिकबाट नियालिरहेको छ । गाउँपालिकाका अध्यक्ष कमल तामाङका अनुसार यो प्रयोग सफल भएमा पालिकाभित्रका अन्य ३७ ओटै सामुदायिक विद्यालयमा यो प्रविधि विस्तार गर्न सहयोग गरिनेछ ।

“हामीले गत वर्षदेखि नै शिक्षकका लागि फिङ्गर प्रिन्ट हाजिरी अनिवार्य गरेका थियौँ । अब विद्यार्थीको ई-हाजिरी पनि सफल भएमा पालिकाको शैक्षिक स्तर नै सुधार्न मद्दत पुग्छ,” अध्यक्ष तामाङले भने, “यसले हामीलाई कुन विद्यालयमा कति विद्यार्थी नियमित छन् भनेर तथ्याङ्क लिन पनि सजिलो बनाएको छ ।”

एउटा सामुदायिक विद्यालयले सुरु गरेको यो सानो प्राविधिक प्रयासले सिंगो गाउँपालिकाको शैक्षिक प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने आशा उनले व्यक्त गरे ।

पछिल्लो अध्यावधिक: असार २६, २०८२ १८:८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणको विषयलाई लिएर स्वास्थ्य क्षेत्रका विभिन्न पेशागत संघ–संस्थाहरूको असन्तुष्टि सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज मन्त्रालयमा विशेष छलफल गरेका छन्।

मन्त्रालयमा भएको छलफलमा मन्त्रालयका अधिकारी, सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूसहभागी छन्। छलफलको मूल उद्देश्य हालै अर्थ मन्त्रालयमा पठाइएको दरबन्दी प्रस्तावबारे उठेका गुनासाहरूको समग्र समीक्षा गर्नु रहेको छ।

स्वास्थ्य सेवा क्षेत्रमा २ हजार १०२ दरबन्दी थप्नेगरी तयार गरिएको उक्त ओएनएम प्रस्तावलाई विभिन्न संघसंस्थाहरूले एकतर्फी  र पेशागत सन्तुलन   नभएको भन्दै आपत्ति जनाका छन्। यही असन्तुष्टिलाई सम्बोधन गर्दै मन्त्री पौडेलले छलफल गरेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अनुसार दरबन्दी थप गर्ने फाइल पुन: स्वास्थ्य मन्त्रालयमा फर्किएको छ।

अर्थ मन्त्रालयले स्वास्थ्यलाई विभिन्न ६ वटा विषय प्रष्ट पार्न भन्दै फाइल फिर्ता पठाएको हो। अर्थले मन्त्रालय र अन्तर्गतका निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनलाई पुनरावलोकन गरी पुन:पठाउन भनेको छ।

स्वास्थ्य मन्त्रालयले जेठ २८ गते नयाँ संगठन तथा व्यवस्थापन सर्वे अनुसार मन्त्रालय र मातहतका निकायका लागि २ हजार १ सय २ जना जनशक्ति थप गर्ने सहमति प्रदान गर्ने फाइल पठाएको थियो। 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । हवाई टिकट, होटल र टुर प्याकेजहरू एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यसहित ‘जिओ फ्लाईट’ नामक नयाँ प्लेटफर्म सञ्चालनमा आएको छ । जोय ग्रूपले सञ्चालनमा ल्याएको यो एपले उपभोक्तालाई अन्य प्लेटफर्मभन्दा सस्तो र सहज सेवा दिने दाबी गरेको छ ।

हाल बजारमा उपलब्ध अधिकांश अनलाइन पोर्टलहरू हवाई टिकट बिक्रीमा मात्र केन्द्रित रहेको अवस्थामा ‘जिओ फ्लाईट’ले ट्राभलसँग सम्बन्धित विभिन्न सेवा एउटै प्लेटफर्ममा ल्याएको हो ।

यो प्लेटफर्मले टिकट काट्ने मात्र नभई भ्रमणको सम्पूर्ण योजना बनाउन सहज बनाउने कम्पनीका प्रबन्ध निर्देशक रमेश पौडेलले बताए । 

“धेरैजसो प्लेटफर्ममा टिकट काटेपछि थप जानकारी वा प्याकेजका लागि फोन गर्नुपर्ने बाध्यता छ, तर हाम्रो एपबाटै आन्तरिक तथा बाह्य हवाई टिकट, होटल बुकिङ र विभिन्न भ्रमण प्याकेजहरूबारे सम्पूर्ण विवरण लिन सकिन्छ,” पौडेलले भने, “यसले अपरेटर र उपभोक्ताबिचको ग्याप घटाउँछ ।”

कम्पनीले ‘जिओ फ्लाईट’बाट टिकट खरिद गर्दा अन्य अनलाइन माध्यमभन्दा सस्तो पर्ने दाबी गरेको । एपमा हवाई टिकट बुकिङका साथै चन्द्रागिरि केबलकार, चितवन सफारी र चम्पादेवी हाइकिङ जस्ता आन्तरिक भ्रमणदेखि बाली जस्ता अन्तर्राष्ट्रिय टुर प्याकेजहरू समेत उपलब्ध छन् ।

प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार प्याकेज छान्न र त्यससम्बन्धी सम्पूर्ण जानकारी एपबाटै लिनसक्ने बताइएको छ । यो सेवा एन्ड्रोइडआईओएस दुवै अपरेटिङ सिस्टमका लागि मोबाइल एपमा उपलब्ध छ । साथै, कम्पनीको वेबसाइटमार्फत पनि सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

आधुनिक प्रविधिको प्रयोग गरी सेवा सुरु गरेको कम्पनीले यस प्लेटफर्मले नेपालको पर्यटन क्षेत्रमा सेवा र सूचनाबिचको खाडललाई कम गर्दै समग्र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास लिएको छ ।

पछिल्लो अध्यावधिक: असार २६, २०८२ १६:५९





सामाग्री श्रोत :
टेक पाना

उँटको आँशु अब केवल भावनाको प्रतीक मात्र होइन, ज्यान जोगाउने औषधिको स्रोत पनि बन्ने सम्भावना देखिएको छ। भारतको उँट अनुसन्धान केन्द्र, बीकानेर र दुबईको सेन्ट्रल भेटेरिनरी रिसर्च ल्याबका वैज्ञानिकहरूले संयुक्त रूपमा गरिएको अनुसन्धानबाट थाहा भएको छ कि उँटको एक थोपा आँशुमा २६ प्रकारका सर्पहरूको विषको उपचार गर्ने क्षमता हुन्छ।

यदि यो खोज सफलतापूर्वक औषधिमा रूपान्तरण गर्न सकियो भने, यो सर्पदंश उपचारको क्षेत्रमा ऐतिहासिक मोड सावित हुन सक्छ- विशेषगरी भारत, नेपाल र अन्य दक्षिण एशियाली मुलुकहरूमा, जहाँ सर्पदंशबाट हुने मृत्यु र अपाङ्गताको संख्या निकै उच्च छ।

अनुसन्धानकर्ताहरूले उँटहरूलाई इचिस क्यारिनेटस सोचुरेकी जस्ता विषालु सर्पको सानो मात्रामा विष दिँदै प्रतिरक्षा प्रतिक्रिया विकास गराए। त्यसपछि उँटको रगत र आँशु दुवैबाट लिइएका नमूनामा गरिएको परीक्षणले देखायो कि तीमा रहेको एन्टिबडीहरूले २६ प्रकारका सर्पहरूको विष-जसमा न्युरोटक्सिन (स्नायु प्रणालीलाई असर पार्ने) र हिमोटक्सिन (रक्त प्रणालीमा असर पार्ने) विषहरूको उपचार गर्न सक्छन्।

उँटको एन्टिबडी किन विशेष छ?
न्यानोबडी: उँटको एन्टिबडी सामान्य एन्टिबडीभन्दा साना हुन्छन्, जसले शरीरभित्र गहिरो तन्तुसम्म पुगेर प्रभावकारी रूपमा काम गर्न सक्छन्।

एलर्जीको खतरा कम: घोडाबाट बनाइने परम्परागत एन्टिभेनममा देखिने एलर्जिक प्रतिक्रिया उँटको एन्टिबडीमा कम देखिन्छ।

तातो तापक्रममा पनि स्थिर: उँटको आँशु र प्रोटिनहरू डिहाइड्रेट नभई लामो समयसम्म सुरक्षित रहने भएकाले विद्युत् वा फ्रिज अभाव भएका ग्रामीण क्षेत्रहरूमा प्रयोग गर्न सहज हुन्छ।

परम्परागत एन्टिभेनम:
महँगो हुन्छ,
सीमित मात्रामा उपलब्ध हुन्छ,
कुनै कुनै क्षेत्रमा मात्र प्रभावकारी हुन्छ।
तर उँटको आँशुबाट तयार हुने एन्टिभेनमले यी सबै चुनौतीलाई समाधान गर्ने सस्तो, सुरक्षित र फराकिलो विकल्प प्रदान गर्न सक्छ।

 उँटपालकका लागि पनि आशा

बीकानेर, जैसलमेर र जोधपुरजस्ता क्षेत्रका उँटपालकहरू अनुसन्धान टोलीसँग साझेदार बनेका छन्।

उनीहरूले रगत र आँशु प्रदान गरेबापत प्रति उँट रु.५,००० देखी रु. १०,००० सम्म मासिक आम्दानी गर्न थालेका छन्।

‘यसले न केवल उँटपालक समुदायको आम्दानी बढाउनेछ, बरु घट्दो उँट जनसंख्या संरक्षणमा पनि सहयोग पुग्नेछ,’ एक वैज्ञानिकले बताए।

भारतको सिरम इन्स्टिच्युट अफ इण्डिया जस्ता प्रमुख औषधि कम्पनीहरूले यो खोजमा चासो देखाइरहेका छन्। 

यद्यपि खोज उत्साहजनक छ, वैज्ञानिकहरूले भनेका छन् कि यो अझै प्रारम्भिक चरणमा छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । नेपाली चलचित्रको व्यावसायिक तथ्याङ्कमा दशकौंदेखि देखिँदै आएको अपारदर्शिता र विवादलाई अन्त्य गर्ने उद्देश्यले रियल टाइम बक्स अफिस प्रणालीमा आधारित मोबाइल एप सञ्चालनमा आएको छ । निर्माता तथा वितरकले आफ्नो चलचित्रको व्यापारको विवरण तत्कालै मोबाइल वा कम्प्युटरबाट हेर्न सक्नेगरी चलचित्र विकास बोर्डले ‘बक्स अफिस @ सिनेपा’ (Box Office @cinepa) यो एप ल्याएको हो । 

यो प्रणाली लागु भएसँगै चलचित्रको कमाइमा निर्माता, वितरक र प्रदर्शकबिच चल्दै आएको अविश्वासको अन्त्य हुने अपेक्षा गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले एपबाट जहाँबाट, जतिखेर पनि चलचित्रको व्यापारिक रिपोर्ट हेर्न सक्ने जानकारी दिए । 

“अब वितरक, प्रदर्शक, निर्माता, दर्शक र सरकार समेत चलचित्रको वास्तविक कमाइबारे प्रस्ट हुनेछन् । सम्बन्धित व्यक्तिले ‘बक्स अफिस @ सिनेपाः’ मार्फत जहाँबाट, जतिखेर पनि आफ्नो चलचित्रको व्यापारिक रिपोर्ट हेर्न सक्नेछन्,” डीसीले सामाजिक सञ्जालमा लेखेका छन् । 

विगतमा चलचित्र घरमा टिकट बिक्री भएको लामो समयपछि मात्र त्यसको विवरण सर्भरमा देखिने हुँदा व्यापारमा हिनामिना हुने गरेको अड्कल गरिन्थ्यो । रियल टाइम प्रणालीअनुसार देशभरका चलचित्र घरमा टिकट काट्नासाथ त्यसको सम्पूर्ण विवरण र रकम तत्कालै बोर्डको केन्द्रीय सर्भरमा दर्ता हुने बताइएको छ ।  

हाल देशभरका १६० भन्दा बढी चलचित्र घरहरू यो प्रणालीमा जोडिएका छन् ।  

चलचित्र विकास बोर्डले हालै नेपाल चलचित्र संघ र चलचित्रघरहरूलाई सम्बोधन गरी पठाएको पत्रमा भनिएको छ, “वास्तविक-समय बक्स अफिस तथ्याङ्क पेश गर्न असफल भएमा कानुनको उल्लङ्घन मानिनेछ र प्रचलित नेपाल सरकारको चलचित्र नियमन र सम्बन्धित ऐनहरू अनुसार कारबाही गरिने व्यहोरा समेत अनुरोध छ ।”

सम्बन्धित चलचित्रका निर्माता वा अधिकार प्राप्त व्यक्तिलाई बोर्डले उपलब्ध गराउने गोप्य पासवर्डमार्फत उनीहरूले आफ्नो चलचित्रको व्यापारिक आँकडा तत्कालै हेर्न सक्नेछन् । 

एन्ड्रोइडमा यो लिङ्कमार्फत एप डाउनलोड गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असार २६, २०८२ १५:५६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं-   स्वास्थ्य बीमा बोर्डमा करार सेवामा नाम निकालेका १८० जना मध्ये १५० जना डाक्टरले नियुक्ति पत्र लिन अस्वीकार गरेका छन्। कार्य विवरण चित्तबुझ्दो नभएको भन्दै‌ उनीहरुले अस्वीकार गरेको एक चिकित्सकले बताए। 

उनले भने,  ‘प्रत्येक कार्यदिनमा ४०० वटा दाबीको मूल्यांकन वा रु. २५-३० लाख रकमको मूल्याङ्कन पूरा गर्नुपर्ने  भनिएको छ। एक मिनेटमा एउटा दाबी मूल्यांकन पूरा गर्न सम्भव देखिदैन।’ यदि दिनमा उक्त संख्यामा दाबी पूरा नभएमा थपिँदै जाने प्रावधान अव्यवहारिक रहेको उनीहरुको भनाइ छ। 

दिनमा ७ घन्टा काम गर्ने भनिएको छ। ७ घन्टामा ४२० मिनेट हुन्छ र लक्ष्य ४०० को दिइएको छ। जुन अव्यवहारिक रहेको बताउँदै उनीहरुले करारमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन्। 

बिमा बोर्डमा लामो समयदेखि दाबीको चाङ लागेको छ। त्यसलाई फर/फारक गर्न १८० जना मेडिकल अफिसरका लागि आवेदन मागिएको थियो। जसअनुसार १८० जनाको नाम निस्केको थियो।

कार्य विवरणमा रहेको योलगायत अन्य केही प्रावधानलाई संशोधन गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत पत्र लेखिएको छ। जहाँ उनीहरु त्यहाँ कार्य विवरण अव्यवहारिक, अवैधानिक र श्रमको उचित मूल्यांकन नभएको पाइएको उल्लेख गरेका छन्। 

कार्यविवरण हेरेपछि उनीहरु झस्किएका हुन्। तीमध्य २५/३० जना भने कार्य विवरण अनुसार काम गर्न तयार भएका छन्। 


 

 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । सामसङले आफ्नो नयाँ फोल्डेबल स्मार्टफोन ‘ग्यालेक्सी जेड फोल्ड सेभेन’ सार्वजनिक गरेको छ । बुधबार आयोजित ग्यालेक्सी अनप्याक्ड इभेन्टमा कम्पनीले आफ्नो नयाँ फोल्डेबल मोडेल प्रस्तुत गरेको हो ।

कम्पनीले यसलाई आफ्नो जेड सिरिजको अहिलेसम्मकै सबैभन्दा पातलो, हल्का र शक्तिशाली फोन भएको दाबी गरेको छ । नयाँ फोनमा स्तरीय क्यामेरा, शक्तिशाली प्रोसेसर र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई विशेष प्राथमिकता दिइएको छ ।

यस फोनको तौल जम्मा २१५ ग्राम छ । यो भनेको सामसङका अन्य ठुला फोनभन्दा पनि हल्का हो । फोल्ड गर्दा यसको मोटाइ ८.९ एमएम र खोल्दा ४.२ एमएम हुन्छ । फोनमा ६.५ इन्चको बाहिरी (कभर) डिस्प्ले र खोल्दा ८ इन्चको मुख्य डिस्प्ले उपलब्ध छ ।

फोनलाई बलियो बनाउन यसको फ्रेममा ‘एडभान्स्ड आर्मर एलुमिनियम’ र बाहिरी स्क्रिनमा ‘गोरिल्ला ग्लास सेरामिक टु’ प्रयोग गरिएको छ । यसले फोनलाई दैनिक प्रयोगमा टिकाउ बनाउने कम्पनीको भनाइ छ ।

ग्यालेक्सी जेड फोल्ड सेभेनमा पहिलो पटक २०० मेगापिक्सेलको मुख्य क्यामेरा समावेश गरिएको छ । यसका साथै पछाडिपट्टि १२ मेगापिक्सेलको अल्ट्रा-वाइड र १० मेगापिक्सेलको टेलिफोटो लेन्ससहित तीन ओटा क्यामेरा छन् । यसले थ्री एक्स (३ गुणा) अप्टिकल जुम र ३० गुणासम्म स्पेस जुम गर्न सक्ने कम्पनीले जनाएको छ । सेल्फीका लागि भने १० मेगापिक्सेलको क्यामरा राखिएको छ ।

फोनमा ‘स्न्यापड्रागन ८ एलिट फर ग्यालेक्सी’ नामक प्रोसेसर प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले फोनको समग्र गति बढाउनुका साथै एआईसँग सम्बन्धित काम छिटो गर्न मद्दत गर्छ । 

१२ जीबी र्‍याममा दुई इन्टर्नल स्टोरेज भेरियन्ट रहेका छन्- एउटा २५६ जीबी र अर्को ५१२ जीबी । १६ जीबी र्‍याममा भने १ टीबी इन्टर्नल स्टोरेज पाउन सकिनेछ । 

फोनमा नयाँ एन्ड्रोइड १६ र ‘वन यूआई ८’ अपरेटिङ सिस्टम दिइएको छ । यस ओएसमा एआईमा आधारित थुप्रै नयाँ फिचर छन् । ‘सर्कल टु सर्च’ मार्फत स्क्रिनको कुनै पनि वस्तुलाई घेरा लगाएर त्यसको जानकारी लिन सकिन्छ । गेम खेल्दाखेल्दै केही टिप्स चाहियो भने यो फिचर प्रयोग गर्न सकिनेछ ।

त्यसैगरी ‘फोटो एसिस्ट’ र ‘अडियो इरेजर’ जस्ता फिचरले फोटो र भिडिओ एडिटिङलाई थप सहज र सटीक बनाएको बताइएको छ । 

फोनमा ४४०० एमएएच क्षमताको ब्याट्री छ । यो फोन पानी प्रतिरोधी (आईपी ४८ रेटिङ) पनि हो । ग्यालेक्सी जेड फोल्ड सेभेनको प्रि-अर्डर आजदेखि नै सुरु गरिएको छ । विश्वव्यापी रूपमा यो फोन २५ जुलाईमा बिक्री हुनेछ । कम्पनीका अनुसार यो फोन ब्लु स्याडो, सिल्भर स्याडो, जेटब्ल्याक र मिन्ट गरी विभिन्न रङहरूमा उपलब्ध हुनेछ । अन्तर्राष्ट्रिय बजारमा यसको सुरुवाती मूल्य १,९९९ डलर (अन्दाजी दुई लाख ७३ हजार रुपैयाँ) तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असार २६, २०८२ १४:४४





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट