२०८२ कार्तिक ९ शनिबार
LATEST NEWS
२०८२ कार्तिक ९ शनिबार

नेपालमा फार्मेसी क्षेत्र एक अत्यन्तै संवेदनशील र महत्वपूर्ण स्वास्थ्य सेवा क्षेत्र हो। तर, दुर्भाग्यवश, आजको मितिमा नेपालमा फार्मेसी सञ्चालनको अवस्था निकै चिन्ताजनक देखिन्छ। नेपालमा अधिकांश फार्मेसीहरू स्वास्थ्य सम्बन्धी नभइकन अन्य क्षेत्रका व्यक्तिहरूद्वारा सञ्चालन भइरहेको छ। जुनसुकै ठाउँमा जाँदा पनि फार्मेसी सञ्चालनकर्ताहरू सीएमए (सर्टिफाइड मेडिकल असिस्टेन्ट), एचए (हेल्थ असिस्टेन्ट) वा अन्य स्वास्थ्य सहायकहरू देखिन्छन्, तर ती मध्ये धेरैसँग औषधि सम्बन्धी आवश्यक ज्ञान, अनुभव र दक्षता छैन।

गलत औषधि वितरणको मुख्य कारणहरू

१. प्राविधिक जनशक्तिको कमी
नेपाल फार्मेसी परिषद्को तथ्यांकअनुसार हालसम्म ७,४३० जना फार्मासिस्ट र १४,५०७ जना सहायक फार्मासिस्ट दर्ता भएका छन्। कुल २१,९३७ प्राविधिक जनशक्ति भए पनि नेपाल सरकारको औषधि व्यवस्था विभाग (डीडीए) अनुसार नेपालमा ३०,००० भन्दा बढी फार्मेसी दर्ता छन्। यसले करिब १०, ००० फार्मेसीहरू अवैध रूपमा सञ्चालन भइरहेको स्पष्ट देखाउँछ।

२. अनुपयुक्त औषधि भण्डारण र वितरण
फार्मेसीमा राखिएका औषधिहरू उचित तापक्रम र आर्द्रतामा भण्डारण हुनुपर्ने हुन्छ। तर, प्राविधिक ज्ञान नभएका व्यक्तिहरूले फार्मेसी चलाउँदा औषधिहरू गलत रूपमा भण्डारण गरिन्छ, जसले औषधिको गुणस्तरमा असर पार्छ। त्यसैगरी, ट्याब्लेट वा क्याप्सुल वितरण गर्दा बिरामीलाई पर्याप्त परामर्श नदिइ दिने प्रवृत्तिले पनि गलत औषधि सेवन गराउने सम्भावना अत्यधिक हुन्छ।

३. डाक्टरहरूको ब्रान्ड नाममा औषधि लेख्ने प्रवृत्ति
नेपालमा अधिकांश डाक्टरहरू औषधि ब्रान्ड नाममा लेख्छन्, जुन फार्मासिस्टको अध्ययनक्रममा समावेश हुँदैन। फार्मासिस्टहरूले औषधिको जेनेरिक नाम (molecule name) मात्र अध्ययन गर्छन्। ब्रान्ड नाम मिल्दो-जुल्दो हुने भए पनि तिनीहरूको संरचना फरक हुन सक्छ जसले मेडिकेसन एरर (औषधि सम्बन्धी त्रुटि) निम्त्याउँछ। साथै, डाक्टरहरूले हातले लेख्दा अस्पष्ट अक्षरहरू प्रयोग गर्दा फार्मासिस्टहरूले गलत औषधि बुझ्न सक्ने सम्भावना पनि रहन्छ। यदि डाक्टरहरूले जेनेरिक नाममा औषधि लेख्ने अभ्यास बढाएमा यस्तो त्रुटि न्यूनीकरण गर्न सकिन्छ।

४. अध्ययनद्वारा पुष्टि भएको समस्या
जर्नल अफ लुम्बिनी मेडिकल कलेजमा प्रकाशित अध्ययनअनुसार, नेपालका तेस्रो तहका अस्पतालको आन्तरिक चिकित्सा विभागमा ३९.५% बिरामीहरूले औषधि सम्बन्धी त्रुटिको अनुभव गरेका छन्। यस्तो त्रुटि प्राविधिक ज्ञान नभएका व्यक्तिको औषधि वितरण र औषधिको नाम बुझ्न नसक्ने कारणले हुने गरेको छ।

समाधान के हुन सक्छ?


फार्मेसी सञ्चालनमा दर्तित तथा योग्य फार्मासिस्ट मात्रलाई जिम्मा दिने।
औषधि वितरण गर्दा स्पष्ट परामर्श दिने र बिरामी शिक्षाको व्यवस्था मिलाउने।
औषधि भण्डारणको लागि निश्चित तापक्रम, आर्द्रता र लट ट्र्याकिङ सिस्टमको प्रयोग सुनिश्चित गर्ने।
डाक्टरहरूलाई जेनेरिक नाममा औषधि लेख्न प्रोत्साहन गर्ने।
अवैध फार्मेसीहरूमा औषधि व्यवस्था विभाग (डीडिए) द्वारा कडाइका साथ निगरानी गर्ने।

फार्मेसी केवल व्यवसाय नभइ एक जिम्मेवार सेवा हो। यो केवल औषधि बेच्ने ठाउँ होइन, औषधि वितरण गर्ने “कला” हो, जसका “कलाकार” फार्मासिस्टहरू हुन्। नेपालमा आज पनि थुप्रै फार्मेसीहरू अनुभवहीन र गैरपेशागत व्यक्तिहरूद्वारा चलाइँदैछ, जसले स्वास्थ्य प्रणालीमै संकट निम्त्याउने खतरा छ। समयमै सुधार नगरेमा यसको दीर्घकालीन असर गम्भीर हुन सक्छ।

अतः, सम्बन्धित निकाय, स्वास्थ्य मन्त्रालय, डाक्टर, र आम जनताले पनि यो विषयमा गम्भीर ध्यान दिनु आवश्यक छ।

 

सामाग्री श्रोत :
swasthyakhabar

 

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित एक जनप्रतिनिधि सामाजिक सञ्जालमा फैलिएको भ्रामक सूचनाको शिकार बनेका छन् । बर्दियाको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको भ्रामक तस्बिरलाई पत्याएर आफूले पनि हस्ताक्षर गरेको सार्वजनिक गरेका छन् । 

अध्यक्ष त्रिपाठीले फेसबुकमा एक पोस्ट राख्दै लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै एक अभियानमा हस्ताक्षर गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । उनले लेखेका छन्, “रवि लामिछानेका विरुद्ध राजनीतिक प्रतिशोध साधिएका कारण आज हामीले ७५३ पालिका मध्ये बढैयाताल गाउँपालिकाको जनप्रतिनिधि पालिका प्रमुखको हैसियतले पहिलो हस्ताक्षरकर्ता भएकै हो । आज म धेरै नै खुसी भएको छु ।” आफ्नो निर्णयलाई सही साबित गर्न उनले पार्टी अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत हस्ताक्षर गरेको दाबी गरेका थिए । उनले सबैलाई राज्य संयन्त्रको दुरुपयोगविरुद्ध हस्ताक्षर अभियानमा जुट्न अपिलसमेत गरे ।

तर, अध्यक्ष त्रिपाठीले आफ्नो दाबीलाई बलियो बनाउन प्रयोग गरेको प्रचण्डको तस्बिर नै अर्कै प्रयोजनको भएको खुलेको छ । टेकपाना फ्याक्टचेकका अनुसार उक्त तस्बिर गत २४ मंसिर २०८१ मा माओवादी केन्द्रले काठमाडौँको शान्तिबाटिकामा आयोजना गरेको फरक कार्यक्रमको हो । सो कार्यक्रम इजरायलद्वारा प्यालेस्टिनीमाथि भइरहेको नरसंहारको विरुद्धमा थालिएको देशव्यापी हस्ताक्षर अभियान थियो । सामाजिक सञ्जालमा भ्रम फैलाउन उक्त फोटो फ्लिप गरी अक्षर नबुझिने गरी राखिएको थियो ।  

यद्यपि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लामिछानेको पक्षमा हस्ताक्षर गरेको कुरा भने सत्य हो । गाउँपालिका अध्यक्ष त्रिपाठीको पोस्टमा अधिकांशले ‘अरूले हस्ताक्षर गरे म पनि गर्छु भन्ने भन्दा पनि स्वविवेकले काम गर्नुपर्ने’ सुझाएका छन् । पोस्टमा कमेन्ट गर्दै सरोज पाठकले लेखेका छन्, “एआई र एडिट नचिन्ने के भन्ने अध्यक्ष ज्यू । त्यहाँ रविको फोटो एडिट गरेको प्रष्ट देखिन्छ । हजुर जस्तो जिम्मेवारी पदमा बसेको व्यक्तिबाट जनताले कस्तो सूचनाको आश राख्ने ?”

पछिल्लो अध्यावधिक: असार २८, २०८२ १४:६





सामाग्री श्रोत :
टेक पाना

प्री-डायबिटिज एक यस्तो अवस्था हो जहाँ रगतमा चिनीको मात्रा सामान्यभन्दा बढी हुन्छ, तर डायबिटिजको स्तरमा पुगिसकेको हुँदैन। प्रायः कुनै स्पष्ट लक्षण नदेखिने भएकाले धेरैले थाहा नै नपाउने गर्छन्।

चिकित्सकका अनुसार, धेरै मानिसहरूलाई त केवल सामान्य स्वास्थ्य जाँच गर्दा मात्र प्री-डायबिटिज भएको पत्ता लाग्छ।

किन हुन्छ प्री-डायबिटिज?
यसको जोखिम निम्न कारणले बढ्न सक्छ:


उमेर
जातीय पृष्ठभूमि 
शरीरको तौल (विशेषगरी पेट वरिपरि बढी बोसो)
खानपान र जीवनशैली

इन्सुलिन भन्ने हर्मोनले रगतको चिनी सन्तुलनमा राख्न मद्दत गर्छ। तर शरीरमा बोसो बढी हुँदा इन्सुलिनको प्रभाव कम हुन्छ, जसले गर्दा शरीरले अझ बढी इन्सुलिन बनाउने प्रयास गर्छ — जुन दीर्घकालीन रूपमा असरदार हुँदैन।

प्री-डायबिटिज भएमा के गर्ने?
१. तौल घटाउनुहोस् (झन्डै १० प्रतिशत)
तपाईंको हालको तौलको करिब १० प्रतिशत घटाउन सकेमा, कलेजोमा जमेको बोसो हट्न सक्छ र डायबिटिजको जोखिम घट्न सक्छ, यो परिवर्तन धेरैका लागि पर्याप्त हुन्छ। उदाहरण: यदि तपाईंको तौल ७० किलो छ भने, ७  किलो घटाउँदा फाइदा हुन सक्छ।

२. तौल घटाएपछि त्यसलाई कायम राख्नुहोस्
छिटो वजन घटाउने डाइट लामाे समयसम्म टिकाउँन कठिन हुन्छ। त्यसैले:
शाकाहारी, भीगन, वा लो-कार्ब डाइट प्रयोग गर्न सकिन्छ।
कम ग्लाइसेमिक इन्डेक्स भएका खाना छनौट गर्नुहोस् (जस्तै साबुत अन्न, हरियो तरकारी)।

३. यी खानेकुरा कम गर्नुहोस्:


चिनी भएका पेय पदार्थ 
रातो तथा प्रोसेस्ड मासु 
रिफाइन्ड कार्बोहाइड्रेट (सेतो रोटी, मिठाई, चिप्स)
फ्रेन्च फ्राइ लगायतका आलुजन्य खाना

यी खाद्य वस्तुहरूले इन्सुलिन प्रतिरोध  ढाउँछन् र तौल वृद्धि गराउँछन्।

४. यी खानेकुरा बढाउनुहोस्:


फलफूल र हरियो तरकारी (अंगुर, स्याउ, पालुंगो)
साबुत अन्न (ब्राउन राइस, ओट्स, बाजरा)
कम फ्याट दही र चीज
चिनी बिना चिया र कफी
यी खानेकुरामा फाइबर बढी हुन्छ, जुन रगतमा चिनीको स्तर सन्तुलनमा राख्न मद्दत गर्छ।
डराउनु पर्दैन, सजक बन्नुहोस्
प्री-डायबिटिज पत्ता लाग्नु एक चेतावनी हो — यो मौका हो आफ्नो स्वास्थ्यमा सुधार ल्याउने।
यदि सबै डाइट परिवर्तन एकैपटक गर्न कठिन लागे:
सानो परिवर्तनबाट सुरु गर्नुहोस्
दैनिक जीवनशैलीमा सुधार ल्याउनुहोस्
डाक्टर वा डायटिसियनसँग सल्लाह लिनुहोस्

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । सन् १९९५ मा एउटा पुरानो ३८६ कम्प्युटर र डायल-अप कनेक्सनबाट सुरु भएको नेपालको इन्टरनेट यात्रा आज घर-घरमा द्रुत गतिको फाइबर इन्टरनेटसम्म आइपुगेको छ । यो ३० वर्षे लामो र रोमाञ्चक यात्रालाई जीवन्त रूपमा प्रस्तुत गर्न नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले ललितपुरको कुसुन्तीमा नेपालकै पहिलो इन्टरनेट म्युजियम स्थापना गरेको छ । 

यो म्युजियमलाई पुराना उपकरणहरूको सङ्ग्रह मात्र नभई नेपालको डिजिटल क्रान्तिको एउटा जीवन्त दस्तावेज मान्न सकिन्छ । ‘मेक बेस्ट आउट अफ वेस्ट’ नारासहित स्थापना गरिएको यस सङ्ग्रहालयमा प्रवेश गर्दा तपाईंले नेपालको इन्टरनेट इतिहासलाई नजिकबाट नियाल्ने अवसर पाउनुहुनेछ ।

डायल-अपको धिमा गतिदेखि वायरलेसको फड्कोसम्म

म्युजियमको यात्रा वर्ल्डलिंकका संस्थापक तथा अध्यक्ष दिलीप अग्रवालले अमेरिकामा अध्ययन गर्दा प्रयोग गरेको एउटा पुरानो ३८६ कम्प्युटरबाट सुरु हुन्छ । यही कम्प्युटर र डायल-अप मोडेम प्रयोग गरी सन् १९९५ मा वर्ल्डलिंकले इमेल सेवामार्फत आफ्नो यात्रा आरम्भ गरेको थियो ।

“सुरुवाती दिनमा इन्टरनेट चलाउन टेलिफोन लाइन अनिवार्य थियो, जुन निकै महँगो र सीमित पहुँचमा थियो,” वर्ल्डलिंकका महाप्रबन्धक किरण गौतमले भिडिओमा जानकारी दिँदै भने, “प्रयोगकर्ताले टेलिफोनको बिल र इन्टरनेटको शुल्क छुट्टाछुट्टै तिर्नुपर्थ्यो, जसले गर्दा इन्टरनेट सेवा आम मानिसको पहुँचभन्दा बाहिर थियो ।” 

यो चुनौतीलाई पार गर्न वर्ल्डलिंकले वायरलेस प्रविधि भित्र्यायो । म्युजियममा त्यतिबेला प्रयोग भएका विभिन्न आकारका रेडियो वेभ रिसिभर (डिस एन्टेना) र वायरलेस मोडमहरू आकर्षक ढंगले प्रदर्शनमा राखिएका छन् । 

“वायरलेस प्रविधिले टेलिफोन लाइन नभएका ठाउँहरूमा पनि इन्टरनेट पुर्‍याउन सम्भव बनायो, तर यसको उपकरण पनि महँगो थियो,” गौतमले थपे ।

केबल र फाइबर इन्टरनेटको युग

वायरलेस प्रविधिपछि वर्ल्डलिंकले केबल इन्टरनेटको सुरुवात गर्‍यो । म्युजियममा केबल इन्टरनेटमा प्रयोग हुने विभिन्न उपकरण, जस्तै; पोलमा राखिने पावर बक्स र स्विचहरू देख्न सकिन्छ । तर, समयसँगै बढ्दो इन्टरनेटको माग र गुणस्तरीय सेवाको आवश्यकताले वर्ल्डलिंकलाई फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा स्तरोन्नति गर्न प्रेरित गर्‍यो । म्युजियमको एउटा ठुलो भाग एफटीटीएच प्रविधिलाई समर्पित छ, जहाँ सर्भर र्‍याक, राउटर, स्विच, ओएलटी (Optical Line Terminal) र विभिन्न प्रकारका फाइबर केबलहरू विस्तृत रूपमा देख्न सकिन्छ ।

“इन्टरनेट कसरी चल्छ? यो कसरी प्रयोगकर्तासम्म पुग्छ? भन्ने कुरा यहाँ प्रत्यक्ष रूपमा देख्न र बुझ्न सकिन्छ,” गौतमले भने ।

प्रविधिको विकास र पुराना उपकरणको कथा

म्युजियममा राखिएका पुराना उपकरणहरूले प्रविधिको विकासलाई रोचक तरिकाले प्रस्तुत गर्छन् । सुरुवाती दिनमा प्रयोग हुने ८ इन्चको सानो ल्यापटप, विभिन्न मोडेलका राउटर र प्रोसेसर चिपहरूले आगन्तुकलाई प्रविधिको ऐतिहासिक यात्रामा लैजान्छन् । एउटा रोचक प्रदर्शनीमा फाइबर परीक्षण गर्ने ठुलो र गह्रौं ‘ओटीडीआर’ मसिन र त्यसको छेउमा हाल प्रयोगमा रहेको सानो र हलुका मसिन राखिएको छ, जसले प्रविधिले कति छिटो फड्को मारेको छ भन्ने कुरा स्पष्ट पार्छ । त्यस्तै, वर्ल्डलिंकले सुरुमा फाइबर जोड्न प्रयोग गरेको जापानबाट आयातित ‘स्प्लाइस मसिन’ पनि प्रदर्शनमा छ ।

“त्यतिबेला यो मसिन निकै दुर्लभ थियो । यसलाई चलाउने प्राविधिकलाई सुपरस्टार मानिन्थ्यो,” गौतमले पुराना दिन सम्झँदै भने ।

भविष्यको परिकल्पना: सफा सहर, भूमिगत तार

यो म्युजियमले केवल विगतको कथा मात्र भन्दैन । यसले भविष्यको परिकल्पना पनि प्रस्तुत गर्छ । एउटा आकर्षक मिनिएचर मोडेलमार्फत सन् २०२५ सम्मको नेपालको सडक, पोल र घरहरू देखाइएको छ, जहाँ वर्ल्डलिंकले भविष्यमा अन्डरग्राउन्ड (भूमिगत) फाइबर नेटवर्क विस्तार गर्ने महत्त्वाकांक्षी योजना देखाएको छ ।

“अबको हाम्रो लक्ष्य भनेको पोलमा अव्यवस्थित रूपमा रहेका तारहरूलाई हटाएर भूमिगत केबलमार्फत गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्नु हो,” गौतमले भने, “यसले सहरलाई सफा र सुन्दर बनाउनुका साथै इन्टरनेट अवरुद्ध हुने समस्यालाई ४० प्रतिशतसम्म कम गर्नेछ ।”

अध्ययन र प्रेरणाको केन्द्र यो म्युजियम विद्यार्थी, अनुसन्धानकर्ता, पत्रकार र प्रविधिमा रुचि राख्ने सबैका लागि एक महत्वपूर्ण अध्ययन र प्रेरणाको केन्द्र बन्न सक्छ । यसले नेपालको डिजिटल यात्रा र इन्टरनेट विकासका विभिन्न चरणहरूलाई नजिकबाट बुझ्न मद्दत गर्छ ।

“हामीले यो म्युजियममार्फत नेपालको इन्टरनेट इतिहासलाई जीवन्त राख्ने प्रयास गरेका छौं । यहाँ आएर जो कोहीले पनि प्रविधिको विकास र यसले हाम्रो जीवनमा पारेको प्रभावबारे जानकारी लिन सक्नुहुन्छ,” गौतमले भने ।

पछिल्लो अध्यावधिक: असार २८, २०८२ १३:१३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । एप्पलको आउँदो आईफोन १७ सिरिज सार्वजनिक हुन केही महिना मात्र बाँकी छँदा यसको ‘भेनिला’ मोडेलका  कलर र केही मुख्य विशेषता बाहिरिएका छन् । हालै आईफोन १७ एयरको कलरबारे जानकारी चुहावट भएलगत्तै अहिले आईफोन १७ को बारेमा पनि नयाँ खबर आएका हुन् ।

चुहावट भएको जानकारीअनुसार, आईफोन १७ (बेसिक मोडेल) नीलो, सिल्भर, कालो, हरियो र बैजनी गरी पाँच विभिन्न  कलरमा उपलब्ध हुनेछ ।

यी कलरहरूको खुलासा फोनको क्यामेराको वरिपरि रहने रिप्लेसमेन्ट रिङ (घेरा) बाट भएको हो, जुन फोनको  कलरसँग मिल्दोजुल्दो बनाइएको छ । यसका साथै एउटा पारदर्शी (ट्रान्सपरेन्ट) रिङ पनि देखिएको छ । तर यसको अर्थ पारदर्शी आईफोन आउने भन्ने होइन । यो केवल आफ्नो डिभाइसमा पारदर्शी लुक चाहनेहरूका लागि एउटा थप विकल्प हुनेछ ।

यी प्रारम्भिक कलरहरू भए पनि एप्पलले पछि थप एक वा दुई  कलरहरू पनि सार्वजनिक गर्न सक्ने सम्भावना छ । तुलनाका लागि, आईफोन १६ कालो, सेतो, गुलाबी, टिल र अल्ट्रामारिन जस्ता  कलरहरूमा उपलब्ध रहेको बताइएको थियो ।

विशेषताहरूमा के छ नयाँ ?

आईफोन १७ आगामी सेप्टेम्बरमा सार्वजनिक हुने चार मोडेलहरूमध्ये सबैभन्दा कम मूल्यको हुने अपेक्षा गरिएको छ । यसमा ए१९ नन-प्रो चिपसेट रहनेछ र यसको र्याम ८ जीबी नै हुन सक्ने अनुमान छ । यद्यपि, अन्य तीन मोडेलहरूमा ए१९ प्रो चिप र १२ जीबी र्याम हुने हल्ला छ ।

आईफोन १७ एयरको तुलनामा भेनिला आईफोन १७ मा एउटा अतिरिक्त क्यामेरा र ठु ब्याट्री हुनेछ । आईफोन १७ एयर भने पातलो डिजाइनमा केन्द्रित हुनेछ र यसमा एउटा मात्र रियर क्यामेरा हुने सम्भावना छ । आईफोन १७ एयर कालो, सिल्भर, हल्का सुनौलो र हल्का निलो  कलरमा आउने अनुमान छ । 

यद्यपि एप्पलले आधिकारिक रूपमा यसबारे केही घोषणा गरेको छैन, तर स्मार्टफोन एक्सेसरी निर्माताहरूले तयार पारेका क्यामेरा प्रोटेक्टरहरूले अक्सर एप्पलको नयाँ डिभाइसमा प्रयोग हुने रंग र लेआउटबारे पहिल्यै संकेत दिने गर्छन् ।

पछिल्लो अध्यावधिक: असार २८, २०८२ १०:३३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ- पत्रकारिताका माध्यमबाट रक्तदान कार्यक्रम तथा स्वास्थ्य सचेतनाका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान)ले नेपाली हेल्थ डटकमका प्रधान सम्पादक रामप्रसाद न्यौपानेलाई सम्मान गरेको छ । शनिबार काठमाडौँमा आयोजित  कार्यक्रममा ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठले सम्पादक न्यौपानेलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए । 

स्वयंसेवी रक्तदान अभियानमा क्रियाशील रक्तदान गर्ने संघसंस्थाहरुको छाता संगठन ब्लोदानले विगत तीन दशक देखि रक्तदानका क्षेत्रमा विभिन्न जनचेतना एवं उत्प्रेरणामुलक कार्यक्रम समेत गर्दै आईरहेको छ ।   

न्यौपानेलाई सम्मान गर्नु अघि बोल्दै एसोसिएसनका अध्यक्ष श्रेष्ठले रगतको अभावमा कुनै पनि बिरामीको अकाल मृत्यु नहोस भन्ने उदेश्यका साथ स्थापित संस्थाले रक्तदान तथा स्वास्थ्य अभियानमा क्रियाशील विभिन्न क्षेत्रसंग जोडिएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्दै आईरहेको बताए । उनले विश्व रक्तदाता दिवसको अवसरमा सम्मान गर्ने कार्यक्रम रहे पनि त्यसबेला न्यौपाने अनुपस्थित भएपछि आज आयोजित केन्द्रीय समितिको बैठककै अवसरमा सम्छिप्त कार्यक्रम गरि सम्मान गरिएको स्पष्ट पारे । 

विना शोधभर्ना बिरामीलाई रगत उलव्ध गराउन स्वयंसेवी रक्तदान अभियानमा सहभागी होऔँ भन्ने आव्हानका साथ ब्लोदान विगत तीन दशक देखि रक्तदानका क्षेत्रमा क्रियाशील रहेको भन्दै उनले आम बिरामीलाई सहज रुपमा निशुल्क रगत उपलव्ध गराउनु पर्ने बताए । 

कार्यक्रममा बोल्दै प्रधानसम्पादक न्यौपानेले यस्ता खालका सम्मानबाट आफूलाई स्वास्थ्यका साथै रक्तदानका क्षेत्रमा क्रियाशीलता हुन थप हौसला मिलेको बताए ।

ब्लोदानका सचिव विष्णुराज श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा ब्लोलानका उपाध्यक्ष केशव महर्जनका साथै अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।  

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको डिजिटल शाखा ‘जियो प्लेटफर्म्स’ले सेट-टप बक्स प्रयोगकर्ताका लागि एउटा नयाँ भर्चुअल डेस्कटप सेवा सुरु गरेको छ । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश भारतका लाखौं टिभी सेटलाई कम्प्युटर (पीसी) मा परिणत गर्ने उद्देश्यका साथ यस्तो सेवा सुरु गरिएको हो ।

‘जियोपीसी’ नाम दिइएको यो सेवाले जियोको सेट-टप बक्समार्फत क्लाउडमा आधारित कम्प्युटरको अनुभव प्रदान गर्ने बताइएको छ । जियोको होम ब्रोडब्यान्ड सेवाका ग्राहकले यो सेटअप बक्स निःशुल्क पाउँछन् । तर, छुट्टै खरिद गर्नका लागि पाँच हजार ४९९ भारु (८,८०० नेपाली रुपैयाँ) तिर्नुपर्ने हुन्छ । हाल यो सेवा निःशुल्क परीक्षणको चरणमा छ भने ‘वेटलिस्ट’ मार्फत सीमित ग्राहकलाई उपलब्ध गराउन थालिएको छ । 

यसका लागि सबैभन्दा पहिले वेटलिस्टमा रहेका प्रयोगकर्तालाई कम्पनीले छनोट गर्छ । त्यसपछि प्रयोगकर्ताले आफ्नो अकाउन्ट सेटअप गर्नुपर्ने हुन्छ । यससँगै किबोर्ड र माउस जोडेपछि आफ्नो टिभीमा भर्चुअल डेस्कटप चलाउन सकिनेछ ।

हाल यो सेवामा केही सीमितता छन् । यसले क्यामेरा र प्रिन्टर जस्ता बाह्य डिभाइसलाई सपोर्ट गर्दैन । सफ्टवेयरको कुरा गर्दा यसमा ओपन सोर्स लिब्रेअफिस (LibreOffice) पहिले नै इन्स्टल गरिएको हुन्छ । यदि प्रयोगकर्ताले माइक्रोसफ्ट अफिसका एप चलाउनु परेमा उनीहरूले ब्राउजर मार्फत चलाउनुपर्ने हुन्छ ।

यी सीमितताका बाबजुद पनि अम्बानीको ‘जियोपीसी’ को योजना कम्तिमा पनि सैद्धान्तिक रूपमा निकै आकर्षक देखिन्छ । काउन्टरपोइन्ट रिसर्चका अनुसन्धान निर्देशक तरुण पाठकले टेकक्रन्चलाई बताए अनुसार जियोपीसी मुम्बईस्थित जियो कम्पनीको लागि आफ्नो प्रयोगकर्ता सङ्ख्या बढाउने एक प्रभावकारी तरिका हो । जियोका प्रयोगकर्ता अहिले नै ४८ करोड ८० लाखभन्दा बढी छन् ।

पाठकका अनुसार करिब ७० प्रतिशत भारतीय परिवारमा टिभी छ । तर केवल १५ प्रतिशतसँग मात्र पीसी छ । 

कम्प्युटरको अनुभव गर्न नपाएका परिवारका लागि यो आकर्षक अवसर हो । तर, जियोलाई यो सेवाको मार्केटिङ र प्रयोगबारे बुझाउन निकै मिहिनेत गर्नुपर्ने उनी सुनाउँछन् । उनले भने, “तपाईंले मानिसलाई सेट-टप बक्स प्रयोग गरेर टिभीमै पीसी चलाउन सकिन्छ भनेर विश्वस्त पार्नुपर्छ ।”

सरकारी तथ्याङ्क अनुसार भारतमा हाल करिब पाँच करोड ७० लाख सक्रिय ‘पे-टिभी’ (शुल्क तिरेर हेरिने) सेट-टप बक्स प्रयोगकर्ता छन् । तर, इन्टरनेटको सहज पहुँचसँगै परम्परागत ‘डाइरेक्ट-टु-होम’ (डीटीएच) टिभी बजार खुम्चिँदै गएको छ । 

साइबर मिडिया रिसर्चका उपाध्यक्ष प्रभु रामका अनुसार जियोपीसीमार्फत जियोले ग्रामीण र कम आय भएका क्षेत्रमा नयाँ सेट-टप बक्स प्रयोगकर्तालाई आकर्षित गर्न सक्छ । उनले टेकक्रन्चलाई भने, “यसको सम्भावित प्रभाव धेरै व्यापक हुन सक्छ । तर यसको सफलता मुख्य रूपमा कार्यान्वयनमा निर्भर रहनेछ । विशेषगरी इन्टरनेट कनेक्टिभिटीको समस्या समाधान गर्न सक्नु र नागरिकमा डिजिटल साक्षरता बढाउन सक्नु महत्त्वपूर्ण हुनेछ । यदि यी पक्षमा सुधार गर्न सकिएन भने राम्रो योजना भएर पनि यो काम सफल नहुन सक्छ ।”

आईडीसी‍का अनुसार भारतमा पीसीको पहुँच अमेरिका र चीन जस्ता प्रमुख बजारको तुलनामा अझै पनि कम छ । यसको मुख्य कारण सीमित खर्चयोग्य आय र स्मार्टफोनलाई नै मुख्य कम्प्युटिङ उपकरणको रूपमा प्रयोग गरिनु हो ।

रामका अनुसार माइक्रोसफ्ट र अन्य धेरै क्लाउड प्रदायकले व्यावसायिक ग्राहकलाई लक्षित गरी भर्चुअल डेस्कटप सेवा पहिलेदेखि नै दिंदै आएका छन् । तर, जियोको यो कदम आम उपभोक्तालाई लक्षित गरिएको पहिलो गम्भीर प्रयास हो ।

पछिल्लो अध्यावधिक: असार २८, २०८२ १०:५७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- काठमाडौं क्यान्सर सेन्टरमा हाइपरथर्मिक इन्ट्रापेरिटोनियल केमोथेरापी (हाइपेक) सर्जरी सुरु भएको छ। 

डा. दीप लामिछाने,  डा. सुरेश कायस्थ र डा. सुरज सुवालको टोलीले काठमाडौं क्यान्सर सेन्टरबाट उक्त सेवा दिन थालेको हो। 

क्यान्सर फैलिसकेर चौथो चरणमा पुगिसकेका बिरामीहरुका लागि शल्यक्रिया गरेर क्यान्सरको सम्पूर्ण कोषिका निकाल्ने तथा शल्यक्रियाकै क्रममा पेट भित्र केमोथेरापी दिने क्रममा प्रयोग हुने प्रविधि नै हाइपेक हो।

यो प्रविधिको प्रयोग डिम्वाशयको क्यान्सर भएका, ठूलो आन्द्राको क्यान्सर, सानो आन्द्राको क्यान्सर, रेक्टम (दिसा गर्ने अन्तिम भाग) को क्यान्सर लगायतमा यस प्रविधिको प्रयोग हुने गरेको छ। 

चौथो चरणमा पुगेका सबै क्यान्सरका बिरामीहरु प्रयोग हुने प्रविधि नभएको उनले स्पष्ट पारे। बिरामीको रोगको अवस्था अनुसार उक्त विधिको प्रयोग फाइदाजनक भए/नभएको निक्र्याैल गरेर मात्र यो विधि प्रयोग गरिन्छ। हाइपेक प्रविधिको पढाइ नेपालमा हुँदैन। यसको प्रयोग भइरहेका विदेशी अस्पतालहरुमा तालिम लिनुपर्ने हुन्छ। 


 

विश्वमा यस प्रविधिको प्रयोग सन् २००३ देखि व्यापक भएको हो । यद्यपि सन् १९८० देखि नै यस प्रविधिको महत्वबारे छलफल भएको थियो। 

क्यान्सरको उपचारका क्रममा दिइने केमोथेरापीले पूर्ण रुपमा निको पार्न नसकेको क्यान्सरका कोषहरु यो प्रविधिले निको पार्ने  दाबी चिकित्सकहरुको छ। क्यान्सर शल्यक्रिया गरिसकेपछि त्यसलाई नियन्त्रण गर्ने औषधिको प्रयोग यस प्रविधिमा हुन्छ। 

 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । गुगलले फोटोलाई भिडिओमा परिणत गर्ने नयाँ फिचर ल्याएको छ । कम्पनीले बिहीबारदेखि भिओ थ्री टुलमा यो फिचर उपलब्ध गराएको हो । 

भिओ थ्री टुल गुगल ‘फ्लो’ (Flow) नामक एआई भिडिओ प्लेटफर्म र जेमिनाई एपमा प्रयोग गर्न सकिन्छ । कम्पनीले गत मेमा आयोजित गुगल आईओ कन्फ्रेन्समा फ्लो टुल सार्वजनिक गरेको थियो । 

प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न जेमिनाई एपको प्रम्प्ट बक्समा रहेको टुल मेनुबाट ‘भिडिओ’ अप्सन छान्नुपर्ने हुन्छ । त्यसपछि आफूले भिडिओ बनाउन चाहेको फोटो अपलोड गर्नुपर्छ । यति गरेपछि प्रम्प्टमा आफूलाई चाहिएको अडियोबारे लेखेर भिडिओमा आवाज पनि थप्न सकिन्छ । भिडिओ तयार भएपछि यसलाई सजिलै डाउनलोड गर्न वा अरूलाई शेयर गर्न सकिनेछ ।

गुगलले गत सातादेखि यो सुविधा १५० भन्दा बढी देशमा उपलब्ध गराएको छ । हाल यो फिचर गुगल एआई अल्ट्रा (Google AI Ultra) र गुगल एआई प्रो (Google AI Pro) प्लानका प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । यी प्रयोगकर्ताले एक दिनमा तीन ओटासम्म भिडिओ बनाउन सक्नेछन् । तर प्रयोग नगरिएको कोटा अर्को दिनका लागि भने सर्ने छैन ।

खासगरी भिडिओलाई स्तरीय बनाउन तस्बिर एनिमेसनका गर्नुपर्ने प्रयोगकर्ताका लागि यो फिचर उपयुक्त हुने देखिन्छ । त्यस्तै यसको दुरुपयोग हुने सम्भावना पनि उत्तिकै छ । खासगरी यस्ता भिडिओ डिपफेक भिडिओका रूपमा चरित्रहत्या गर्नेदेखि अन्य विभिन्न किसिमका आपराधिक काममा दुरुपयोग हुने जोखिम छ ।

कम्पनीका अनुसार विगत सात हप्तामा जेमिनाई एप र फ्लो टुलमार्फत चार करोडभन्दा बढी भिडिओ बनाइएका छन् । एआईबाट बनेको भनी पहिचान गर्न ‘भिओ थ्री’ मोडेल प्रयोग गरेर बनाइएका सबै भिडिओमा ‘Veo’ लेखिएको वाटरमार्क स्पष्ट देखिन्छ । एआई भिडिओ पहिचान गर्नेबारे टेकपानाले तयार पारेको टिप्स यहाँ क्लिक गरेर पढ्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असार २८, २०८२ ९:४४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । बुधबार गायक दुर्गेश थापाले सिसन बानियाँ र गुराँस नानीसँगको सहकार्यमा तयार पारेको नयाँ गीत ‘जाने भए जाम माया’ सार्वजनिक गरे । बेलुका साढे ६ बजेतिर युट्युबमा सार्वजनिक भएको यो गीतले त्यसअघि नै व्यापक चर्चा पाइसकेको थियो । टिकटकमा एक पात्रको रूपमा चिनिएकी ‘गुराँस नानी’सँग कन्टेन्ट क्रिएटर सिसन बानियाँले कस्तो सहकार्य गर्न लागेका हुन् भन्नेमा धेरैलाई कौतूहलता थियो ।

खासगरी बानियाँले टिकटकमा गुराँस नानीलाई जोडेर धेरै भिडिओ ल्याइरहेका थिए । केहीले यसलाई ‘फ्लर्ट’ भने त केहीले टिकटकको लाइक, भ्युज र रिचको मोहबाट टाढा बस्न खोजेकी गुराँस नानीलाई बानियाँले चर्चामा ल्याउन खोजेको ‘फन्डा’ हो भन्ने अनुमान गरे । यसबाहेक बानियाँले सार्वजनिक गरेका गुराँस नानीसँगका छोटा भिडिओ र रमाइला तस्बिरले पनि चर्चालाई थप बढाएको थियो ।

गीत रिलिज भएको झन्डै एक घण्टामा ४२ हजार लाइक देखियो । तर भ्युज भने पाँच हजारको हाराहारीमा थियो । वास्तवमा युट्युब भिडिओ स्ट्रिमिङ प्लेटफर्म भएकाले लाइकभन्दा भ्युज बढी हुनु स्वाभाविक हो । तर, भिडिओ हेर्ने सबैले लाइक गर्छन् भन्ने हुँदैन । यदि कसैले भिडिओ राम्ररी नहेरी लाइक मात्रै गर्छ भने युट्युबको एल्गोरिदमले त्यस्तो लाइकलाई गणना नगर्न वा केही समयपछि हटाउन सक्छ । दुर्गेशको भिडिओमा भ्युजभन्दा लाइक बढी देखिएपछि धेरैले यसले ‘युट्युबको सिस्टम नै जाम पारिदियो’ भन्दै सामाजिक सञ्जालमा चर्चा गरे ।

भिडिओ रिलिज भएको केही समयमा भ्युजभन्दा लाइक बढी देखिने यस्ता घटना अरू पनि छन् । १० फेब्रुअरी २०२४ मा रिलिज भएको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को ‘नेपाल हाँसेको’ बोलको गीतमा पनि यस्तै अवस्था देखिएको थियो । चलचित्र ‘लाज शरणम्’को प्रचारका लागि तयार पारिएको यो गीत बालेनका कारण निकै चर्चित बन्यो । हुन त यो गीत बालेनले १० वर्षअघि नै गाइसकेका थिए । तर चलचित्रसँग जोडिएपछि यसले थप चर्चा पायो । यी त नेपालका केही उदाहरण मात्र हुन् । युट्युबमा रिलिज हुने र दर्शकले व्यग्र प्रतीक्षा गरेका चर्चित भिडिओमा यस्तो अवस्था बारम्बार देखिन्छ । आखिर यस्तो किन हुन्छ?

यस विषयमा युट्युबले आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्स मार्फत स्पष्ट पारेको छ । 

युट्युबका अनुसार यो अवस्था भनेको भ्युज वास्तविक हुन् भनी पुष्टि गर्ने प्रक्रियाको एक सामान्य हिस्सा हो । जब कुनै भिडिओमा धेरै छोटो समयमा अत्याधिक भ्युज आउँछ, त्यस्तो बेला युट्युबमा सार्वजनिक रूपमा देखिने भ्युज गणनाले युट्युबको आन्तरिक प्रणाली (जसले अमान्य भ्युजलाई प्रमाणीकरण र हटाउने काम गर्छ) लाई भेट्टाउन समय लाग्छ । यही कारणले गर्दा सुरुवाती लाइकको सङ्ख्या भ्युजभन्दा बढी देखिन सक्छ र पछि भ्युज सङ्ख्या समायोजन हुन्छ ।

युट्युबका इङ्गेजमेन्ट मापदण्ड जस्तै भ्युज, लाइक र सब्स्क्राइब वास्तविक मानिसबाट आएको हो, कम्प्युटर प्रोग्रामबाट होइन भन्ने सुनिश्चित गर्न प्रणालीलाई केही समय लाग्छ । विशेषगरी भिडिओ प्रसारित भएको पहिलो केही घण्टामा यी तथ्याङ्क प्रणालीमा देखिन समय लाग्ने गर्छ । वास्तविक इङ्गेजमेन्ट गणना भइसकेपछि तथ्याङ्क छिटो अद्यावधिक भए पनि कहिलेकाहीँ भ्युज वा लाइकको गणना रोकिएको जस्तो देखिन सक्छ । युट्युबले सही तथ्याङ्क सुनिश्चित गर्न र अमान्य गतिविधिलाई रोक्न अस्थायी रूपमा गणनालाई सुस्त बनाउने, रोक्ने वा परिवर्तन गर्ने गर्दछ । 

उदाहरणका लागि एउटै भिडिओ हेर्न धेरै डिभाइस प्रयोग गर्नु वा एउटै भिडिओलाई एकैपटक धेरै विन्डो र ट्याबमा चलाउनुलाई ‘कम-गुणस्तरको प्लेब्याक’ मानेर त्यस्ता भ्युजलाई युट्युबले खारेज गर्न सक्छ । त्यसैले कहिलेकाहीं भ्युज धेरै छ भने पछि घटिदिन सक्छ ।

यसबाहेक यदि भिडिओलाई विज्ञापनको रूपमा प्रयोग गरिएको छ भने त्यसबाट आएका भ्युज पनि गणना हुन्छन् । दर्शकले ११ देखि ३० सेकेन्डको विज्ञापन पूरा हेरेमा, ३० सेकेन्डभन्दा लामो विज्ञापन कम्तीमा ३० सेकेन्ड हेरेमा वा विज्ञापनमा क्लिक गरेर भिडिओ हेर्न सुरु गरेमा त्यस्ता भ्युजलाई आधिकारिक मानिन्छ ।

अर्थात् भिडिओ रिलिज हुनेबित्तिकै देखिने लाइक र भ्युजको असन्तुलन युट्युबको भ्युज प्रमाणीकरण प्रक्रियाको एक सामान्य र अस्थायी असर हो । यो पछि आफैँ सन्तुलन हुन्छ ।

पछिल्लो अध्यावधिक: असार २८, २०८२ ८:५९





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट