२०८२ आश्विन ४ शनिबार
LATEST NEWS
२०८२ आश्विन ४ शनिबार

काठमाडौं- सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नीति निर्माणमा पुर्‍याएको  योगदानका लागि नेपाललाई विश्व स्वास्थ्य संगठनले पुरस्कृत गरेको छ। विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवस २०२५ का अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत पुरस्कृत गरिएको हो।

विश्व स्वास्थ्य संगठनको ७९औं सभाका क्रममा जेनेभामा आयोजित कार्यक्रममा महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेएससले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई उक्त पुरस्कारबाट सम्मान गरेका छन्। 

दक्षिण-पूर्वी एसिया क्षेत्रबाट मन्त्रालयका साथै राष्ट्रिय राजस्व बोर्ड, बंगलादेश, स्टेट टोबाको स्टेट कन्ट्रोल सेल,  स्वास्थ्य तथा परिवार कल्याण विभाग, कर्नाटक सरकार, भारत, बैंकका गभर्नर  चादचार्त सिट्टीपुन्ट, बैंकक सुर्तीजन्य पदार्थ नियन्त्रण समिति, थाइल्यान्डका अध्यक्ष  पुरस्कृत भएका छन्। 

मन्त्री पौडेलले सुर्तीजन्य पदार्थको प्याकेट, बट्टा र प्याकिङमा शतप्रतिशत चेतावनीजन्य सूचना प्रकाशन गर्न नियमावली जारी गरेको छ।

सामाग्री श्रोत :
swasthyakhabar

विराटनगर। कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम ल्याएको छ।

सोमवार विराटनगर स्थित प्रदेश सभा भवनमा बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सरकारको १ सय ११ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरे। प्रस्तुत नीति तथा कार्यक्रममा यसपटक सरकारको नीति ऐतिहासिक महत्वका ठाउँहरूको संरक्षणदेखि जलवायु सम्मेलन आयोजना र सामाजिक सुधारसम्म केन्द्रित देखिएको छ।

कोशी प्रदेशसँग सम्बन्धित राष्ट्रपतिको जन्मस्थल र प्रधानमन्त्रीहरूको घरको संरक्षण गरिने कोशी सरकारको योजना छ। त्यस्तै आगामी वर्ष कोशी जलवायु सम्मेलन २०८२ आयोजना गरिने बताइएको छ। मैथिली र लिम्बू भाषालाई प्रदेश सरकारको कामकाजमा प्रयोग गरिने तथा मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानमार्फत स्वास्थ्य साक्षरतामा जोड दिइने कोशी प्रदेश प्रमुख परशुराम खापुङले उल्लेख गरे।

स्वच्छ, सुखि र समुन्नत प्रदेश भन्ने नारा सहित कोशी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा सेवाप्रवाहलाई चुस्त, जिम्मेवार र जवाफदेही बनाउने देखि प्रदेश प्रतिको आस्था र विश्वास बढाउन काम र व्यवहार परिवर्तन गर्ने नीति राखिएको छ।

भौतिक पूर्वाधार, कृषि, पर्यटन र सूचना प्रविधिलाई प्रमुख प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा एकल बिन्दु सेवाप्रवाह प्रणाली, पदमार्गमा आधारित पर्यटन विकास, कृषक सबैभन्दा अगाडि, म अघि बढ्छु जस्ता कार्यक्रमहरु समावेश गरिएको छ।

पूर्णपाठ:


सामाग्री श्रोत :

कोशी प्रदेशको नीति तथा कार्यक्रममा के छ ? (पुर्णपाठ)

काठमाडौं– सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। गत बिहीबारदेखि नेप्से घट्दो क्रममा रहेको थियो। सोमबार अर्थात् सातौं दिन भने नेप्से बढेको हो। नेप्से १९.३० अंकले बढेर २६२८.३६ विन्दुमा बन्द भएको छ।

यसदिन कारोबार रकम भने घटेको छ। आइतबार आठ अर्ब ५० करोड रूपैयाँको सेयर कारोबार भएकोमा सोमबार सात अर्ब ३५ करोड रूपैयाँको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब १५ करोड रूपैयाँ कमी आएको हो। आज ३२४ वटा धितोपत्रको एक करोड ६२ लाख पाँच हजार ५५८ कित्ता सेयर किनबेच भएको हो।

सोमबार १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० वटाको घटेको छ। यस्तै, दुई कम्पनी स्थिर रहेको छ। यसदिन पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। यस्तै, सिन्धु विकास बैंक र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ९.९९ र तेह्रथुम पावरको मूल्य ९.९८ प्रतिशतले बढेको छ।

Ncell 2
Ncell 2

यस्तै, विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ४४४ रूपैयाँमा झरेको छ। यस्तै, छ्याङ्दी हाइड्रोपावरको मूल्य ४.४० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३०४ रूपैयाँ ०१ पैसा कायम भएको छ। 

सोमबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता एक हजार ७२४ रूपैयाँमा ५९ करोड ७६ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४.९२ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३१४ रूपैयाँ १० पैसामा ५१ करोड ७ लाख बराबरको सेयर कारोबार भएको छ। 

shivam cement
shivam cement

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन समूहको १.२४ प्रतिशतले घटेको छ भने बाँकी १२ समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसदिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशतले बढेको छ। यस्तै, दोस्रोमा बैंकिङ समूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशतले बढेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एंव प्रथम महिला राधिका शाक्यले आफूलाई राजनीतिमा आउनको लागि कुनै चासो नभएको बताएकी छन्।

सोमबार आयोजित आफूले लेखेको पुस्तक ‘करुणा’ बारे अन्तरक्रिया कार्यक्रममा उनले पाको उमेरमा राजनीतिमा आएर के पाउने हो र भन्दै प्रश्न गरिन्। उनले राजनीतिमा लागेको भए आजसम्म प्राप्त भएका उपलब्धिहरु पनि गुम्ने संकेत गरिन्।

उनले भनिन्, ‘तपाइँ राजनीतिमा पो सलबलाउन थाल्नु भएको हो की भन्ने पत्रकारहरुका प्रश्न आएका छन्। यसमा सबैजना ढुक्क हुनु भए हुन्छ, म राजनीतिमा आउने मान्छे होइन्। मैंले आफ्नो उर्जाशील जवानीमा त राजनीति गरिन । अब निभ्न लागेको बत्ती भनेको जस्तै आजको यो उमेरमा किन राजनीतिमा आउछु र। के पाउछु र ? अहिले चुप लागेर बसेको छु र नै धेरै कुरा प्राप्त गरेको छु। जहाँसम्म लाग्छ राजनीतिमा लागेको भए यति कुरा पनि पाउदिन थिए होला।’

यस्तै, उनले केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भन्ने कता–कता प्रश्न गरेको सुनेको पनि बताइन्। शाक्यले भनिन्, ‘मलाई धेरै मान्छेहरुले अब केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भनेर प्रश्न गरेको सुनेकी छु। तर केपी ओलीले मलाई राजनीतिमा जाऊ भनेर भन्नुभएको छैन्। म आफैंले पनि राजनीति गर्छु भनेर भनेको पनि छैन्। म एउटा सामान्य नेपाली हुँ, यो नेपालको इमान्दार छोरी हुँ र मैले जति कुरा बुझेकी छु, मेरो मन मस्तिष्कले जति कुरा बुझेको छ। कुन ठिक, कुन बेठिक भन्ने कुरा बुझेकी छु। ति सबै कुरा किताबमार्फत व्यक्त गरेकी छु।’


सामाग्री श्रोत :

निभ्न लागेको बत्ती सरह भइसकें, राजनीतिमा आउने सोच छैन: राधिका शाक्य

काठमाडौँ । एडोबी वर्षौंदेखि डिजाइन उद्योगमा बजारको शीर्ष स्थानमा रहँदै आएको छ । धेरै कम्पनीले एडोबीलाई हराउने प्रयास गरे । तर पराजित गर्ने सामर्थ्य कसैले राखेनन् । अर्बौं डलरका दिग्गज माइक्रोसफ्ट र एप्पलजस्ता कम्पनी पनि त्यही लयमा लागे । उत्कृष्ट प्रतिभा र स्रोत अनि विन्डोज र म्याकको विशाल वितरण सञ्जाल हुँदाहुँदै पनि उनीहरूले एडोबीको एकाधिकार तोड्न सकेनन् । त्यसबाहेक अन्य प्रतिस्पर्धी पनि मैदानमा थिए ।

यही प्रतिस्पर्धाको जञ्जालमा एक १९ वर्षीया युवती मेलानी पर्किन्सको उदय भयो । प्रविधिको त्यति ज्ञान नभएकी उनले सञ्चार र मनोविज्ञान पढेकी थिइन् । उनकै रचनात्मक क्षमताले दिग्गज एडोबीलाई हराउने आँट गर्‍यो । र, २०१२ मा उनले आफ्नो प्रडक्ट लन्च गरिन् । त्यो हो तपाईं हामीले अहिले डिजाइनका लागि प्रयोग गर्दै आएको ‘क्यान्भा’ ।

किशोरावस्थामा अष्ट्रेलियाली उद्यमी पर्किन्स र उनका प्रेमी क्लिफ ओब्रेक्टले माइक्रोसफ्ट र एडोबीजस्ता कम्पनीलाई चुनौती दिने सपना देखेका थिए । “मलाई लाग्छ हाम्रो लक्ष्य सम्पूर्ण डिजाइन इकोसिस्टमलाई एउटै पेजमा एकीकृत गर्ने र त्यसपछि यसलाई सम्पूर्ण सबैका लागि पहुँचयोग्य बनाउनु थियो,” पर्किन्सले एक अन्तर्वार्तामा भनेकी थिइन् ।

सन् २००७ मा खिचिएको मेलिन पर्किन्स र उनका प्रेमी क्लिफ ओब्रेक्टको फोटो

क्यान्भाको अवधारणा एकदमै सरल थियो । त्यो हो, ‘सबैका लागि डिजाइन ।’ तर क्यान्भालाई वास्तविकतामा ल्याउनु त्यति नै गाह्रो थियो ।

“मलाई लाग्छ त्यो साँच्चै चुनौतीपूर्ण समय थियो । किनभने हामी एउटा प्रडक्ट कम्पनी थियौं र हामीले प्रडक्ट बजारमा ल्याइरहेका थिएनौं,” पर्किन्सले भनिन् । धेरै लगानीकर्ताहरूले उनको हाँसो उडाए । १०० भन्दा बढी भेन्चर क्यापिटलिस्टले उनको विचार अस्वीकार गरे ।

“त्यो क्षण साँच्चै गाह्रो थियो । हामीले सयौं लगानीकर्तालाई प्रस्ताव गर्‍यौं । तर, पटक-पटक अस्वीकृत भयौं । यो त्यसबेला साँच्चै दिक्कलाग्दो थियो,” उनले सुनाइन् । 

उनीहरूले प्राविधिक टोली खोज्नमै तीन वर्ष लगाए । उनीहरू त्यस्तो टिमको खोजीमा थिए, जसले पर्किन्स र उनका प्रेमीको सपनालाई वास्तविक स्वरूपमा ढाल्न सकून् । मेलानी पर्किन्सले एक अन्तर्वार्तामा भनेकी थिइन्, “तीन वर्षसम्म लगानीकर्ताहरूलाई प्रस्ताव गर्ने, प्राविधिक टोली खोज्ने प्रयास गर्‍यौं । हामीले अन्ततः २०१२ मा ती काम पूरा गर्यौं । र त्यसपछि एक वर्ष प्लेटफर्म विकासमा लाग्यो ।”

 

उनीहरूको प्रडक्ट बजारमा आइसकेपछि दिग्गज एडोबीले कयौं पटक क्यान्भालाई समाप्त गर्ने अनेक प्रयास गर्‍यो । उसका धेरै फिचर नक्कल गर्‍यो । तर पनि पर्किन्सले केही यस्तो गरिन् जसले गर्दा आज क्यान्भासँग २० करोड बढी प्रयोगकर्ता छन् । यसको बजार मूल्य ४० अर्ब डलर छ । र आज मेलानी पर्किन्स विश्वकै सबैभन्दा कान्छी महिला अर्बपतिहरूमध्ये एक हुन् ।

२०१३ मा सेवा दिने गरी सञ्चालन गरेको पाँच वर्षपछि यसको बजार मूल्य एक अर्ब डलर पुग्यो । कम्पनीले यो स्तरको चर्चा र आम्दानी गरेपछि उनी केवल ३० वर्षको उमेरमा विश्वकै सबैभन्दा कान्छी महिला टेक युनिकर्न संस्थापकमध्ये एक बनिन् ।

आखिर यो सब कसरी भयो ? एक १९ वर्षीया युवतीले डिजाइनमा यस्तो के देखिन्, जुन त्यसबेला सबैले कल्पना गरेको विचारभन्दा बाहिर थियो ? पर्किन्स र उनका प्रेमीले आखिर कुनै प्राविधिक ज्ञान बिना, प्रविधि क्षेत्रका दिग्गज माइक्रोसफ्ट र एडोबीलाई उनीहरूकै खेलमा कसरी हराए ? जब एडोबी लगायतका अन्य प्लेटफर्मले धेरै फिचर नक्कल गर्ने प्रयास गरे, तब पनि आखिर क्यान्भाले यस्तो के गर्‍यो जसले गर्दा उसलाई कसैले समाप्त गर्न सकेन ? यस लेखमा हामी क्यान्भाको यात्रा मात्र होइन, उनीहरूका रहस्य र विजयी रणनीतिहरू चर्चा गर्दैछौं: 

क्यान्भाको रणनीति बुझ्नुअघि क्यान्भा कसरी सुरु भयो भन्ने बुझ्नुपर्छ । मेलानी पर्किन्सको जन्म पर्थ, पश्चिमी अष्ट्रेलियामा भएको थियो । उनका बुबा इलेक्ट्रिकल इन्जिनियर थिए भने आमा एक शिक्षिका थिइन् । मेलानीलाई आफ्नी आमाका कारण पढाउने पनि धेरै शौक थियो । र त्यसैले विश्वविद्यालयमा पढ्दै गर्दा उनी साँझको समयमा अतिरिक्त आय आर्जन गर्न विद्यार्थीलाई एडोबी इनडिजाइन र फोटोशप सिकाउँथिन् । 

विद्यार्थीलाई फोटोशप र इनडोजाइन सिकाइरहँदा ‘धेरै विद्यार्थीहरू केही दिनपछि नै यो कोर्स छोडिदिने’ गरेको अनौठो घटना उनले देखिन् । ती विद्यार्थी फर्किएर क्लास लिन कहिल्यै आउँदैनथे । पर्किन्सले कयौं पटक आफ्नो पढाउने शैली परिवर्तन गर्ने प्रयास गरिन् । तर पनि विद्यार्थीहरू बिचमै कक्षा छोडेर जाने क्रम रोकिएन । फेरि पर्किन्सले यीमध्ये केही विद्यार्थीसँग कुरा गर्दा के थाहा पाइन भने ‘यी सफ्टवेयर धेरै नै अलमल्ल पार्ने र जटिल छन् । र सबै कम्प्युटरले सपोर्ट पनि गर्दैनन् ।’

त्यसपछि पर्किन्सलाई समस्या शिक्षण शैलीमा होइन यी सफ्टवेयरमा छ भन्ने महसुस भयो । यसपछि उनले अरू धेरै सफ्टवेयर खोजिन् । ती सबै सफ्टवेयरमा उनले चार मुख्य समस्या देखिन् । पहिलो, सबै सफ्टवेयर निकै जटिल थिए । दोस्रो एसेट्स (डिजाइन सामग्री) को कुनै पूर्वनिर्धारित लाइब्रेरी थिएन । हरेक डिजाइनरले कयौं वर्ष लगाएर आफ्नो एसेट्सको लाइब्रेरी बनाउनुपर्ने हुन्थ्यो ।

तेस्रो यी सफ्टवेयरहरू चलाउन महँगो र बढी क्षमता भएको पीसी चाहिन्थ्यो । र, चौथोमा यी सफ्टवेयरहरू धेरै महँगो थिए जसलाई केवल पेशेवरले मात्र किन्न सक्छन् । यिनै चार समस्याका कारण सामान्य प्रयोगकर्ताले डिजाइन बनाउन सक्दैनथे । र, यही कुरा पर्किन्स परिवर्तन गर्न चाहन्थिन् । उनी डिजाइन पेसेवर व्यक्तिले मात्र नभई सबैले गर्न सक्ने किसिमको हुनुर्छ भन्ने ठान्थिन् । 

मेलिन पर्किन्स र उनका श्रीमान् क्लिफ ओब्रेक्ट

यी समस्या पर्किन्सले आफ्ना प्रेमी क्लिफ ओब्रेक्टलाई सुनाइन् । र फेरि दुवै मिलेर यो समस्या समाधान गर्न लागे । डिजाइन एक निकै विशाल क्षेत्र हो । यी दुई जनासँग स्रोत पनि त्यति थिएन ।  त्यसैले पहिले उनीले डिजाइनको पनि एक विशिष्ट क्षेत्र रोजे । पर्किन्सकी आमा पहिले नै शिक्षिका थिइन् । त्यसैले उनलाई ‘हरेक वर्ष शिक्षक र विद्यार्थीले इयरबुक (वार्षिक पुस्तक) बनाउन निकै संघर्ष गर्छन्’ भन्ने थाहा थियो ।

त्यसैले दुवै जना मिलेर सबैभन्दा पहिले यही समस्या समाधान गर्न लागे । त्यसका लागि उनीहरूले सन् २००७ मा ‘फ्युजन बुक्स’ लन्च गरे । फ्युजन बुक्स एउटा सरल डिजाइन सफ्टवेयर थियो जसमा इयरबुक बनाउनका लागि धेरै टेम्प्लेटहरू थिए । शिक्षक र विद्यार्थीले त्यही टेम्प्लेटमा आफ्ना कन्टेन्ट राख्न सक्थे । 

उनीहरूलाई यो सरल युजर इन्टरफेस निकै मन पर्‍यो । र फेरि केही वर्षमै फ्युजन बुक्स अष्ट्रेलियाको सबैभन्दा ठुलो इयरबुक प्रकाशक कम्पनी बन्यो । फ्युजन बुक्सको यही सफलता देखेर पर्किन्सलाई अवधारणाको प्रमाण (प्रुफ अफ कन्सेप्ट) मिल्यो । उनलाई यो कन्सेप्ट साँच्चै काम लाग्ने रहेछ भन्ने लाग्यो । 

उनलाई केवल स्कुल इयरबुक मात्र होइन सम्पूर्ण डिजाइन उद्योगमा क्रान्ति ल्याउनु थियो । र, यही मिसनका साथ उनले २०१२ मा एउटा कम्पनी स्थापना गरिन् । त्यही कम्पनीलाई आज हामी क्यान्भा नामले चिन्छौं । 

‘डिजाइनलाई सरल बनाउने’ उनीहरूको उद्देश्य निकै सरल थियो । तर, क्यान्भालाई वास्तविकतामा ल्याउनु त्यति नै गाह्रो थियो । खासगरी डिजाइन प्रक्रियालाई सरलीकरण गर्नका लागि उनीहरूले पहिले विद्यमान सफ्टवेयरका फिचर नक्कल गर्नुपर्थ्यो । त्यसपछि मात्र उनीहरूले यी फिचर थप्न सक्थे । त्यसैले पहिले नक्कल, त्यसपछि सरलीकरण । तर जुन कुरा माइक्रोसफ्ट र एप्पलजस्ता ठुला कम्पनीले गर्न सकेनन्, अझ त्यही क्षेत्रको अग्रणी कम्पनी एडोबी आफैंले समाधान गर्न सकेन, आखिर त्यो समस्यालाई यो जोडीले कसरी समाधान गरेर देखायो ? 

खैर यो प्रश्नको उत्तर एक लाइनको छ । उनीहरूले डिजाइन सफ्टवेयर बनाउने सम्पूर्ण प्रक्रिया नै परिवर्तन गरिदिए । उनीहरूले डेस्कटप-आधारित सफ्टवेयर बनाउनुको सट्टा ब्राउजरमा सहजै प्रयोग गर्न सकिने वेबसाइट बनाउने निर्णय गरे । यसलाई ‘ब्राउजर फर्स्ट एप्रोच’ पनि भनिन्छन् ।

अहिलेसम्मका सबै डिजाइन सफ्टवेयरका नेटिभ एप थिए जसलाई तपाईंले खरिद गरेर इन्स्टल गर्नुपर्थ्यो । तर, क्यान्भाले नेटिभ एप्लिकेसन बनाउनुको सट्टा एउटा वेब एप बनाएको थियो जसलाई प्रयोग गर्न तपाईंले आफ्नो ब्राउजरबाट क्यान्भाको वेबसाइटमा जानुपर्छ । यो ब्राउजरमा आधारित वेबसाइटका कारण क्यान्भालाई चार फाइदा मिले । पहिलो, उक्त वेबसाइट प्रयोग गर्न शक्तिशाली कम्प्युटरको आवश्यकता नपर्ने भयो । किनभने यी सबै प्रशोधनका काम क्लाउडमा भइरहेको थियो । दोस्रो एडोबीका जस्ता क्र्याक भर्सन सार्वजनिक हुने जोखिम क्यान्भामा थिएन । किनभने यो सिधै इन्टरनेटसँग जोडिएको थियो । तेस्रो यसले तत्काल अपडेट र बग समाधान गर्न सक्छ । जबकि अन्य कम्पनीले बारम्बार नयाँ अपडेट पठाउनुपर्छ र प्रयोगकर्ताले तिनलाई डाउनलोड गर्नुपर्छ । त्यसैगरी चौथो हो मोबाइल सपोर्ट । 

क्यान्भाको सबै प्रशोधनका काम क्लाउडमा भइरहेकाले उनीहरूका लागि क्यान्भाको मोबाइल एप सार्वजनिक गर्न निकै सजिलो थियो । जबकि अन्य कम्पनीका प्रडक्ट फोनको कम शक्तिशाली चिप्स र र्‍यामका कारण सीमित छन् । वास्तवमा फोटोशपको एप पनि २०२५ मा आईफोनका लागि लन्च भएको छ जसमा अझै पनि धेरै कम फिचर छन् । यो एप एन्ड्रोइडका लागि अझै आइसकेको छैन । जबकि क्यान्भाले आफ्नो मोबाइल एप १० वर्ष पहिले अर्थात् २०१६ मा लन्च गरिसकेको थियो ।

क्यान्भाको यो दृष्टिकोणकालाई धेरै कम्पनी र लगानीकर्ताले हाँसो उडाएका थिए । किनभने त्यसबेला एडोबी फ्ल्यासको जमाना थियो । त्यस समयका वेबसाइटमा प्रायः पेज, लिङ्क र धेरै कम फोटो हुन्थे । सामान्य एनिमेसन र फोटो क्रप गर्नुपर्दा पनि त्यसका लागि एडोबी फ्ल्यास प्लगइन चाहिन्थ्यो । 

ब्राउजरले डिफल्ट रूपमा यी काम गर्न सक्दैनथे । त्यसैले कसैले पनि डिजाइन एपलाई ब्राउजरमा बनाउने सोचेकै थिएनन् । यहाँ क्यान्भाको अवधारणा वास्तविकतमा आउने सम्भावना १ प्रतिशत मात्र थियो भन्दा पनि फरक नपर्ला । तर, क्यान्भाको अवधारणा जुन समयमा आयो त्यो एकदमै सही साबित भयो ।

यसपछि तीन यस्ता काम भए जसले गर्दा पूरै खेल फेरि बदलियो । सन् २०१२ को हाराहारीमा क्यान्भा कम्पनीको रूपमा दर्ता हुँदा एचटीएमएलको स्टेबल भर्सन आएको थियो । र, त्यसलाई क्रोम, फायरफक्स, सफारी र इन्टरनेट एक्सप्लोरर लगायत सबै ब्राउजरले डिफल्ट बनाए । एचटीएमएलमा ‘क्यान्भास’ (Canvas) को विकल्प हुन्छ जसमा तपाईं ब्राउजरमा मूलतः चित्र कोर्न सक्नुहुन्छ । यही कारणले ब्राउजरमा फोटो, भिडियो, एनिमेसन यी सबैको रेन्डरिङ सम्भव भएको थियो । यता क्यान्भाले कोडको पहिलो लाइन पनि एचटीएमएलमै लेखिएको थियो । पर्किन्स र उनका प्रेमी क्लिफ ओब्रेक्टको भेट त्यही समयमा अस्ट्रिलेयाली उद्यमी क्यारेमोन एडम्ससँग भयो । उनले सन् २००७ मा गुगलमा काम गर्न थालेका थिए । सन् २०११ मा ईमेल स्टार्टअप फ्युइन्ट स्थापना गरेका उनको भेट ती जोडीसँग जुलाई २०१२ मा भएको थियो । पहिले उनी सल्लाहकारका रूपमा क्यान्भामा जोडिन खोजेका थिए । तर, त्यसको अवधारणा चित्त बुझेपछि उनी सह-संस्थापककै रूपमा कम्पनीमा जोडिए ।

दायाँबाट क्रमशः मेलिन पर्किन्स, क्लिफ ओब्रेक्ट र क्यारेमोन एडम्स

यसपछि फेसबुक र इन्स्टाग्रामको जमाना आयो । र सामाजिक सञ्जाल मार्केटिङ निकै लोकप्रिय बन्यो । सबै व्यवसायलाई पोस्टर, डिजाइन, निमन्त्रणा कार्ड यी सबैको आवश्यकता पर्न थाल्यो । र यही कारणले कम्पनीमा सरल डिजाइन सफ्टवेयरको माग बढ्यो । क्यान्भाको सरल युजर इन्टरफेस र ब्राउजर केन्द्रित भएकाले क्यान्भा प्रयोगकर्ताको पहिलो रोजाइ बन्यो ।

अब क्यान्भालाई सबै देशमा विस्तार गर्न गाह्रो थियो किनभने उनीहरूले पहिले सबै देशका प्रयोगकर्ताको माग बुझ्नुपर्थ्यो । खासगरी डिजाइनमा देश अनुसार रोजाइ पनि फरक हुन्छ । त्यसैअनुसार त्यहाँ आफ्ना सर्भरहरू सेटअप गर्नुपर्थ्यो । तर त्यही बीचमा अमेजन वेब सर्भिस, एज्युअर जस्ता क्लाउड सेवाहरू मूलधारमा आए । यसले गर्दा कम्पनीलाई सर्भर व्यवस्थापन गर्न आवश्यक परेन । 

त्यो काम यी क्लाउड सेवा प्रदायकले गरिदिन्थे । र, यही कारणले क्यान्भा धेरै कम समयमा १९० देशमा विस्तार हुन सक्यो । र फेरि अन्ततः क्यान्भाले आफ्नो मोबाइल एप लन्च गर्‍यो । यो पनि धेरै प्रयोगकर्तालाई निकै चित्त बुझ्यो । वास्तवमा आज पनि क्यान्भाका ५० प्रतिशत प्रयोगकर्ता मोबाइल प्रयोग गर्छन् । यसरी क्यान्भाको ब्राउजर-पहिलो दृष्टिकोण र सामाजिक सञ्जाल मार्केटिङका कारण क्यान्भाले निकै ठुलो बढावा पायो । र, मेलानी पर्किन्स विश्वकै सबैभन्दा कान्छी महिला अर्बपतिहरूमध्ये एक बनिन् ।

क्यान्भाको यो ‘ब्राउजर-पहिलो मोडेल’ यति सफल हुँदा एडोबीले यो मोडेललाई नक्कल गरेर क्यान्भालाई किन समाप्त गरिदिएन ? त्यसको पनि उपयुक्त जवाफ छ । यदि तपाईंले क्यान्भालाई नजिकबाट नियाल्नु भयो भने थाहा पाउनु हुन्छ; क्यान्भाको लक्ष्य कहिल्यै एडोबीसँग प्रतिस्पर्धा गर्नु थिएन । बरु डिजाइनलाई सरल बनाउनु थियो । यदि हामीले क्यान्भा र फोटोशपलाई जटिलता विरुद्ध अधिक शक्तिशाली ग्राफमा राख्यौं भने क्यान्भा प्रयोग गर्न सजिलो छ, तर त्यो कम शक्तिशाली छ ।

जबकि एडोबी फोटोशप निकै शक्तिशाली छ तर त्यो धेरै जटिल छ । एडोबीलाई के थाहा छ भने यदि उसले फोटोशपलाई सरल बनायो भने उसका मुख्य ग्राहक गुम्नेछन् किनभने उनीहरूलाई प्रो फिचर चाहिन्छ । तर एडोबी यो बजार छोड्न पनि चाहँदैनथ्यो किनभने यो निकै ठूलो बजार हो । त्यसैले एडोबीले क्यान्भासँग प्रतिस्पर्धा गर्न एउटा नयाँ एप लन्च गर्‍यो जसको नाम थियो एडोबी स्पार्क । एडोबी स्पार्कको दृष्टिकोण, अवधारणा र युजर इन्टरफेस ठ्याक्कै क्यान्भा जस्तै थियो । र ऊसँग एडोबीको वितरण सञ्जाल र आर्थिक शक्ति पनि थियो । तर पनि स्पार्क असफल भयो । यसपछि एडोबीले कयौं पटक यसमा परिवर्तन ल्यायो । एडोबी एक्सप्रेसको नाममा पुनःब्रान्ड गर्‍यो । 

क्यान्भाभन्दा कम मूल्यमा यसलाई बेच्यो पनि । तर पनि उसले क्यान्भालाई हराउन सकेन । तर, किन ? क्यान्भामा यस्तो के थियो जसले गर्दा उसलाई कसैले हराउन सकेन ?

खैर कसैले पनि क्यान्भालाई समाप्त गर्न नसक्नुको पछाडि उसका चार प्रतिभाशाली रणनीतिहरू थिए । पहिलो मानिसहरूलाई भुक्तानी दिने । क्यान्भाका टेम्प्लेट र एसेट लाइब्रेसी धेरै ठूलो छ । र, त्यो किनभने त्यहाँ क्यान्भाको टिमले मात्र नभई जो कोहीले पनि क्यान्भाका लागि टेम्प्लेट र एसेट बनाउन सक्छ । र त्यसको बदलामा क्यान्भाले यी योगदानकर्तालाई भुक्तानी गर्छ । जबकि एडोबी एक्सप्रेसमा केवल एडोबीको टिमले मात्र टेम्प्लेट बनाउन सक्थ्यो ।

दोस्रो सर्च इन्जिन अप्टिमाइजेसन अर्थात ‘एसईओ’को खेल । क्यान्भाका टेम्प्लेटको यति ठूलो लाइब्रेरीले प्रयोगकर्तालाई धेरै विकल्प त दिन्छ तर यसको अर्को ठूलो फाइदा छ । त्यो हो एसईओको । क्यान्भा पूर्ण रूपमा वेबसाइटमा होस्ट गरिएको छ र यी सबै टेम्प्लेटका किवर्डहरू गुगल सर्चमा र्याङ्क गर्छन् । 

उदाहरणका लागि यदि कसैले ‘नयाँ वर्षको पोस्टर’ भनेर अङ्ग्रेजीमा खोज्यो भने क्यान्भाका यति धेरै टेम्प्लेट हुनाले गुगलले क्यान्भाका सर्च रिजल्टलाई सधैं माथिल्लो स्थानमा राख्छ । यसरी क्यान्भाको ग्राहक प्राप्ति लागत कम हुन्छ ।

तेस्रोमा शुल्कको रणनीति (Paywall on Exports) । क्यान्भा र एडोबी एक्सप्रेस दुवैका निःशुल्क र सशुल्क योजना छन् । तर यहाँ एउटा ठूलो भिन्नता छ । यदि तपाईंले स्पार्कमा कुनै सशुल्क इलिमेन्ट रोज्नुभयो भने त्यसले तपाईंलाई सीधै भुक्तानी गर्न भन्छ । तर, क्यान्भामा यदि तपाईंले सशुल्क इलिमेन्ट रोज्नुभयो भने त्यसले तपाईंलाई त्यो प्रयोग गर्न दिन्छ जसले गर्दा तपाईं डिजाइन बनाउन सक्नुहुन्छ । तर, जब तपाईं त्यसलाई सेभ गर्नुहुन्छ त्यतिबेला त्यसले तपाईंसँग पैसा माग्छ । वा तपाईंले बनाएको डिजाइनमा वाटरमार्क राखिदिन्छ । त्यसैले पहिलो अवस्थामा कयौं पटक डिजाइनरलाई यो सशुल्क इलिमेन्ट उसको अन्तिम डिजाइनमा काम लाग्छ कि लाग्दैन भन्ने थाहा हुँदैन । र त्यसैले ऊ भुक्तानी गर्न चाहँदैन । तर क्यान्भाको अवस्थामा प्रयोगकर्ताले अन्तिम डिजाइन बनाइसकेको हुन्छ र उसलाई त्यो डिजाइन मन परेको हुन्छ । त्यसपछि उसलाई त्यो डिजाइन आवश्यक छ भन्ने भयो भने उसले भुक्तानी गर्छ र डिजाइन सेभ गर्छ । 

चौथो हो थर्ड पार्टी एप इन्टिग्रेसन । क्यान्भाले धेरै थर्ड पार्टी एपहरूलाई इन्टिग्रेट गरेको छ जस्तै मकअप्स, इमेज अपस्केलर, क्यूआर कोड, फिल्टर्स आदि । वास्तवमा क्यान्भाले ब्याकग्राउन्ड रिमुभल (फोटोको ब्याकग्राउन्ड हटाउने)को फिचर पनि सुरुमा ‘remove.bg’ वेबसाइटको इन्टिग्रेट गरेको थियो । पछि उसले त्यो कम्पनीलाई अधिग्रहण गर्‍यो । जबकि एडोबीले आफ्ना सबै फिचर आफैं बनाउँछ जसमा उसको समय, ऊर्जा, स्रोत धेरै लाग्छन् ।

वास्तवमा हालसालै एडोबीले आफ्नो एआईका लागि एडोबी फायरफ्लाई लन्च गरेको छ जुन उसले आफै बनाएको हो । जबकि क्यान्भाले धेरै पहिलेदेखि नै अवस्थित मोडेललाई इन्टिग्रेट गरेको छ । यहाँसम्म कि धेरै थर्ड पार्टी एप पनि यसमा इन्टिग्रेट छन् । के तपाईंलाई थाहा छ, जेनेरेटिभ एआई विशेषताका कारण यी दुवै कम्पनीहरूको प्रतिस्पर्धा अझ बढेको छ ।

हामीले पहिले फोटोशप र क्यान्भालाई जटिलता र शक्तिशालीताको ग्राफमा राखेका थियौं जसमा क्यान्भा प्रयोग गर्न सरल थियो तर कम शक्तिशाली थियो । जबकि फोटोशप जटिल थियो तर धेरै शक्तिशाली थियो । अब जेन एआई फिचर आएका कारण यी दुवै एकअर्काको सुपर पावर लिने प्रयास गरिरहेका छन् । क्यान्भा एआई विशेषताको इन्टिग्रेसनका कारण बढी शक्तिशाली बन्ने प्रयास गरिरहेको छ । यता फोटोशप जेन एआई फिचरका कारण केवल टेक्स्ट प्रम्प्टबाटै डिजाइनलाई सरल बनाइरहेको छ । के यी दुवैले एकअर्काको बजारमा बाधा पुर्‍याउन सक्लान् ?

पछिल्लो अध्यावधिक: जेठ ५, २०८२ १७:३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– सर्वोच्च अदालतबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुन्न प्रहरीलाई अनधिकृत पत्र लेखेका त्यहाँका अधिकृत महिमानसिंह विष्टसँग काठमाडौँ जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटी माग गरेको छ।

सोमबार न्यायाधीश दिनबन्धु बरालको इजलासले अधिकृत विष्टसँग एक लाख रुपैयाँ धरौटी माग गरेको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन्।

काठमाडौं जिल्ला प्रहरी परिसरले बिष्टमाथि लिखतसम्बन्धी कसुरमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो।

Ncell 2
Ncell 2

सरकारी वकिलले उनीविरूद्ध मुद्दा दर्ता गरेसँगै सोमबार सुनुवाइ गर्दै न्यायाधीश बरालको इजलासले धरौटी माग गरेको अदालतले जानकारी दिएको छ। उनले धरौटी बुझाइसकेका छन्।

चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको २०८० जेठ १४ गतेको निर्णयविरुद्ध परेको रिट सर्वोच्चमा विचाराधीन रहेकै अवस्थामा विष्टले पूर्ण वा संवैधानिक इजलासबाट मुद्दाको विषयमा कारबाही हुने भन्दै तत्कालका लागि चौधरीलाई जेल हाल्न अनधिकृत पत्र लेखेका थिए।

shivam cement
shivam cement

बिष्टले जारी गरेको फर्जीपत्र पाएको केहीबेरमै चौधरी पार्टी एकताका लागि गरिएको कार्यक्रम स्थलबाटै पक्राउ परे। सर्वोच्चको पत्रका आधारमा चौधरी पक्राउ परेको जानकारी मिडियामार्फत सार्वजनिक भएपछि सर्वोच्च प्रशासनले त्यसको आधिकारिताबारे सोधिखोजी गर्‍यो।

सोधिखोजीका क्रममा बिष्टले मनलागी रुपमा पत्र तयार पारेर आफैँ बुझाउन गएको खुल्यो। लगत्तै सर्वोच्चले सहसचिव एवं प्रवक्ता अच्युत कुइँकेलले यसअघि जारी भएको पत्र आधिकारिक नभएको भन्दै चौधरीलाई थुनामुक्त गर्न कारागार कार्यालयलाई पत्राचार गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। सिंहदरबारमा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ। आज एक कार्यक्रमका बीच खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी वितरण शुभारम्भ गरे।

मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि सिंहदरबारभित्र जार र बोतलको पानी विस्थापित हुने बताए। सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी पुर्‍याउनका लागि पाइप लाइनको विस्तार गरिने उनको भनाइ थियो।

कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, केयुकेएलका प्रमुख अशोक पौडेललगायतको सहभागिता रहेको थियो।


सामाग्री श्रोत :

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

काठमाडौँ । खुला वेब प्रविधिको प्रवर्द्धनमा केन्द्रित प्राविधिक सम्मेलन वर्डक्याम्प पोखरा २०२५ आगामी जेठ ३० र ३१ गते पोखरामा आयोजना हुने भएको छ । पोखरा इभेन्ट सेन्टर, बुलौदीमा हुने दुई दिने सम्मेलनमा नेपाल, भारत र बंगलादेशका सूचना प्रविधि विज्ञहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

‘प्रविधिको महाकुम्भ’ भनेर समेत चिनिने वर्डक्याम्पमा वर्डप्रेस र ओपन सोर्स प्रविधिसँग जोडिएका विज्ञ तथा प्रयोगकर्ताहरूको व्यापक उपस्थिति रहनेछ ।

कार्यक्रमको पहिलो दिन (जेठ ३०) ‘कन्ट्रीब्युटर डे’ मनाइनेछ, जसमा सहभागीहरूले वर्डप्रेसको विकासमा प्रत्यक्ष योगदान दिने अवसर पाउनेछन् । अनुवाद, डिजाइन, डकुमेन्टेसन, कोडिङ र प्रयोगकर्ता सहायता जस्ता विधामा सहभागी भएर वर्डप्रेसलाई मजबुत बनाउने प्रयास गरिने आयोजकले जनाएको छ ।

दोस्रो दिन (जेठ ३१) मुख्य सम्मेलन हुनेछ । सो दिन विभिन्न सत्र, प्यानल छलफल र छोटा प्रस्तुतिहरू हुनेछन् । भारत र बंगलादेशबाट आएका अनुभवी आईटी विज्ञहरूले वेब डेभलपमेन्ट, सामग्री रणनीति, पहुँच, उद्यमशीलता र खुला वेबको भविष्यबारे प्रस्तुति दिनेछन् ।

सामुदायिक योगदानमा आधारित यो सम्मेलनमा सहभागी स्पिकर तथा आगन्तुकहरू आफैंले यात्रा खर्च व्यहोर्ने प्रचलन रहेको छ । सम्पूर्ण कार्यक्रम स्थानीय स्वयंसेवकहरूको सहयोगमा सञ्चालन हुनेछ ।

सम्मेलनमा सहभागी हुन चाहनेहरूले १५ सय रुपैयाँमा टिकट खरिद गर्न सक्नेछन्, जसमा टिसर्ट, लन्च र कफीसमेत समावेश हुनेछ । आयोजकका अनुसार विभिन्न भुक्तानी साझेदारमार्फत छुट सुविधा पनि उपलब्ध गराइएको छ । सम्मेलनमा करिब ८०० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ ५, २०८२ १६:१४





सामाग्री श्रोत :
टेक पाना

विराटनगर– कोशी प्रदेशका चारजना सांसद सदस्य सवार गाडी मोरङको कानेपोखरीमा सोमबार दुर्घटनामा परेको छ । 

झापाबाट विराटनगरतर्फ आँउदै गरेको बा ५ च ३५२० नम्बरको गाडी विपरीत दिशाबाट आएको कारसँग ठोक्किँदा दुर्घटना भएको हो ।

Ncell 2
Ncell 2

दुर्घटना भएको गाडीमा सांसदहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ थिए । गाडीमा सामान्य क्षति पुगेको तर, कसैलाई चोट नलागेको प्रहरीले बताएको छ ।

shivam cement
shivam cement

इलाका प्रहरी कार्यालय पथरीका अनुसार, गाडीमा सवार सांसदहरू सबैको अवस्था सामान्य रहेको छ । सांसद मैयाँ श्रेष्ठले भनिन्, ‘मेरै गाडीमा आउँदै थियौं, तीव्र गतिमा आएको गाडीले एक्कासि ठक्कर दियो । हामी सकुशल छौं ।’

सांसदहरू कोशी प्रदेशसभाको बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए । प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयसँग सम्बन्धित मौखिम प्रश्नको जवाफ दिँदै मन्त्री सुडीले आव २०८२-८३ देखि यसको क्षेत्र बढाई ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए । आव २०७९-८० को बजेट वक्तव्यअनुसार अहिले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिँदै आएको छ ।

सामाजिक सुरक्षा ऐन, २०७५ को दफा ४ मा दलित र एकल महिला ज्येष्ठ नागरिकले ६० वर्ष उमेर पूरा गरेपछि र अन्य ज्येष्ठ नागरिकले ७० वर्ष उमेर पूरा गरेपछि सामाजिक सुरक्षा भत्ताका रुपमा सरकारले तोके बमोजिमको ज्येष्ठ नागरिक भत्ता पाउने व्यवस्था छ ।

बैठकमा सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिँदै मन्त्री सुडीले गैरसरकारी संस्थामार्फत प्राप्त हुने सहयोगलाई समाज कल्याण परिषद्मार्फत एकद्वारबाट परिचालन गर्ने नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयनको आश्यकता औँल्याए । उनले नेपाल राष्ट्र बैङ्कलाई पत्र लेखी परिषद्को स्वीकृति प्राप्त गरेका परियोजनाको मात्र रकम परिचालन गर्ने-गराउने कार्यमा सहजीकरण गर्न अनुरोध भएपश्चात् परिषद्को दायरामा आउने संस्थामा वृद्धि हुँदै गएको जानकारी दिए । तर पूर्ण रुपमा गैरसरकारी संस्था यस प्रक्रियामा आउन नसेको उनको भनाइ थियो ।

मन्त्री सुडीका अनुसार राष्ट्रिय गैरसरकारी संस्थाद्वारा सञ्चालन हुने परियोजना आव २०८०-८१ मा एक हजार ३०४ संस्थाको दुई हजार ८४ परियोजना सञ्चालनमा थिए । यस्तै चालु आवको चैत मसान्तसम्म एक हजार ३२४ संस्थाको एक हजार ८३३ परियोजना स्वीकृत भएका छन् । गत आवमा ४४ अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको र चालु आवको वैशाखसम्म २० अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको परियोजना सम्झौता भएको छ ।

मन्त्री सुडीले सप्तरीको शम्भूनाथ नगरपालिका–३ कचन्दाहाका मागैन सदा, चन्दरसदालगायत दलित परिवारको नागरिकता नहुँदा ७२ वर्षको उमेरमा पनि ज्येष्ठ नागरिक भत्तालगायत राज्यबाट प्राप्त हुने अन्य सुविधा उपलब्ध नभएकाबारे सदनलाई जानकारी दिए। “यी व्यक्तिले भत्ता प्राप्त गर्न नसक्नुको कारण नागरिकता प्रमाणपत्र नहुनु हो । नागरिकता प्रमाणपत्र नहुुने व्यक्तिले सामाजिक सुरक्षा परिचय प्राप्त गर्न नसक्ने कानुनी व्यवस्था छ”, उनले भने। त्यसअघि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए।


सामाग्री श्रोत :

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता: मन्त्री सुडी

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट