
तनहुँ– नदीमा पानीको प्रवाह बढ्न नसक्दा यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले क्षमताअनुसार विद्युत उत्पादन गर्न सकेको छैन । ६९ मेगावाट क्षमताको यस जलविद्युत केन्द्रबाट हाल ४२ मेगावाट मात्र विद्युत उत्पादन भइरहेको छ ।
हिउँ कम पग्लनु तथा वर्षा कम भएकाले नदीमा मिसिने खोलामा जल प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी आएको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले बताए ।
“हाल ५० देखि ५५ मेगावाट उत्पादन हुनुपर्नेमा नदीमा पानीको प्रवाह कम भएकाले उत्पादनमा वृद्वि हुन सकेको छैन्,” गौतमले भने, “यसपटक पानी कम परेकाले विद्युत् उत्पादन प्रभावित भएको छ ।”
केन्द्रमा २३÷२३ मेगावाटका तीनवटा टर्बाइन छन् । यो केन्द्र सन् १९८९ मा निर्माण भएको हो । यहाँबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण हुँदै आएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
दमौली (तनहुँ)। यहाँको ऋषिङ गाउँपालिका–३ सोलुङमा घाँस काट्ने क्रममा लडेर आज दुई जनाको मृत्यु भएको छ। सोलुङस्थित कटोर्के सामुदायिक वनमा घाँस काट्न गएका दुई महिलाको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृत्यु हुनेमा सोही वडा बस्ने ६२ वर्षीया श्रीमाया राना र देवघाट गाउँपालिका–२ बस्ने २६ वर्षीया खिमसरा मगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
बिहान ७ बजेको समयमा घाँस काट्न गएका उनीहरु नफर्किएपछि खोजतलास गर्ने क्रममा घाँस काटेको स्थानदेखि अन्दाजी एक सय मिटर तल उनीहरुको शव भेटिएको थियो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सामाग्री श्रोत :
रौतहट– रौतहटको राजपुर नगरपालिका वडा नम्बर ४ मा औषधि पसल अनुगमन गर्न गएको सरकारी टोलीमाथि स्थानीयको एक समूहले आक्रमण गरेका छन्।
फार्मेसी दर्ता नगरी औषधि बिक्री गर्दै आएको उजुरीका आधारमा अनुगमनमा खटिएको औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगञ्जको टोलीमाथि आक्रमण हुँदा दुईजना कर्मचारी घाइते भएका छन्।
घटनामा फार्मेसी निरीक्षक ओमप्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा घाइते भएका र उनीहरूको अवस्था समान्य रहेको विभागीय प्रमुख शम्भु साहले जानकारी दिए।
अनुगमन टोलीमा औषधि व्यवस्था विभागसँगै जिल्ला प्रशासन कार्यालय रौतहटका खरिदार उमेश प्रसाद र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रुद्रराज कँडेल सहभागी थिए।
स्थानीयले प्रतिकारका क्रममा निरीक्षक कँडेलको मोबाइल फोनसमेत तोडफोड गरेका छन्। घटनाको क्रममा राजपुर नगरपालिका वडा नम्बर ५ की ५५ वर्षीया सुमित्रा देवीले सरकारी कर्मचारीलाई जोगाउने प्रयास गर्दा उनी आफैँ घाइते भएकी छिन्। उनको अहिले प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ।
अनुगमन टोलीले स्थानीय शेख नेक महम्मदले हार्डवेयरमा वर्षौँदेखि औषधि पसल सञ्चालन गर्दै आएको उजुरीका आधारमा सोही स्थानमा छापा मारेको थियो।
पसल न त दर्ता थियो, न त विक्री वितरणको अनुमति नै। त्यहाँबाट केही प्रतिबन्धित औषधिसमेत फेला परेको जनाइएको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको र दोषीमाथि कानुनी कारबाही हुने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- सुर्ती जन्य पदार्थ नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपाललाई विश्व स्वास्थ्य संगठनले पुरस्कृत गरेको छ। विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा सन् २०२५ का लागि नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष सम्मान अवार्ड प्राप्त गरेको हो।
विश्व स्वास्थ्य संगठनको ७९ औं सभाका क्रममा जेनेभामा आयोजित कार्यक्रममा महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेएससले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई पुरस्कार हस्तान्तरण गरेका हुन्।
सुर्तीजन्य पदार्थको प्याकेटको सत प्रतिशत भागमा घातक चित्र र चेतावनीमुलक सन्देशले छोप्नुपर्ने निर्देशिका बनाएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई डब्लुएचओले अवार्ड प्रदान गरेको हो। सत प्रतिशत भागमा घातक चित्र सहित चेतावनीमुलक सन्देश राख्ने नेपाल पहिलो मुलुक हो।
हरेक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रणमा असाधारण योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्ने शिलशिलामा यस वर्ष नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पुरस्कृत गरिएको संगठनले जनाएको छ।
मन्त्री पौडेलले सुर्तीजन्य पदार्थको बट्टाको अग्रभाग र पछाडि शतप्रतिशत चेतावनीजन्य सूचना प्रकाशन गर्नुपर्ने व्यवस्थासम्बन्धी निर्णय गरेका थिए। अब यो निर्णय कार्यान्वयनमा आउनेछ। सरकारको यस निर्णयलाई विश्व स्वास्थ्य संगठनले असाधारण योगदान भनेको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि (आइटी) क्षेत्र विकासका लागि महत्वपूर्ण भएकाले यसमा पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज भएको आर्थिक वर्ष २०८१/२०८२ को तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले यस विषयमा अर्थ मन्त्रालय गम्भीर बन्नुपर्नेमा जोड दिए।
प्रगति समीक्षापछि मन्त्री गुरुङले भने, ‘आइटी क्षेत्र विकासका लागि महत्वपूर्ण हुँदा हुँदै पर्याप्त बजेट छैन। यसमा अर्थ मन्त्रालयले सहजीकरण गर्नुपर्ने हो तर त्यसो हुनसकेको छैन। बजेटबिना डिजिटल फेमवर्कको परिकल्पना पूरा गर्न सम्भव हुँदैन। यस क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने आवश्यकता छ।’
विगतमा जस्तै पुँजीगत खर्चमा मन्त्रालयसमेत पछि परेको स्वीकार गर्दै उनले यसले कर्मचारीको कार्यक्षमतामा सुधार गर्नुपर्ने र मन्त्रालयबीच सहकार्य विकास गर्नुपर्ने देखिएको बताए। निर्देशनात्मक सुझावसहित उनले भने, ‘पुँजीगत खर्च नबढ्नुका विविध कारण मध्ये एउटा कर्मचारीको कार्यशैली हो भने अर्को सम्बद्ध मन्त्रालयबीच समन्वय र संयोजनको भूमिका प्रभावकारी नदेखिनु हो।’
मन्त्री गुरुङले तोकिएका ‘माइलस्टोन’ पूरा गर्न र असार मसान्तसम्म मन्त्रालयअन्तर्गतका सबै निकायलाई पुँजीगत खर्च बढाउने गरी कार्यसम्पादन गर्न आग्रह गरे।
बैठकमा मन्त्रालयका सचिव राधिका अर्यालले पुँजीगत खर्चमा देखिएका समस्या समाधानबारे सबैले सोच्नुपर्ने बताइन्। उनले आइटी क्षेत्रको नेतृत्व गर्ने सञ्चार मन्त्रालयमा लगानी नै नदेखिएपछि कसरी प्रगति हुन्छ भन्दै योजना आयोगको ध्यानार्कषण गराइन्। बैठकमा विभागीय प्रमुखहरूले उठाएका ‘माइलस्टोन संशोधन’ गर्ने विषयप्रति आफू सकारात्मक रहेको बताए।
अर्थ मन्त्रालयका उपसचिव नीरन भट्टराईले पुँजीगत खर्च सरकारको मुख्य समस्या भएको बताउँदै अबको बजेट विनियोजनमा अति आवश्यक र खर्च गर्न सकिने विषयमा मात्रै बजेट राख्न अनुरोध गरे।
राष्ट्रिय योजना आयोगका सहसचिव अर्जुन भण्डारीले हाल ३० हजारभन्दा बढी आयोजना रहेका र तयारी नै नभएका योजनामा बजेट राख्ने प्रवृत्तिले पुँजीगत खर्च हुन नसकेको धारणा राखे। यसलाई हटाउन योजनाको पुनःप्राथमिकतामा ध्यान दिनुपर्ने उनको सुझाव थियो ।
सञ्चार मन्त्रालयका सहसचिव कोशहरी निरौलाले तेस्रो त्रैमासिक प्रगति विवरणबारे प्रस्तुति गरेका थिए।
सामाग्री श्रोत :
‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छः मन्त्री गुरुङ
काठमाडौँ । तपाईं च्याटजीपीटी कति प्रयोग गर्नुहुन्छ ? अनि केका लागि ? अथवा अरू कुनै एआई टुलहरू कतिको प्रयोग गर्नुहुन्छ ? कुनै सामान्य जानकारी, पढाइ वा व्यावसायिक कामका लागि नभइ आफ्ना व्यक्तिगत कुराहरू साट्न एआई प्रयोग गर्नुहुन्छ ?
जानेर वा नजानेर एआई च्याटबटसँग मानिसको सम्बन्ध गहिरो हुँदै गइरहेको छ । केही प्रयोगकर्ता त झन् कसैलाई भन्न नसकेका कुराहरू पनि च्याटबटसँग खुलेर शेयर गरिरहेका हुन्छन् । अझ कतिलाई बरु मलाई मेरा मान्छेहरूले भन्दा मसिनले बढी बुझ्छ । यसले मलाई धेरै सुझाव दिन्छ, मेरो कुरा सुन्छ भन्ने पनि लाग्छ होला !
हालै एक कार्यक्रममा मेटाका सीईओ मार्क जुकरबर्गले पनि मसिनले मानिसलाई धेरै बुझून् भन्ने चाहना रहेको र आफूहरूले यस्तै एआईमा काम गरिरहेको बताएका थिए । उनी चाहन्छन्- मसिनले मान्छेलाई साथीको रूपमा वा व्यावसायिक सल्लाहकारको रूपमा मात्र होइन, मनोपरामर्शदाताको रूपमा पनि सहयोग गरोस् । “जो व्यक्तिसँग परामर्शदाता (थेरापिस्ट) हुँदैनन्, उनीहरू सबैसँग अब एआई हुनेछ,” उनी भन्छन् ।
एआई टुलहरू मानिसका लागि राम्रो थेरापिस्ट बन्न सक्छन् कि सक्दैनन् भन्ने कुरा अझै स्पष्ट छैन । तर धेरै मानिसहरू अहिले नै आफ्ना गोप्य कुरा च्याटबटसँग शेयर गरिरहेका छन् । थेरापीकै लागि भनेर बनाइएका एपहरू परामर्शका लागि विशेष प्रयोग हुने गरेका छन् । त्योभन्दा धेरै प्रयोगमा आउने एपहरूमा मेटा एआई, ओपनएआईको च्याटजीपीटी वा एक्सको ग्रोकलगायत रहेका छन् ।
तर यो प्रयोग नजानिँदो पारामा मानिसहरूका लागि जोखिमपूर्ण बन्दै गइरहेको छ । आफ्ना गोप्य कुरा मसिनसँग शेयर गर्दै गर्दा ती कुरा मसिनले मात्र सुनिरहेको छ वा अरू कोही मानिसले पनि सुनिरहेको छ ? यस विषयमा हामी अनभिज्ञ छौँ ।
इन्टरनेटमा कुनै पनि कुरा गोप्य रहँदैन भन्ने कुरा सामान्य बुझाइ हो । तर अहिले अमेरिकामा दुई गम्भीर प्रवृत्तिहरू एक-अर्कामा तानातान गरिरहेका छन् । एकातिर, प्रविधि कम्पनीहरू प्रयोगकर्तालाई आफ्ना निजी विवरण एआईलाई बताउन उक्साइरहेका छन्, जुन कुरा प्रयोगकर्ताले सामाजिक सञ्जालमा राख्दैनन्, आफ्ना नजिकका साथीलाई पनि भन्दैनन् । अर्कातिर, सरकारले नागरिकका मनोविज्ञान, लिंग पहिचान, मानसिक अवस्था, जातीय दृष्टिकोणजस्ता संवेदनशील विवरणहरूमा विशेष निगरानी गर्न खोज्दैछ ।
अनि यसका लागि अमेरिकी सरकार कुनै कानुन र नैतिकताको ख्याल नै नगरी सकेसम्म धेरै जानकारी हात पार्दैछ ।
केही उदाहरणहरू:
-अमेरिकाका संघीय कानुन प्रवर्तन निकायहरूले कानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई अभिव्यक्ति स्वतन्त्रताको आधारमा गिरफ्तार गरे । जस्तै; एकजना विद्यार्थीलाई पत्रिकामा लेख लेखेकै आधारमा हप्तौँसम्म थुनामा राखियो ।
-अमेरिकाकै स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जुनियरले डिप्रेसनका औषधिहरूको सट्टा मानिसहरूलाई पुनर्स्थापना शिविरमा पठाउन सुझाव दिएका छन् । उनले अटिजम भएका व्यक्तिहरूको अभिलेख सङ्कलन गर्ने संघीय डेटाबेस बनाउने योजना समेत घोषणा गरेका छन् । यो डेटाबेस मेडिकल फाइल र वेयरेबल डिभाइसहरूको डेटा प्रयोग गरेर तयार गरिने बताइएको छ । हालैको स्वास्थ्य तथा मानव सेवा विभागको एक रिपोर्टले अटिजमलाई जेन्डर डायसफोराको कारणले हुने गरेको संकेत दिएको छ, जुन ट्रान्सजेन्डर समुदायविरुद्धको ठुलो हमला हो ।
-अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (Department of Government Efficiency) ले विभिन्न सरकारी एजेन्सीमा छरिएका डेटाहरूलाई केन्द्रीकृत रूपमा सङ्कलन गरेर निगरानीको लागि प्रयोग गर्ने योजना बनाइरहेको खबर समेत बाहिरिएको छ । विभागका प्रमुख एलन मस्कले सुरुवाती दिनहरूमा सरकारी कर्मचारीहरूको विवरण खोजेर संकलन गर्ने काम गरेका थिए ।
यस्ता विविध कुराहरूले अमेरिकी नागरिकहरूलाई आफ्ना मानसिक र स्वास्थ्यसम्बन्धी कुराहरू एआई च्याटबटसँग शेयर गर्न झन् बढी प्रेरित गरिरहेको द भर्जमा प्रकाशित लेखमा उल्लेख छ । तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने, अत्यधिक प्रयोगमा रहने च्याटबटहरू अमेरिकी सरकारसँग नजिकबाट काम गरिरहेका छन् ।
एलन मस्क त सरकारी कर्मचारी नै हुन् । जुकरबर्ग र ओपनएआईका साम आल्टम्यान पनि ट्रम्पको कृपामा रहन अनेक प्रयास गरिरहेको विश्लेषकहरू बताउँछन् । यी कम्पनीहरू सामान्य रूपमा मात्र लबिङ गर्दै छैनन्, तिनीहरूले ट्रम्पको विचारअनुकूल नीति बनाउँदै, सार्वजनिक रूपमा समर्थन जनाउँदै छन् ।
इन्टरनेटमा निगरानी कुनै नयाँ कुरा होइन, तर अब स्थिति भयावह बन्न थालेको छ । कम्पनीहरूले च्याटबटहरूमार्फत संवादकै शैलीमा संवेदनशील जानकारी झिक्ने खालको संरचना तयार गरिरहेका छन् । जब यस्तो जानकारी लीक हुन्छ, त्यो व्यक्तिको व्यक्तिगत जीवनमा ठुलो असर पार्न सक्छ । च्याटबटहरू गुगल सर्चजत्तिको पनि सुरक्षित नभएको विश्लेषकहरू बताउँछन् । अर्कोतिर, यो मेसेजिङ एपहरूजस्तो इन्क्रिप्टेड पनि हुँदैन । तपाईंले च्याटबटसँग गर्नुभएको हरेक कुरामा कम्पनीको सोझो पहुँच हुन्छ ।
अमेरिकी सरकारले यो निगरानीलाई “बालबालिकाको सुरक्षा” वा “आतंकवाद नियन्त्रण” जस्ता नारामा ढाक्न सक्ने सम्भावना पनि छ । तर वास्तविकता भने प्रस्ट छ- यो प्रक्रिया लोकतान्त्रिक अधिकार र व्यक्ति स्वतन्त्रताको उल्लङ्घन हो । विशेष जोखिममा परेका व्यक्तिहरूमा लिङ्ग पहिचानसम्बन्धी स्वास्थ्य सेवामा काम गर्ने डाक्टर, विश्वविद्यालयका कर्मचारी, सामाजिक मुद्दामा सक्रिय व्यक्ति लगायत रहेका छन् ।
यदि यस्तो होइन र कम्पनीहरू आफूलाई प्रयोगकर्ताको गोपनीयताप्रति सचेत भनेर चिनाउन चाहन्छन् भने उनीहरूले सबै संवेदनशील च्याटहरू इन्क्रिप्टेड राख्ने, कम्पनीको समेत पहुँच नहुने गरी काम गर्न सक्छन् ।
पछिल्लो समय नेपालमा पनि एआई च्याटबटको प्रयोग बढ्दै गइरहेको छ । नेपाल सरकार एआई नीति बनाउने तरखरमा छ । यस्तोमा नेपालमा पनि कुनै न कुनै प्रकारको नीति आउन सक्छ । जसले हाम्रो गोपनीयताको सुरक्षा प्रत्याभूत गर्दैन । भाग्यवश यस्तो नीति नआए पनि, एआई टुल जहाँको भए पनि हाम्रो डेटा सम्बन्धित कम्पनीको पहुँचमा हुन सक्छ भन्ने कुरालाई नकार्न सकिँदैन । यी सबै डेटा कुनै पनि बेला, कुनै पनि प्रयोजनका लागि प्रयोग हुन सक्छन् ।
आजको दिनमा एआई तपाईंको सहयात्री त बन्न सक्छ, तर यसले तपाईंका संवेदनशील डेटाहरूलाई कसरी प्रयोग गरिरहेको छ भन्ने विषयमा कुनै कुरा यकिनका साथ भन्न सकिँदैन । यस्तोमा आफैँ सचेत भई एआई च्याटबटसँग कुन स्तरसम्मको कुरा गर्ने भन्ने ध्यान भने आफैले राख्नु उचित हुन्छ ।
द भर्जको लेखबाट सहयोग लिइएको
पछिल्लो अध्यावधिक: जेठ ५, २०८२ २०:४८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने सिरिजको तयारीमा बेलायत पुगेको नेपाली टोलीले दोस्रो अभ्यास खेलिरहेको छ । दोस्रो अभ्यास खेलमा नेपालले एमसिसिविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको छ ।
नेपालका दुई ब्याटरले शतक पूरा गरेका छन् । उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीले शतक पूरा गरेका हुन् । भीम ९० बलमा १०४ रन बनाउँदै रिटायर्ड आउट भए । दीपेन्द्र ६७ बलमा ११० रन बनाएर रिटायर्ड आउट भए ।
४५ ओभरको खेलमा नेपालले ४ विकेट गुमाएर ३३५ रन बनाएको छ । बसिर अहमदले ३७ र अनिलकुमार शाहले २७ रन बनाए । यसअघि शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले न्यू पोर्ट क्रिकेट क्लबलाई ३ विकेटले हराएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं– नेपालका विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू लामो समयदेखि निमित्त नेतृत्वको भरमा सञ्चालन भइरहेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका प्रतिष्ठानहरुमा उपकुलपति लगायतका पदाधिकारी रिक्त भएको लामो समय हुँदा समेत सरकारले नियुक्त गर्न नसक्दा निमित्तको भरमा चलेका हुन्।
प्रतिष्ठानहरु निमित्त नेतृत्वको भरमा सञ्चालन हुँदा दीर्घकालीन योजना र प्रभावकारी सञ्चालनमा गम्भीर असर परिरहेको प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको गुनासो छ।अधिकारसहितको पूर्णाकालिन नेतृत्वको अभावमा प्रशासनिक स्थिरता, नीतिगत निर्णय र गुणस्तरीय स्वास्थ्य शिक्षा तथा सेवामा चुनौती देखिएको उनीहरुले बताएका छन्।
आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम बनाउने समयमा समेत उपकुलपति नियुक्त नहुँदा दीर्घकालिन योजनामा असर परेको चारवटै प्रतिष्ठानका कर्मचारीहरुले जानकारी दिएका छन्।
नेपालका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिमा ढिलाइ हुँदा निमित्त प्रमुखहरूले जिम्मेवारी सम्हालिरहेका छन्।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राजनीतिक रुपमा भागबन्डा नमिल्दा उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढ्न नसकेको हो। उपकुलपति नियुक्तिका लागि छनोट समिति बनाउनेदेखि मापदण्ड बनाउने प्रक्रिया समेत पोखरा बाहेक अरुमा हुन सकेको छैन। छनोट समितिले नै उपकुलपतिका लागि आवश्यक मापदण्डहरु बनाउने छ। पोखराका लागि स्वास्थ्य मन्त्री प्रदीप पौडेको संयोजक्तवमा योजना आयोगका सदस्य डा आरपी बिच्छा र स्वास्थ्य सचिव डा विकास देवकोटा सदस्य रहेका छन्।समितिले समेत काममा तीव्रता दिन नसकेको स्रोतको भनाई छ।
यी प्रतिष्ठानमा उपकुलपति रिक्त भएको पनि दुई महिनाभन्दा बढी समय भइसकेको छ। बीपी प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गत चैत २७ गतेदेखि रिक्त भएका हुन्। पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति चैत २२ गतेबाट रिक्त भएका हुन्। रिक्त रहेका प्रतिष्ठानमा नियुक्तिका लागि सर्च कमिटी बनाउने लगायतका काम अगाडि नबढाएर सरकारले निमित्तका भरमा प्रतिष्ठान चलाइरहेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्त डा प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालयबाट चारवटै प्रतिष्ठानका लागि उपकुलपति नियुक्तिका लागि सर्च कमिटि बनाउने र सोही कमिटिले उपकुलपतिका लागि नाम सिफारिस गर्ने भनेर मन्त्रालयमा फाइल उठेर कुलपति समक्ष पठाउने निर्णय भइसकेकाले छिट्टै नै प्रक्रिया अगाडी बढ्ने बताए।
निमित्त नेतृत्वले दैनिक प्रशासनिक कार्य सञ्चालन गरे पनि दीर्घकालीन नीति निर्माण, बजेट व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यमा प्रभावकारी कदम चाल्न नसक्ने विज्ञहरूको भनाइ छ।’निमित्त प्रमुखहरूले ठूला नीतिगत निर्णय लिन हिचकिचाउँछन्, किनभने उनीहरूको कार्यकाल अनिश्चित हुन्छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘यसले स्वास्थ्य शिक्षाको गुणस्तर, अनुसन्धान र सेवा विस्तारमा ठूलो बाधा पुगिरहेको छ ।’
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्छन्। तर, स्थायी नेतृत्वको अभावले यी संस्थाहरूले आफ्नो सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न नसकेको उनी बताउँछन्।
उपकुलपति रिक्त रहेका चार प्रतिष्ठानको उपकुलपतिको निमित्तको जिम्मेवारी रेक्टर र डिनले पाएका छन्। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले वैशाख ४ गते निमित्तको जिम्मेवारी दिएका हुन्।
बिपी कोइरालामा डा सञ्जीव शर्मा, पाटनमा डा पवन शर्मा र कर्णालीमा डा डबलबहादुर धामीले निमित्तको जिम्मेवारी पाएका हुन्। पोखरामा भने रेक्टर नभएका कारण डिन डा श्रीकृष्ण श्रेष्ठले निमित्तको जिम्मेवारी पाएका छन्।
‘उपकुलपति पदमा नियुक्ति नभएसम्मका लागि शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुचारु गर्न निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ’ उनीहरुले पाएको पत्रमा भनिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
रौतहट । सर्लाहीको रानिगन्जमा बस र म्याजिक भ्यान ठोक्किँदा एक युवतीको घटनास्थलमै मृत्यु भएको छ। उक्त दुर्घटनामा आठ जना घाइते भएका छन्। लालबन्दी नगरपालिका १७ स्थित रानिगन्जको घिमिरे चोकमा सोमबार अपरान्ह पौने ५ बजेतिर दुर्घटनामा भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार विराटनगरबाट मलङ्गबारका लागि छुटेको ना.६ ख ७२२७ नम्बरको बस र लालबन्दीबाट बयलवासतर्फ जाँदै गरेको ना. १ ज २६४५ नम्बरको भ्यान ठोक्किँदा भ्यानमा सवार रानिगन्जकै २२ वर्र्षीया युवती सोना पन्तको घटनास्थलमै मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रसिंह जोहारीका अनुसार राजमार्ग विस्तार गर्न बनाइएको डाइभर्सन भएको ठाउँमा दुर्घटना भएको छ। दुर्घटनामा घाइते भएकाको स्थानीय मोडेल अस्पतालमा उपचार भईरहेको उनले जानकारी दिए।
मृतक युवतीको शव सोही अस्पतालमा रहेको र दुर्घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।
सामाग्री श्रोत :
काठमाडौँ – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेसको भूमिलाई हिरा उत्पादन गर्ने थलोको संज्ञा दिँदै ती हिरा पहिचान गर्न अझै बाँकी रहेको बताएका छन्।
अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कास्य पदक प्राप्त जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई आज आयोजित सम्मान कार्यक्रममा उनले मधेसमा अपार सम्भावना भएका प्रतिभाहरू रहेकाले तिनीहरूलाई पहिचान र प्रोत्साहन आवश्यक रहेको बताएका हुन्।
मिश्रले हालै तुर्कमेनिस्तानमा सम्पन्न दोस्रो अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा नेपालबाट प्रतिनिधित्व गर्दै कास्य पदक प्राप्त गरेका थिए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले उहाँलाई सम्मान गर्दै भने, “हाम्रो भूमिमा धेरै हिरा छन्, आशिष जस्ता युवाहरू आफैँ अघि आएका छन्। यदि हामीले यस्ता प्रतिभालाई पहिचान गर्न सक्यौँ भने उहाँहरूले राष्ट्र निर्माणमा ठूलो योगदान दिन सक्नुहुन्छ।”
मुख्यमन्त्री सिंहले सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर यस्ता प्रतिभाको खोज, संरक्षण र प्रोत्साहनमा जुट्नुपर्नेमा जोड दिए।
कास्य पदक विजेता मिश्रले म्याथ ओलम्पियाडलाई एकेडेमिक ओलम्पिकको रूपमा परिभाषित गर्दै युवालाई पुस्तकको ज्ञानसँगै यस्ता प्रतिस्पर्धात्मक गतिविधिमा सहभागी हुन आग्रह गरे।
उनले भने,“जसरी खेलकुदमा मेडल ल्याइन्छ, त्यसरी नै यो प्रतिस्पर्धा पनि ज्ञान र अभ्यासको आधारमा जितिन्छ। यस्ता क्रियाकलापमा सहभागी हुँदा अनुसन्धान र शैक्षिक भविष्यमा ठूलो सहयोग पुग्छ।”
गत अप्रिल २१ देखि २६ तारिखसम्म तुर्कमेनिस्तानको शिक्षा मन्त्रालयको आयोजनामा आयोजित उक्त ओलम्पियाडमा विश्वभरबाट करिब ३०० विद्यार्थी व्यक्तिगत तथा समूहगत प्रतिस्पर्धामा भाग लिएका थिए। यो अन्तर्राष्ट्रिय म्याथ ओलम्पियाडमा नेपाली विद्यार्थीहरूको पहिलो सहभागिता थियो। पहिलो पटकमै मिश्रले कास्य पदक प्राप्त गरेका हुन्।
अब मिश्र आगामी जुलाई ९ देखि २१ तारिखसम्म अष्ट्रेलियामा हुने ६६औँ अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा सहभागी हुने तयारीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ