

काठमाडौं– रौतहटमा भएको बम विस्फोटका अभियुक्त मोहम्मद आफताब आलमलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले बुधबार जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको हो । जिल्ला अदालत रौतहटको आदेशविरुद्ध उनी उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा पुगेका थिए ।
उक्त इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सदर गरेको थियो । रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका कांग्रेस नेता आलमसहित चार जनालाई जिल्ला अदालत रौतहटले २०८१ वैशाखमा जन्मकैदको फैसला सुनाएको थियो ।
जन्मकैदको सजाय पाउनेहरूमा कांग्रेस नेता आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनी रहेका छन् ।
पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम विस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा कांग्रेस नेता आलम ०७६ असोज २६ मा पक्राउ परेका थिए ।
अदालतले संकलित प्रमाणबाट आलमको घरमा २०६४/१२/२७ मा बम विस्फोटको वारदात वस्तुनिष्ठ प्रमाणले पुष्टि हुन नसकेको आधार बनाएको छ । यस्तै घाइते भनिएका पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओसी अख्तरलाई ट्याक्टरमा हाली राजा इँटाभट्टामा लगी पोलेको भन्ने ठोस प्रमाण भेटिन नसकेको र विधि विज्ञान प्रयोगशालाबाट पनि मृतकलाई इँटाभट्टामा पोलेको अभियोग लागी पुष्टि हुन नसकेको आधारमा अदालतले आलमलाई रिहा गर्न आदेश दिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरले पाइलट प्रोजेक्टमा रुपमा ‘ट्रमा एन्ड इन्जुरी लाइफ सपोर्ट’ तालिम सुरु गरेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले उपत्यकाभित्रका विभिन्न अस्पतालका मेडिकल अधिकृतलाई उक्त तालिम दिइने बताए।
तालिमको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औपचारिक सुरुवात गरेका छन्। उनले व्यवसायिक क्षमता अभिवृद्धिका लागि नियमित तालिमको आवश्यक पर्ने भन्दै ट्रमा केयर तालिमले गुणस्तरीय स्वास्थ्य सेवामा सहयोग पुग्ने बताए।
पहिलो चरणको तालिममा २४ जना सहभागी छन्। राष्ट्रिय तालिम केन्द्रको सहयोगमा सेन्टरले ‘पाइलट प्रोजेक्ट’का रुपमा सुरु गरेको हो। विस्तारै क्यालेन्डर प्रोगामका रुपमा राखिने अस्पतालका प्रमुख मेसु डा रिजालको भनाइ छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्र बस्नेतले तालिमले चिकित्सकको सीप विकासमा भूमिका खेल्ने बताए। उनले थपे, ‘सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक प्रयोग हुने भएकाले काममा रुपान्तरण गर्दा यसले भूमिका खेल्नेछ।’
तालिम केन्द्रका निमित्त निर्देशक डा माधव लम्सालले नेपालको स्वास्थ्य प्रणालीमा यस्ता तालिमले नयाँपन दिने बताए। उनले भने, ‘प्रिहस्पिटल, हस्पिटल र पोष्ट हस्पिटल केयरमा इन्जुरी र ट्रमाका विषयमा तालिम दिइनेछ। कतिपय अवस्थामा ज्ञान पुरानो हुनसक्छ वा नयाँ अभ्यास र अध्ययनले फरक पारेको हुनसक्छ। यसले अपडेट गराउनेछ।’
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। आँखा अगाडि सेताम्मे हिम चुचुरा देख्दा चिनियाँ सगरमाथा आरोही सिओजुले आफूलाई हिमालै अङ्गालोमा बेरेझै अनुभूति भएको प्रतिक्रिया दिए। ‘वाऊ ! इट्स् अमेजिङ एभरेष्ट, आइ नेभर फर्गेट’ ( आहा ! यो अत्भूत छ, म यसलाई कहिल्यै भुल्ने छैन) जहाजको झ्यालबाट सगरमाथातर्फ नजरलगाइरहेका सिओजुले पुनः भने, ‘नेपाल साच्चिकै सुन्दर छ, यहाँको प्राकृतिक सुन्दरता र सेता हिमालले जो कोहीलाई मोहित तुल्याउँछ, जुन विश्वकै गौरवको विषय हो।’ माउन्टेन फ्लाइट जीवनकै अविष्मरणीय भएको उनले बताए।
अर्का चिनियाँ आरोही वाङसु छाले पनि हिमालय क्षेत्रको अवलोकन गर्न पाउँदा खुशीको सिमान नरहेको बताए। ‘आश्चर्यजनक छ, खुशीको सीमै रहेन’, उनले थपे। आफ्नो सगरमाथा आरोहणको अनुभवको जानकारी गराउँदै उनले नेपालतर्फबाट सगरमाथाको भूवनोट नयाँ र अनुपम लागेको प्रतिक्रिया दिए।
नजिकैबाट सगरमाथासहितका सुन्दर हिमाल हेर्दा भारतको गुजरातका निलिस बर्टलाई निलेस् बर्टमा पनि खुसीको सीमा थिएन। सगरमाथा आरोही विद्यार्थीलाई सँगै लिएर गएका बर्टले आफ्नो वर्षौँदेखिको सगरमाथालाई नजिकबाट साक्षात्कार गर्ने सपना पूरा भएको बताए। उनले भने, ‘असाध्यै राम्रो अनुभव भयो, मेरो वर्षौँदेखिको सपना पूरा भयो।’
नेपालको अनुपम प्राकृतिक सुन्दरता हेर्न अफू पटक–पटक नेपाल आउने गरेको उनको भनाइ थियो। काठमाडौंमा मंगलबार आयोजना भएको ‘अन्तर्राष्टिय एभरस्ट समिटर्स समिट–२०२५’ का सहभागी भारत, चीनलगायत विभिन्न मुलुकका सगरमाथा आरोहीलाई नेपालको हिमाली सौन्दर्यको अवलोकन गराइएको छ। आज बिहान पर्वतीय उडान (माउन्टेन फ्लाइट) मार्फत उनीहरूलाई विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो।
नेपाल बिग माउन्टेनका उपाध्यक्ष सुजित रेग्मीका अनुसार बुद्ध एयरको एटीआर विमानमार्फत माउन्टे फ्लाइट गराइएको हो। भारत, चीन, बेलायत, मेक्सिकोलगायत मुलुकका ५० आरोहीले हिमाली दृश्यावलोकन गरेका हुन्।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ६ बजेर ४० मिनेटमा उडेको विमान करिब एक घण्टाको उडानपछि पुनः काठमाडौं विमानस्थलमै अवतरण भएको थियो। लाङटाङ हिमालदेखि सगरमाथा हिमाल क्षेत्रसम्मको हिम चुचुरोको दृश्यावलोकन गरिएको थियो। निजी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, गुण एयरलगायतले पर्वतीय उडान गर्दै आएका छन्। राजधानी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ बजे पर्वतीय उडान हुने गरेको छ। पर्वतीय उडान करिब एक घण्टाको हुन्छ। विमानस्थलबाट सुरू हुने यो उडानमा सगरमाथा, मकालु, नुप्से, गौरीशंकरलगायत अन्य हिमशृङ्खलाको मनोरम दृश्य हेर्न सकिन्छ। अनुपम प्राकृतिक सुन्दरता भूधरातलीय स्वरूपको आकर्षणले स्वदेशी तथा विदेशीलाई मोहित तुल्याउँछ।
पर्वतीय उडानका दौरानमा आखा अगाडि सेताम्मे हिम चुचुरा देख्दा विदेशी पाहुना मोहित भए। अजंगसँग फैलिएका हिमशृङ्खला आकाशबाट हेर्दा अँगालोमा बेर्न सकिनेजस्तै देखिए। बादलुको घुम्टोमाथि चाँदीझै टल्किएका सुन्दर हिमालको मनमोहक दृश्यवादन गरेर सगरमाथा आरोही फर्किए।
बिहानीको पारिलो घाम। आकाशमा बादलको लुकामारी। चाँदीझै टल्किने हिमालले पर्वतीय उडानलाई बेग्लै रौनक थपेको थियो। नेपालमा आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल रहेका छन्। विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा विश्वभरका आरोहीको सपनाको हिमाल पनि हो। सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्न उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन्।
अन्तर्राष्ट्रिय सगरमाथा आराहीहरूका विशेष जमघट ‘अन्तरराष्टिय एभरेस्ट समिटस समिट–२०२५’ पहिलो पटक काठमाडौंमा आयोजना गरिएको हो। एभरेस्ट एलायन्स नेपालले आयोजना गरेको समिटमा २५ देशका ३०० भन्दा बढी अनुभवी पर्वतारोहीको सहभागिता थियो। सम्मेलनमा भारत, चीन, अमेरिका, पाकिस्तान, बेलायत, इटाली, नर्वे, इरान, सिंगापुर, अस्ट्रेलिया, लेबनान, मोरक्को, युएईलगायतका मुलुक सहभागी थिए।
एभरेस्ट एलायन्स नपालका अध्यक्ष सुदर्शन नेपालले विदेशी सगरमाथा आरोहीलाई नेपालको हिमालको अनुपम सुन्दरताको दृश्यावलोकनका लागि माउन्टेन फ्लाइट गरिएको बताए। उनले यो उडानमार्फत नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
यसअघि यही जेठ ४ गते बहुप्रतिक्षित ‘सगरमाथा संवाद’ मा सहभागी विशिष्ट विदेशी पाहुनालाई माउन्टेन फ्लाइटमार्फत सगरमाथासहितका हिमाली सौन्दर्यको अवलोकन गराइएको थियो। अन्तर्राष्ट्रिय सगरमाथा दिवसको सन्दर्भमा पछिल्लो साता नेपालमा ठूला–ठूला अन्तरराष्ट्रिय सम्मेलन भइरहेका छन्। सगरमाथा संवादलगत्तै यही जेठ ९ देखि ११ सम्म बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट आयोजना भएको थियो। यही जेठ २० देखि २२ सम्म हिमालयन ट्राभल मार्टको पाँचौँ संस्करण आयोजना हुँदैछ।
नेपालमा एकपछि अर्को भइरहेका पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सभा सम्मेलनले नेपालको पर्यटन खासगरी साहसिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताए। उनले स्रोत बजारमा गन्तव्य प्रवर्द्धनका लागि बोर्डले रणनीतिक कार्यक्रमका साथ अघि बढेको उल्लेख गरे।
सामाग्री श्रोत :
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सामाजिक सञ्जाल वा सञ्चार माध्यममा आलोचना भयो भन्दैमा तुरुन्तै राजीनामा दिनुपर्ने कुरा औचित्यहीन भएको बताएका छन् ।
भिजिट भिसा प्रकरणमा संलग्नता रहेको आरोपसहित विपक्षीले संसदमा उनी बोल्न नदिएपछि सोमबार संसद् भवनस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै उनले उक्त भनाइ राखेका हुन् ।
“सामाजिक सञ्जाल र सञ्चार माध्यममा कुरा उठ्नेबित्तिकै राजीनामा दिनुपर्ने अवस्था आयो भने के होला,” उनले भने, “कुनै पनि विषय उठ्न सक्छ । तर त्यसलाई ठीक ढंगले गम्भीर रूपमा लिएर निष्कर्षमा पुग्नुपर्छ ।”
उनले आफूविरुद्ध नियोजित रूपमा राजनीतिक पूर्वाग्रहसहित आक्रमण भइरहेको दाबी गर्दै यसलाई षड्यन्त्रपूर्ण भने । साथै, उनले आफ्नो राजनीतिक तथा व्यक्तिगत जीवन खुला रहेको भन्दै सार्वजनिक रूपमा आफूलाई सबैले नियालिरहेको उल्लेख गरे ।
पछिल्लो अध्यावधिक: जेठ १४, २०८२ १७:४२
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिएका छन्।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूलाई जोडेर भइरहेको प्रचार असत्य भएको दाबी गरेका हुन्।
उनले भने, ‘मेराविरुद्ध नियोजित ढंगले आक्रमण गरिएको छ। यो आक्रमण, राजनीतिक पूर्वाग्रहले प्रेरित छ। षडयन्त्रपूर्ण छ। यसको क्रम जारी छ भन्ने मैले महसुस गरेको छु।’
उनले आफ्नो राजनीतिक र व्यक्तिगत जीवन सार्वजनिक रहेको भन्दै सबैले सार्वजनिक रुपमै आफूलाई हेरिरहेको जिकिर गरे।
उनले भने, ‘यो असत्य र बेठिक कुरा हो। यसमा मेरो कुनै संलग्नता छैन। मलाई मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढङ्गले आक्रमण गरिएको छ। यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ।’
उनले अध्यागमन कार्यालयमा सरुवा भएर गएको तीर्थराज भट्टराई आफूले कुनै मन्त्रालय वा विभागबाट ल्याएको कर्मचारी नभएको दाबी गरे।
उनले भने, ‘म यो मन्त्रालयमा जिम्मेवारी लिएर आउँदा यही मन्त्रालयको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा महानिर्देशन भएर काम गरिराख्नुभएको थियो। उहाँलाई त्यहाँ सरुवा गरिएको हो। उहाँले यसअघि मन्त्रालयका महत्त्वपूर्ण जिम्मेवारी र प्रजिअ भएर काम गरिसक्नुभयो। जो म भन्दा अगाडिका मन्त्रीहरूको सरुवा र खटपटमा भएको हो।’
‘अख्तियारको अनुसन्धानको विषयलाई लिएर यसमा मन्त्रीको पनि संलग्नता छ भनेर प्रचारप्रसार भएका छन्। सबैभन्दा पहिला यो जसरी यो विषयमा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा र समाचार आएका छन्, यो असत्य कुरा हो। मेरो कुनै संलग्नता छैन,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काभ्रेपलाञ्चोक– प्रधानमन्त्री केपी शर्मा ओलीले धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालयबीचको सहकार्य टुट्न दिन नहुने कुरामा जोड दिएका छन्।
धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको आज शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अस्पताल र विश्वविद्यालयको सहकार्यमा सरकारले साथ दिने बताएका हुन्।
‘अस्पताल र काठमाडौँ विश्वविद्यालयको सहकार्य टुट्न दिनुहुँदैन। यस सहकार्यमा सरकारले पनि सक्दो साथ दिनेछ’, प्रधानमन्त्री ओलीले भने।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले निरोगी नेपालको उद्देश्य राखेर गरिरहेको काममा धुलिखेल अस्पतालले सहज र गुणस्तरीय सेवा दिएर आफ्नो ठाउँबाट योगदान दिने विश्वास पनि व्यक्त गरे।
प्रधानमन्त्री ओलीले केही नभएको ठाउँमा पनि विकास र परिवर्तन देखिनुले स्थानीय जनतामा आत्मविश्वास पलाएको भन्दै अस्पताल क्षेत्रमा भएको विकासको प्रशंसा गरे।
‘तीस वर्षअघि बाँझो कान्ला र खेत भएको यस ठाउँमा आधुनिक अस्पताल बन्छ र विकास हुन्छ भनेर सपना देख्नेहरुले यो काम अघि बढाए। त्यो सम्भव छ भन्ने विश्वास गरेर स्थानीय जनताले आफ्नो खेतबारी दिएर योगदान गरे,’ उनले भने।
उनले केही भएन भनेर गलत भाष्य सिर्जना गर्नेहरुले भएको विकास नदेखेको टिप्पणी गर्दै कुनै पनि अवस्थामा परिवर्तन ल्याउन एकैदिनमा सम्भव नहुने भएकाले यसका लागि इमानदार र लगातारको प्रयास आवश्यक रहेको जनाएका छन्।
नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरराष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारी अनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण हुन लागेको हो। सोही सेन्टरको भवन शिलन्यासका लागि प्रधानमन्त्री धुलिखेल पुगेका हुन्।
सामाग्री श्रोत :
swasthyakhabar

विराटनगर । संघीय गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै कोशी प्रदेशसभामा बुधबार एक सांसदले गीतमार्फत विरोध जनाएका छन्।
नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य गोम्बु शेर्पाले शून्य समयमा चर्चित गीत ‘भिजिट भिसामा हजुर’ गाएर गृहमन्त्री लेखकमाथि गम्भीर आरोप लगाउँदै राजीनामा माग गरेका हुन्।
शेर्पाले आफ्नो सम्बोधनको सुरुवात चर्चित गीतबाट गर्दै भने, ‘भिजिट भिसामा हजुर, भिजिट भिसामा भुइँ छाडेर उड्ने हजुर, पश्चिम दिशामा’ यस गीतमार्फत उनले विदेश पलायनमा जान बाध्य नेपाली युवाहरूको पीडा चित्रण गरेका थिए। त्यसपछि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको नाममा बेरोजगार युवाहरूबाट लाखौँ रुपैयाँ असुली हुने गरेको दाबी गरे।
शेर्पाले गृहमन्त्री लेखकको सचिवालयमा ‘बदनाम र विवादास्पद’ व्यक्ति सक्रिय रहेको भन्दै मिलेमतोको आशंका व्यक्त गरे।
उनले आरोप लगाए, ‘लुटधन्दा सञ्चालन गर्ने व्यक्तिहरूको मुख्य संरक्षण गृहमन्त्री स्वयं हुन्। त्यसैले अनुसन्धानमा सघाउन उहाँले पदबाट राजीनामा दिनुपर्छ।’
कांग्रेस सांसदको आपत्ति
शेर्पाको भनाइप्रति नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रदीपकुमार सुनुवारले कडा आपत्ति जनाए। उनले भिजिट भिसा प्रकरण संघीय सरकारले हेर्ने विषय भएको उल्लेख गर्दै प्रदेशसभामा यस विषयलाई अतिरञ्जित ढंगले उठाइएको आरोप लगाए।
‘संसद्को आफ्नै मर्यादा हुन्छ। संघीय संसद्को अपमान हुनेगरी प्रदेशसभामा यस्ता विषय उठाइनु अनुचित हो,’ सुनुवारले भने।
उनले भिजिट भिसा सम्बन्धी विषयमा अनुसन्धान र कारबाहीको प्रक्रिया संघीय सरकारको कार्यक्षेत्रमा पर्ने भएकाले त्यसलाई राजनीतिक रूपमा दुरुपयोग नगर्न आग्रह गरे।
सामाग्री श्रोत :
कोशी प्रदेशसभा बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग, कांग्रेस सांसदको आपत्ति
काठमाडौँ । ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले एआईसँग नम्र भएर बोल्दा कम्पनीलाई अनावश्यक खर्च बढ्ने बताएका थिए । प्रयोगकर्ताले ‘धन्यवाद’ वा ‘स्वागतम’ शब्द प्रयोग गर्दा एआईले थप जवाफ दिनुपर्ने अवस्था आउने र बेतुकमा बिजुलीको खर्च बढ्ने बताएका थिए । हुन पनि यो स्वाभाविक नै देखिन्छ । एआईबाट ‘धन्यवाद’ वा ‘स्वागतम’ को जवाफ पाएर के हुन्छ ? केहीले यस्ता नम्र शब्द प्रयोग गर्दा भरपर्दो र अझ आकर्षक जवाफ आउने बताएका थिए ।
पछिल्लो समय एआईलाई थर्काउँदा वा धम्की दिँदा झनै आकर्षक र सटीक जवाफ आउने विषय सतहमा आएको छ । गुगलका सहसंस्थापक सर्गेई ब्रिनले एक पडकास्टमा यस्तो तर्क राखेपछि यस विषयले थप चर्चा पाएको हो ।
“यो एक किसिमले अनौठो कुरा हो । त्यसैले हामी एआई कम्युनिटीमा यस विषयमा त्यति धेरै चर्चा गर्दैनौं,” उनले अल-इन वन पडकास्टमा भनेका थिए, “तर यदि तपाईंले एआई मोडललाई कुनै प्रकारको दबाब वा नकारात्मक परिणामको चेतावनी दिनुभयो भने हाम्रो मात्र होइन, सबै एआई मोडलले राम्रो प्रदर्शन गर्छन् जस्तो देखिन्छ ।”
उदाहरणका लागि एआई च्याटबटलाई शारीरिक हिंसाजस्ता कडा शब्दहरू प्रयोग गर्दा यसमा एक प्रकारको मनोवैज्ञानिक दबाब सिर्जना हुने र त्यसले सटीक जवाफ दिने उनले सुनाए । यस्तोमा ‘जवाफ राम्रो दिएनौं वा यो अनावश्यक शब्द राख्यौ भने म तिमीलाई अपहरण गर्छु’ भन्दा एआई च्याटबटले निर्देशन पालना गर्ने उनको भनाइ छ ।
सुन्दर पिचाईलाई नेतृत्व सुम्पिएपछि ब्रिनले गुगल/अल्फाबेटको दैनिक जिम्मेवारीबाट हात झिकेका थिए । तर, हालसालै उनी गुगलको जेमिनाई मोडेललाई सुधार्नमा केन्द्रित छन् । ‘बिग टेक्नोलोजी’सँगको एक अन्तर्वार्तामा ब्रिनले यो प्रविधिको लागि रोमाञ्चक समय भएको र कुनै पनि कम्प्युटर वैज्ञानिकले अहिले पन्छिएर बस्न नहुने बताएका थिए ।
“साँच्चै भन्नुपर्दा जो कोही कम्प्युटर वैज्ञानिक छ, उसले अहिले अवकाश लिएर बस्नु हुँदैन । यो ठुलो समस्या र अवसर हो । प्रविधिको यस्तो महान् सङ्घार पहिले कहिल्यै आएको थिएन,” उनले भनेका थिए ।
गत हप्ता भएको आई/ओ २०२५ सम्मेलनमा ब्रिनले गुगल डिपमाइन्डका सीईओ डेमिस हसाबिससँगै अप्रत्याशित उपस्थिति जनाएका थिए । त्यहाँ उनले गुगलको एआई क्षमताको बारेमा पनि बोलेका थिए ।
सन् २०२२ को अन्त्यतिर च्याटजीपीटी सुरु हुँदा गुगल एआईको दौडमा नराम्रोसँग पछाडि परेको थियो । तर त्यसपछि यसले आफ्ना अधिकांश प्लेटफर्ममा एआई लागु गर्दै र ओपनएआईको लागि एक बलियो प्रतिस्पर्धीको रूपमा उभिएर पुनरागमन गरेको छ । अहिले कम्पनीले सार्वजनिक गरेको भिओ थ्री मोडेलले निकै चर्चा पाइरहेको छ ।
खासगरी यसले बनाउने भिडिओको गुणस्तर र यसले बुझ्नसक्ने भौतिक विज्ञानको नियमलाई लिएर धेरैले चासो व्यक्त गरेका छन् । भिओ थ्रीले बनाएको भन्दै सार्वजनिक भएका भिडिओ वास्तविक भिडिओ हुन् वा एआईले बनाएको हो भन्ने छुट्याउन द्विविधा हुने अवस्था आएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १४, २०८२ १५:१२
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – काठमाडौँ जिल्ला सुरक्षा समितिले बैठक बोलाएको छ।
आज साँझ ७ बजे बस्ने गरी जिल्ला सुरक्षा समितिको बैठक बोलाएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जानकारी दिएका हुन्।
जेठ १५ गते काठमाडौँमा राजावादी र एमालेले फरक फरक प्रकृतिका कार्यक्रम गर्न लागेपछि जिल्ला सुरक्षा समितिको बैठक बस्न लागेको हो।
यसअघि मंगलबार गृहमन्त्रीको नेतृत्वको केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग न्यूजिल्याण्डका उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री विन्स्टन पिटर्सले राष्ट्रपति भवन शीतल निवासमा बुधबार शिष्टाचार भेट गरेका छन्।
सो अवसरमा राष्ट्रपति पौडेलले न्यूजिल्याण्डका उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीलाई नेपाल सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्नेतर्फ अग्रसर भएकाले यो लक्ष्य हासिल गर्न व्यापार, लगानी र विकास सहकार्यका लागि आग्रह गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताएका छन्।
नेपाल र न्यूजिल्याण्ड विभिन्न अन्तर्राष्ट्रिय विषयहरूमा साझा धारणासहित बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्दै आएको स्मरण गर्दै उनले स्तरोन्नति तर्फकोे यात्रालाई दीगो बनाउन व्यापार, लगानी र विकास सहकार्यका सन्दर्भमा न्यूजिल्याण्डबाट सहयोगको अपेक्षा गरेको बताए।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको संकटबाट दुवै देश मारमा परेको बताउँदै हिमालय क्षेत्रको जनजीवन बचाउनका लागि मिलेर काम गर्नुपर्ने पनि बताएका थिए।
न्युजिल्याण्डका पर्यटकले नेपाललाई एक पर्यटकीय गन्तव्य मूलुकको रूपमा पहिचान गरेको उनको भनाई थियो।
न्यूजिल्याण्ड नेपालीहरुको अध्ययनका लागि उच्च शिक्षाको आकर्षक गन्तव्य बनेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले त्यहाँ बसोवास गर्ने नेपाली बढेकाले दुई देशबीच जनस्तरमा सम्बन्ध बलियो बनाउन उनीहरुले महत्वपूर्ण भूमिका खेल्ने खुसीको विषय भएको बताए।
कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुवै देशबीच मैत्रिपूर्ण द्विपक्षीय सम्बन्ध कायम रहँदै आएको र सम्बन्ध गाढा बनाउन सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथाको पहिलो पटक किर्तिमानी आरोहणले महत्वपूर्ण योगदान दिएको विदितै छ भन्दै उनले उक्त आरोहणको ७० औं वार्षिकोत्सवमा दुवै देशले ‘सगरमाथा–७०’ मनाएकोमा खुशी प्रकट गरे।
सो अवसरमा न्यूजिल्याण्डका उपप्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा नेपालले पुर्याएको योगदानको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय सम्बन्धमा साना देशहरुको भूमिका पनि महत्वपूर्ण हुनेमा आफूहरु विश्वस्त रहेको बताए।
नेपाल न्यूजिल्याण्डका जनताको लागि रमणीय देश भएकाले यहाँको भ्रमण गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै नेपाली विद्यार्थीहरुको लागि छात्रवृत्ति वृद्धि गरेर नेपालसँग शिक्षा र विकासको सम्बन्ध सुदृढ गर्न आफूहरुले चाहेको जानकारी दिए।
उनले जलवायु परिवर्तनले ल्याएको संकटप्रति आफूहरु सजग रहेको उल्लेख गर्दै यो समस्या समाधानका लागि सबै देशको सहभागिता जरुरी रहेको बताए।
सामाग्री श्रोत :
राष्ट्रपति र न्यूजिल्याण्डका उप–प्रधानमन्त्रीबीच शिष्टाचार भेट






