२०८२ भाद्र ३० सोमबार
२०८२ भाद्र ३० सोमबार

काठमाडौँ –इण्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो क्वालिफायरको खेल हुँदैछ । खेल अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

यस महत्त्वपूर्ण खेलमा पञ्जाब किङ्स र मुम्बई इन्डियन्स भिड्दै छन् । पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) सँग हार बेहोरेपछि पञ्जाबले  फाइनल पुग्ने ​दोस्रो मौका पाएको हो ।

मुम्बईले एलिमिनेटर खेलमा गुजरात टाइटान्सलाई हराएर दोस्रो क्वालिफायरमा आफ्नो स्थान सुनिश्चित गरेको थियो । पहिले नै फाइनलमा प्रवेश गरिसकेको बेंगलुरुले विजेतासँग मंगलबार सोही मैदानमा उपाधि जित्ने ठूलो लडाईंमा सामना गर्नेछ । त्यसैले आजको खेलले मात्र फाइनलको बाटो तय गर्नेछ । 

यस सिजनको लिग चरणमा पञ्जाब र मुम्बईबीच भएको एकमात्र खेलमा पञ्जाबले मुम्बईलाई ८ विकेटले सहजरूपमा पराजित गरेको थियो । त्यसैले आजको भिडन्तमा पञ्जाब आफ्नो जितलाई दोहोर्याउन खोज्नेछ । मुम्बई आज त्यसको बदला लिएर फाइनलमा पुग्ने लक्ष्य राखेको छ ।

आइपिएलको यो निर्णायक खेलमा दुवै टिमका मुख्य खेलाडीको प्रदर्शन र रणनीतिले ठूलो भूमिका खेल्नेछ, जसले दर्शकलाई उत्कृष्ट क्रिकेटको अनुभव दिनेछ ।  

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

इनरुवा- जिल्ला अस्पताल सुनसरीमा कार्यरत  मेडिकल अफिसर डा. रंजित सिंह मेहता सहित आठ जना सम्मानित भएका छन्। अस्पताल तथा  जिल्ला अस्पताल व्यवस्थापन समितिले १८औं गणतन्त्र दिवशको अवसरमा शनिवार एक कार्यक्रमकाबीच सम्मान गरेको हो।

 कर्मचारीहरुको सेवा प्रतिकाे लगाव, इमानदारीता र सेवाग्राहीसँगकाे व्यवहार लगायतका मूल्यांकनका आधारमा सम्मान गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ।

सम्मानित हुनेहरुमा मेडिकल अफिसर डा. रंजित सिंह मेहता, नर्सिङ प्रमुख  सीता बास्तोला, अनमी ललिता चौधरी ,स्वास्थ्यकर्मी एचऐ उज्ज्वल दाहाल, फिजियोथेरापिस्ट सितेस यादव, कार्यालय सहयाेगी सुबोध चौधरी,नेपाल प्रहरीका हवलदार सुरेश मंडल र अस्पताल सुरक्षा गार्ड नविन राना मगर ररहेका छन्।

सम्मानितहरुलाई अस्पताल प्रमुख तथा कार्यक्रमका सभापति मेसु डाक्टर अमिताभ ठाकुर, प्रमुख अथिति जिल्ला समन्वय समिति प्रमुख, जिल्ला समन्वय समिति महासंघ  तथा जिल्ला अस्पताल सुनसरीका अध्यक्ष राजन मेहता ,गाउँ पालिका महासंघ काेशी अध्यक्ष ऐयुव अन्सारी प्रादेशिक प्रदेश अस्पताल सुनसरीका प्रमुख प्रहरी नायव उपरीक्षक डा. सरोज सिंह,अस्पताल व्यवस्थापन समितिका सदस्य लक्ष्मण कार्की, जिल्ला प्रहरी सुनसरीका  प्रहरी नायव उपरीक्षक याेगराज खतिवडा लगायतले दोसल्ला र सम्मान पत्रले सम्मानित गरेका थिए।

सामाग्री श्रोत :
swasthyakhabar

रौतहट । रौतहटको मौलापुर नगरपालिका शिक्षाको मापदण्डको आधारमा मधेश प्रदेशमै उत्कृष्ठ नगरपालिका घोषित गरिएको छ।

शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राख्दै उत्कृष्ट प्रदर्शन गरेको मौलापुर नगरपालिका मधेश प्रदेशमै शिक्षाका मापदण्डको आधारमा ‘उत्कृष्ट नगरपालिका’ को रुपमा चयन भएको हो।

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था ९पान० द्वारा गठित पाँचजना विज्ञहरूको मूल्याङ्कन समितिले शिक्षाका २५ वटा मापदण्डहरूका आधारमा मौलापुर नगरपालिकालाई उत्कृष्ट नगरपालिका २०८२ पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

शिक्षाविद् प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाको संयोजकत्वमा गठित समितिले मूल्याङ्कन गरेको थियो। यही जेठ २३ गते हुने पानको दोस्रो राष्ट्रिय सम्मेलनमा मौलापुरकी मेयर रिना कुमारी साहलाई पुरस्कार प्रदान गरिने छ ।

आयोजक संस्थाले मेयर साहलाई पुरस्कार ग्रहणका लागि विशेष आमन्त्रण समेत गरेको मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले न्युज कारखानालाई बताए ।

मौलापुर नगरपालिकाको समग्र शैक्षिक अवस्था, शिक्षा क्षेत्रको बजेट विनियोजन, बाल शिक्षा र इसीडी व्यवस्था, सिपमूलक शिक्षाको प्रवर्धन, शिक्षक र विद्यार्थीको सन्तुष्टि देखिएको छ।

त्यस्तै, विद्यालय बाहिरका बालबालिकालाई शिक्षामा जोड्ने पहल, शिक्षण सिकाइको अनुगमन, स्थानीय पाठ्यक्रमको प्रयोग, सूचना प्रविधिको उपयोग, छात्रालाई शिक्षामा जोड्ने कार्यक्रम, विद्यालयको भौतिक पूर्वाधार, तथा गुनासो व्यवस्थापन जस्ता २५ वटै मापदण्डमा मौलापुरले उत्कृष्टता प्रदर्शन गरेको पानले जनाएको छ।

मेयर रिना कुमारी साहको कुशल नेतृत्व, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवालाको सहकार्यले गर्दा यो उपलब्धि हासिल भएको भन्दै मौलापुर नगरपालिकाले सबैप्रति कृतज्ञता व्यक्त गरेको छ।

मौलापुर नगरपालिकाले बालिकालाई शिक्षा प्रति आकर्षित गराउन निःशुल्क साईकल बितरण देखि उच्च शिक्षा अध्ययनरत बालिकालाई ल्यापटप समेत बितरण गर्दै आएको छ।

 


सामाग्री श्रोत :

मौलापुर नगर शिक्षाको मापदण्डको आधारमा मधेश प्रदेशमै उत्कृष्ठ

काठमाडौँ । केही हप्ता अगाडि दक्षिण कोरियामा सार्वजनिक भएको सामसङको अहिलेसम्मकै पातलो स्मार्टफोन सामसङ ग्यालेक्सी एस२५ एज अन्य देशका लागि पनि उपलब्ध भएको । छिमेकी देश भारत, अमेरिका, क्यानडा लगायतमा यो फोन उपलब्ध गराइएको हो । १२ जीबी र्‍याम भएको यो फोन अमेरिकी बजारमा २५६ जीबी स्टोरेज सहित १ हजार ९९ डलर (१ लाख ५० हजार रुपैयाँ) र ५१२ जीबी सहितको भेरियन्ट १ हजार २१९ डलर (१ लाख ६६ हजार रुपैयाँ) पर्ने बताइएको छ । 

५.८ मिलिमिटर मात्र पातलो फोनमा टाइटानियम फ्रेम प्रयोग गरिएको छ, जसमा नयाँ पुस्ताको कोर्निङ गोरिल्ला ग्लास सेरामिक टु पाउन सकिन्छ । यसमा २०० मेगापिक्सेलको वाइड लेन्स दिइएको छ । यसको अल्ट्रा-हाइ रेजोलुसनले कम प्रकाशमा पनि ४० प्रतिशत बढी उज्यालो फोटो खिच्न मद्दत गर्ने कम्पनीको दाबी छ । 

साथै, १२ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरामा अटोफोकस सुविधा पनि छ । यसमा टेलिफोटो क्यामेरा भने छैन । अगाडि १२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । फोनमा ग्यालेक्सी एस२५ मा प्रयोग भएको प्रोभिजुअल इन्जिन जस्ता प्रो-ग्रेड फिचरहरू  छन् । अडियो इरेजर र ड्रइङ असिस्ट सहितका ग्यालेक्सी एआई-पावर्ड एडिटिङ फिचरहरू पनि छन् । फोनमा स्न्यापड्रागन ८ जेन थ्री फर ग्यालेक्सी चिपसेट प्रयोग गरिएको छ ।

नेपाली बजारमा यसको उपलब्धताको विषयमा हालसम्म कुनै आधिकारिक जानकारी भने आइसकेको छैन । सामान्यतया विश्व बजारमा सार्वजनिक भएको एक दुई महिनाभित्र नै सामसङका फोनहरू नेपाली बजारका लागि उपलब्ध हुने गरेका छन् । 

पछिल्लो अध्यावधिक: जेठ १८, २०८२ ९:१३





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी – हमासले युद्ध विरामका लागि अमेरिकी प्रस्तावमा विभिन्न सर्त राखेको छ । १० जीवित इजरायली बन्दी तथा १८ शव हस्तान्तरण गर्न हमास तयार भएको छ । तर उसले आफ्नो तर्फबाट पनि वार्ताका लागि केही सर्त राखेको छ ।

गाजाबाट इजरायली सेना हटाउन तथा पूर्ण शान्तिका लागि हमासले सर्त राखेको हो । साथै निरन्तर राहत उपलब्ध गराउने अर्को सर्त छ । अहिले प्रस्ताव गरिएको सर्तमा यी विषय समावेश छैनन् ।

अमेरिकाले इजरायलले सो प्रस्ताव स्वीकार गरिसकेको बताएको छ । मध्यपूर्वका लागि अमेरिकी दूत स्टिफ विटकोफले भने यो सर्त अस्वीकार्य रहेको बताएका छन् । उनले हमासले युद्ध विराम सुरु गरेपछि मात्र अन्य विषयमा छलफल हुने बताए ।

युद्ध सुरु भए यता नै हमासले अहिले आफूलाई सबै भन्दा अप्ठेरो अवस्थामा पाएको छ । गाजामा बसोबास गर्ने २२ लाख मानिस अहिले सबैभन्दा अप्ठेरो अवस्थामा छन् । यसले उनीलाई उनीहरूलाई युद्ध विरामका लागि दबाब दिइरहेको छ ।

हमासका वार्ता संयोजक खालिल अल हाया भने अल्पकालीन शान्तिको प्रस्ताव मान्न तयार छैनन् । इजरायलले जमिनमा आक्रमण गर्ने तयारी गरेको कुरामा सचेत हुँदै हमास अमेरिकाको प्रस्ताव मानी हाल्ने पक्षमा पनि छैन ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

रोम- गर्भपतन चक्कीका आविष्कारकका रूपमा चिनिने फ्रेन्च वैज्ञानिक एटिएन-एमिल बौलियुको मृत्यु भएको छ। शुक्रबार पेरिसस्थित आफ्नै घरमा ९८ वर्षको उमेरमा निधन भएको  उनको संस्थाले एक विज्ञप्तिमा जनाएको छ।

डाक्टर तथा अनुसन्धानकर्ता दुवैको रूपमा परिचित बौलियुले स्टेरोइड हर्मोनहरूमा अनुसान्धान गरेका थिए। जसले   वैज्ञानिक, चिकित्सकीय र सामाजिक रूपमा ठूलो प्रभाव परेको थियो।

‘उहाँको अनुसन्धान विज्ञानले सम्भव बनाएको प्रगतिप्रति उहाँको आस्था, महिलाको स्वतन्त्रता प्रतिको समर्पण र सबैलाई राम्रो र लामो जीवन बाँच्न दिने चाहनाबाट प्रेरित थियो,’ बौलियु संस्थाले आफ्नो वेबसाइटमा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ।

एटिएन ब्लमको रूपमा सन् १९२६ डिसेम्बर १२ मा फ्रान्सको स्ट्रासबर्गमा जन्मिएका बौलियुले १५ वर्षको उमेरमा नाजी अधीनस्थ फ्रान्सेली प्रतिरोध आन्दोलनमा सामेल हुँदा ‘एमिल बौलियु’ नाम अपनाएका थिए।

उनी  इन्डोक्राइनोलोजिस्ट थिए, जसले सन् १९५५ मा चिकित्साशास्त्रमा र सन् १९६३ मा विज्ञानमा पीएचडी हासिल गरे। त्यसपछि सन् १९६३ मा उहाँले फ्रेन्च स्वास्थ्य तथा चिकित्सा अनुसन्धान संस्था अन्तर्गत हर्मोनमा आधारित अग्रगामी अनुसन्धान इकाई स्थापना गरे। सन् १९९७ सम्म उक्त इकाईका प्रमुख रहे।

सामाग्री श्रोत :
swasthyakhabar

वीरगञ्ज (पर्सा)। अस्पतालको अति संवेदनशील स्थान ‘आइसीयू ’ र ‘सिसीयू ’ कक्षमा आकस्मिक रुपमा विद्युत सेवा अवरुद्ध हुँदा के होला ? बिरामीको ज्यान जान पनि सक्ला । तर नारायणी अस्पतालको आइसीयू र सिसीयू कक्षमा करिव दुई घण्टा ३० मिनेट विद्युत सेवा अवरुद्ध हुँदा कुनैपनि विरामीको अकालमा ज्यान गएन ।

सो अस्पतालको सो कक्षमा शुक्रबार राति १०ः३० देखि शनिबार बिहान १ः०० बजेसम्म विद्युत् सेवा आपूर्ति विच्छेद भएको थियो । अस्पताल प्रशासन तथा व्यवस्थापनले समयमा ध्यान नदिँदा विद्युत सेवा अवरुद्ध भएको जनाइएको छ ।

सो समयमा अस्पतालको आइसीयू र सिसीयू श्ययमा १७ बिरामी उपचारत थिए । चिकित्सक र नर्सिङ स्टाफले आवश्यक समन्वय र सावधानी अपनाउँदा ती बिरामी जोगिएका थिए । विद्युत् अवरुद्ध भएपछि हुँदा चिकित्सक र नर्सले मोबाइलबाट ‘लाइट’ बालेर उपचार गरेका थिए । यसैबीच जिल्ला प्रशासन कार्यालयले नारायणी अस्पतालको आइसीयू र सिसीयू जस्तो संवेदनशील कक्षमा शुक्रबार राति विद्युत् आपूर्ति विच्छेद भएको घटनालाई गम्भीरतापूर्वक चासो लिएको छ ।

प्रशासनले विद्युत् आपूर्तिमा हेलचेक्याइँ गर्ने सम्बन्धित कर्मचारीलाई आन्तरिक छानबिन गरेर आवश्यक कारबाही गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र पर्साका प्रहरी प्रमुख गौतम मिश्रले शनिबार नारायणी अस्पताल विकास समितिका अध्यक्ष, निमित्त मेडिकल सुपरिटेन्डडेन्ट, प्रशासन प्रमुख, अस्पतालका विभिन्न विभाग तथा कक्षमा कार्यरत चिकित्सक, नर्सिङ विभागमा कार्यरत नर्सिङ स्टाफ, इलेक्टिसियनलगायत अस्पतालसँग जोडिएका सबै निकायका पदाधिकारी तथा कर्मचारीसँग शनिबार संयुक्त बैठक राखेर अस्पतालजस्तो संवेदनशील क्षेत्रमा गम्भीर हुनका लागि कडा निर्देशन दिए ।

“अस्पतालको आइसीयू र सिसीयूजस्तो संवेदनशील ठाउँमा साढे दुई घण्टा विद्युत् अवरुद्ध हुनु निकै गम्भीर विषय हो”, प्रजिअ अर्यालले भने, “तपाईँहरूका कारणले कुनै बिरामीको ज्यान जोखिममा परेको भए जिम्मेवारी लिने कसले हो । हिजोको विषम घटनाबाट पाठ सिक्दै आगामी दिनमा यस्ता खालका कुनै पनि गल्ती र कमजोरी नदोहोर्याउनका लागि निर्देश गर्दछु, । जनताको स्वास्थ्यजस्तो कुरामा कसैले पनि खेलवाड गर्न पाइँदैन ।”

प्रहरी प्रमुख मिश्रले अस्पताल प्रशासनले इलेक्टिसियनलगायतका कर्मचारीलाई २४सैँ घण्टा ड्युटीमा खटाउनका लागि पनि अनुरोध गरे। “अस्पतालको सघन कक्षमा बिजुली कटौती हुँदा इलेक्ट्रियन उपलब्ध नहुनु पनि गम्भीर विषय हो”, उनले भने, “ड्युटीमा खटिने कर्मचारी शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने र आफ्नो जिम्मेवारी सम्हानुपर्ने बताए ।”

नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले शुक्रबार राति भएको घटना गम्भीर प्रकृतिको भएकाले आगामी दिनमा त्यस्ता खालका घटना दोहोर्याउन नदिने प्रतिबद्धता व्यक्त गरे । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट चित्ररञ्जन साहले आइसीयू र सिसीयू कक्षमा कमजोर प्रकृतिको वायरिङको कारणले सो घटना भएको दाबी गरे। उनले भने, “अस्पताल प्रशासनले आइसीयूमा भएका दुई जना सिकिस्त प्रकृतिका बिरामीलाई अर्काे अस्पतालमा पठाउने तयारी गर्दागर्दै विद्युत् आएसँगै पठाउन परेन ।”


सामाग्री श्रोत :

चिकित्सकले ‘लाइट’ बालेर ‘आइसीयू’ र ‘सिसीयू’ कक्षका बिरामी जोगाए

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल सरकार डिजिटल युग निर्माण गर्न खोजिरहेको बताएका छन् । जापानको राजधानी टोकियोमा शुक्रबार सम्पन्न भएको एसिया-प्रशान्त दूरसञ्चार (एटीपी) २०२५ मन्त्रीस्तरिय बैठकलाई सम्बोधन गर्दै मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्क (डिएनएफ) लाई उच्च प्राथमिकतामा राखेको समेत जानकारी दिए ।

बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री गुरुङले डिएनएफको सफल कार्यान्वयनका लागि सूचना प्रविधिको पारिस्थितिक प्रणाली र अनुकूल वातावरणको तत्परता आवश्यक रहेको बताए ।

गोरखापत्रमा प्रकाशित समाचारका अनुसार मन्त्री गुरुङले डिजिटल अर्थतन्त्र वृद्धिसँगै सुरक्षित, समावेशी र अवसरयुक्त डिजिटल युग निर्माण गर्न खोजिएको अभिव्यक्ति दिएका थिए । साथै सुरक्षित र विश्वसनीय डिजिटल वातावरणको आजको आवश्यकता रहेकामा जोड दिँदै नेपालमा डिएनएफले डिजिटल रुपान्तरणका लागि सुरक्षा र विश्वासलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरेका थिए ।

नागरिकलाई सशक्त बनाउन, साइबर सुरक्षा मुद्रा निर्माण गर्न, डिजिटल पूर्वाधारमा लगानी गर्नका लागि सरकार लागेको उहाँको भनाइ थियो । साथै डेटा सुरक्षित गर्नुका साथै नवप्रवर्तनलाई तीव्रता दिने विषयमा पनि नेपालको प्रमुख चासो रहेको बताए र त्यस्तै नेपाल एपिटीसँग गहिरो साझेदारीको रूपमा संलग्न भई ज्ञान बाँड्ने प्रतिवद्धतासमेत मन्त्री गुरुङले गरे ।

नेपाल डिजिटल छलाङको चरणमा रहेको जानकारी दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीको दूरदर्शी नेतृत्वमा उद्योग स्थापना गर्न, रोजगारी सिर्जना गर्न, कुल गार्हस्थ उत्पादन बढाउन, नवीन र समावेशी अर्थतन्त्र सिर्जना गर्न दृढ सङ्कल्पका साथ काम गरिरहेको उनले बताए । 

 

पछिल्लो अध्यावधिक: जेठ १८, २०८२ ८:५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा(भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।

भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।

डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।

मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे, पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आपूmले पुरस्कार स्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो ।

आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ । 

पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यस अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

रेडियोसर्जरी भन्नाले शल्यक्रियाबिना उच्च-परिशुद्धता किरणको प्रयोगद्वारा मस्तिष्कमा रहेका विकृत वा रोगग्रस्त संरचनालाई लक्ष्य गरी उपचार गर्ने विधिलाई जनाइन्छ। यसको उद्देश्य रोगीको टिश्युमा नोक्सानी नगरी समस्या समाधान गर्नु हो। यो प्रविधिले शल्यक्रियाको विकल्प प्रदान गर्छ, विशेष गरी ती अवस्थामा जहाँ खुल्ला शल्यक्रिया जोखिमयुक्त हुन्छ।

रेडियोसर्जरीको अवधारणा सर्वप्रथम सन् १९५१ मा स्वीडेनका न्यूरोसर्जन डा. लार्स लेक्सेलले प्रस्तुत गरेका थिए। उनले विकिरणको प्रयोगद्वारा मस्तिष्कको गहिरो भागमा रहेका विकृत संरचनाहरूलाई बिना चिरफार उपचार गर्ने लक्ष्य राखेका थिए। सन् १९६८ मा उनले ‘गामा नाइफ’ नामक उपकरणको विकास गरे, जुन पहिलो व्यावसायिक रेडियोसर्जरी प्रणाली हो। पछिल्लो दशकहरूमा साइबरनाइफ, लीनियर एक्सेलेरेटर (लिनियाक) आधारित प्रणालीहरूको प्रयोग पनि प्रचलित भएको छ।रेडियोसर्जरीमा विभिन्न प्रविधि प्रयोग गरिन्छ:

१. गामा नाइफ: मस्तिष्कभित्रको सानोतिनो भागलाई लक्ष्य गरी २०१ वटा कोबाल्ट-६० स्रोतबाट आउने विकिरण बिन्दुमा केन्द्रित गरिन्छ।

२. लिनाक (लिनियर एस्सेलेरेटर): उच्च-ऊर्जा एक्स-रे किरण प्रयोग गरी लक्ष्यित भागमा विकिरण पठाइन्छ।

३. साइबर नाइफ: कम्प्युटर-संचालित रोबोटिक प्रणाली हो जसले लक्ष्यलाई सटीक पहिचान गरी हरेक कोणबाट विकिरण पुर्याउँछ।

यी विधिहरू सबैमा कम्प्युटराइज्ड इमेजिङ (सीटी/एमआरई) द्वारा लक्ष्य निर्धारण गरिन्छ र कम्प्युटर प्रणालीद्वारा विकिरणको मात्रालगायत योजना तयार गरिन्छ।

रेडियोसर्जरीले कोशिका स्तरमा असर गर्छ। उच्च-ऊर्जा विकिरणले डीएनए क्षति गरेर लक्षित कोशिकाहरूको विभाजन प्रक्रिया रोक्छ। यसले ट्यूमर, एभीएम (आर्टरीओभनेस मालफर्मेसन), ट्राइजेमिनल न्युराल्जिया जस्ता अवस्थाहरूमा कोशिका नष्ट वा निष्क्रिय पारिन्छ। असरको प्रक्रिया सामान्यतया बिस्तारै देखिन्छ।

प्रयोगका क्षेत्रहरू 
    १. ब्रेन ट्युमर्स (मेनिन्जिओमा, भेस्टिबुलर स्चेवाननोमा, प्युट्युटरी एडेनोमा, ब्रेन मेटास्टासेस, रिकरेन्ट ग्लिओमास)

    २.भास्कुलर मालफर्मेसन (एभीएमएस)

    ३. ट्रिगेमाइनल न्युरल्जिया

    ४. पार्किन्सनिज्म 

    ५. अब्सेसिभ-कम्पलसिभ डिसअर्डर (ओसीडी) एन्ड डिप्रेसन 

    ६.पूर्ण रूपमा ननिकालिएको ट्यूमरमा।

यद्यपि रेडियोसर्जरी अपेक्षाकृत सुरक्षित विधि हो, केही संभावित साइड इफेक्टहरू हुन सक्छन्:

    •    टिश्यु सुन्निनु (एडेमा)
    •    टेम्पोररी न्युरोलोजिकल डिफिसिट
    •    रेडिएशन नेक्रोसिस
    •    सिरदुख वा मन्द ग्रेडको लक्षण
    •    लामो समयपछि विकिरणसम्बन्धी टिस्यु परिवर्तन

यी असरहरू प्रायः लक्ष्य स्थान, विकिरणको मात्रा, र रोगीको समग्र स्वास्थ्य स्थितिमा निर्भर गर्छन्।
नेपालमा रेडियोसर्जरीको सेवा सीमित रूपमा उपलब्ध छ।

    १.    एनएएमएस, बीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल (भरतपुर)
    •    लिनियाक प्रणालीद्वारा केही सीमित केसमा रेडियोसर्जरी जस्तै सेवा दिइन्छ।
    २.    सिभिल सर्विस हस्पिटल, काठमाडौं ।
    •    रेडियोथेरापी युनिटमा केही आधुनिक प्रणाली रहेका छन्, तर पूर्ण रेडियोसर्जरीको रूपमा प्रयोग सीमित छ।
    ३.    प्राइभेट सेन्टर्स: केही निजी क्यान्सर अस्पतालहरूले विदेशमा रेफर गरेर सेवा प्रदान गर्छन्।

सीमाहरू (कन्स्ट्रेन्ट्स/च्यालेन्जेज):
    •    उपयुक्त उपकरणको अभाव: गामा नाइफ, साइबरनाइफ जस्ता अत्याधुनिक प्रणाली नेपालमा अझै स्थापना भइसकेको छैन।
    •    प्रशिक्षित जनशक्ति कम: न्यूरोरेडियोसर्जरीका लागि आवश्यक विशेष तालिम प्राप्त जनशक्ति अझै पर्याप्त छैन।
    •    आर्थिक सीमाहरू: यस्तो प्रविधिमा उच्च लागत लाग्ने भएकाले सरकारी लगानी कम छ।
    •    जनचेतना र रेफरल प्रणाली: धेरै चिकित्सक तथा बिरामीहरूमा रेडियोसर्जरीको जानकारी नहुनु र यथासमय रेफरल नहुनु।
    •    अवधारणात्मक समस्या: धेरै मानिसहरू अझै पनि “शल्यक्रिया” भन्नाले चिरफार गर्नुपर्छ भन्ने धारणा राख्दछन्।

मस्तिष्कको रेडियोसर्जरी आधुनिक, सटीक र न्यून जोखिमयुक्त विधि हो जुन धेरै प्रकारका मस्तिष्क सम्बन्धी विकृति र रोगहरूको उपचारमा प्रयोग गर्न सकिन्छ। नेपालमा यसको पहुँच सीमित भए पनि भविष्यमा अत्याधुनिक उपकरणको स्थापना, जनशक्ति प्रशिक्षण र जनचेतनासँगै यसले मस्तिष्क रोगको उपचारमा ठूलो परिवर्तन ल्याउन सक्छ।

(डा झा वीर अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन्)
 

सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट