
चितवन– मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै गएको पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ।
सडक खण्डको मुग्लिङ-नारायणगढ सडक खण्डको तुईन खोलामा ठुलो पहिरो खसेको हो।
उक्त स्थानमा पहिरो फाल्ने मेशिन संचालन भैसकेको र माथिबाट थप पहिरो नखसे अबको २-३ घण्टाभित्र सडक संचालनमा आउने सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई एकीकृत गर्न विधेयकको मस्यौदा तयार पारेको छ। मन्त्रालयले विधेयकको मस्यौदामाथि सुझाव दिन सार्वजनिक सूचना जारी गरेको छ।
मन्त्रालयले १५ दिन भित्र विधेयकको मस्यौदामाथि सुझाव दिन आग्रह गरेको छ।
प्रतिष्ठानहरुको एकीकृत ऐन आएपछि अस्पतालहरुमा शैक्षिक कार्यक्रम सञ्चालन हुनका साथै प्रतिष्ठान स्थापना नभएका प्रदेशमा समेत छाता प्रतिष्ठान ऐन अन्तर्गत शैक्षिक संस्था स्थापना तथा सञ्चालन गर्न सकिने भई प्रतिष्ठानहरुको कामकारवाहीमा एकरुपता, सेवा शर्त र सुविधामा एकरुपता कायम हुने मन्त्रालयले जनाएको छ।
यसका साथै प्रत्येक प्रतिष्ठानहरुमा रहेको उपकुलपति लगायतका पदाधिकारीको संख्या कम भई न्यूनतम पदाधिकारीबाट काम हुने, आर्थिक पारदर्शिता लगायतका विषयबाट वित्तिय अनुशासन कायम भई सुशासन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने विधेयक ल्याउनुका कारणमा मन्त्रालयले उल्लेख गरेको छ।
यो विधेयक संसदबाट पारित भएर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि ऐनका रुपमा आउने छ। त्यसो भएमा हाल स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका ६ वटा स्वास्थ्य प्रतिष्ठानहरु स्वत छाता ऐन अन्तर्गत आउने छन्।विधेयक मस्यौदामा ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको ऐन खारेज हुने उल्लेख छ।
मस्यौदाअनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐन अन्तर्गत हुने छन्।
छाता ऐन आएपछि हालका प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुनेछन्। ‘यो ऐन लागु हुनुपूर्व प्रचलित कानुन बमोजिम स्थापना भई सञ्चालनमा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु देहाय बमोजिम हुने गरी अध्ययन संस्थानमा परिणत भएको मानिनेछ’, विधेयक मस्यौदाको दफा ३२ (१) मा उल्लेख छ।
प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुँदा छाता ऐनमा यी सबैको छाता संस्थाका रुपमा ‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान’ हुने छ।एकीकृत प्रतिष्ठानमा कुलपति, सहकुलपति र उपकुलपति रहने व्यवस्थाको प्रस्ताव गरिएको छ।
हालका पदाधिकारीको संख्या घट्ने
हाल ६ वटा प्रतिष्ठानमा उपकुलपति, रेक्टर, रजिष्ट्रार, डिन लगायतका पदाधिकारीहरु रहेका छन्। मस्यौदा अनुसार छाता ऐन आएपछि प्रतिष्ठानमा ठूलो संख्याम रहेका यस्ता पदाधिकारीको संख्या समेत घट्ने छन्। अहिले धेरै पदाधिकारी रहेका प्रतिष्ठान अध्ययन संस्थानमा परिणत भएसँगै ती संस्थामा डिन र अस्पताल निर्देशक रहने छन्। डिनले शैक्षिक तथा प्राज्ञिक कार्यको प्रमुख भइ काम गर्ने छन् भने अस्पताल निर्देशकले अस्पतालको प्रशासकीय प्रमुखको रुपमा काम गर्ने छन्।
हेरौं मस्यौदाको पूर्णपाठ
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । नेपाली साइबर सुरक्षा अनुसन्धानकर्ता विपिन साउद अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को ‘हल अफ फेम’मा सूचीकृत भएका छन् । नासाको प्रणालीमा रहेको गम्भीर सुरक्षा कमजोरी पत्ता लगाएर त्यसको जानकारी गराए बापत नासाले उनलाई यो सम्मान दिएको हो ।
डडेलधुराका २२ वर्षीय साउदले नासाको एक आधिकारिक अनुसन्धान पत्रमा रहेको गुगल ड्राइभको लिङ्क मार्फत जोकोहीले एक्सेस पाउन सक्ने कमजोरी पत्ता लगाएका थिए । ‘ब्रोकन एक्सेस कन्ट्रोल’ (Broken Access Control) भनिने यो कमजोरीका कारण उक्त ड्राइभमा रहेका नासाका महत्त्वपूर्ण अनुसन्धानका कागजात, व्यक्तिगत पहिचान खुल्ने विवरण र अन्य संवेदनशील डेटा जोकोहीले हेर्न, एडिट गर्न र मेटाउन समेत सक्ने अवस्थामा थिए ।
“सबैभन्दा पहिले मैले एउटा पीडीएफ फाइलको रिफ्रेन्समा राखिएको गुगल ड्राइभको लिङ्क फेला पारेँ,” टेकपानासँग साउदले भने, “त्यो फोल्डर एक्सेस गर्दा त्यहाँ रहेका फाइल पब्लिकल्ली एडिट गर्न मिल्ने अवस्थामा थिए । मैले नासाका ती अनुसन्धानका डेटा म्यानुपुलेट गर्न, डिलिट गर्न र फाइलका कोलाबोरेटरलाई हटाउन समेत सक्थेँ ।”
उनका अनुसार उक्त फोल्डरमा नासाका कर्मचारीका ‘@nasa.gov’ इमेल भएका प्रयोगकर्ता समेत थिए । यसैलाई हटाएर फाइलको दुरुपयोग गर्न सकिने जोखिम भएको उनले सुनाए । यो कमजोरीका कारण नासाको डेटाको गोपनीयता र विश्वसनीयतामाथि ठुलो प्रश्न उठ्न सक्थ्यो ।
साउदले यस्ता तीन ओटा फरक-फरक कमजोरी पत्ता लगाएका थिए । पछि उनले यसलाई ‘बग क्राउड’ नामक प्लेटफर्म मार्फत नासालाई रिपोर्ट गरे । बग क्राउड भनेको साइबर सुरक्षा अनुसन्धानकर्ता र संस्थाबिच मध्यस्थता गर्ने एक प्लेटफर्म हो ।
नासाको सुरक्षा टोलीले उनको रिपोर्टलाई प्रमाणित गर्दै कमजोरीलाई ‘गम्भीर’ (P3-Critical) तहको मान्यता दियो । कमजोरी समाधान भइसकेपछि नासाले साउदलाई प्रशंसा पत्र प्रदान गरेको छ । साउदका अनुसार उनको नाम बग क्राउडमा सूचीकृत भइसके पनि वेबसाइटको ‘हल अफ फेम’मा आइसकेको छैन । यद्यपि बग क्राउडमै सूचीकृत हुनुलाई नै नासाको हल अफ फेममा सूचीकृत भएको मानिन्छ ।
“सुरुमा मैले रिपोर्ट गर्दा नासाका प्रतिनिधिले यो कति गम्भीर हो भनेर जाँच्न केही समय लगाए । तर कमजोरीको असर पुष्टि भएपछि उनीहरूले तुरुन्तै समाधान गरे,” साउदले थपे ।
केही वर्षयता साइबर सुरक्षा अनुसन्धानमा सक्रिय साउदले यसअघि युरोपेली संघ, सिङ्गापुर सरकार (boss24) नेदरल्यान्ड्सको सरकारको प्रणाली, मेटामा समेत सुरक्षा कमजोरी पत्ता लगाएका थिए ।
पछिल्लो अध्यावधिक: असार ३, २०८२ ११:२७
सामाग्री श्रोत :
टेक पाना
चितवन– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन्।
प्रेस सेन्टर चितवनले आज दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताएका हुन्।
उनले भने, “यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईँहरूले पनि थाहा पाउनुभएको छ र हामीले पनि थाहा पाएकै छौँ।” यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ।
यो मुद्दालाई त्यत्तिकै नछाड्ने उनले बताए। यसका लागि जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने उनको धारणा छ। उनले भने, “मैले छोडेर पनि यो मुद्दा नेपाली जनताले छाड्ने कुरा हुँदैन।”
प्रचण्डले आफूहरू प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको बताए। उनले भने, “हामीले संविधानका निम्ति, ऐन कानुनका निम्ति, सिस्टमका निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ।”
अध्यक्ष प्रचण्डले बजेट पारित गर्नुपर्ने, सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारीबोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरिएको स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
चित्लाङमा मेरो एउटा सुटिङ थियो। सिगार तान्नुपर्ने र धुवाँ पनि उडाउनुपर्ने दृष्य थियो। नयाँ कलाकार थियो, घोडाबाट लात्तीले हान्नुपर्ने दृष्य थियो। तर, सिंगार तान्नेबित्तिकै रिंगाटा लाग्यो। त्यसपछि म घोडाबाट झरें र त्योबेला महशुस भयो कि सिगार कति खतरानक हुन्छ।
त्यो चाहिँ कथाले नै मागेको हो। कतिपय ठाउँमा कथाले माग्छ। कथाले नमागेको ठाउँमा न्युनिकरण गर्न सकिन्छ। हामीकहाँ कस्तो पनि छ भने कथाकारले केही लेखेको हुँदैन। पटकथाकारले ‘यत्तिकै चुरोट खाएर परबाट आइरहेको थियो’ भन्ने लेखिदिन्छ। थप सृजनशील दृष्य नआउँदा त्यस्तो लेखिन्छ। न त्यो चुरोट खाएको दृष्यको पछिल्ला दृष्यमा तादम्यता हुन्छ । यस्ता चिजहरु हटाउनुपर्छ। कतिपय अवस्थामा त्यही प्रतिकात्मक हुन्छन्, जस्तो खुट्टाले कुल्चिनुपर्ने मात्रै।
बच्चाहरुले चुरोट चलचित्रबाट सिकेको कुरामा म नाइ भन्दिनँ। झन्डै मैले पनि सिकेको । रजनीकान्तले चुरोट घुमाएर मुखमा राखेको दृष्यबाट म प्रभावित थिएँ। मैले डटपेनबाट घुमाउन सिकें। झन्डै चुरोट सिकेको तर सिकिनँ । मलाई प्रभाव त पारेको रैछ नि। त्यो प्रभावको कुरा मैले निरन्तरता दिइनँ मात्रै हो।
आउनुअघि एउटा रिसर्च हेर्दै थिएँ, अजय देवगानको गुट्खा खाएको हेरेर गुट्खा खाने कलेजका छन् विद्यार्थी छन्। ड्रग्सको सट हामीले लिन्छौं । खिच्दा मजा त आउँछ । एउटा मान्छेलाई ड्रग यसरी खाइदो रहेछ भन्ने सन्देश पनि दिइदो रहेछ । बच्चाहरुले सिक्न सक्छन्।
हाम्रा दृष्यमा धेरैले प्रयोग गर्ने एउटा दृष्य छ- गरिब देखाउनुपर्यो भने उसको कानमा बिडी राख्नुपर्छ । गरिब देखाउन बीडी कानमै हाल्न जरुरी थिएन होला। त्यो सृजनशीलताको कमीको परिणाम हो। चलचित्र लेख्ने मानिस र असिस्टेन्ड डायरेक्टरलाई यस विषयमा सचेत गराउन जरुरी छ।
मान्छेहरु भन्छन्- नो स्मोकिङ लेखेर कहाँ हुन्छ र ? त्यसले पनि न्युनिकरण गर्न मद्दत पुग्छ। चलचित्रमा सन् २००५ मा यस्तो दृष्य राख्न सुरु भएको रहेछ इन्डियामा । फिल्म बनाउनेले सुरुको बारेमा चुरोट रक्सी खाने गरेको दृष्य नै झिक्न थाले।
हाम्रो चलचित्रमा ट्रिटमेन्ट दिने भन्ने हुन्छ । जस्तो कोही कपाल कोर्छ, कोही सुर्ती माड्छ, कोही चुरोट खान्छ। यी झुर ट्रिटमेन्ट हुन्। यो भन्दा अघि बढ्नुपर्छ।
(स्वास्थ्य खबरको आयोजनमा भएको ‘दृष्यमा सुर्तीजन्य पदार्थको प्रयोग : कथाले माग्छ ?’ शिर्षकमा बोल्ने क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले प्रस्तुत गरेका विचारको सम्पादित अंश)
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । करिब पाँच लाख विद्यार्थी सहभागी परीक्षाको परीक्षण कार्य अन्तिम चरणमा पुगेको र नतिजा त्रुटिमुक्त बनाई सार्वजनिक गरिने बोर्डले जनाएको छ ।
यसैबिच आज हामी एसईईपछि सूचना प्रविधि (आईटी) क्षेत्रमा विद्यार्थीले के-के गर्न सक्छन् र भविष्यमा कस्ता कस्ता विकल्प छन् भनेर जानकारी दिँदै छौँ:
हुन त विद्यालय तहमा कम्प्युटर विषय हुन्छ । एसईईपछि सीटीईभीटीबाहेक अरूमा आईटीसम्बन्धी छुट्टै कोर्स छैन । आईटी कोर्स नै अध्ययन गर्न भने कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्छ ।
कक्षा ११/१२ वा ‘ए लेभल’ मा ऐच्छिक विषयमा कम्प्युटर रहेको छ । आईटीमा रुचि भएका विद्यार्थीले यो विषय चयन गर्न सक्छन् ।
एसईईपछि नै आईटीको कोर्स गर्न भने सीटीईभीटीले सञ्चालन गर्ने कोर्स उपयुक्त हुन्छन् । हाल सीटीईटीभीटीले प्रि-डिप्लाेमा तह (१८ महिने) मा कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन तथा सेक्रेटरियल म्यानेजमेन्टकाे कोर्स सञ्चालन गरिरहेकाे छ ।
सीटीईभीटीका अनुसार डिप्लाेमा तह (तीन वर्षे) मा कम्प्युटर इन्जिनियरिङ र इन्फरमेसन टेक्नाेलाेजी (आईटी)काे पढाइ हुन्छ । सीटीईभीटीले यी काेर्स देशभरका एक सय बढी शैक्षिक संस्थामा सञ्चालन गरिरहेकाे छ । तत्कालै रोगजार हुन चाहने विद्यार्थीले सीटीईभीटीका कोर्स गर्दा राम्रो हुन्छ ।
यसबाहेक कक्षा ११ पढिरहँदा विद्यार्थीले समय निकालेर विभिन्न सीप सिक्न सक्नेछन् । यसअन्तर्गत ग्राफिक्स डिजाइनिङ, भिडिओ एडिटिङ, फोटोग्राफीजस्ता मल्टिमिडियाका सीप उपयोगी हुन्छन् ।
यो छोटो समयमा विद्यार्थीले मल्टिमिडियाको सीप सिक्न सक्छन् । जसका लागि कुनै इन्स्टिच्युटमा गएर, अनलाइनमा सर्च गरेर, युट्युबमा भिडिओ हेरेर सिक्न सकिन्छ । कतिपय इन्स्टिच्युटले त्यस्ता प्रकारको सीप सिकाएर इन्टर्नको अवसर पनि दिने गर्छन् । त्यसैले विद्यार्थीले पढ्दै कमाउन पनि सक्छन् ।
अर्कोतर्फ, सफ्टवेयर, वेबसाइट वा एपहरूमा रुचि छ भने प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न सकिन्छ । आजभोलि इन्टरनेटमा विभिन्न प्रोग्रामिङ ल्याङ्ग्वेजको कोर्स पाइन्छ । विद्यार्थीले यो समयमा एचटीएमएल, सीएसएस, जाभा, सी, सी++ जस्ता प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न सक्छन् ।
यसरी यो समयमा प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न मेहेनत गरे सामान्य खालका वेबसाइट बनाउन, मोबाइल एप बनाउन सकिन्छ । यसले भविष्यको प्रोग्रामिङ-यात्रालाई समेत धेरै फाइदा पुर्याउन सक्छ ।
त्यस्तै, सामाजिक सञ्जालका प्रयोगकर्ताको संख्या बढिरहँदा डिजिटल मार्केटिङको पनि आवश्यकता र महत्त्व बढिरहेको छ । एसईई सकेका विद्यार्थीले अनलाइन वा भौतिक रूपमा नै इन्स्टिच्युटमा गएर डिजिटल मार्केटिङ सिक्न सक्छन् । यसमा सर्च इन्जिन अप्टिमाइजेस (एसईओ), सर्च इन्जिन मार्केटिङ (एसईएम) आदि सीप सिक्न सक्छन् ।
त्यस्तै, अहिले रोबोटिक्स र इन्टरनेट अफ थिङ्स (आईओटी)को प्रयोग बढ्दै गइरहेको छ । यसको विकासमा ठुला प्रविधि कम्पनी समेत लागेका छन् ।
यदि विभिन्न सामानहरू बनाउन मन लाग्छ भने यो छोटो समयमा विद्यार्थीले रोबोटिक्स र आईओटीका आधारभूत र सैद्धान्तिक विषय सिक्न सक्छन् । यससम्बन्धी इन्टरनेटमा थुप्रै कोर्स, ट्युटोरियल पाइन्छ ।
अर्कोतर्फ, कुर्सीमा बसेर ल्यापटप वा कम्प्युटरमा काम गर्नुमात्र आईटी होइन । त्यसमा हार्डवेयरको पनि काम धेरै हुने गर्छ । विभिन्न ट्रेनिङ सेन्टरले कम्प्युटर रिपेयरिङको सीप सिकाइरहेका हुन्छन् ।
त्यहाँ गएर विद्यार्थीले यस प्रकारको सीप सिक्न सक्छन् । यस प्रकारको सीपकाे पनि प्रविधि क्षेत्रमा माग बढिरहेकाे छ ।
एसईईपछि आईटी क्षेत्रमा करिअर सुरु गर्न उत्तम समय हो । आफ्नो रुचिअनुसार विषय छनोट गरी नि:शुल्क स्रोतबाट सिक्न थाल्नुहोस्, प्रोजेक्ट बनाएर अभ्यास गर्नुहोस् र अनुभव बटुल्नुहोस् । नेपालको आईटी क्षेत्र विस्तार भइरहेको अवस्थामा स्थानीय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि रोजगारीका अवसरहरू बढेका छन् ।
पछिल्लो अध्यावधिक: असार ३, २०८२ ११:८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ– वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध भएको छ।
उक्त कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिएका हुन्।
प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा पहिरो खस्दा आज बिहानैदेखि कान्ति लोकथप अवरुद्ध भएको छ। यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा तीन ठाउँमा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिका–२ कोदारी, वडा नं ३ लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।
यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलाको बाढीले डाइभर्सन नै बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। त्यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बर्लबामा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ भने जुम्लाको सिंजामा पहिरो खस्दा बन्द गराएको जुम्ला–मुगु सडक र धनकुटाको साँगुरीगढी गाउँपालिका–५ को रवि–राके–भेडेटार सडक एकतर्फी खुलाइएको छ। अवरुद्ध रहेका सडक खुलाउने प्रयास जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ- उपेन्द्र देवकोटा फाउण्डेशनले यही असार ४ र ५ गते ‘स्नायु विज्ञानको विकासक्रम एवं नवप्रवर्तन’ भन्ने नाराका साथ दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ।
फाउण्डेशनले सातौँ पुण्यतिथिको अवसरमा आयोजना गर्न लागेको हो। उक्त सम्मेलनमा न्युरो सर्जरी, न्युरो मेडिसिन, न्युरो रेडियोलोजी, न्युरो इन्टरभेन्सन, न्युरो ओटोलोजी, न्युरो एनेस्थेसिया, न्युरो साइक्याट्री, न्युरो नर्सिङ र पुनःस्थापनाजस्ता स्नायु विज्ञानका विविध विधालाई एउटै मञ्चमा छलफल गरिनेछ।
बढ्दो दरमा देखापरिरहेका स्ट्रोक, पार्किन्सन, छारे रोग, अल्जाइमरजस्ता स्नायु रोगको समयमै पहिचान र प्रभावकारी उपचार विधिबारे छलफल हुने यस सम्मेलनलाई रोग निदान तथा उपचार प्रणालीमा गुणात्मक सुधार ल्याउने अवसरका रूपमा लिइएको छ। सम्मेलनले प्राप्त तथ्यांक र सुझावले स्वास्थ्य अभ्यास र नीतिगत तहमा समेत योगदान पुर्याउने आयोजकको विश्वास छ।
सम्मेलनमा अमेरिकास्थित हावर्ड युनिभर्सिटी अन्तर्गतको बोस्टन चिल्ड्रन अस्पताल, लण्डनको किङ्स कलेज, भारतका प्रतिष्ठित संस्था एआईआईएमएस र क्रिस्टियन मेडिकल कलेज, इजिप्ट, फ्रान्स, पाकिस्तानलगायतका देशका ख्यातिप्राप्त विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहनेछ। २५ वटा सत्रमा १३५ कार्यपत्र प्रस्तुत गरिने सम्मेलनमा व्यापक अन्तरक्रिया र विमर्श गरिनेछ।
सम्मेलनअघि असार २ र ३ गते अस्पताल परिसरमै हुने ‘प्री–कन्फरेन्स’ अन्तर्गत विभिन्न प्रयोगात्मक सीप कार्यशाला तथा प्रशिक्षण कक्षा सञ्चालन गरिनेछ। बेलायतका डा. बसेल जेबियन, डा. फ्रान्सेस्को भर्गानी, भारतका डा. आनन्द बाल सुब्रमनियम लगायत ३१ जना विज्ञहरुले फङ्कसनल न्युरोसर्जरी, इन्डोस्कोपिक ब्रेन र स्पाइन सर्जरी, न्युरो इन्डो भास्कुलर तालिम, बोटुलिनम टक्सिनको प्रयोगलगायत विषयमा ६० देखि ७० जना सहभागीलाई तालिम दिनेछन्। नर्सहरुलाई लक्षित गर्दै एडभान्स कार्डियाक लाइफ सपोर्ट तालिम पनि सञ्चालन गरिनेछ।
प्रा. डा. देवकोटाले करिब ३७ वर्षअघि सुरु गरेको आधुनिक स्नायु शल्यक्रिया तथा स्नायु विज्ञानको विकासले आज नेपाललाई अन्तर्राष्ट्रिय पहिचान दिलाएको आयोजक संस्थाको भनाइ छ।
फाउण्डेशनका अनुसार सम्मेलनको माध्यमबाट डा. देवकोटाको योगदानको सम्मान, कार्यको निरन्तरता तथा नेपालमा स्नायु विज्ञानको प्रवर्धन र सर्वसुलभ सेवा विस्तारका लागि आवश्यक सहकार्य र नीतिगत छलफल गरिनेछ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । गुगलले सार्वजनिक गरेको भिडिओ बनाउने एआई टुल ‘भिओ ३’ (Veo 3) को नेपालमा दुरुपयोग बढेको छ । टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जालमा भाइरल हुने होडमा केही प्रयोगकर्ताले अश्लील र अपाच्य संवाद प्रयोग गरी भिडिओ बनाइरहेका छन् ।
गुगलले गत २० मे २०२५ मा आफ्नो भिडिओ क्रियसन एआई टुल ‘भिओ ३’ सार्वजनिक गरेको थियो । यसअघि बजारमा शब्दबाट भिडिओ बनाउने सयौँ टुल भए पनि ‘भिओ ३’ ले भिडिओसँगै त्यसमा उपयुक्त हुने अडियो र संवादसमेत तयार पार्ने सुविधा दिएको छ ।
गुगल डिपमाइन्डका सीईओ डेमिस हासाबिसले यसलाई ‘भिडिओ जेनेरेसनको शान्त युगको अन्त्य’ भनी टिप्पणी गरेका थिए । उनले किन पनि यसो भनेका थिए भने यसअघिका टुलहरूले आवाज बिनाका भिडिओ मात्र बनाउँथे । ‘भिओ ३’ले भिडिओमा देखिने पात्रको ओठको चाल (लिप सिङ्क) समेत दुरुस्तै मिलाउन सक्छ । त्यसैले पनि यो अन्य भिडिओ क्रियसन एआई टुलभन्दा पृथक छ ।
सुरुवातमा मासिक २५० डलरको महँगो शुल्कमा उपलब्ध यो टुललाई गुगलले पछि मासिक १९.९९ डलरमा विश्वव्यापी रूपमा उपलब्ध गरायो । एक महिनाको निःशुल्क परीक्षण (ट्रायल) अवधिका कारण यसको प्रयोगकर्ता ह्वात्तै बढेका हुन् । यही सुविधाको फाइदा उठाउँदै नेपालमा पनि यसको प्रयोग व्यापक बनेको छ ।
नेपालमा यस टुलको सकारात्मक प्रयोग पनि भइरहेको छ । प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा प्रचलित चुट्किला तथा व्यङ्ग्यलाई भिडिओमा उतारेर मनोरञ्जन प्रदान गरिरहेका छन् ।
चुनावी अभियानमा परम्परागत भोट माग्ने शैलीलाई व्यङ्ग्य गर्दै राम्रो, योग्य र इमानदार व्यक्तिलाई भोट गर्न प्रेरित गर्ने किसिमका भिडिओ भाइरल भइरहेका छन् । त्यस्तै सार्वजनिक यातायातका समस्यालाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएका भिडिओ लोकप्रिय छन् ।
उदाहरणका लागि एक भाइरल भिडिओमा ‘यति’ काठमाडौँको बसमा चढ्छ जहाँ सहचालकले सिट खाली छ भन्दै बोलाउँछ । तर भित्र खुट्टा राख्ने ठाउँसमेत हुँदैन । ‘फेरि झुक्यायो नि मलाई’ जस्ता संवादले भिडिओलाई रोचक बनाएको छ । यसमा हिमालमा पाइने भनिएको मिथक प्राणी ‘यति’को प्रयोग गरिएको छ । त्यसले पनि प्रयोगकर्तलाई रमाइलो अनुभव दिइरहेको छ । त्यस्तै वर्षा याममा बाटोको अवस्था बिग्रिँदा सर्वसाधारणलाई पर्ने असरबारेका भिडिओ पनि भाइरल भइरहेका छन् ।
सडक छेउमा पत्रकारले त्यहाँको अवस्थाको जानकारी दिंदै गरेको बेला सवारी, सर्वसाधारण ठुलो खाल्डोमा परेका भिडिओ त्यस्तै भाइरल भइरहेका छन् । यस्ता भिडिओ नेपालमा मात्र नभए विश्वव्यापी रूपमा भाइरल भइरहेका छन् । भिडिओ वास्तविक जस्तै देखिने भएकाले यसले सामाजिक सञ्जाल प्रयोगकर्तामा पार्ने असरबारे पनि चर्चा भइरहेका छन् । यद्यपि केहीले यस्ता भिडिओको सहायताले देशको वास्तविक अवस्था दर्साइरहेको भन्दै चर्चा पनि गरेका छन् ।
सकारात्मक पक्षसँगै यसको दुरुपयोगले विकराल रूप लिने जोखिम पनि बढेको छ । छिटो भाइरल हुने आशमा केही प्रयोगकर्ताले समाजमा पचाउन नसकिने, छाडा र अश्लील संवाद राखेर भिडिओ बनाइरहेका छन् । मोटे यति नामक टिकटक अकाउन्टले त्यस्तै अश्लील आशय लाग्ने भिडिओ राखेको छ । भिडिओमा यतिलाई बसपार्कमा यौन व्यवसायीले प्रस्ताव राखिरहेको देखाइएको छ । यसमा प्रयोग गरिएको संवादले पनि भिडिओ अपाच्य किसिमको बनाएको छ । यस भिडिओमा एक लाख बढी भ्युज छ । त्यही अकाउन्टबाट यति काठमाडौँको ठमेलमा आएर भ्लग बनाएको देखाइएको छ । त्यसमा पनि अपाच्य किसिमका संवाद प्रयोग गरिएको देखिन्छ ।
त्यसैगरी ‘यति भ्लग्स नेपाल’ नामक टिकटक अकाउन्टबाट पनि त्यस्तै अपाच्य शब्दसहितको डायलग राखिएको छ । सो भिडिओमा १४ लाख बढी भ्युज र झन्डै एक लाख लाइक छ । यस अकाउन्टबाट अपलोड हुने अधिकांश भिडिओमा छाडा र अश्लील अर्थ लाग्ने नेपाली डायलग प्रयोग गरिएको देखिन्छ । ती भिडिओमा लाखौं भ्युज र लाइक आएको देखिन्छ ।
अङ्ग्रेजी भाषामा सन्दर्भमा छाडा वा अश्लील अर्थ लाग्ने संवाद राख्दा टुलले पहिचान गर्छ र भिडिओ बनाउँदैन । तर, नेपाली भाषा त्यसमा पनि मौलिक मानिने शब्द प्रयोग गरेर प्रयोगकर्ताले त्यस्ता अश्लील र छाडा अर्थ लाग्ने भिडिओ बनाइरहेको देखिन्छ । त्यसैगरी वर्षाका कारण बाढी आएर गाउँ नै सोत्तर भएको देखाउने भिडिओ, उद्घाटन नै नभएको ग्वार्को फ्लाइओभरको उद्घाटन भएर सञ्चालनमा आइरहेको भन्दै बनाइएको भिडिओले मिथ्या सूचना फैलाइरहेका छन् ।
यस्ता सामग्रीले सामाजिक सञ्जालको वातावरण दूषित बनाउनुका साथै सामाजिक सञ्जाल प्रयोगकर्ता, बालबालिका तथा किशोरकिशोरीमा नकारात्मक असर पार्ने सम्भावना पनि उत्तिकै छ ।
पछिल्लो अध्यावधिक: असार ३, २०८२ ९:४३
सामाग्री श्रोत :
टेक पाना
गुल्मी – पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन हुनसकेको छैन । कालीगण्डकी करिडोर सडकको गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्बा भन्ने स्थानमा सोमबार दिउँसो सडकमा चट्टानसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।
कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडक सञ्चालन गर्न सोमबार रातिसम्म पहल गरिए पनि निरन्तर पहिरो खसिरहेका कारण सञ्चालन गर्न समस्या परेको छ । सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी चौकी भुर्तुङबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली पहिरोग्रस्त क्षेत्रमा खटिएको प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।
सडक अवरूद्धपछि सवारीसाधनलाई पर्वत हुँदै वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरिएको छ । लामो समयसम्म सडक अवरुद्ध हुँदा त्यस क्षेत्रबाट पर्वत, बागलुङ र पोखरासम्म आवतजावत गर्ने यात्री थप समस्यामा परेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ