इरानले साइप्रसतर्फ दुईवटा मिसाइल प्रहार गरेको बेलायतका रक्षा सचिव John Healey ले दाबी गरेका छन्। उनका अनुसार ती मिसाइलहरू लक्ष्यमा पुग्नुअघि नै नस्ट गरिएको थियो।
साइप्रसमा बेलायतका दुई सैन्य अड्डा छन्। ती मध्ये एक RAF Akrotiri हवाई अड्डा लिमासोल नजिक अवस्थित छ। प्रारम्भिक विवरणमा उक्त अड्डालाई लक्षित गरिएको उल्लेख भए पनि, मिसाइल प्रत्यक्ष रूपमा बेलायती अड्डातर्फ नै प्रहार गरिएको थियो भन्ने विषयमा स्पष्टता नरहेको बताइएको छ।
“ती हाम्रो अड्डालाई नै लक्षित गरेर प्रहार गरिएका हुन् भन्ने यकिन भइसकेको छैन,” रक्षा सचिव Healey ले भने।
यता साइप्रस सरकारले भने आफ्नो देश कुनै पनि प्रकारको निशानामा नरहेको जनाएको छ। राष्ट्रपति निकोस क्रिस्टोधुलिदेशले बेलायती प्रधानमन्त्री कीर स्टार्मर सँग कुराकानी भएको जनाउँदै इरानको लक्ष्य साइप्रस नभएको स्पष्ट पारेका छन्।

साइप्रसका रक्षा मन्त्री Vasilis Palmas ले पनि साइप्रसतर्फ मिसाइल प्रहार भएको दाबी अस्वीकार गरेका छन्। सरकारी प्रवक्ताले पनि साइप्रस तर्फ कुनै प्रत्यक्ष खतरा नरहेको जनाएका छन्।

क्षेत्रीय तनाव बढ्दै
अमेरिका–इजरायलद्वारा इरानमाथि गरिएको सैन्य कारबाहीपछि मध्यपूर्व तथा पूर्वी भूमध्यसागरीय क्षेत्रमा तनाव चर्किएको छ। बेलायतले भने उक्त कारबाहीमा आफ्नो संलग्नता नरहेको दोहोर्याएको छ।
साइप्रसस्थित बेलायती सैन्य अड्डामा सुरक्षा सतर्कता बढाइएको जनाइएको छ।
समाचार श्रोत : साइप्रस मेल








