लिमासोल । साइप्रसमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै नेपाली राजदूतावास, इजरायलले सञ्चालन गरेको दुई दिने घुम्ती कन्सुलर सेवा शिविर सम्पन्न भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसको निरन्तर पहल तथा समन्वयमा राजदूतावासले ३१ मे र जुन १ तारिखमा निकोसिया स्थित पूर्व अवैतनिक नेपाली वाणिज्यदूतको कार्यालय मा उक्त सेवा सञ्चालन गरेको हो।
दुई दिनसम्म सञ्चालन गरिएको सेवामार्फत कुल १०८ जनाको राहदानी नवीकरण, ४ जनाको ट्राभल डकुमेन्ट तथा १८ जनाको वारेसनामा सम्बन्धी सेवा प्रदान गरिएको थियो।
राजदूतावासले बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सेवा सञ्चालन गर्ने तालिका तय गरे पनि पहिलो दिनमै करिब दुई सयभन्दा बढी सेवाग्राही उपस्थित भएपछि सबैले सेवा प्राप्त गर्न सकेनन्। सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न राजदूतावासले समय थप गर्दै राति ९:३० बजेसम्म सेवा प्रवाह गरेको थियो। साथै, उत्तरी साइप्रसमा रहेका नेपाली नागरिकलाई समेत लक्षित गर्दै त्यहाँ पुगेर राहदानी नवीकरण सेवा प्रदान गरिएको छ।

घुम्ती कन्सुलर सेवा सहजीकरण गरेको एनआरएनए साइप्रसले व्यवस्थापन तथा पूर्व तयारीमा केही कमजोरीका कारण सेवाग्राहीलाई असुविधा भएको स्वीकार गर्दै क्षमायाचना गरेको छ। साथै, आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यवस्थित बनाउन आवश्यक फाराम पूर्व-भर्ने व्यवस्था, समय तालिका निर्धारण तथा सेवा प्रवाह प्रणाली सुधार गरिने जनाएको छ।
यसअघि नेपाल सरकारको निर्णयअनुसार साइप्रसस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासले १५ मेदेखि सम्पूर्ण कन्सुलर सेवा बन्द गरेको थियो। उक्त सेवा बन्द भएपछि राहदानी नवीकरण तथा अन्य कन्सुलर सेवाका लागि नेपाली समुदायले कठिनाइ भोग्दै आएका छन्।
यसैबीच, इजरायलस्थित नेपाली राजदूतावासले प्रत्यक्ष रूपमा साइप्रसमै पुगेर सेवा प्रदान गर्नु समुदायका लागि सकारात्मक पहलका रूपमा लिइएको छ। यद्यपि घुम्ती सेवा मात्र पर्याप्त नभएको भन्दै नेपाली समुदायले साइप्रसमा स्थायी कन्सुलर वा दूतावास नै स्थापना गर्न माग गर्दै आएका छन्। नेपाल सरकारले दूतावास स्थापना गर्ने निर्णय गरि सकेको भए पनि कार्य प्रगति हुन् सकेको छैन।












