13 Jan / लिमासोल – साइप्रसमा बसोबास गर्दै आएका मगर समुदायले यस वर्षको माघे संक्रान्ति भव्य र उल्लासपूर्ण रूपमा मनाएका छन्। नेपाल मगर संघ युरोप शाखा साइप्रसद्वारा आयोजित ‘माघे संक्रान्ति विशेष सांस्कृतिक कार्यक्रम’ गत आइतबार लिमासोलस्थित नियो फिस्ता हलमा सफलतापूर्वक सम्पन्न भएको हो।
प्रवासमा रहेर पनि मगर समुदायसहित सम्पूर्ण नेपालीको मौलिक कला, संस्कृति, पहिचान र आपसी एकतालाई मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, कलाकार, स्वयंसेवक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल मगर संघ साइप्रसकी संस्थापक तथा प्रमुख सल्लाहकार जसु पुन मगर प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। साथै, साइप्रसका लागि नेपाली वाणिज्यदूतावासका प्रमुख वाणिज्यदूत डा. राम जीवन पञ्जियार, गैरआवासीय नेपाली संघ साइप्रसका अध्यक्ष धातानन्द पाण्डे तथा महासचिव रेनुका थापा मगरको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वाणिज्यदूत डा. राम जीवन पञ्जियारले माघे संक्रान्तिको शुभकामना व्यक्त गर्दै प्रवासमा रहेर मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु नेपाली समुदायबीच एकता कायम गर्न अत्यन्त महत्वपूर्ण रहेको बताए।



त्यस्तै, एनआरएनए साइप्रसका अध्यक्ष धातानन्द पाण्डेले शुभकामना मन्तव्यका क्रममा पछिल्लो समय सामाजिक सञ्जाल मार्फत केही व्यक्ति वा समूहले साइप्रसस्थित नेपाली कन्सुलेट तथा संघ–संस्थाको औचित्य र कार्यप्रति नकारात्मक सन्देश फैलाएर भ्रम सिर्जना गर्न खोजेको उल्लेख गरे। उनले आयोजक संस्था र साइप्रसमा स्थापित संघ–संस्थाले विगतमा गरेका सामाजिक योगदानको स्मरण गराउँदै अझ संगठित र मजबुत भएर अघि बढ्नुपर्नेमा जोड दिए।
Read also :Magar Community Celebrates Maghe Sankranti in Cyprus
कार्यक्रममा नेपाल तामाङ घेदुङ साइप्रसका युवराज तामाङ, किरात राई यायोक्खा साइप्रसका नविन राई, किरात याक्थुङ चुम्लुङ साइप्रसका चुमन्ता लिम्बु, शेर्पा किदुग साइप्रसकी सोनी शेर्पा, तमु समाज साइप्रसकी आयुष्मा गुरुङ, चितवन सेवा समाजका पियुस लामा नेगी, सुदूरपश्चिमेली सेवा समाजकी रमिता चन्द रितु तथा हेल्पिङ ह्याण्डका नाङ्चु शेर्पालगायतको सहभागिता रहेको थियो।

कार्यक्रमलाई अझ मनोरञ्जनात्मक र सांस्कृतिक रूपमा समृद्ध बनाउन युरोपमा ख्यातिप्राप्त अतिथि कलाकार, गायक तथा सर्जक तुलसी सिवाकोटीको विशेष सांगीतिक प्रस्तुति रहेको थियो। चिसिएको साइप्रसको मौसमबीच सिवाकोटीको ऊर्जावान प्रस्तुतीले दर्शकलाई नचाउँदै कार्यक्रम स्थलको माहोल तताएको थियो।
कार्यक्रममा मगर, तामाङ, शेर्पा, किरात र चौधरी समुदायका मौलिक नृत्य तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिएका थिए। लिमासोल र पाफोसका स्थानीय कलाकारद्वारा प्रस्तुत मौलिक मगर कौराह नृत्य, नेपाल तामाङ घेदुङ साइप्रसको मेन्दोमाया नृत्य, शेर्पा किदुग साइप्रसको सेब्रु (शेब्रो) नृत्य, किरात याक्थुङ चुम्लुङ साइप्रसको केःलाङ (च्याब्रुङ) तथा किरात राई यायोक्खा साइप्रसको साकेला सिलीले दर्शकको मन जित्न सफल भए। साथै, स्थानीय कलाकारद्वारा प्रस्तुत चौधरी सांस्कृतिक नृत्यले कार्यक्रमलाई थप रंगीन बनाएको थियो।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपालीहरूको बाक्लो उपस्थितिले कार्यक्रमलाई केवल एक समुदायको होइन, सम्पूर्ण नेपालीको साझा सांस्कृतिक उत्सवको रूपमा उभ्याएको थियो।
कार्यक्रम सफल बनाउन उद्घोषक खम माया पुन मगर र पुरन मगर, डिजेमा सहयोग गर्ने लक्ष्मी श्रेष्ठ, खाना व्यवस्थापनमा खटिएका स्वयंसेवकहरू तथा आर्थिक सहयोगीहरूप्रति आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ।

नेपाल मगर संघ साइप्रसका अध्यक्ष दर्शन बलाल मगरले सम्पूर्ण अतिथि, कलाकार, संघ–संस्था, सञ्चारकर्मी, स्वयंसेवक तथा उपस्थित नेपाली दर्शकप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै निरन्तर साथ, सहयोग र सद्भावको अपेक्षा गरिएको बताए।













