२०८२ बैशाख ४ बिहीबार
२०८२ बैशाख ४ बिहीबार

कस्तो छ नथिङ फोन थ्रीए स्मार्टफोन ?

नेपाली बजारमा हालै नथिङ ब्रान्डको नयाँ मोडेल ‘नथिङ फोन थ्रीए’ भित्रिएको छ । कम्पनीले फोनको डिजाइन, क्यामेरा, पर्फर्मेन्स सबै फिचर रोमाञ्चक रहेको दाबी गरेको छ । यसै सन्दर्भमा म आज यो फोन वास्तवमै कस्तो छ भनेर रिभ्यु गर्दैछु ।

नथिङ फोन थ्रीएको मूल्य नेपाली बजारमा ४८ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

सुरुमा फोन देख्ने बित्तिकै मलाई मन परेको कुरा भन्छु, रूप अनि डिजाइन । ह्वाइट कलरले फोनको रूप अझै बढाएको पक्कै हो । नथिङले ल्याउने फोनहरूको पारदर्शी डिजाइनले फोनलाई विशिष्ट बनाएको छ ।

नथिङ फोन थ्रीए पनि यही रूपको साथ आएको छ, त्यो पनि एलईडी लाइटहरूसहित जसलाई ग्लाइफ बत्ती भनेर पनि बुझिन्छ । जुन आवाज बढाउँदा घटाउँदा, सङ्गीत बजाउँदा, नोटिफिकेसनहरू आउँदा लगायत कुरामा बल्छ ।

अनि यो फोनमा एउटा अतिरिक्त बटन पनि छ, जसलाई ‘essential key’ भनिएको छ, यसबारे म अहिले चर्चा गर्नेछु । फोनको डिस्प्ले ६.७७ इन्चको पाउनुहुन्छ, जुन सुपर एमोलेड डिस्प्ले हो । यसमा ३००० निट्सको पिक ब्राइटनेस छ भने रिफ्रेस रेट १२० हर्ज पाउनुहुन्छ ।

क्यामेरा व्यवस्थाको कुरा गर्नुपर्दा, फोन तीन ओटा क्यामेरा सेटअपको साथ आउँछ । यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलकै टेलिफोटो क्यामेरा अनि ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा छ । अनि सेल्फीको लागि ३२ मेगापिक्सेलको क्यामेरा पाउनुहुन्छ ।

यस पटक म फोनको क्यामेरा क्वालिटीबाट प्रभावित छु । फोनबाट लिइएका तस्बिरहरू सुधारिएका छन्, जुन पूर्ण र सन्तुलित देखिन्छ । प्रकाश अवस्था मिलेको बाहिरी दृश्यहरू अझ राम्रो छन् भने भित्री दृश्यहरूमा पनि खास गुनासो छैन ।

पोर्ट्रेट क्याप्चर, अल्ट्रा वाइड तस्बिरहरू पनि आकर्षक नै छन् । अनि ५० मेगापिक्सेलको टेलिफोटो क्यामेराले लिइएको तस्बिर पनि राम्रो लाग्यो । उसमा ४ गुणासम्म अप्टिकल जुम हुन्छ भने त्योभन्दा माथि ३० गुणासम्म डिजिटल जुम हुन्छ ।

३२ मेगापिक्सेलको सेल्फी क्यामेरा राम्रो काम गर्छ । पोर्ट्रेट मोडमा अगाडि, पछाडि र तस्बिर मोडमा पछाडिको क्यामेरामा बलियो र नेचुरल मोड अन गरेर तस्बिर खिच्न सक्नुहुन्छ ।

तर मैले भिन्नता महसुस गरिनँ, दुवै तरिकाले उस्तै देखिन्छ । पोर्ट्रेट मोडमा चाहिँ थप तपाईंले फेस स्ट्रक्चर मिलाउने मोडहरू पाउनुहुन्छ विशेष क्याप्चरको लागि ।

भिडिओको कुरा गर्दा यो फोनको पछाडिको क्यामेराबाट ३० फ्रेम प्रति सेकेन्डमा फोरके भिडिओसम्म खिच्न मिल्छ अनि ६० फ्रेम प्रति सेकेन्डमा १०८० पिक्सेलसम्मको भिडिओ लिन सकिन्छ। अगाडिबाट भने ३० फ्रेम प्रति सेकेन्डमा १०८० पिक्सेलसम्मको मात्र भिडिओ लिन सक्नुहुन्छ ।

भिडिओ क्वालिटी उज्यालो प्रकाश अवस्थामा राम्रो पाउन सकिन्छ भने भिडिओ स्टेबल पनि छ । किनकि यसको क्यामेरामा ओआईएस छ । समग्रमा यो फोनको क्यामेराले तपाईंलाई पनि प्रभावित नै गर्छ है ।

अब लागौँ पर्फर्मेन्सतर्फ । फोन क्वालकम स्न्यापड्रागन सेभेन एस जेन थ्री प्रोसेसरबाट सञ्चालित छ, अनि फोन एन्ड्रोइड १५ मा आधारित छ । दैनिक जीवनमा पर्फर्मेन्स गर्ने हरेक सामान्य कार्य यो फोनले मज्जाले सम्हाल्न सक्छ । सामान्य गेमहरू त मज्जाले चल्छन् भने यो फोनमा मैले कल अफ ड्युटी र फ्री फायर म्याक्स उच्च सेटिङमा खेलेर हेरेकी थिएँ । 

कल अफ ड्युटी अधिकतम ग्राफिक्समा धेरै हाई एफपीएसमा खेल्न सकिन्छ । अधिकतम एफपीएस भने उच्च ग्राफिक्समा मात्र सपोर्ट गर्छ । फ्री फायरमा मैले अल्ट्रा ग्राफिक्समा Shadow on गरेर खेल्दा पनि पर्फर्मेन्स राम्रै पाएँ । खेल सहज चलेको थियो तर फोन भने हल्का तातेको थियो । किनकि फोनमा कुलिङ सिस्टम छ यसले खास समस्या हुँदैन । जुन हेभी टास्क गर्दा सामान्य नै हो ।

अब, त्यो अतिरिक्त बटनको बारेमा कुरा गरौँ । यो बटनलाई नथिङले ‘essential key’ नाम दिएको छ । मैले सुरुसुरुमा भने पावर बटनसँग झुक्किएर थिचेको थिएँ, २-३ दिन चलाएपछि बानी पर्यो । यसलाई एक पटक थिच्दा स्क्रिनशट लिन मिल्छ । लामो समय थिचेर आफ्नो आवाज रेकर्ड गर्न मिल्छ, जहाँ तपाईंले नोटहरू थप्न, भ्वाइस मेमो र सबै मार्फत रिमाइन्डरहरू सेट गर्न सक्नुहुन्छ, अनि दुई पटक थिच्दा अत्यावश्यक ठाउँमा जान सक्नुहुन्छ । जुन रोमाञ्चक एआई फिचरहरूसहित आउँछ । तपाईंको दैनिक काममा यो फिचर उपयोगी हुन सक्छ, कुनै शङ्का छैन ।

‘Essential space’ एउटा छुट्टै ठाउँभन्दा फरक नपर्ला । किनकि यहाँ तपाईंले सबै कुरा एकै ठाउँमा व्यवस्थित गरेर राख्न सक्नुहुन्छ । चाहे त्यो महत्त्वपूर्ण नोट होस् या कुनै महत्त्वपूर्ण सन्देश सहितको तस्बिर जुन खोज्ने बित्तिकै भेटिन्छ । सधैँ व्यस्त रहने व्यक्तिको लागि धेरै उपयोगी फिचर हो यो ।

यो फोन नथिङ ओएस ३.१ बाट सञ्चालित छ । फोनको युआई युनिक छ, तर प्रयोगकर्तामैत्री पनि छ । कुनै आइकन भिन्न पनि पाउनुहुन्छ, युआई रङहरू सामान्यतया डार्क थिमको पाउन सकिन्छ । कस्टमाइजेसनका विकल्पहरू पनि पक्कै फोनमा पाउनुहुन्छ, तपाईंले पक्कै आनन्द लिन सक्नुहुन्छ !

अब कुरा गरौँ ब्याट्रीको । यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ ५० वाट चार्जिङसहित । पूर्ण चार्जमा ब्याट्री एक दिन जति मज्जाले टिक्छ । तपाईंले बक्समा चार्जर भने पाउनुहुन्न ।

स्टोरेजको कुरा गर्दा ८ जीबी र्याम अनि यूएफएस २.२ मा आधारित १२८ जीबी इन्टर्नल स्टोरेज फोनले प्रस्ताव गरेको छ । साथै, तपाईंले १२+२५६ जीबी भेरियन्टमा पनि फोन किन्न सक्नुहुन्छ । यसबाहेक, कनेक्टिभिटीका लागि ब्लुटुथ संस्करण ५.४, डुअल ब्यान्ड वाईफाई, डुअल सिम लगायत फोनमा पाउनुहुन्छ । अनि सेक्युरिटीको हकमा पिन, प्याटर्न, फेस लक, इन-डिस्प्ले फिंगरप्रिन्ट उपलब्ध गराइएको छ ।

स्टेरियो स्पिकर, इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, आईपी ६४ रेटिङ लगायत कुरा पनि फोनमा छुटेको छैन ।

त्यसो भए, यदि तपाईं आकर्षक लुक्स भएको, राम्रो क्यामेरा क्वालिटीसहित समग्रमा राम्रो पर्फर्मेन्स दिने फोन खोज्दै हुनुहुन्छ भने पक्कै नयाँ ‘नथिङ फोन थ्रीए’ लाई अवसर दिन सक्नुहुन्छ ।

 

पछिल्लो अध्यावधिक: चैत १४, २०८१ १९:५०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट