काठमाडौं । सरकारी सेवालाई नागरिकको पहुँचमा सहज बनाउने उद्देश्यले विकास गरिएको नागरिक एपमा थुप्रै नयाँ फिचर थपिएका छन् । सूचना प्रविधि विभागले हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी एपका नयाँ फिचरबारे जानकारी दिएको हो ।

विभागका नागरिक एप रिसर्च एन्ड डेभलपमेन्ट प्रोजेक्ट मेनेजर सन्तोष अर्यालले एपमा राष्ट्रिय परिचयपत्र प्रमाणीकरण, लोकसेवा आयोगको सर्भिस इन्टिग्रेसन, सुरक्षित पहिचानका लागि नागरिक पहिचान द्वारको स्तरोन्नति, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित फोटो प्रमाणीकरणजस्ता सेवा थपिएको बताए ।
उनका अनुसार अहिले नागरिक एपमा भेरिफिकेसनका लागि आउने सबै फोटो एआईले नै विश्लेषण गर्छ । फोटो माग गरे अनुसारको नभए एआईले नै रद्द गरिदिन्छ ।
“हामीले अनलाइन कारोबारलाई सहज बनाउन इसेवा, खल्ती जस्ता भुक्तानी सेवाप्रदायक इन्टिग्रेट गरेका छौं । कनेक्ट आईपीएस इन्टिग्रेट गर्न पहल भइरहेको छ,” अर्यालले भने, “हामीले यूआई यूएक्समा सबैभन्दा धेरै समय खर्चिएका छौं । सुरुवाती दिनमा जस्तो यूआई थियो, अहिले त्योभन्दा भिन्नै आधुनिक यूआई छ । सबै डिभाइसमा नागरिक एप रेस्पोन्सिभ छ ।”

उनले राष्ट्रिय परिचयपत्रमा आधारित सुरक्षित डेटा आदानप्रदान, एनओसी प्रणालीमा रियल-टाइम भुक्तानी, नागरिक एपमा प्रयोगकर्ता अनुभवको सुधार, नागरिकता सेवाका लागि गृह मन्त्रालयको ‘MOHA-CIMS API’ सँग नागरिक एपको इन्टिग्रेसनका काम सम्पन्न भएको जानकारी दिए । त्यसका साथै विश्वविद्यालय ट्रान्सक्रिप्ट र प्रमाणपत्रको इन्टिग्रेट गर्ने काम पनि पूरा भइसकेको उनले सुनाए ।
“हामीले म्यानुअल्ली नै शैक्षिक प्रमाणपत्र इन्टिग्रेसनको काम गरेका छौं । राष्ट्रिय परीक्षा बोर्डको सर्भर डाउन भएकाले ब्याकअपबाटै धेरै समय लगाएर सबै प्रमाणपत्र नागरिक एपमा देखिने बनाएका छौं,” उनले थपे ।
अब बैंकमा खाता खोल्न गएपछि बैंकले नागरिक एपबाट क्यूआर कोड स्क्यानका लागि अनुरोध गर्छ । क्यूआर कोड स्क्यान गरिसकेपछि प्रयोगकर्ताको डिभाइसमा ‘तपाईं आफ्नो डेटा बैंकसँग शेयर गर्दै हुनुहुन्छ’ भन्ने मेसेज देखिन्छ । उक्त मेसेज स्वीकृत गरेको खण्डमा त्यहाँ उल्लेख भएको डेटा बैंकको सिस्टममा पुग्छ ।
नागरिक एपको प्रयोगलाई थप प्रभावकारी बनाउन प्रयोगकर्ताको गोपनीयता र सुरक्षालाई प्राथमिकतामा राखिएको र यसका लागि नियमित रूपमा सुरक्षा परीक्षण र प्रणाली अद्यावधिक गरिएको जानकारी दिइयो ।
त्यसबाहेक एपमा देखिएका विभिन्न कमजोरीलाई पनि सच्याइएको अर्यालले दाबी गरे । “एप हरेक समय परिमार्जन हुँदै जाने प्रोडक्ट हो,” उनले भने, “सर्वसाधारणलाई सहज बनाउन आवश्यक फिचर थप्दै जानेछौं ।”
त्यस्तै नागरिक एपको वेब पोर्टललाई पनि एपजस्तै काम गर्नसक्ने बनाइएको छ । खासगरी अकाउन्ट सिङ्क हुने, इन्टरफेस मिल्ने र मोबाइल एप जस्तै काम गर्नेगरी वेब पोर्टलको स्तरोन्नति गरिएको उनले सुनाए । त्यसैगरी बागमती प्रदेश अन्तर्गतका सबै सवारी चालक अनुमति पत्रका लागि नयाँ दर्ता र नवीकरणको सुविधा मिलाइएको छ ।
नागरिक एपलाई थप सहज र उपयोगी बनाउन निरन्तर प्रयास गरिरहेको सूचना प्रविधि विभागले जनाएको छ ।
यो परियोजना द एसिया फाउन्डेसन, डेटा फर डेभलपमेन्ट र यूके इन्टरनेसनल डेभलपमेन्टको सहयोगमा सम्पन्न भएको हो ।
पछिल्लो अध्यावधिक: चैत १३, २०८१ १३:५८
सामाग्री श्रोत :
टेक पाना