२०८२ जेष्ठ १९ आईतवार
LATEST NEWS
२०८२ जेष्ठ १९ आईतवार

भारतबाट फर्किएर बाख्रापालन, वार्षिक ६ लाख आम्दानी

पाटन (बैतडी) – बैतडीको सिगास गाउँपालिका–९ जालहाल्लाका ४१ वर्षीय दीपक चन्दका साथीहरु रोजगारीको खोजीमा भारततिर छन्। गाउँका अधिकांश युवा तेस्रो मुलुक छन्। दीपक भने गाउँमै बाख्रापालन व्यवसायमा छन्। उनलाई बाख्रापालन व्यवसायले घरायसीसहित छोराछोरीको पढाइ खर्च व्यवस्थापन गर्न कुनै समस्या छैन।

“मलाई पनि बाहिर जाने सोच नआएको भने होइन, तर गाउँमै केही गर्नुपर्छ भन्ने लागेर व्यावसायिक रुपमा बाख्रा पाल्न थाले”, उनले भने, “मेहनतअनुसारको आम्दानी पनि राम्रै भइरहेको छ।” विगत छ वर्षदेखि व्यावसायिक बाख्रापालन गरीरहेका दीपकको फार्ममा अहिले स्थानीय र बोयर क्रस जातका गरि ७० बढी बाख्रा छन्। तिमध्ये ४७ माउ, आठ खसी र बाँकी पाठापाठी छन्। उनीहरुका लागि व्यवस्थित खोर पनि निर्माण गरिएका छन्।

“चार वर्ष रोजगारीका लागि भारत गए, सेक्युरेटी गार्डको काम थियो, तलब तीन हजार ५०० भारु मात्रै थियो, त्यहाँ श्रमको उचित मूल्याङ्कन नभएको महसुस हुन्थ्यो, अहिले गाउँमै बाख्रा फार्म दर्ता गरेर व्यावसायिक रुपमा अघि बढे”, उनले भने, “अहिले वार्षिक रु छ लाखसम्म आम्दानी हुन्छ।”

बाख्रापालन व्यवसाय पहिले पनि गर्दै आएको भए पनि २०७५ मा उदयदेव कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर व्यावसायिक रुपमा अघि बढेको उनले जानकारी दिए। “दुई हप्ताअघि मात्रै खसी र माउ गरी ४० जति बिक्री ग¥यौँ, ग्राहक खोज्न पनि कुनै समस्या छैन, अधिकांश व्यवसायी घरसम्मै खरिद गर्न आइपुग्छन्”, उहाँकी श्रीमती नरेन्द्रा चन्दले भने, “चरनको समेत त्यस्तो समस्या छैन, व्यवसायबाट सन्तुष्ट छौँ।”

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनबाट बाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रणका लागि खोप तथा व्यवसाय प्रवद्र्धनका लागि आवश्यक प्राविधिक सहयोग प्राप्त हुँदै आएको चन्द दम्पतीको भनाइ छ। उनीहरुले बाख्रापालन व्यवासयबाट राम्रो आम्दानी गर्न थालेपछि गाउँका अन्य व्यक्ति पनि यस पेसातर्फ आकर्षित हुन थालेका छन्।

सोही ठाउँका स्थानीय कृष्ण चन्द पनि बाख्रा दीपकसँग आवश्यक सहयोग लिएर बाख्रा पालन व्यवसायमा लाग्नुभएको छ। आम्दानीको राम्रो सम्भावना भएकाले २०७८ सालदेखि व्यावसायिक रुपमै बाख्रा पाल्न थालेको उनले बताए। “खोर निर्माण गर्दा झन्डै रु चार लाख जति खर्च लाग्यो, स्थानीय र बोयर गरी ४० बाख्रा छन्, आम्दानी पनि ठिकठिकै छ”, उनले भने, “घरायसी खर्चको व्यवस्थापन यसैबाट भइरहेको छ।”

बाख्रामा देखिने अज्ञात रोगले भने सताउने गरेको उनले बताए। “गत वर्ष मात्रै २० बाख्रा बिरामी परेर मरे, केही घाटा बेहोर्नु पर्यो, चुनौती यही छ”, कृष्णले भने। यो आर्थिक वर्षमा बाख्रापालन व्यवसाय गरिरहेका किसानका लागि बाख्रा मोडेल फार्म कार्यक्रम कार्यान्वयनको चरणमा रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्रका प्रमुख गुमानी पन्तले जानकारी दिनुभयो। सो कार्यक्रमका लागि आवेदन माग गरेको तथा छनोटको प्रक्रियामा रहेको उनले बताए।


श्रोत : deshsanchar.com

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट