२०८२ असार २० शुक्रबार
LATEST NEWS
२०८२ असार २० शुक्रबार

१० मा ३ जना नेपाली अभिभावकलाई थाहै छैन, सामाजिक सञ्जालमा आफ्नो बच्चाको अकाउन्ट भएको कुरा

काठमाडौँ । अधिकांश नेपाली अभिभावक आफ्ना छोराछोरी सामाजिक सञ्जालमा कस्तो सामग्री हेर्छन् भन्नेबारे अनभिज्ञ रहेको एक अध्ययनले देखाएको छ । ​सेफ चाइल्ड नेटले काठमाडौँ र ललितपुरका ९०० अभिभावकमाथि गरेको अध्ययन अनुसार ११ प्रतिशत अभिभावक अनलाइन जोखिमबारे पूर्ण रूपमा अनजान थिए भने ८ प्रतिशतले मात्र यसबारे राम्रो जानकारी राखेका थिए  । बाँकी ८१ प्रतिशतलाई सामान्य जानकारी मात्र थियो ।

प्रतिवेदनले ७० प्रतिशत अभिभावकले अनलाइनमार्फत बालबालिका यौन शोषण वा दुरुपयोगको जोखिमबारे थाहा नभएको देखाएको छ । त्यस्तै, ८५ प्रतिशत अभिभावकले आफ्ना बच्चासँग यौन तथा प्रजनन स्वास्थ्यबारे संवाद नै नगरेको बताएका छन् । तीमध्ये ६० प्रतिशतले आफ्ना बच्चा साना भएकाले यस्तो संवाद नगरेको बताएका छन् ।

बालबालिकाको उमेर बढ्दै जाँदा उनीहरूको अनलाइन प्रयोगमा अभिभावकीय निगरानी झन् कम हुँदै गएको देखिन्छ । ६ देखि ९ वर्ष उमेर समूहका बालबालिकामा ४४ प्रतिशत अभिभावकले निगरानी गरेका थिए भने १३ देखि १७ वर्षका किशोर–किशोरीमा यो संख्या २३ प्रतिशत मात्र थियो ।

अध्ययन अनुसार ४५ प्रतिशत बालबालिकासँग आफ्नै डिजिटल डिभाइस छन् भने ३४ प्रतिशतले आफ्नै सामाजिक सञ्जाल अकाउन्ट प्रयोग गरिरहेका छन् । तीमध्ये धेरैजसोले अभिभावकलाई जानकारी नै नदिई अकाउन्ट बनाएको पाइएको छ । १३ वर्षमुनिका ५९ जना बालबालिकाले आफैंले सामाजिक सञ्जाल अकाउन्ट खोलेको अध्ययनमा उल्लेख छ ।

कतिपय अभिभावकलाई आफ्ना बच्चाको एकभन्दा धेरै सोसल मिडिया अकाउन्ट भएको थाहा समेत छैन । ललितपुरकी एक किशोरीले आफ्ना दुई ओटा इन्स्टाग्राम अकाउन्ट रहेको बताएकी छिन्- एउटा परिवारका लागि र अर्को नजिकका साथीहरूका लागि ।

अधिकांश बालबालिकाले आमाको फोन वा अकाउन्टमार्फत सामाजिक सञ्जाल चलाइरहेका भए पनि त्यहाँ अभिभावकीय नियन्त्रण कमजोर देखिएको छ । यस्तो अवस्थाले बालबालिकालाई अनलाइन जुवा, यौनजन्य सामग्री, तथा अपरिचित व्यक्तिबाट हुने ‘ग्रुमिङ’ (grooming) जस्ता जोखिममा पारिरहेको छ । त्यसले गर्दा मानसिक तनाव र डिप्रेशनजस्ता समस्या देखा परेको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनमा सहभागी अभिभावकमध्ये ९२ प्रतिशतलाई अनलाइन सुरक्षाबारे पर्याप्त जानकारी थिएन भने मात्र ३८ प्रतिशतले आफ्ना बालबालिकाका लागि स्क्रिन टाइम, फोन प्रतिबन्धजस्ता डिजिटल नियम बनाएको पाइएको छ । ती नियम पनि किशोर अवस्थामा पुगेका बालबालिकामा लागु गर्न कठिन भएको उनीहरूको अनुभव छ ।

अभिभावकहरू प्रायः अनलाइन यौनजन्य सामग्रीबारे जानकार छैनन् । मात्र १३ प्रतिशतले यस्तो विषयलाई गम्भीर जोखिमका रूपमा लिएका छन् । ५ प्रतिशत मात्र अभिभावकले आफ्ना बच्चाले अनलाइनमा अपरिचितसँग गरिरहेको संवादप्रति चासो देखाएको पाइएको छ ।

त्यसो त केही बालबालिकाले सामाजिक सञ्जालमा उमेर हदबन्दी बाइपास गर्न उमेर बढाएर अकाउन्ट बनाउने गरेको देखिएको छ । अध्ययनमा ५५ प्रतिशत अभिभावकले आफ्ना बच्चाले डेटिङ एपमा अकाउन्ट बनाएका होलान् भन्ने विश्वास नै नराखेको बताएका छन् । तर, फोकस ग्रुप डिस्कसनमा सहभागी बालबालिकाले Omegle, OmeTV, Ramailo जस्ता कम चर्चित एपहरूमा समेत अकाउन्ट बनाएको बताएका छन् ।

Omegle र OmeTV जस्ता एपबाट प्रयोगकर्ताहरू संसारभरका अपरिचितसँग सिधा जोडिन सक्छन् । तीमध्ये केही एप यौनजन्य गतिविधिका लागि प्रयोग भइरहेको पाइयो । त्यस्तै, ZArchiver, Alight Motion जस्ता कम परिचित एपहरूमा समेत बालबालिकाले अकाउन्ट बनाएको पाइएको छ ।

अध्ययनले अभिभावक र बालबालिकाबिचको डिजिटल व्यवहार सिधै जोडिएको देखाएको छ । इन्टरनेटमा धेरै समय बिताउने अभिभावकका बालबालिकाले पनि इन्टरनेटमा धेरै समय खर्च गर्ने गरेको उल्लेख गरिएको छ ।

बुवाहरू अनलाइन जोखिमप्रति सचेत भए पनि छोराछोरीसँग संवाद नगर्ने, आमाहरू भने सजिलै आफ्ना डिभाइस सुम्पिए पनि जोखिमप्रति बेखबर देखिएको अध्ययनको निष्कर्ष छ ।

बालबालिकाको डिजिटल सुरक्षा सुनिश्चित गर्न अध्ययनले शिक्षा, प्रविधि, कानुनी सहायता, नीति सुधार र सामुदायिक सहभागितालाई समेट्ने बहुपक्षीय उपाय आवश्यक रहेको औंल्याएको छ । अभिभावकलाई लक्षित गरेर तयार गरिएका सरल, व्यवहारिक र स्थानीय सन्देश मात्र बालबालिकाका लागि सुरक्षित अनलाइन वातावरण बनाउन सक्ने अध्ययनको सुझाव छ ।

पछिल्लो अध्यावधिक: असार १९, २०८२ ७:८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट