काठमाडौं । वर्षौंदेखि एप्पल र गुगलले उही विशेषताका छुट्टाछुट्टै सफ्टवेयर तथा सेवा विकास गर्दै आएका छन् । एप्पलको ब्राउजर सफारी हो भने गुगलको ब्राउजर क्रोम । एप्पलको वालेट एप्पल पे हो भने गुगलको गुगल वालेट । एप्पल र गुगलका यस्ता कैयौं सफ्टवेयर छन्, जसले समान काम गर्छन् ।

यी दुवै प्लेटफर्ममा उत्तिकै प्रयोग हुने सेवा हुन् । यता गुगलको जिमेल भने आईफोनमा चल्छ । यस्ता अन्य थुप्रै सेवा छन्, जो फरक-फरक प्लेटफर्ममा चल्छन् । यसअघि एप्पल प्रयोगकर्ताका लागि मात्र उपलब्ध भएको एप्पल म्याप्स अब एप्पल बाहेकका प्रयोगकर्ताका लागि पनि उपलब्ध हुने भएको छ ।
हुन त एप्पलले गत वर्ष नै वेबका लागि एप्पल म्याप्स सार्वजनिक गरेको थियो । त्यसबेला कम्पनीले पहिलो पटक अन्य प्लेटफर्मका प्रयोगकर्तालाई म्याप्स प्रयोग गर्ने सुविधा दिएको थियो । तर, त्यस समय म्याप्समा ‘बेटा भर्सन’को ट्याग रहेको थियो ।
नाइन टु फाइभ म्याक अनुसार अहिले भने एप्पलले उक्त ‘बेटा’ ट्याग हटाएको छ र मोबाइल डिभाइसमा पनि म्याप्सको सपोर्ट उपलब्ध गराउन थालेको छ ।

यससँगै अब ‘maps.apple.com’ मा गएर ब्राउजरबाट एप्पल म्याप्स प्रयोग गर्न सकिन्छ । यसअघि अन्य प्लेटफर्ममा एप्पल म्याप्स प्रयोग गर्न ‘beta.maps.apple.com’ वेबसाइट भिजिट गर्नुपर्ने हुन्थ्यो ।
बेटा भर्सन हटेसँगै अब एप्पल म्याप्स वेबमार्फत सहजै मोबाइल डिभाइसमा प्रयोग गर्न सकिनेछ । यसअघिको एप्पल म्याप्सको वेब भर्सन भने डेस्कटप र ट्याबलेट भर्सनमा मात्र प्रयोग गर्न सकिन्थ्यो । अब वेबबाटै आईफोन र एन्ड्रोइडमा एप्पल म्याप्स प्रयोग गर्न सकिन्छ ।
यससँगै एन्ड्रोइड प्रयोगकर्ताले अब आफूले चाहेको समयमा एप्पल म्याप्स प्रयोग गर्न सक्नेछन् । आईओएस प्रयोगकर्ताका लागि वेब वा एपमा एप्पल म्याप्स प्रयोग गर्दा खासै फरकपन महसुस हुने छैन ।
अहिले उपलब्ध भएको वेब एपबाट प्रयोगकर्ताले नयाँ ठाउँ खोज्न, विभिन्न व्यवसाय खोज्न, विभिन्न ठाउँको दिशा पत्ता लगाउन सक्नेछन् । तर, ट्रान्जिट म्याप्स, थ्रीडी बिल्डिङ जस्ता एप्पल म्याप्सका स्तरीय फिचर भने वेब भर्सनमा प्रयोग गर्न पाइने छैन । त्यस्तै एपको जस्तो ठाउँ सेभ गर्न र चाहेको समयमा एक्सेस गर्न पनि वेबबाट सकिने छैन ।
यसअघि एप्पलले वेब एपमा ‘लुक अराउन्ड’ फिचर अपडेट गरेको थियो । यो यस्तो फिचर हो जसले प्रयोगकर्तालाई ३६० डिग्री पानारोमिक भ्युमा विभिन्न ठाउँ अन्वेषण गर्ने सुविधा दिन्छ ।
एप्पलले वेब एपमा नयाँ फिचर र सपोर्ट उपलब्ध गराउँदै जाने जनाएको छ ।
पछिल्लो अध्यावधिक: चैत ३०, २०८१ १३:११
सामाग्री श्रोत :
टेक पाना